― Advertisement ―

शनिबार, अप्रिल १८ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #776)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsपाँचौं महाधिवेशनदेखि एमालेको मञ्च बनाइरहेका विनोद (भिडियो)

पाँचौं महाधिवेशनदेखि एमालेको मञ्च बनाइरहेका विनोद (भिडियो)


राष्ट्रिय

समाचार.

  • एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले ११औं महाधिवेशनको मञ्च डिजाइन र स्वयंसेवक व्यवस्थापन गरिरहेका छन्।
  • श्रेष्ठले पाँचौं महाधिवेशनदेखि सात वटा महाधिवेशनको मञ्च बनाउने नेतृत्व गरिसकेका छन्।
  • उनले भक्तपुरको सांस्कृतिक सम्पदा झल्काउने मञ्च बनाएका छन् र ७०० जना स्वयंसेवक मञ्च निर्माणमा खटिएका छन्।

२६ मंसिर, काठमाडौं । ‘एमाले महाधिवेशनको आकर्षक मञ्च कसले बनाउँछ ?,’ धेरैले सोध्छन् ।

जति एमाले महाधिवेशनको चर्चा हुन्छ, मञ्चको आकर्षण पनि उत्तिकै हुन्छ । यो सबैको ध्यान तान्ने मञ्चको डिजाइनर हुन्, एमाले पोलिटब्युरो सदस्यसमेत रहेका विनोद श्रेष्ठ ।

उनले मञ्च मात्र होइन, ११औँ महाधिवेशनमा स्वयंसेवकको व्यवस्थापन पनि गरिरहेका छन् ।

मुख्यतः श्रेष्ठले पाँचौं महाधिवेशनदेखि लगातार मञ्च बनाउने नेतृत्व गर्दै आएका छन् । शुक्रबार बिहान भक्तपुरको सल्लाघारीमा पुग्दा श्रेष्ठ ११औं महाधिवेशनको मञ्च निर्माणमा खटिएका थिए ।

‘कुनै पनि कार्यक्रम गर्न मञ्चको महत्त्व हुन्छ । कार्यक्रम कस्तो भयो भन्ने सन्देश मञ्चले ओगटेको हुन्छ,’ उनले भने, ‘राम्रो मञ्चबाट सकारात्मक भाव दिन सकिन्छ ।’

मञ्च राम्रो भएन भने कार्यक्रमको सन्देश नै नकारात्मक हुने बुझाइ उनको छ । त्यसैले मञ्च कसरी राम्रो बनाउने भन्नेमा श्रेष्ठको ध्यान जाने गरेको छ । यसरी उनले ७ वटा महाधिवेशनको मञ्च बनाइसके ।

‘चौथो महाधिवेशन भूमिगत कालमा भयो । पार्टी खुला रूपमा आएपछि पाँचौंदेखि अहिलेसम्म मेरै नेतृत्वमा मञ्च बनाउने काम भइरहेको छ,’ श्रेष्ठले भने ।

प्रत्येक महाधिवेशनबाट सिक्दै फरक-फरक मञ्च बनाउने गरेको अनुभव श्रेष्ठको छ । ‘पहिले प्रविधिको व्यवस्था थिएन । पाँचौं महाधिवेशन पहिलो थियो । अनुभव पनि कम थियो । सिक्दै सच्याउँदै आएका छौँ । पाँचौंभन्दा छैटौं राम्रो । छैटौंभन्दा सातौ राम्रो । सातौंभन्दा आठौं राम्रो गरी ११औं सम्म आइपुगेका छौँ,’ उनले भने ।

यस पटक मञ्चको डिजाइन काठमाडौं उपत्यकालाई चिनाउने गरी बनाइएको उनले बताए । ‘भक्तपुर पौराणिक र पुरातात्त्विक शहर हो । यहाँ राष्ट्रिय/अन्तर्राष्ट्रिय पर्यटक आउने गरेका छन् । यो मञ्च देखेर त्यही ठाउँमा पर्यटक जानुहुन्छ भन्ने सोचर बनाएका हौँ,’ श्रेष्ठले भने, ‘काठमाडौं, ललितपुर र भक्तपुर मण्डला, मठ, मन्दिरको शहर हो । सम्पदा र संस्कृतिलाई चिनाउन खोजेका छौँ ।’

देशभरबाट आएका नेता/कार्यकर्ता र प्रतिनिधिलाई सही ठाउँमा आएको आभास दिलाउने गरी मञ्च बनाएको उनले बताए ।

‘फोटो खिच्दा पनि ऐतिहासिक होस् भनेर हो । फोटोमा त यति राम्रो छ । त्यही ठाउँमा पुग्दा कति राम्रो होला भन्ने हुन्छ,’ उनले भने । यसअघिको १०औं महाधिवेशनमा पनि चितवनलाई समेटेर उनले मञ्च बनाएका थिए । त्यसपछि चितवनको पार्कहरूमा पर्यटकको संख्या बढेको अनुभव उनले सुनाए ।

‘१०औं महाधिवेशनमा चितवन झल्काउने मञ्च बनाएका थियौं । त्यसपछि सौराहाका पार्कमा घुइँचो लागेको थियो । त्यसैले पर्यटक र व्यापार बढोस् भन्ने हो,’ उनले भने ।

भक्तपुरमा मञ्च बनाउन ७०० जना खटिएका छन् । ‘चितवनमा १५ दिनअघि मञ्च बनाउन सुरु गरिएको थियो । यसपटक २१ गतेदेखि सुरु गरेको हो । भोलि मञ्च दिनुपर्ने छ,’ उनले भने, ‘७ दिनको योजना बनाएर काम गरेका छौँ । म एक्लैले गरेको होइन । टिमले गरेको हो ।’

पार्टीले विश्वास गरेर दियो भने १२औं महाधिवेशनमा पनि मञ्च बनाउने योजना उनको छ । ‘समयले साथ दियो भने र पार्टीले दियो भने १२औंमा पनि यो भन्दा राम्रो मञ्च बनाउँछु,’ उनले भने ।

फोटो/भिडियो : शंकर गिरी र कमल प्रसाईं/अनलाइनखबर





Read More