― Advertisement ―

चन्द्रमामा 5.6 मिलियन नामहरू लिन प्रयोग गरिएको एउटै माइक्रोएसडी कार्ड आर्टेमिस II मिशनको भागको रूपमा किन्नको लागि उपलब्ध छ।

केवल धेरै भाग्यशाली थोरै मानिसहरूले कहिल्यै अन्तरिक्षमा यात्रा गर्न पाउँछन्, तर 5.6 मिलियन भन्दा बढी नामहरूले भर्खरै चन्द्रमाको वरिपरि यात्रा पूरा गरे, माइक्रोएसडी कार्डमा...
HomeLatest newsखेतीपाती छाडेर भाषण सुन्न भक्तपुरमा – KhabarHost

खेतीपाती छाडेर भाषण सुन्न भक्तपुरमा – KhabarHost



२७ मंसिर, भक्तपुर । नेकपा एमालेको ११ औं महाधिवेशनमा सहभागी हुन जिल्ला–जिल्लाबाट बिहानै कार्यकर्ताहरू भक्तपुर आइपुगेका छन् । खेतीपाती छाडेर गाडी रिजर्भ गरी बिहान महाधिवेशनस्थल सल्लाघारी आइपुगेकाहरुले आजै घर फर्किने बताएका छन् ।

एमाले महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुन सिराहाका ७५ वर्षीय सर्जुक दास बिहान ५ बजे भक्तपुर सल्लाघारी आइपुगे । गाडी रिजर्भ गरेर उनीसहित १६० जनाको टोली सल्लाघारी आइपुगेको थियो ।

किन आएको भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘खेतीपातीको काम छोडेर पार्टीको सभामा आएको हुँ । टोलको सबै जाने भनेर आएको ।’

एमाले महाधिवेशनका लागि भनेर बिहानै भक्तपुर आइपुगेकाहरु जाडोले लुगलुग काँपीरहेका थिए । ७० वर्षीया लरवती मण्डल पनि टोली नेताको आग्रहमा भक्तपुर आएकी छन् । ‘सभा हेर्न आएको हुँ, रातभर चिसोले हान्यो,’ उनले भनिन् ।

अर्का ६५ वर्षीय चुलाहब पण्डित पनि सिराहाबाट आफ्नै खर्चमा भक्तपुर आएको आएको बताउँछन् । ‘हिजो दिउँसो ३ बजे हिँडेको । बिहान यहाँ झरेको,’ उनले सुनाए, ‘कार्यक्रम सकिएपछि त्यही रिजर्भ गाडीमा फर्किने हो ।’

४० वर्षीया मञ्जुदेवी साहले वडाका नेताले बोलाएपछि भक्तपुर आएको बताइन् । ‘नेताले भनेर आएकी हुँ,’ उनले भनिन्, ‘नेताको भाषण सुन्न आएको हो ।’

यो टोलीको नेतृत्व गरेर आएका वडाका एमाले नेता हुन्– महेशकुमार साह । ‘खेतीको सिजन हो । सबै काम छोडेर आएको,’ उनले भने, ‘पार्टीप्रति बफादार भएर आएका हुन् ।’

एमालेको सिराहा जिल्ला कमिटी सचिवालय सदस्य रामकिसुन यादव पनि आफ्नै खर्चमा महाधिवेशनका लागि आएको बताउँछन् । ‘खल्ती–खल्तीबाट पैसा खर्च गरेर आएका हौं । सभा सकेर घर फर्किने,’ उनले भने ।

नवलपुरबाट पनि ३० जनाको टोली आज (शनिबार) बिहान भक्तपुर आइपुगेको छ । ‘हिजो बिहान ९ बजे हिँडेको । आज बिहान ६ बजे आइपुग्यौं,’ राममाया रूतालले भनिन् ।

धनुषाको मिथिला नगरपालिकाबाट बिहान ४० जनाको टोली आइपुगेको छ । ‘हामी समर्थक हौं । जुलुस, सभा छ भनेर कमिटीले ल्याएको हो,’ ५८ वर्षीय तिमलाल महतोले भने, ‘आज बेलुका फर्किने हो ।’

चितवनको कालिका नगरपालिका–५ देखि नाति बोकेर आएका छन्, सीताराम चौधरी । रातभरको मङ्सिरे चिसो छिचोल्दै एकाबिहानै एमाले महाधिवेशनस्थल आइपुगेका हुन् उनी ।

५७ वर्षीय चौधरी एक्लै छैनन्, ६ वर्षीय नाति पनि साथै ल्याएका छन् । घरमा हजुरआमा एक्लै रहेकाले आफूले नै ल्याउनु उचित ठानेर नाति बोकेर आएको चौधरीले सुनाए ।

‘नातीले मलाई छोड्दैन । म बाहेकसँग मान्दैन पनि । अनि ल्याउनैपर्‍यो,’ उनले नाति महाधिवेशनमा ल्याउनुको कारण सुनाउँदै भने, ‘फेरि आफूले माया गरेको पार्टीले यत्रो कार्यक्रम गर्दा नआई बस्न पनि मन लागेन ।’

६ वर्षीय योगेश कुमाल उनका छोरीपट्टीका नाति हुन् । आफूलाई राजनीतिक माहोलले गर्माए पनि नातिलाई चिसो नलागोस् भन्नेमा चौधरी सचेत छन् ।

तर, चौधरीलाई राजनीतिक रूपमा पनि सकस छ । उनका जिल्ला र क्षेत्रका नेताहरू यस महाधिवेशनमा ओली जिताउनुपर्छ भनेर लागिपरेका छन् । चौधरीलाई पनि सोहीअनुसार बोल्नुपर्ने बाध्यता छ ।

‘भन्न त ओली जिताउनु भन्छन् । म पनि बोल्दा त्यही बोल्छु,’ चौधरीले मनको कुरा खोले, ‘तर, भित्रबाट ओलीले नयाँ मान्छेलाई छोडिदिए हुन्थ्यो भन्ने लागिरहेको छ । यत्रो आन्दोलनले उनलाई अस्विकार गरेको परिस्थिति बुझिदिए हामी कार्यकर्तालाई नि सहज हुन्थ्यो ।’

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको आवाज उठेकाले पनि यसपल्ट परिवर्तन भइदिए हुन्थ्यो र त्यसका लागि अध्यक्ष केपी शर्मा ओलीले नै मार्गप्रशस्त गरिदिए सहज हुने उनले बताए ।

एमालेले महाधिवेशन उदघाटन समारोहमा तीन लाख मानिसहरू उतार्ने तयारी छ । विभिन्न स्थानबाट निस्किने जुलुस सभामा परिणत हुनेछ । ‘१० बजेपछि मञ्चमा देशभरबाट आएका कार्यकर्ता प्रतिनिधि छिर्न पाउँछन्, ११ बजेबाट सांस्कृतिक कार्यक्रम सुरू हुन्छ,’ मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More