― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsभारत, पाकिस्तान र सार्क – KhabarHost

भारत, पाकिस्तान र सार्क – KhabarHost



कुनै बेला गरिबहरूको घर भनिने सार्क अचेल कलहै–कलहको घर भएको छ । कूटनीतिक तनाव अन्यत्र कहाँ पो छैन र ! तर सार्क राष्ट्रहरू खासगरी भारत र पाकिस्तान आपसी विवादलाई साम्य गर्न तयार देखिंदैनन् । यसको सिधा असर सार्कमा परेको छ ।

दुई वर्षअघि म नयाँदिल्ली पुग्दा एक जना भारतीय उच्च कूटनीतिज्ञले त गफगाफका क्रममा सिधै ठोकुवा गरिदिए— सार्क इज डेड ! अर्थात् सार्क मरिसक्यो ।

मरिसक्यो भनेर दाबा गरिएको सार्कले आफ्नो जीवनको धुकधुकी चलिरहेको त यदाकदा छनक दिइरहन्छ, तर ठूलो महत्वका गतिविधि भने अचेल छैनन् ।

यस्तैमा काठमाडौंमा एक साताअघि एउटा नियमित तर अर्थपूर्ण जमघट भयो । अफगानिस्तान, भारत, बंगलादेश, भूटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र नेपालका कूटनीतिज्ञहरू अघिल्लो साता अर्थात् डिसेम्बर ९ मा काठमाडौंको याक एन्ड यतीमा एकैठाउँ उभिएर सार्कको चालीसौं स्थापना दिवस मनाए ।

डिसेम्बर ८ सार्कको जन्मदिन हो । दक्षिणएशियामा क्षेत्रीय शान्ति, सुरक्षा तथा बलियो सहकार्य चाहिएको भन्दै बंगलादेशमा सन् १९८५ मा यो क्षेत्रभरिका नेताहरू जुटे । नेपालबाट तत्कालीन राजा वीरेन्द्र सहभागी थिए । त्यही भेला मार्फत दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको घोषणा भएको थियो । त्यसको दुई वर्षपछि काठमाडौंमा यसको सचिवालय राखियो । आजसम्म पनि यो काठमाडौंमै छ ।

यति बेला सार्कको महासचिवमा बंगलादेशका गोलम सरवार छन् । तिनै सरवारको निमन्त्रणा मान्दै हामी याक एन्ड यतीमा विभिन्न देशको सम्मानमा बजेका लोकप्रिय राष्ट्रिय तथा लोकधुन सुन्दै थियौं ।

दुई वर्षको अन्तरालमा सार्कको शिखर सम्मेलन गरिने प्रचलन छ । तर भारत र पाकिस्तान बीचको शक्ति खिचातानी अनि क्षेत्रीय सुरक्षामा त्यसले पार्ने प्रभावलाई दृष्टिगत गर्दै सार्कको नियमित बैठक राख्न समेत सदस्य राष्ट्रहरू असफल छन् ।

 पछिल्लोपल्ट सन् २०१४ मा काठमाडौंमा सार्कको शिखर सम्मेलन भएको थियो । त्यस बेला भर्खरै भारतमा प्रधानमन्त्री निर्वाचित नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफ बीचको भेटलाई अर्थपूर्ण मानिएको थियो । उनीहरूले शिखर सम्मेलनपछि धुलिखेलमा दिइएको भोजका क्रममा आपसमा केहीबेर कुराकानी समेत गरेको खुलासा भारतीय पत्रकार बर्खा दत्तले केही समयपछि आफ्नो किताब अनक्वाइट ल्यान्डमा गरेकी थिइन् ।

यसरी सार्कलाई कलहको घर भन्ने गरे पनि यसले शान्ति, भाइचारा र मेलमिलापका लागि कुरा गर्ने स्पेस समेत सिर्जना गर्न सक्छ भन्ने दृष्टान्त यी दुई नेताहरू बीचको छलफल पनि हो ।

तर पछि सन् २०१६ मा पाकिस्तानमा हुनुपर्ने सम्मेलन हुनसकेको छैन । उरी आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले उक्त सम्मेलन बहिष्कार गर्ने निर्णय लियो । कुनै एक सदस्य राष्ट्रले नाइँ भन्नेबित्तिकै सार्क सम्मेलन प्रभावित हुने परम्परा छ ।

त्यसयता दुई देश बीचको सम्बन्धमा पर्याप्त उतारचढाव छ । याक एन्ड यतीकै कार्यक्रममा पनि पाकिस्तानले आफ्ना राजदूत अब्रार हाशमीलाई पठाउँदा भारतले दूतावासको तेस्रो तहकी मानिने गीतान्जली ब्रान्डनलाई पठायो ।

भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने अतिरिक्त सचिव मुनु महाबर त्यसै बेला नेपाल आइपुग्नु र राजदूत नवीन श्रीवास्तव व्यस्त बन्नु संयोग पनि हुन सक्छ । त्यसको केही दिनपछि राजदूत पदयात्राका क्रममा अस्वस्थ बन्न पुगे, यतिबेला स्वास्थ्यलाभ गर्दैछन् ।

यो बीचमा श्रीलंका, बंगलादेश, नेपालमा ठूला राजनीतिक उथलपुथल भए । भनौं; सन् २०२१ यता सार्क क्षेत्रमा थप नयाँ विद्रोह तथा कलह सिर्जना भएका छन् । साँच्चै भन्ने हो भने यस्तो बेलामा झन् बढी क्षेत्रीय संवाद र एकता आवश्यक पर्ने हो । तर सार्क भने कुनै पनि खाले छलफल तथा तनाव व्यवस्थापनमा चुक्दै गएको देखिन्छ । बरु बिमस्टेक, ब्रिक्स तथा एससिओ जस्ता संस्थाहरूले निर्णायक भूमिका खेल्न थालेका छन् ।

नेपालमा भदौ २३ र २४ मा जेनजी विद्रोह हुनुभन्दा अघिल्लो साता तत्कालीन प्रधानमन्त्री केपी ओली स्वयं एससिओ डायलगका लागि चीनमा थिए । कतिपयले त उनको त्यो सहभागिताका क्रममा थपिएको रेड परेड हेर्ने कार्यक्रम समेत उनको सत्ता बहिर्गमनको कारक बन्न पुगेको अड्कलबाजी गर्ने गरेका छन् ।

सार्क महासचिव सरवारले काठमाडौंको पछिल्लो कार्यक्रमका सन्दर्भमा भनेका थिए– ‘अहिले पनि सार्क क्षेत्रको भाइचारा बढाउँदै आर्थिक तथा विकास सहकार्यमा केन्द्रित हुनुको विकल्प छैन ।’ तर सार्कले आन्तरिक राजनीतिक तनावहरूलाई आर्थिक मुद्दाहरू मार्फत विषयान्तर गर्न सकेको छैन । सार्क अन्तर्गत बनेको साफ्टाले त्यो भूमिका खेल्न सकेको छैन ।

संकटमा नेतृत्वको परीक्षण हुन्छ, तर सार्क यतिबेला सदस्य राष्ट्रहरूको उपेक्षा र बेवास्ताको शिकार बन्दैछ, र औचित्य पुनर्पुष्टिको दोसाँधमा छ ।

यसै वर्ष पनि सार्क सम्मेलनको कुरा निस्किंदा भारतीय पक्षले यो पाकिस्तानकै कारण हुन नसकेको सिधा आरोप लगाएको छ । पाकिस्तानका राष्ट्रपति आसिफ जर्दारी र प्रधानमन्त्री शेहबाज शरिफ दुवैले आफू सार्कका लागि पूर्ण प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

यतिबेला मल्टिल्याटरलिज्म अर्थात् बहुपक्षीयतावादको महत्व बढेर गएको छ, जबकि सार्क सदस्य राष्ट्रहरूले त्यो तथ्य शब्दमा दोहोर्‍याउँदै गर्दा कार्यान्वयनमा ध्यान दिएका छैनन् ।

पाकिस्तानका विदेशमन्त्री इजाक दरले भनेका छन्: दक्षिणएशियामा बहुपक्षीयता पूरै आक्रमणको शिकार बनेको छ । तर विदेशमन्त्रीको भनाइलाई पत्याउने आधार भने स्वयं पाकिस्तानले दिनुपर्छ । यो ख्याल गरौं कि भारत आफैं पनि बहुपक्षीयताको वकालत गर्ने राष्ट्र हो । उसोभए दुई देश बीचको मान्यतामा कहाँनेर फरक पर्न गयो, बसेर समीक्षा गर्नुको विकल्प छैन ।

राष्ट्रियताको चर्को अडानलाई क्षेत्रीयताको साझा आकांक्षाले प्रतिस्थापित गर्ने दिन आयो भने सार्क राष्ट्रहरूका लागि त्यो खुशीको कुरा हुनेछ ।

पाकिस्तानले आफ्नो तर्फबाट वक्तव्यहरू दिए पनि संवादको थालनी गर्ने दायित्व भने निभाएको छैन । अब सम्मेलन हुँदा वर्णानुक्रम अनुसार नेपालपछि पाकिस्तानकै पालो हो, तर उसको निष्क्रियता, अनि आन्तरिक राजनीतिका शृंखलाहरूमा जेलिंदा जेलिंदा क्षय भएको उसको कूटनीतिक शक्तिका कारण पनि यो इस्लामावादमा सम्भव हुने देखिंदैन ।

यस्तो बेलामा सार्क राष्ट्रहरूले वैकल्पिक उपाय अपनाउन सक्छन् । अल्फाबेटका आधारमा सम्मेलन गर्ने परम्परा छाडेर अर्को कुनै तटस्थ भेन्युमा सार्क समिट आयोजना गर्ने, जहाँबाट तिक्तता उत्पन्न नहोस्; बरु विवादित एजेन्डाहरूको रचनात्मक बैठान पनि हुनसकोस्, जस्तो कि तिक्तताकै बीच मोदी र शरिफले धुलिखेलमा एकान्तवार्ता गरेका थिए । र, सार्क नै यसको प्लाटफर्म बन्न गएको थियो ।

सार्कलाई जगाइराख्ने अर्को पनि उपाय छ । अब यसको ब्यानरमुनि राजधानीकेन्द्रित कूटनीतिक एजेन्डालाई कम, व्यावहारिक आर्थिक विषयहरू बढ्ता ल्याउनुपर्‍यो । क्षेत्रीय व्यापार, साझा पूर्वाधारको निर्माण अनि पिपुल टु पिपुल डिप्लोमेसीलाई केन्द्रमा राख्ने हो भने अरू तनावमा समय गुजार्नै पर्दैन । आम जनताका एजेन्डा केन्द्रमा पर्नेबित्तिकै साझा संस्कृति र प्रवृत्तिका कुराले स्वत: प्राथमिकता पाइहाल्छन् ।

तर हाम्रोमा के हुन्छ ? देश विशेषका राजधानीमा बस्ने नेताहरूका इगो नै हावी हुने गर्छन् । यही अर्थ न बर्थको इगो यतिबेला सार्क विकासको बाधक बन्न गएको छ ।

४० वर्षको लाठे भइसकेर पनि सार्क अधबैंसे हुन लागिसक्यो, तर यहाँ दक्षिणएशियामा क्षेत्रीय सहकार्यको सपना अझै पनि अपूरो छ । ती भारतीयले दुई वर्षअघि भने झैं सार्क मरिसकेकै जस्तो त मलाई लाग्दैन, तर सदस्य राष्ट्रहरू उदासीन बन्दै गए भने सार्कको ४०औं वर्षगाँठका बेला देखिएको उत्साह छिटै शिथिल हुन पनि सक्छ । संस्थाको जीवन पनि मान्छेकै जीवन जस्तो हो । आहार, आराम र व्यायामको कमीले यो ऊर्जावान् उमेरमै ओइलाउन पनि सक्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More