― Advertisement ―

भोडाफोन थ्रीले तपाईंको स्मार्टफोनमा स्याटेलाइट जडान ल्याउन अफकमको स्वीकृति प्राप्त गरेको छ

Vodafoneite लाई भर्खरैको मिशन प्रयोग गर्न दिइएको छ टेक टु कभर नट-स्पटहरूO2 ले पहिले नै अनुमति दिइसकेको छ, EE लाई Starlink सँग काम गर्नह्यान्डसेट...
HomeLatest newsराष्ट्र बैंकमा पनि योगदानमा आधारित पेन्सन, अयोग्य कर्मचारीले नपाउने

राष्ट्र बैंकमा पनि योगदानमा आधारित पेन्सन, अयोग्य कर्मचारीले नपाउने


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली २०५८ संशोधन गरी योगदानमा आधारित निवृत्तिभरण योजना लागु गरेको छ।
  • २०८२ साउन १ गतेपछि खुला प्रतियोगिताद्वारा नियुक्त कर्मचारीलाई मासिक तलबबाट ६ प्रतिशत कट्टा गरी बैंकले पनि सोही रकम थपेर कोषमा जम्मा गर्ने व्यवस्था छ।
  • बीस वर्ष वा सोभन्दा बढी सेवा गरेकाले मासिक निवृत्तिभरण पाउनेछन् र अवकाशअघि सेवा छोडेमा जम्मा रकम ब्याजसहित एकमुष्ट उपलब्ध हुनेछ।

२१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकमा पनि योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) लागु भएको छ । नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली २०५८ संशोधन गर्दै योगदानमा आधारित निवृत्तिभरण लागु गरेको हो ।

केन्द्रीय बैंकले विनियमावलीमा नियम ११७ क थप गर्दै योगदानमा आधारित निवृत्तिभरण योजना लागु गरेको छ । विनियमावली अनुसार २०८२ साउन १ गते पछिको विज्ञापनबाट खुला प्रतियोगिताद्वारा बैंक सेवामा प्रवेश हुने कर्मचारीलाई यस विनियममा व्यवस्था भए बमोजिम योगदानमा आधारित निवृत्तिभरण प्रदान गरिने छ । योगदानमा आधारित निवृत्तिभरण दिने प्रयोजनका लागि छुट्टै कोषमा लेखाङ्कन गरिने विनियमावलीमा उल्लेख छ ।

त्यसैगरी संशोधित विनियमावलीमा कर्मचारीको मासिक तलबबाट छ प्रतिशतले हुन आउने रकम कट्टा गरी बैंकको तर्फबाट सो कट्टा भएको रकमको शत प्रतिशत रकम थप गरी जम्मा गरिने उल्लेख छ ।

बीस वर्ष वा सोभन्दा बढी समयसम्म बैंकको स्थायी सेवा गरी अवकाश पाएका कर्मचारीले मासिक निवृत्तिभरण पाउने छन् । निवृत्तिभरण पाउन योग्य कर्मचारीले निजको नाममा जम्मा भएको रकम, ब्याज र मुनाफा समेत एकमुष्ट रकम लिने वा निवृत्तिभरण लिने सम्बन्धमा कर्मचारीले वा निजको मृत्यु भएमा निजको हकवालाले छनौट गरे बमोजिम कुनै एक प्रदान हुने व्यवस्था गरिएको छ ।

योगदानमा आधारित निवृत्तिभरण पाउने कर्मचारी निवृत्तिभरण पाउने समयावधि अगावै जुनसुकै कारण बैंक सेवाबाट अलग भएमा निजको नाममा जम्मा भएको रकम ब्याज र मुनाफा समेत एकमुष्ट रकम उपलब्ध हुने व्यवस्था छ । २०८२ साउन १ गते पछि खुला तर्फको विज्ञापनबाट नियुक्त हुने कर्मचारीको हकमा विनियमावलीको उपदान सम्बन्धी व्यवस्था लागु हुने छैन ।

तर, भविष्यमा बैंक सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएको कर्मचारीको हकमा निजको तलबबाट कट्टा गरिएको रकम तथा उक्त रकममा प्राप्त भएको ब्याज मात्र उपलब्ध हुने विनियममा उल्लेख छ ।

कुनै कर्मचारीको पारिवारिक निवृत्तिभरण पाउने समयावधि अगावै मृत्यु भएमा निजको नाममा जम्मा भएको रकम ब्याज र मुनाफा समेत इच्छाइएको व्यक्तिले एकमुष्ट पाउनेछ । मृत्यु भएको कर्मचारीले कसैलाई इच्छाएको नभएमा वा इच्छाएको व्यक्तिको समेत मृत्यु भइसकेको अवस्थामा कानुन बमोजिम निजको हकवालालाई त्यस्तो रकम उपलब्ध हुनेछ ।

राष्ट्र बैंक कर्मचारीलाई निवृत्तिभरण उपलब्ध गराउने कार्यलाई सहज तथा दिगो बनाउन बैंकले कोषमा बीमाङ्गीय मूल्याङ्कनको आधारमा नपुग हुने रकम समय समयमा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा छ ।

कोषको लेखाङ्कन, व्यवस्थापन र सञ्चालन तथा योगदानमा आधारित निवृत्तिभरण सम्बन्धी अन्य व्यवस्था सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुने केन्द्रीय बैंकले जनाएको छ ।

२०८२ साउन १ गते अघि नियुक्ति लिई बैंकमा कार्यरत कर्मचारी खुला प्रतियोगितात्मक परीक्षाबाट माथिल्लो तहमा नियुक्त भई सेवा निरन्तर गरेमा सुरु नियुक्त हुँदाका बखतको उपदान तथा निवृत्तिभरणको व्यवस्था लागु हुने व्यवस्था विनियमावलीमा छ ।





Read More