― Advertisement ―

Asus ROG Xbox सहयोगी रेकर्ड-कम मूल्यमा खस्छ, तर स्टीम डेकले स्टक अभावको सामना गर्दा के यो उठाउन लायक छ?

ह्यान्डहेल्ड गेमिङ पीसीहरू हालै सबै क्रोधित भएका छन्, तर धेरै यन्त्रहरूले पनि मुख्य कम्पोनेन्टहरूसँग चलिरहेको आपूर्ति समस्याहरूको कारणले समान स्टक अभाव र मूल्य वृद्धिको...
Home‘सुशीला कार्कीलाई हटाएर क्रान्तिकारीहरूको सरकार बनाउनुपर्छ’

‘सुशीला कार्कीलाई हटाएर क्रान्तिकारीहरूको सरकार बनाउनुपर्छ’



२ कात्तिक, काठमाडौं । वरिष्ठ वामपन्थी नेता मोहन वैद्य किरणले स्वास्थ्यको कारण देखाउँदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिव पद त्यागेका छन् । र पार्टीको नेतृत्व सीपी गजुरेल (गौरव)लाई दिएका छन् ।

गत वर्ष माघ महिनादेखि गजुरेल कार्यवाहक महासचिवको जिम्मेवारीमा थिए । हिजो बसेको केन्द्रीय समिति बैठकले उनलाई महासचिवको पूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकले गरेका निर्णय र पछिल्लो राजनीतिक घटनाक्रमबारे अनलाइनखबरले गजुरेलसँग गरेको कुराकानी–

तपाईं पार्टीको महासचिव बन्नु भएछ, मोहन वैद्यले किन नेतृत्व छाड्नुभयो ?

किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो । अहिले उहाँको स्वास्थ्यले साथ दिएन । त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ ।

पहिले तपाईं कार्यवाहक महासचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो होइन ?

हो । किरणजी अस्वस्थ्य भएपछि गत वर्ष माघदेखि म कार्यवाहक महासचिवको जिम्मेवारीमा थिएँ । अहिले केन्द्रीय कमिटी बैठकले मलाई महासचिवको पूर्ण जिम्मेवारी दिने निर्णय गरेको छ ।

किरण कमरेडले राजनीति नै छाड्नु भएको हो कि पदमात्र ?

उहाँ राजनीतिमै हुनुहुन्छ । पार्टीको कमिटीमा हुनुहन्छ । नेतृत्वमात्र हस्तान्तरण गर्नु भएको हो ।

पार्टीमा उहाँको स्थान कहाँ रहन्छ ?

उहाँ हाम्रो सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ ।

विशेष कमिटी भन्नाले ?

किरण कमरेड, महासचिवसहितको विशेष कमिटी बनाउने भनिएको छ । त्यसमा पार्टीका अरु केही साथीहरू पनि रहनुहुन्छ । ती साथीहरू टुंगिन बाँकी छ ।

केन्द्रीय कमिटी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र अहिलेको चुनावी सरकारबारे केही छलफल वा निर्णय भयो ?

पछिल्लो राजनीतिक घटनाक्रम, नयाँ सरकारप्रतिको हाम्रो धारणासहित हामीले गरेका निर्णयहरू प्रेस विज्ञप्तिमार्फत जानकारी दिन्छौं ।

त्यत्रो आन्दोलनबाट अन्तरिम सरकार बनेको छ । सरकारबारे विभिन्न टिकाटिप्पणी र बहस भइरहेको छ । तपाईंहरूको पनि त केही धारणा होला नि ?

जेनजी आन्दोलनपछिका घटनाक्रम हेर्दा राज्यको संकट बढेर गएको छ । देश नै नरहने स्थिति छ । त्यसैले राष्ट्रियता रक्षाका लागि देशभक्त, क्रान्तिकारी दल/मोर्चा सबै मिलेर जनपरिचालन र आन्दोलनमा जाने निर्णय गरेका छौं ।

यो सरकारले राष्ट्रियको रक्षा र जनजीविकाको सवालमा कुनै नयाँ कुरा गर्न सक्दैन । अहिलेको सुशीला कार्की नेतृत्वको सरकारलाई हटाएर अर्को विकल्पमा देशभक्त क्रान्तिकारीहरूको सरकार बनाउनुपर्छ भन्ने हाम्रो धारणा हो ।

अहिले वाम एकताको चर्चा भइरहेको छ । त्यसमा तपाईंहरूको पार्टीको धारणा के छ ?

हामीले विभिन्न चारवटा ग्रुपसँग कार्यगत एकता गरेकै छौं । अरु देशभक्त, क्रान्तिकारीहरूसँग कार्यगत एकता, मोर्चाबन्दी गरेर जान्छौं ।

माओवादी केन्द्रले माओवादी घटकसँग एकता गर्ने कुरा गरिरहेको छ । तपाईं के भन्नुहुन्छ ?

माओवादी केन्द्रसँग हाम्रो पार्टी एकता त के कार्यगत एकता पनि हुन सक्दैन । चुनावमा भाग लिएर सरकारमा जानेहरूसँग एकता, मोर्चामा हामी हुँदैनौं । अरुसँग हुन्छ, गरेका पनि छौं ।

फागुन २१ गते चुनाव गर्ने भनिएको छ । त्यसमा भाग लिनुहुन्छ ?

अहिलेको परिस्थिति हेर्दा चुनाव होला जस्तो लाग्दै । त्यसैले केन्द्रीय समिति बैठकबाट हामीले यसबारे कुनै निर्णय गरेनौं । यदि चुनाव हुने स्थिति भएछ भने फेरि बैठक बसेर आवश्यक निर्णय गर्नेछौं ।





Read More