राष्ट्रिय
समाचार.
- नेपाली कांग्रेसले २६–२८ पुसमा १५औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरी १६५ निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिरहेको छ।
- महामन्त्री गगनकुमार थापालाई आधा दर्जन जिल्लाबाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस गरिएको छ, तर उनले काठमाडौं–४ बाट चुनाव लड्ने मनस्थिति बनाएका छन्।
- कांग्रेस उपसभापति धनराज गुरुङलाई स्याङ्जा १ र २ बाट र पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई कैलाली–५ र बर्दिया–२ बाट सिफारिस गरिएको छ।
१ पुस, काठमाडौं । ७६ वर्ष लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेस एकसाथ महाधिवेशन र संसदीय निर्वाचनको तयारीमा होमिएको छ ।
२६–२८ पुसमा पार्टीको १५औं महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न लगाइरहेको छ ।
कांग्रेसले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेकै दिन १५ मंसिरदेखि नै आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि उम्मेदवार टुंगो लगाउन आकांक्षीहरूको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।
केन्द्रीय कार्यसमितिले मापदण्ड तोकेर परिपत्र गरेपछि एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला कार्यसमिति र दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका क्षेत्रीय कार्यसमितिहरूले माथिल्लो तहमा धमाधम आकांक्षीको नाम सिफारिस गरिरहेका छन् ।
जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिहरू नाम सिफारिस गर्दा कोही आकांक्षीहरूको नाम एकल सिफारिस गरिरहेका छन् भने कसैले केन्द्रले निर्धारण गरेको मापदण्डभन्दा बढी आकांक्षीहरूको नाम माथिल्लो तहमा पठाइरहेका छन् ।
केही जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिहरूले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरूको नाम आ–आफ्नो निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिनु पर्ने भन्दै सिफारिस गरेका छन् ।
जसमा सबैभन्दा अग्रपंक्तिमा देखिएको नाम हो– महामन्त्री गगनकुमार थापा । उनलाई आधा दर्जन जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।
महामन्त्री थापालाई काठमाडौं–४ सँगै रोल्पा, धनकुटा, सर्लाही–४ र तेह्रथुमबाट प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरिएको हो । काठमाडौं–४ को क्षेत्रीय कार्यसमिति र तेह्रथुमको जिल्ला कार्यसमितिले थापाको नाम एकल सिफारिस गरेको छ ।
यस्तै उपसभापति धनराज गुरुङको नाम स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट सिफारिसमा परेको छ । पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई कैलाली–५ र बर्दिया–२ का कांग्रेसका क्षेत्रीय कार्यसमितिहरूले जिल्ला समक्ष सिफारिस गरेका छन् । कांग्रेसको सुदूरपश्चिम कार्यसमिति सभापति वीरबहादुर बलायरको नाम कैलाली–४ र डोटीबाट सिफारिस भएको छ ।

एकभन्दा बढी निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीको नाम किन सिफारिस गरिन्छ ? राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘यो संविधान नपढेको उदाहरणमात्रै त पक्कै होइन होला, संविधान त पढ्नु भएकै होला । अहिले दुई ठाउँमा उठ्नै पाइँदैन । यो नेताप्रति बफादारिता देखाउने, भक्तिभाव देखाउने कुरूप प्रदर्शन हो ।’
महामन्त्री थापाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गर्ने जिल्ला रोल्पा हो । रोल्पा कांग्रेसले थापा निर्वाचन लड्दै आएको क्षेत्र काठमाडौं–४ बाट सिफारिस हुनभन्दा अगाडि नै सिफारिस गरेको थियो ।
रोल्पाबाट सिफारिस गर्नुको कारणबारे जिल्ला सभापति किशोरकुमार आचार्य भन्छन्, ‘जिल्लामा उहाँको माग छ । हाम्रो जिल्लाबाट प्रतिनिधित्व गर्नुपर्छ भन्ने चाहना हामीहरूको छ ।’
उनले महामन्त्री थापाको पक्षमा देखिएको लहर र नाम सिफारिस गर्दा जिल्लालाई पुग्ने फाइदा मूल्यांकन गरेर सिफारिस गरिएको प्रतिक्रिया दिए । ‘उहाँप्रतिको जुन क्रेज छ, त्यो कारणले उहाँलाई रोल्पाबाट सिफारिस गरौं भनेर सिफारिस गरेका हौं,’ सभापति आचार्यले अनलाइनखबरसँग भने, ‘कार्यकर्ता साथीहरूले गगन थापा जत्तिको नेतालाई रोल्पाबाट सिफारिस गर्दा राम्रो सन्देश पनि जान्छ र जिल्लामा केही काम पनि होला भन्ने हिसाबले सिफारिस गरेका हौं ।’
महामन्त्री थापाको नाम धनकुटाबाट सिफारिस गरेका जिल्ला सभापति दिनेश राईले जिल्लामाथि केन्द्रबाट हुँदै आएको अन्यायविरुद्धको कदम भएको बताए ।
‘धनकुटा कांग्रेसलाई केन्द्रबाट जहिल्यै अन्याय हुँदै आएको छ । विगतका तीन–तीन पटकका चुनावमा केन्द्रले गरेको कमजोरीका कारण धनकुटा कांग्रेस हारेको छ,’ उनले भने, ‘यसबारे केन्द्रले कहिल्यै समीक्षा गर्दैन । यसलाई केन्द्रले सुधार्नुपर्छ । केन्द्रको सबैभन्दा पपुलर, शक्तिशाली नेता र भविष्यको प्रधानमन्त्री भएर महामन्त्रीको नाम सिफारिस गरेका हौं ।’
धनकुटालाई मोरङपछिको सबैभन्दा बढी प्रधानमन्त्री पाउने जिल्लाको रूपमा चित्रित गर्दै सभापति राईले महामन्त्री थापालाई जिल्लाबाट जिताएर प्रधानमन्त्री बनाउने दाबी पनि गरे ।
‘कांग्रेस सुधार्ने कुरा, सुधार्नका लागि जनताले पत्याएको सशक्त उम्मेदवार चाहियो, त्यसैकारण गगन थापालाई हामीले सिफारिस गर्यौं,’ उनले भने, ‘गगन थापा यहाँबाट जितेर जाँदै गर्दा प्रधानमन्त्री हुने सम्भावना पनि प्रबल छ । त्यसैकारण हामीले गगन थापालाई धनकुटाबाट जिताउने प्रस्ताव रहेको छ ।’

विभिन्न जिल्लाहरूले २१ फागुनमा हुन गइरहेको निर्वाचनका लागि प्रत्यक्षतर्फ नाम सिफारिस गरे पनि महामन्त्री थापा काठमाडौं–४ बाटै प्रतिस्पर्धा गर्ने मनस्थिति बनाएर बसेका छन् ।
जिल्ला र क्षेत्रीय कार्यसमितिहरूले उम्मेदवारको नाम सिफारिस गर्नुअगावै उनले हिमालय टेलिभिजनको अन्तरवार्तामूलक कार्यक्रम ‘यक्षप्रश्न’मा काठमाडौं–४ बाहेक अन्य क्षेत्रमा निर्वाचन लड्ने योजना नरहेको प्रष्ट्याइसकेका थिए ।
कांग्रेस उपसभापति गुरुङ गत निर्वाचनमा स्याङ्जा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । आशन्न निर्वाचनका लागि उनलाई स्याङ्जा १ र २ नम्बर बाट क्षेत्रीय कार्यसमितिहरूले प्रत्यक्षतर्फको उम्मेदवारका लागि नाम सिफारिस गरेका छन् ।
उपसभापति गुरुङ स्वयंले दुवै क्षेत्रबाट सिफारिस गरिनुपर्ने चाहना राखेपछि सिफारिस गरिएको स्याङ्जा–१ को क्षेत्रीय कार्यसमितिको भनाइ छ ।
‘उहाँको मतदाता नामावली भएको क्षेत्र १ नम्बर हो । २०७९ मा क्षेत्र नम्बर २ बाट चुनाव लड्नु भएको हो । विजयी पनि हुनुभएको हो,’ क्षेत्रीय सभापति तुलसीराम रेग्मीले भने, ‘मेरो नाम १ बाट पनि सिफारिस गरिदिनुपर्यो भन्नुभयो । अब केन्द्रीय उपसभापतिले चाहना राखिसकेपछि गर्नुपर्छ भनेर सिफारिस गरेका हौं ।’

सुदूरपश्चिम प्रदेश सभापति बलायर प्रतिनिधिसभा निर्वाचन २०७९ मा कैलाली–४ बाट विजयी भएका थिए । उनलाई कैलाली–४ को क्षेत्रीय कार्यसमितिले यसपल्ट पनि उम्मेदवारका लागि जिल्ला समक्ष सिफारिस गरेको छ ।
कैलाली–४ बाट सिफारिसमा परेका प्रदेश सभापति बलायरलाई डोटीबाट पनि सिफारिस गरिएको छ । डोटी बलायरको गृहजिल्ला पनि हो । गत निर्वाचनमा उनलाई पार्टीले जबर्जस्ती कैलाली–४ पठाएका कारण यसपल्ट डोटीबाट सिफारिस गरिएको जिल्ला सभापति नरेन्द्रबहादुर सिंहको भनाइ छ ।
‘योभन्दा अगाडिको निर्वाचनमा उहाँलाई बलजफ्ती कैलाली पठाइएको थियो । यो उहाँको गृहजिल्ला हो । डोटीबाट राजनीति गर्दै आउनुभएको छ,’ सभापति सिंहले भने, ‘त्यही हिसाबले मैले डोटीबाट चुनाव लड्न पाउनुपर्छ भन्ने चाहना उहाँ (बलायर) को छ । त्यही भएर डोटीबाट उम्मेदवार सिफरिस गरेका हौं ।’

पूर्वपरराष्ट्रमन्त्री राणा कैलाली–५ बाट निर्वाचन लड्दै आएकी छन् । उनलाई कैलाली–५ सँगै बर्दिया–२ बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य राणालाई बर्दिया–२ बाट सिफारिस गरिनुको कारणबारे क्षेत्रीय सभापति दीपकजंग शाह भन्छन्, ‘पहिला पनि हामीले सिफारिस गरेका थियौं । किनकी उहाँको दुई नम्बर क्षेत्रमा जग्गा पनि छ । उहाँको प्रभाव पनि राम्रो छ । साथी–भाइहरूले उहाँको नाम पनि पठाऔं भनेपछि जिल्लामा सिफारिस गरेका हौं ।’
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

