― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsतीन भेटवार्ता र वर्चस्वको लागि संघर्ष – KhabarHost

तीन भेटवार्ता र वर्चस्वको लागि संघर्ष – KhabarHost



कमरेड मोहनविक्रम सिंह र उनको उपन्यास जलजलामाथि केही लेख्ने विचार गरिरहेकै समयमा सम्पादक बसन्त बस्नेतसँग ह्वाट्सएपीय मुलाकातको अवसर जुट्यो । छोटो संवाद पछि नै विषय बदलिएर सामयिक राजनीतितिर सोझिन गयो जुन यो लेखकका लागि त्यति उत्साहप्रद थिएन ।

म ९१ वर्ष पूरा हुन लागेका एकजना सिद्धान्तनिष्ठ कम्युनिष्ट नेता कमरेड सिंह र उनले जीवनमा अनुभव गर्दै हासिल गरेको ज्ञानको सतही मीमांसा गर्ने सरल उपायको खोजीमा थिएँ । अनि यो घनघोर घुर्मैलो समयको, अस्पष्ट भविष्यका चित्रहरू देखाउने रङ लत्पतिएको एब्स्ट्र्याक्ट आर्टको क्यानभासजस्तो राजनीतिका विषयमा टिप्पणी लेख्न बिलकुल तयार पनि थिइनँ ।
योभन्दा त डेढसय वर्ष पहिले लेखिएको चेर्निशेव्स्कीको विश्वप्रसिद्ध उपन्यास ‘के गर्ने’ की पात्र बेरामाथिको चर्चा यतिबेलाका लागि चाखलाग्दा हुन्थे । किनपनि भने म यतिबेला के गर्ने भन्ने प्रश्नले भित्रभित्र लघारिएको छु ।

समग्र विश्व राजनीतिका दृश्यहरू खजमजिएका छन् । वर्ल्ड सिस्टमलाई नयाँ प्रविधि र ट्रम्पीय अनुदारवादको सिस्मिक वेभले पृथ्वी हल्लाए झैं हल्लाउँदै गरेको छ । त्यसका बाछिटा समेतले हाम्रो समकालीन अर्थतन्त्र, समाज, संस्कृति र राजनीतिलाई प्रभावित गरिरहेको छ ।

यहाँ के हुँदैछ भनेर अनुमान लगाउन पनि शास्त्रीय चिन्तनको झ्यालबाट मुण्टो बाहिर निकालेर हेर्नुपर्ने स्थिति छ । यो उल्झनमा धकेलेकोमा बसन्तलाई धन्यवाद दिँदै यहाँ म यसै साता अचानक विकसित केही तीव्र गतिका दृश्यहरूलाई समीक्षा गर्ने प्रयास गर्ने छु ।

१. देउवा–ओली दोस्रो भेट

कस्तो भने ओली आफैं देउवाकहाँ भेट्न गएकोले ओलीले देउवा भेटेको मानिएपनि वास्तवमा यसलाई देउवाले ओलीसँग भेटेको भन्दा पनि उत्तिकै अर्थ राख्छ । केही दिनको बीचमा एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा बीचको यो दोस्रो भेट हो । भेटपछि सार्वजनिक भएका र अनुमान गरिएका सूचना अनुसार दुवैका बीच संसद पुनर्स्थापना गरेर राजनीतिलाई आफ्नो सदावहार वर्चस्वको खेलभित्र ल्याउनेमा सहमति छ । त्यसका लागि एक अर्कालाई सहयोग गर्ने र अरू सहयोगी संस्था तथा शक्तिहरू परिचालन गर्ने सहमति भएको छ ।

त्यसैअनुरूप ५७ जना कांग्रेस सांसदको हस्ताक्षर (जुन अहिले ६५ पुगिसकेको छ) सहित संसद पुनर्स्थापना सम्बन्धी पूरक रिट दर्ता समेत भइसकेको छ । यी दुई दलले २०४७ वैशाखदेखि स्थापित गरेको वैचारिक तथा राजनीतिक दलगत वर्चस्वलाई भत्काउने गरी भएका भदौका घटना र त्यसका आन्तरिक प्रभावलाई निस्तेज पार्न सफल भएका दुवै नेता अब आफ्ना चिरपरिचित सत्तालम्पट इच्छाहरूलाई वैधानिकता दिन चाहन्छन् ।

अघिल्लो साता मात्र पार्टीको महाधिवेशनबाट अर्को पाँचवर्षका लागि अध्यक्ष बन्न सफल भएका कमरेड ओली यस बीचमा फागुन २१ को चुनाव हुन नदिने, संसद पुनर्स्थापना गर्ने र भदौ २२ तिर फर्केर भदौ २३ र २४ लाई राजनीतिको इतिहासबाट मेट्ने प्रयासमा सक्रिय छन् ।

सपथ समारोहमा उनले दिएको अभिव्यक्ति चुनाव भए भाग लिने भन्ने पातलो पर्दा हालेर देशलाई भदौ २२ मा फर्काउने लक्ष्य सम्प्रेषण गर्ने प्रयास थियो ।

उता पार्टीभित्र विशेष महाधिवेशनको माग र नेतृत्व परिवर्तनको लागि दबाब बढ्दै गएपछि उपसभापति खड्कालाई कार्यवाहक दिएर सिंगापुर उडेका कांग्रेस सभापति देउवाले उतैबाट पार्टीलाई विस्तारै आफ्नो कब्जामा लिन सफल भएका थिए ।

पार्टीको केन्द्रीय समितिको बैठकलाई महाधिवेशनबारे निर्णय गर्न महिनौंसम्म रोक लगाइएको थियो । अहिले पनि उनी तोकिएको समयमा महाधिवेशन नगर्ने, ओलीसँग सहकार्य गर्दै सर्वोच्चबाट आफ्नो पक्षमा मुद्दा फैसला गराउने र फेरि प्रधानमन्त्री बन्ने क्षुद्र चाहना पूरा गर्न संकल्पित छन् । कमसेकम उनी सिंगापुरबाट फर्केपछिका गतिविधिले यसलाई पुष्टि गर्छन् ।

यसरी यस साता पुरानो सरकारका प्रतिनिधि यी दुई पक्षबीचको भेट राजनीतिलाई फेरि भदौ २२ (अनिवार्य छ कि २२ पछि २३ र २४ अझ भद्दा प्यारोडी बनेर दोहोरिनेछन्) तिर फर्काउन सक्रिय रहेको छ ।

चुनावको वातावरण छैन भन्ने न्यारेटिभ स्थापना गरेर समाजमा अनिश्चितता र भयको वातावरण सिर्जना गर्ने र क्रमशः सुशीला सरकार विस्थापित गर्दै सरकार बनाउने प्रपञ्चमा लागेको यो समूह अहिलेको राजनीति र भावी पुस्ताको जीवनका लागि पनि एउटा पर्खाल बन्ने प्रयासमा छ ।

जो वर्तमान संकटका कारण हुन्, जसको शासनका कारण भदौ अन्तिम साताका राजनीतिक बाढीपैहिरो देशले बेहोर्नुपरेको थियो उनीहरू फेरि षड्यन्त्र र धोकाधडीका माध्यमबाट देशलाई उतै फर्काउने ध्याउन्नमा छन् । प्रत्यक्षमा राजनीतिले प्रतिध्रुवको माग गरिरहेको छ ।

समग्रमा देउवाले नबोलेरै र ओलीले हंगामा खडा गरेर यो साता फागुन २१ मा निर्धारित निर्वाचन हुन सम्भव छैन, हुँदैन भन्ने मनोविज्ञानको धुँवा क्षितिजसम्मै फैलाउन कोशिश गरेका थिए । तर त्यो धुँवाको पर्दा अरू दुई वटा भेटले पातलो बनाउँदै छन् ।

२. रवि–बालेन भेट

संयोग नै हो कि ओलीले अध्यक्ष पदको सपथ लिएकै समयमा रवि लामिछाने जेलबाट रिहा हुँदै थिए । रविमाथिको अभियोग कति पुष्टि हुन्छ–हुन्न भन्ने विषय अदालतको क्षेत्राधिकारको विषय भएकोले यता चर्चा गरिरहनु परेन । तर उनी जेलबाट बाहिरिएसँगै जुन सक्रियता देखाएका छन्, त्यसले देउवा–ओली समीकरणबाट निर्मित भाष्यलाई चुनौती दिएको छ ।

त्यसक्रममा रविले प्रधानमन्त्रीसँग संवाद गरेर चुनावका पक्षमा दबाब र प्रोत्साहन गरेका छन् । रवि रिहा भएपछि ओलीले स्थापित गर्न चाहेको चुनाव हुन्न भन्ने रटानलाई फागुन २१ मा चुनाव हुन्छ भन्ने न्यारेटिभले जित्न थालेको छ ।

रविले भदौ २४ पछिको राजनीतिक ग्यापलाई भर्ने प्रयास गरेका छन् जुन ग्याप परम्परागत राजनीतिक दलको विकल्पमा आउने चुनावपछि के हुन्छ भन्ने अन्योलले सिर्जना गरेको थियो । जेनजीका अनेक उपसमूहहरू बनेर आन्दोलनको स्वामित्व लिने हैसियत गुमाउन पुगेकाले पनि उत्पन्न भएको ग्याप थियो त्यो ।

रास्वपा सभापति रवि र काठमाडौंका मेयर बालेन शाहबीच लामो भेटवार्ता भएको छ । उनीहरूले सँगै गीत गाएका छन् । केही छोटो दूरी एउटै गाडीमा सवार भएका छन् । यो भेटवार्ताले देशको राजनीतिमा देखापर्दर् ैगरेको नयाँ सम्भावनालाई उजागर गर्छ ।

धेरै संभावना छ कि रवि, बालेन र कुलमान घिसिङ समूहका बीच आगामी निर्वाचनमा सहकार्य गर्ने गरी गठबन्धन हुनेछ । यस्तो भयो भने यसले भदौ २३ र २४ का आन्दोलनको राजनीतिक स्वामित्व ग्रहण गर्नेछ । कतिपय जेनजी समूहहरू यसमा सामेल हुनेछन् ।

जेनजीहरू सामेल हुँदा रास्वपा समेतले एउटा राजनीतिक वैधता पाउने छ जसको उसलाई अभाव थियो । कहाँबाट आयो, के हो भन्ने प्रश्नको सामना गरिरहेको रास्वपाका लागि यो आफूलाई जनतासँग जोड्ने अवसर हुनेछ ।

सँगै, यसले रवि र बालेनहरूलाई बहुलवादी बन्न र बढी डेमोक्रेटिक स्पेस स्वीकार गर्न दबाब हुनेछ । सँगै यसले टुहुरो बन्दै बीचैमा हराउला जस्तो भएको जेनजी आन्दोलनलाई शक्ति प्रदान गर्दै त्यसलाई इतिहासको नमेटिने मोडका रूपमा अभिलिखित गर्न सहयोग गर्नेछ ।

एउटा सम्भावना यो पनि छ कि यो समूहले आउने निर्वाचनमा सहज बहुमत हासिल गरेर सरकार बनाउने छ । त्यसपछि के हुनेछ ? त्यसले देशको लोकतान्त्रिक स्पेस खुम्च्याउने छ कि विस्तारित गर्ने छ ? बालेन, रवि र कुलमान कुनै वैचारिक–सैद्धान्तिक परम्पराका अनुयायी देखिन्नन् । सुधार र सुशासनलाई मूल ध्येय बनाएका यिनीहरू सत्तामा पुगेपछि बाह्य शक्तिकेन्द्रबाट प्रत्यक्ष–परोक्ष प्रभावित हुनसक्दैनन् भन्ने जिज्ञासाको उत्तर उनीहरूले दिन बाँकी नै छ ।

बारम्बार धम्कीपूर्ण अभिव्यक्ति दिइरहने (रवि र बालेन) हुनाले आफूलाई मन नपर्नेहरूका विरुद्ध बदलाको भावले कारबाही गर्ने र संवैधानिक कानुनी शासनको सीमा अतिक्रमण गर्न सक्ने जोखिम पनि रहन्छ । ओली नेतृत्वको दक्षिणपन्थी झुकाव भएको परम्परागत समूह र रवि–बालेन नेतृत्वको पपुलिष्ट दक्षिणपन्थी समूहका बीच घातप्रतिघात सहितको ध्रुवीकरणमा नेपालको लेफ्ट लिवरल शक्ति कमजोर हुने र लोकतान्त्रिक स्पेस खुम्चिने जोखिम आगामी राजनीतिको विषयमा चर्चा गर्दा सतर्क हुनुपर्ने पक्ष हो ।

यी अनुमानका कुरा हुन् । मुख्य कुरा के हो भने रबि, बालेन र जेनजी नेपालको राजनीतिमा विगत ३५ वर्षदेखि जारी रहेको कांग्रेस–एमालेको शासकीय बर्चस्व तोड्न सक्रिय छन् । ओली–देउवा उक्त वर्चस्व जोगाउन संघर्षरत छन् ।

र, हाम्रो चासोका सन्दर्भमा सकारात्मक पक्ष यति हो कि रवि र बालेन बीचको भेटले देशलाई अनिश्चयबाट चुनावतिरको बाटोमा जान सहयोग गरेको छ । देश जानुपर्ने त्यतै हो । यसमा कसको जीत र कसको हार हुन्छ भन्ने मुख्य प्रश्न हुनुहुँदैन (सैद्धान्तिक रूपमा त यस्तो चासो हुनुनैपर्छ) ।

निर्वाचित संसद मार्फत जनप्रतिनिधिहरू फेरि शासन सत्तामा फर्कने छन् । संविधानले लय समात्ने छ । जीत हार त जनताको छनोटको विषय हो जो पनि आउन या फालिन स्वतन्त्र छ ।

३. शीतल निवासको शिखर वार्ता

भदौ २७ मा बहिर्गमित प्रधानमन्त्री, संकट र दबाबमा रहेका राष्ट्रपति, संविधानको अघोषित संरक्षक बन्न पुगेका प्रधान सेनापति र जेनजी विद्रोहका दृश्य अदृश्य खेलाडीहरूका बीच भएको रुची अरुची सहितको सहमतिले एउटा भ्याकुम रहेको समयमा प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले नागरिक सरकारको नेतृत्व सम्हलिन् ।

विद्रोही पक्षको प्रतिनिधित्व गरेकी प्रधानमन्त्रीले पहिलो निर्णयबाटै प्रतिनिधिसभा विघटनको सिफारिस गरिन् । सरकार र संसदबाट समेत लखेटिएका राजनीतिक दलका नेताहरू खासगरी ओली, देउवा र प्रचण्डको मुख हेर्न मन नलागेको भन्दै ललकार्दै चुनाव गराउन हिंडिन् ।

प्रधानमन्त्री कार्कीले नबुझेको के कुरा थियो भने उल्लेखित तीन जना नेता उनीहरूको दलले पत्याउने बेलासम्म राजनीतिका निर्णायक खेलाडी हुन् र उनीहरू सहभागी नभएको निर्वाचनले राजनीतिक वैधता पाउँदैन । बालुवाटार र गुण्डुका बीच शब्दयुद्धले समकालीन राजनीतिलाई अशिष्ट र असभ्य बनाइरहेको थियो ।

दुई पक्षका बीचको जोगी भैंसीको कथाले मंगलबार राष्ट्रपति पौडेलको पहलमा भएको वार्तापछि नयाँ मोड लिएको छ । आफ्ना विरुद्ध सरकार लागेको भन्ने कथ्य बेच्दै गरेका ओलीले जाँचबुझ आयोगलाई गुण्डुमै आएर आफूलाई भेट्न निम्तो पठाएका छन् । शीर्ष नेतृत्वका बीच बालुवाटारमै थप भेटघाट हुने चाँजो मिलाइएको छ । थोरै बादल फाटेको छ ।

यद्यपि, देउवा–ओली गठबन्धनले चुनावमै नगई फेरि प्रधानमन्त्री बन्ने बाटोमा जान जोड दिएका छन् । तर अब व्यवहारिक रूपमा समेत यो सम्भव देखिन्न । यो सामान्य अवस्थामा केपी ओलीले दुई पटक संसद विघटन गर्न लिएको निर्णय जस्तो अवस्था होइन । एउटा असामान्य संकटबाट देशलाई उद्धार गर्न गरिएको संकटकालीन व्यवस्थापन अन्तर्गतको निर्वाचन हो । संसद विघटन पनि त्यसकै एउटा अंग हो । त्यसैले पनि संवैधानिक अदालतले सहज अवस्थामा जस्तो संविधानका धारा मात्र हेरेर प्राविधिक रूपमा फैसला गर्ने अपेक्षा गरिएको छैन ।

शीतल निवासको शिखरवार्ताले पनि चुनावलाई नै बल पुग्नेछ भन्नेमा म चाहिँ थप विश्वस्त छु । सुरक्षाको प्रश्न आफ्ना सस्तो सत्ताकांक्षालाई ढाकछोप गर्ने ओली–देउवा प्रपञ्च मात्रै हो । चुनाव हुन सम्भव छ र हुनुपर्छ ।

समग्रमा पछिल्ला घटनाक्रमले स्थापित संस्थापन पक्ष र आउटसाइडर पपुलिष्टहरूका बीचको वैचारिक लडाईंलाई उत्कर्षतिर लाँदैछ । सँगै, आम मनोविज्ञानले पनि चुनावतिरै देशलाई धकेलिरहेको देख्न सकिन्छ । यसका परिणामहरूबारे चर्चा गर्नु हतारमात्र हुनेछ ।

अन्तमा

यस क्षेत्रका देशहरू अशान्त छन् । पाकिस्तान, बांगलादेश, म्यानमार र थाइल्याण्ड राजनीतिक अस्थिरताका अनन्त शृंखलामा छन् । श्रीलंका पछिल्लो दुई वर्ष तुलनात्मक स्थिरतातिर छ तर यस क्षेत्रकै ठूलो आर्थिक संकटबाट अझै राम्रोसँग उत्रिसकेको छैन ।

छिमेकी भारत र चीनमात्र यस वरपर स्थिर राजनीतिक वातावरण भएका देश हुन् । सन् २०२४ को जुलाई–अगष्टका घटनाबाट अशान्ति र अराजकताको सिलसिला पच्छ्याएको बंगलादेशमा आउने फेब्रुअरीमा निर्वाचन हुने भनिएकै समयमा दुईजना भारतविरोधी राजनीतिक कार्यकर्ताहरूमाथि सांघातिक हमला भएको छ । जसमध्येका एकजना अगष्ट विद्रोहका जानेमाने विद्यार्थी नेता ओस्मान हादीको मृत्युपछि बंगलादेशमा हिंसाको सिलसिला सुरु भएको छ ।

यस अगाडि ढाकामा सीआईए र आईएसआईका एजेन्टहरू मारिएका थिए जसमा रअको हात रहेको मानिन्छ । भारत विरोधका नाममा लिवरल र प्रोग्रेसिभ तत्वहरूमाथि आक्रमण तीव्र बनाइएको छ । भारतस्थित उच्चायोगबाट भिसा जारी गर्ने प्रक्रिया स्थागित गर्न बंगलादेश बाध्य भएको छ । फेब्रुअरीमा घोषित निर्वाचन भएन भने उसले पनि पाकिस्तानी मोडलको निरन्तर अस्थिरताको सिकार हुने सस्म्भावना छ ।

चीन र भारत विपरीत प्रकृतिका शासन व्यवस्था भएपनि आर्थिक वृद्धिलाई सुहाउँदो गरी स्थिरतातिर छन् तर उनीहरूको भूराजनीतिक चलखेलले क्षेत्रीय स्थिरतातिर भन्दा अस्थिरतातिर धकेल्ने जोखिम छ ।

यता, नेपाल आर्थिक वृद्धिका दृष्टिले कमजोर र राष्ट्रिय सुरक्षाका दृष्टिले जोखिमपूर्ण अवस्थामा छ । यस्तोमा राजनीतिक प्रक्रियालाई संवैधानिक लिकमा ल्याउनु, शासकीय सुधारहरू र नीतिगत परिवर्तन सहित अर्थतन्त्रमा रहेका संरचनागत समस्याहरूमाथि हस्तक्षेप गर्नु र छिटो आर्थिक वृद्धि दर हासिल गर्दै समावेशी समृद्धि सहितको लोकतन्त्रमा जानु हाम्रो तत्कालको कार्यभार हो । यसका लागि पनि घोषित मितिमा निर्वाचन गर्ने वातावारण बनाउनु सरकार र मुख्य भनिएका राजनीतिक दलको जिम्मेवारी हो ।





Read More