राष्ट्रिय
समाचार.
- नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा बिहान आठ बजेदेखि सुरु हुँदैछ।
- २ हजार २६२ जना प्रतिनिधिहरुले २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् जसमा अध्यक्ष, महासचिव, उपाध्यक्ष र सचिव पदहरू छन्।
- नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन् र सहमतिमा नभए विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिने एमालेले जनाएको छ।
२८ मंसिर, काठमाडौं। नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । बन्दसत्र बिहान आठ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।
बन्दसत्रमा २ हजार २६२ जना प्रतिनिधिहरु सहभागी हुँदैछन् । उनीहरुले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् ।
हिजो भक्तपुरको सल्लाघारीमा महाधिवेशन उदघाटन भएको थियो । विधान महाधिवेशन गत भदौमै सम्पन्न गरिसकेकाले आजबाट एमाले सिधै नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्न लागेको हो ।
नेतृत्वमा हालका अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल दाबेदार छन् । सकेसम्म सहमतिमा, सहमति नभए मतदान प्रक्रियामार्फत् भए पनि नेतृत्व चयन गर्ने एमालेको तयारी छ । मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेले जनाएको छ ।

