राष्ट्रिय
समाचार.
- विश्वमा हजारौं एआई प्लेटफर्महरू छन् जसले डिजिटल सामग्रीको सत्यता र झूट छुट्याउन गाह्रो बनाएको छ।
- महिला तथा बालिकामाथि हुने डिजिटल हिंसाको विरुद्ध १६ दिने अभियान ‘प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौं’ नारासहित मनाइँदैछ।
- नेपालमा सामाजिक सञ्जालमा बढ्दो घृणास्पद अभिव्यक्ति र डिजिटल हिंसालाई नियन्त्रण गर्न सूचनाप्रविधि विधेयक ल्याउन आवश्यक छ।
सूचनाप्रविधिको क्षेत्रमा देखिएका परिवर्तन अहिलेको समयको मुख्य चुनौती हो। हामीले भन्ने गरेको सामाजिक सञ्जाल र यसबाट आइपरेको समस्या त आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को गलत प्रयोगको अगाडि केही पनि होइन। एआईको कुरा गर्दा यो, एउटा/दुइटा मात्रै होइन; हजारौंको संख्यामा पुगिसकेका छन्।
‘फ्युचरपिडिया‘ नामक एउटा फोरमका अनुसार हाल २५ सय ६३ वटा एआईका प्लेटफर्महरू छन् भनेको छ भने, अन्य स्रोतले ७० हजारभन्दा बढी छन् र, यी प्लेटफर्महरू हरेक दिन परिवर्तन भइरहन्छन् पनि भनेका छन्।
चरपिडियाले एआई टुल्सहरूलाई दश क्याटागोरीमा विभाजित गरेको छ। तीमध्ये, एआई बिजिनेस टुल्स १५ सय ७७, एआई प्रोडक्टिभिटी टुल्स ६३७, अटोमेसन टुल्स ४७०, एआई इमेज टूल्स ३०४, एआई भिडियो टूल्स १८३ छन्। अन्यमा, एआई टेक्स्ट जेनरेटर्स ३१०, एआई कोड टुल्स २०६, एआई अडियो जेनेरेटर्स १५१ तथा एआई आर्ट जेनेरेटर्स ११९ छन्।
हामीमध्ये धेरैले, जेनजी आन्दोलनको क्रममा एआई ‘जेनेरेटेड‘ सिंहदरबार जलाएको फोटो ‘पहिले नै सामाजिक सञ्जाल(विशेषगरी टिकटकमा)मा राखिएको थियो’ भन्ने पनि सुन्यौं; बूढानीलकण्ठतिरको घरमा पैसा जलेको भिडियो, ‘एआईबाट बनाएको हो’ भनेर सम्बन्धित घरवालाको स्पष्टीकरण पनि टेलिभिजन र पत्रपत्रिकामा देख्यौं। त्यो दुइटा उदाहरणले पनि के थाहा हुन्छ भने, एआईले साँचो कुन र झूटो कुन हो छुट्याउनै गाह्रो पर्ने स्थितिको सृजना गरिदिएको छ।
यसै सन्दर्भमा गत नोभेम्बर ३० मा अमेरिकाबाट प्रकाशित हुने ‘द वाशिङ्टन पोस्ट’मा एउटा आलेख छापिएको छ। डीप फेक अफ नर्थ क्यारोलाइना लमेकर युज्ड इन अवार्ड विनिङ रलपुल भिडियो शीर्षकमा छापिएको उक्त स्टोरी अनुसार, अमेरिकाको नर्थ क्यारोलिना राज्यकी स्टेट सिनेटर डिएन्ड्रिया साल्भाडोरले सन् २०१८ मा ‘टेड-टक’मा बोलेको भिडियोको क्लिप राखेर ब्राजिलमा काम गर्ने एउटा विज्ञापन एजेन्सीले ‘ह्विर्लपूल‘ कम्पनीको लागि विज्ञापन बनाएछ; र, उक्त विज्ञापनले, फ्रान्समा भएको ‘क्यान्स लायन्स इन्टरनेशनल फेस्टिभल’मा दुइटा अवार्ड जितिसकेको रहेछ।
उक्त फेस्टिभललाई ‘विज्ञापनको अस्कर‘ जस्तै मानिंदो रहेछ। अमेरिकाको निम्न आयस्रोत भएका वर्गको बारेमा कसरी इनर्जी सेभिंग गर्न सकिन्छ भनेर बोलेको भिडियोलाई एआई प्रयोग गरेर ‘ह्विर्लपूल’को प्रवक्ता जस्तो बनाएर विज्ञापन बनाइएको रहेछ। त्यो कुरा, उक्त विज्ञापनले दुइटा अवार्ड जितुन्जेल पनि थाहा रहेनछ। होस पनि कसरी ? आफूले, आफ्नै देशमा बोलेको कुरा अन्य देशको विज्ञापन कम्पनीले प्रयोग गर्छ भन्ने कहाँ सोच्न सकिन्छ र ?
सो विज्ञापनमा सीएनएनको दृश्य पनि त्यसैगरी हालेको रहेछ। सीएनएनले थाहा पाएर ब्राजिलमा ह्विर्लपूललाई कम्प्लेन फाइल गरेछ। त्यसपछि सिनेटर साल्भाडोरले चिनेको मानिसहरूले उनको ध्यानाकर्षण गराएछन्; उनीहरूले सोधेछन्, यो तिमी आफैंले बोलेको हो कि, एआई जेनेरेटेड हो ?
त्यसपछि बल्ल उनले थाहा पाएकी रहिछन्। उक्त एजेन्सीले अवार्ड त फिर्ता गरेछ; तर, जतिले सो विज्ञापन हेरेका थिए, उनीहरूलाई के थाहा सो विज्ञापन एआई जेनेरेटेड हो भनेर !
त्यस्तै अर्को रोचक आलेख, अमेरिकी सञ्चार संस्था सीएनएनको अनलाइन, हेल्थ संस्करणमा २८ नोभेम्बर २०२५ मा प्रकाशित भएको छ; जसको शीर्षक, ‘साउथ कोरियाज् एजिंग पपुलेसन फाइन्ड्स कम्फर्ट, केयर इन रोबो-ग्रान्डमा डल्स्‘(साउथ कोरियाका वृद्ध जनसंख्या, ‘रोबो ग्रान्डमा‘ पुतलीमा रमाउँछन्; उनीहरूको सुसार गर्छन्)।
सो ‘रोबो-ग्रान्डमा‘ पुतली बनाउनुको कारण बढ्दै गएको उमेरसँगै एक्लिएका ती ज्येष्ठ नागरिकहरू एक्लो महसुस गरेर मानसिक स्वास्थ्य बिग्रने कारणले उनीहरूको स्वास्थ्यलाई ठिक राख्न, ७ वर्षका बच्चाहरू जस्तो बोल्ने रोबट पुतली बनाइएको रहेछ।
ती पुतलीहरूले छोटा कुराकानी गर्ने, औषधि खान सम्झाउने समेत गर्न सक्ता रहेछन्। उक्त पुतली पनि एआई जेनेरेटेड टेक्नोलोजी नै हो। सालोम ग्राउवार्डद्वारा लिखित उक्त लेखमा ती पुतलीहरू र एआई जेनेरेटेड घरपालुवा जनावरहरूको बारेमा पनि जानकारी दिइएको छ।
यस्तो छ अहिलेको समय ! उपरोक्त उदाहरणहरू दिनुपरेको कारण के हो भने, हामीले बुझे जस्तो फेसबुक र एक्समा गरिने ट्रोलले मात्रै डिजिटल हिंसा हुने वा गरिने होइनन्।
डिजिटल हिंसाको अर्को विकराल रूप अनलाइन पत्रिकाहरूमा लेखिएको लेखहरूमा गरिने कमेन्टहरूमा पनि देखिन्छ। पत्रपत्रिकामा लेख लेख्नु भनेको विभिन्न विचारहरूलाई सार्वजनिक गरेर त्यसमा पक्ष/विपक्षबाट छलफल होस्; कुनै समस्या छ भने छलफलबाट समाधान निस्कियोस्, सरकार वा सम्बन्धित निकायको ध्यानाकर्षण होस् भन्ने पनि हो।
आफूलाई चित्त नबुझ्ने बित्तिकै तार्किक बहस गर्ने होइन कि, कमेन्टमा गएर आमाचकारी गाली गर्ने, अझ महिला छन् भने उनीहरूलाई व्यक्तिगत लाञ्छना लगाउँदै चरित्रहत्या गर्न कुनै कसर छाडिन्न।
तर, हाम्रो बानी कस्तो भयो भने, आफूलाई चित्त नबुझ्ने बित्तिकै, तार्किक बहस गर्ने होइन कि, कमेन्टमा गएर आमाचकारी गाली गर्ने, महिला छन् भने उनीहरूलाई व्यक्तिगत लाञ्छना लगाउने, चरित्रहत्या गर्ने आदि गर्न कुनै कसर छाडिन्न। यो पंक्तिकारले धेरै अगाडि एउटा बलात्कारको केसमा लेख्दा, लेखको कमेन्टमा “सिधै आएर तँलाई पनि बलात्कार गर्दिन्छु” लेखिएको थियो।
शायद तीन या चार वर्ष अगाडि होला, फ्रन्टलाइनमै देखिने एक अनलाइनमा प्रकाशित लेखको कमेन्टमा, लेख लेख्ने पत्रकार महिलामाथि गरिएको कमेन्ट अत्यन्तै असहिष्णु थियो। त्यहाँ लेखिएको थियो— ‘कसैले यसलाई बलात्कार गर्छ भने म १० लाख दिन्छु।’
यस्ता कमेन्टहरू सबैले सहज तरिकाले लिन सक्छन् भन्ने छैन; यसले, सम्बन्धित व्यक्तिलाई मानसिक रूपमा क्षत–विक्षत नै बनाएर छाड्छ। यस्तो अवस्थामा न त अधिकांश पत्रिकाले साथ र सहयोग दिन्छन्; न अरू कसैले। त्यसपछि महिलाहरू आफ्नो आवाज दबाएर चुपचाप बस्न खोज्छन्।
मिडियाकै क्षेत्रमा हुँदा पनि अहिलेसम्म नबुझेको कुरा, ती अनलाइनहरूले त्यसता अपमानजनक, धम्की दिने कमेन्टहरू प्रकाशन गर्न हुँदैन भन्नेतर्फ किन ध्यान दिंदैनन्!
यस बारेमा, अमेरिकाबाट प्रकाशित हुने ‘द न्युयोर्क टाइम्स’को त त्यस्ता कमेन्टहरू प्रकाशित नगर्ने नीति नै रहेछ।
उक्त पत्रिकाले मानव तथा टेक्नोलोजीको संयुक्त सहयोगमा कमेन्टमा आउने घृणात्मक अभिव्यक्ति, कुनै पनि जाति, धर्म, राष्ट्रियता, लिङ्ग, अपाङ्गता, व्यक्तिगत आक्रमण, धम्की लगायत कुराहरूलाई प्रकाशन तथा प्रसारण गर्न रोक्दो रहेछ। तर यहाँ त, ‘बलात्कार गरेमा पैसा दिन्छु’ भन्ने कुरा पनि खुलेआम छापिन्छ।
यस्तो परिस्थितिमा, नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा मनाइने ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ यसपालि ‘प्रविधिको सही प्रयोग गरौं: लैङ्गिक हिंसा अन्त्य गरौं’ नाराका साथ मनाइरहिएको छ।
यो १६ दिने अभियानको सुरुआत प्रधानमन्त्रीदेखि महिला हकहितको लागि खोलिएका अनगिन्ती संघ/संस्थाहरूले मनाउँछन्; ती कुराहरू समाचारमा पनि आउँछन्। झन् आजकल त सामाजिक सञ्जाल मार्फत आफूले गरेका कामका फोटोहरू हालेर जताततै सबै सु-सूचित भएको झझल्को पनि दिन्छन्। तर, त्यही समयमा, देशको पहिलो महिला प्रधानमन्त्रीमाथि सामाजिक सञ्जालमा गरिएको टिप्पणी र अपमान देख्दा र पढ्दा, ती १६ दिने अभियानले कता/कसरी चेतना फैलाइरहेको छ भन्ने प्रश्न ठूलै स्वरले सोध्न मन लाग्छ।
अहिले देशको प्रधानमन्त्री काकताली परेर महिला हुनुहुन्छ; कम्तीमा प्रधानमन्त्रीको पदको त सम्मान हुनुपर्ने हो। तर, अहँ ! बरु अहिलेको समयमा, सामाजिक सञ्जालमा सबैभन्दा बढी उहाँकै अपमान भइरहेको होला !
कसैले, उहाँलाई गलहत्याएर पदबाट निकाल्नुपर्ने कुरा गर्छन् भने कसैले, तरकारी किन्न जाँदा समातेर प्रधानमन्त्री बनाइएकी भन्न समेत पछिपरेका छैनन्। कसैले, उहाँको उमेरलाई समेत होच्याएर पिसाब फेर्न बस्दा उठ्न नसक्ने भन्छन्; कसैले, सारी फेरेर लगाएकोमा अपमानित गर्न छाड्दैनन्।
नोभेम्बर २५ कै दिन थियो, जुन दिन महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा अन्त्य गर्ने १६ दिने अभियान शुरु भयो, त्यही दिन राजनैतिक र सामाजिक रूपमा सचेत एक जनाले देशको पहिलो महिला प्रधानमन्त्रीमाथि डिजिटल हिंसा हुने स्टाटस लेख्नुभयो– ‘आमा’ बनेर जागिर खान पुगेकी थिइन्, आतंकी बनेर छोराछोरीलाई यातना दिन उद्यत छिन्….. पधेर्नी आइमाई!’
यदि प्रधानमन्त्रीले आफ्नो पदीय दायित्व निर्वाह नगरेको भए, नीतिनियम विपरित काम गरेको भए प्रधानमन्त्रीको काममाथि टीका–टिप्पणी गर्न नहुने भन्ने पक्कै होइन। तर, राजनैतिक विचारधारा नमिलेकै कारण, कुनै व्यक्तिमाथि तल्लो स्तरमा उत्रिएर गालीगलौजको भाषा प्रयोग गरिन्छ भने त्यो पक्कै पनि लैंगिक हिंसा हो।
जुन देशमा प्रधानमन्त्रीको पदमा आसीन महिलामाथि त लैंगिक हिंसा हुन्छ भने त्यो देशको नीतिनियमबाट महिला तथा बालिका डिजिटल, शारीरिक या मानसिक हिंसाबाट जोगिन्छन् भन्ने ग्यारेन्टी के ?
यस बारेमा अर्को एउटा उदाहरण, नाट्यकर्मी तथा सामाजिक अभियन्ता घिमिरे युवराजले फेसबुकमा लेखेको स्टाटस पनि हो; जसमा भनिएको छ, “जा…मर् न त…”
हालै एक महिला कलाकारको सोसल मिडिया पोष्ट पढेकी थिएँ। सोसल मिडियामा उनीबारे भएका सस्ता आलोचना र
गालीले उनलाई निकै गाह्रो भइरहेको रहेछ। उनले लामो पोस्टको अन्त्यमा लेखेकी छिन्: ‘मलाई अचेल बाँच्न गाह्रो भएको छ।’ यो पढ्दा म निकै झस्किएँ। उनी कुन मानसिक अवस्थाबाट गुज्रिएकी होलिन् !
भर्खरै मात्र सञ्चारकर्मी मित्र दिपेन्द्र खनियाँको आत्महत्याको अत्यन्तै दुखान्त घटनापछि हामी वरिपरिका साथीहरूले आफैंलाई धिक्कार्यौं: ‘के हामीले कहिल्यै उसलाई ‘तिमीलाई कस्तो छ!‘ भनेर सोध्यौं?‘
फेरि अर्को कलाकारले भन्छ: ‘मलाई बाँच्न गाह्रो भयो।‘
त्यो पोस्टमा आएका प्रतिक्रियाहरू पढ्दा म झन् निराश र आश्चर्यचकित भएँ। ढाडस दिने त कमै छन्; कतिले त यत्तिको अमानवीय शब्द लेखेका छन्: ‘जा, मर न त…‘
उफ्… को हो यो लेख्ने ? कस्तो हुर्काइ, परिवेश वा मानसिकताका मानिसले यसरी लेख्न सक्छ ? यो त निर्दयता र हिंसाको चरम रूप हो।
केही दिनअघि मेरा मित्र लेखक गनेस पौडेलसँग सोसल मिडियामा आउने प्रतिक्रियाबारे छलफल भएको थियो। उनले भनेका थिए: ‘हामीकहाँ सोसल मिडियामा आउने (सामाजिक–राजनीतिक) प्रतिक्रियामा ९५ प्रतिशत प्रतिक्रिया पुरुषहरूको छ। यसबारे सर्वेक्षण भएको छ रे!‘
त्यसो भए गालीगलौज र फोहोरी/हिंसात्मक कमेन्ट गर्नेमा यो प्रतिशत कहाँ पुग्ला ? सोसल मिडियामा ९९.९९९९९ प्रतिशत फोहोरी वा हिंसात्मक प्रतिक्रिया पुरुषहरूबाटै आइरहेका छन्।
हाम्रा पहुँचका पोस्टहरूमा आउने प्रतिक्रियाबाट पनि स्पष्ट हुन्छ, हाम्रो सोसल मिडिया केवल पुरुष–वर्चस्वमा मात्र छैन, अति नै ‘महिला-द्वेषी’ छ। फेसबुक, टिकटक, इन्स्टा, एक्स वा युट्युब जहाँ पुगे पनि महिलाका पोस्टमा गाली गर्ने, पढ्नै नसकिने फोहोरी शब्द लेख्नेहरू पुरुष नै हुन्छन्। ती गालीहरू कुनै शारीरिक हिंसाभन्दा कम हिंसात्मक छैनन्।
फेसबुक वा एक्समा श्रीमती लुनाले लेखेका व्यक्तिगत विचारमा आएका पुरुषहरूको कमेन्ट यति अपमानजनक र हिंसात्मक छन् कि मैले कतिपय कमेन्ट पूरा पढ्ने हिम्मत नै गरिनँ। हिंसात्मक प्रतिक्रियाका कारण लुनालाई मानसिक तनाव बढेर एक्स छोड्नै बाध्य हुनुपर्यो।
म बारम्बार सोचिरहन्छु, कसरी यस्ता मानिसहरू महिलालाई बलात्कारसम्मको चरम सीमामा गएर गाली गर्न सक्छन् ? तिनका घरमा आमा, दिदीबहिनी, श्रीमती वा छोरीहरूको अवस्था कस्तो होला ? वरिपरिका महिलाहरूप्रति उनीहरूको व्यवहार कस्तो होला ? कहिलेकाहीं त लाग्छ, सोसल मिडियामा महिला हिंसा गर्नु मानसिक रोग नै हो ?
कतिपय पुरुष (छोरीहरूका बाबुहरू) लाई व्यक्तिगत रूपमा चिन्छु; तर तिनैले सामाजिक सञ्जालमा अत्यन्त महिला-द्वेषी पोस्ट गर्छन्। अझ त्यस्ता ससुराहरूले आफ्ना घरका बुहारीलाई कसरी हेर्छन् होला ?
अचेल त यस्तो लाग्न थालेको छ, घरमा हुने महिला हिंसाभन्दा डरलाग्दो छ सोसल मिडियामा हुने महिला हिंसा। तर, अन्ततः यो सबै घरतिरै फर्किने हो। त्यसोभए यो दुर्गन्धलाई कसरी हटाउने ? के हाम्रो दिमाग यति फोहोरी भइसक्यो कि चेतनाले नै काम गर्न छोडिसक्यो ?
एक्सको कुरा गर्ने हो भने, त्यहाँ केही वर्ष अगाडिसम्म तार्किक र वैचारिक बहसमा भाग लिइरहने धेरै महिलाले आफ्नो विचार र तर्क राख्न कम गरिसकेका छन्। किनकि, कोही पनि अनावश्यक रूपमा घृणास्पद अभिव्यक्ति र ट्रोलको शिकार हुन चाहँदैनन्। त्यस्ता कमेन्टहरूले कतिपयलाई मानसिक रूपमा अस्वस्थसम्म बनाइदिन्छ भने कतिपय व्यक्तिहरू जतिसुकै अन्याय भए पनि आफ्नो आवाज दबाएर राख्न विवश हुन्छन्।
हुन त, यसरी गरिने हिंसा महिला तथा बालबालिकामा मात्रै सीमित छैनन्। बहालवाला शिक्षा मन्त्री महावीर पुनलाई सामाजिक सञ्जालमा लगाइएको आरोपबारे नोभेम्बर २७ तारिखमा उनले दिएको जवाफले पनि कति तल्लोस्तरमा झरेर आरोप लगाइन्छन् भन्ने उदाहरण देखिन्छ।
उनले लेखेका छन्— “लौ हेर्नुहोस् अमेरिकाको सीआईएले म महावीर पुनलाई दिएको पहिलो स्याटेलाइट फोनको सम्पूर्ण टेक्निकल विवरण — मोहन लामा रुम्बा भन्ने एक जना भाइले त मलाई सीआईएको एजेन्ट भनेर ठोकेरै भनेका छन्।
गालीगलौज र फोहोरी/हिंसात्मक कमेन्ट गर्नेमा यो प्रतिशत कहाँ पुग्ला ? सोसल मिडियामा ९९.९९९९९ प्रतिशत फोहोरी वा हिंसात्मक प्रतिक्रिया पुरुषहरूबाटै आइरहेका छन्।
मैले द्वन्द्वकालमा सीआईएले दिएको त्यस्ता धेरै स्याटेलाइट फोनहरू अमेरिकाबाट चोरी निकासी गरेर माओवादीहरूलाई उपलब्ध गराएको भनेर बारम्बार सोसल मिडियामा भनिरहेकै छन्। त्यो भाइ एकनम्बरको बकम्फुसे रहेछ भनेर म पनि चुप लागेर बसेको हो।
वास्तवमा त्यो स्याटेलाइट फोन भनिएको चिज आजभोलि सबैको घर–घरमा भएको वाईफाई राउटरको हजुरबुवा हो र त्यसको फोटो हेर्नुहोस्। टेक्निकल कुराहरू बुझ्नेले यो dlink.ru/en/products/2/… वेबसाइटमा गएर पनि हेर्नुहोस्। त्यतिबेला यो भन्सार छलेर ल्याएको चाहिं पक्कै हो।”
अझै महत्वपूर्ण कुरा त, महिला तथा बालिकामाथि हुने डिजिटल हिंसाको कुरा गर्दा हामी मिडियाकर्मीहरूले पनि थाहा पाई/नपाई कुनै वर्ग/समुदाय/धार्मिक/यौनिक अल्पसंख्यक लगायत थुप्रै महिला तथा बालिकालाई अपराधीकरण गरिरहेका हुनेरहेछौं !
उदाहरणको लागि, मिडियाले कथा/आलेख प्रस्तुत गर्दा ‘झिंझाका पासवान र डकैती एक–अर्काका पर्यायवाची’ बनाइदिएको प्रसंग लिऊँ। त्यसरी पर्यायवाची बनाइदिएको कारणले ती जाति र समुदायको मन कति दुखाएका रहेछौं भन्ने जान्न यसबारेमा, २०७६ पुस १९ गते नयाँ पत्रिकामा छापिएको आलेख ‘डाँकाकी बुहारी !’ पढ्दा हुन्छ। त्यो आलेखमा भनिएको छ– “हामी जुन इतिहास बिर्सिन चाहन्छौं, काठमाडौं घरीघरी त्यही इतिहास सम्झाउन खोज्छ । त्यति मात्र होइन, दोहोर्याउन खोज्छ। मिडिया पनि हाम्रो आँसुलाई बेच्न चाहन्छ, न कि हाम्रो समस्यालाई सम्बोधन गराउनका लागि पहल गर्न ।”
एउटा गौरवपूर्ण इतिहास बोकेको समुदायलाई पूर्व डाँकाहरूको संज्ञा दिने अधिकार कहाँ लेखिएको छ ? बरु पासवानहरू त यो देशको सबैभन्दा बढी देशभक्त र इमान भएको समुदाय पो हो। जसलाई राज्यकै संरक्षणमा डकैती पेशा अँगाल्न बाध्य पारिएको हो ।
आफूलाई ‘महराज चौहरमल’का सन्तान मान्ने पासवानहरू कसरी आज दलित भए र डाँकाको अपमान भोग्न बाध्य भए ? खोज्नुपर्ने इतिहास त यो हो । हुन पनि हामीलाई त्यसरी खोज्नु नै छैन; किनकि, त्यो समुदायलाई जे आरोप लगाइएको छ, त्यसरी नै प्रस्तुत गर्दा शायद, रोमाञ्च महसुस हुन्छ; अर्काको आत्मा रोएको महसुस हुँदैन।
त्यस्तै अर्को उदाहरण; वादी जातिलाई यौनकर्मीको पर्याय; यस्ता कतिपय कुरालाई गम्भीरतापूर्वक सोच्न जरूरी भएन र ? तत्-तत् समुदायका व्यक्तिहरूले भोगेको त्यो पीडा महसुस गर्न सक्नुहुन्छ ?
त्यस्ता कथाहरू अरू पनि छन्, लैंगिक र अल्पसंख्यकले भोगेको यथार्थलाई हामी मिहिन रूपले कति केलाएर लेख्छौं ? मिडियाले बनाइदिएको न्यारेसनबाट छुटकारा पाउन कति गाह्रो हुन्छ, मनन् गर्नुभएको छ ? यस्ता कुराहरू पनि डिजिटल हिंसा हुन्; मनन गरौं !
बिट मार्दामार्दै, विश्वव्यापी रूपमै बढ्दै गएको प्रविधिको बढ्दो प्रयोगभित्र नेपाल मात्रै अछुतो रहन सक्ने सम्भावना अवश्य हुँदैन। त्यसमा पनि सोसल मिडियाका सामग्री सबैभन्दा अनियन्त्रित बनिरहेको देखिन्छ।
सामाजिक सञ्जालबाट व्यापक रूपमा अनियन्त्रित बनिरहेको घृणाजन्य अभिव्यक्ति, गोपनीयता हनन्, मिथ्या सामग्रीमा छुट दिंदै जाने हो भने यसले अझै ठूलो समस्या निम्त्याउँदै जाने पक्का छ। यसको लागि डिजिटल अभिव्यक्तिलाई लिएर कानून बन्नु जरूरी छ।
कानून बनाउने कुरामा बहस पनि चलिरहेकै छ। तर, कानून बनाउँदा संविधानप्रदत्त मौलिक हकलाई हनन् हुन दिनुहुँदैन भन्ने कुरा महत्वपूर्ण हो। यसको लागि विधेयक पनि बनिसकेको हो तथापि, विधेयकलाई पूर्णता दिने कुरामा सधैं सत्ता पक्ष र प्रतिपक्षको बीचमा सहमति नै हुँदैन।
विधेयकको अर्को रोचक पक्ष के हो भने सत्तामा रहेको दल यसको पक्षमा उभिन्छ तर, जब सत्ता परिवर्तन भएर विपक्षमा पुग्छ अनि त्यही दल विधेयकको विपक्षमा हुन्छ।
नेपालमा कानून बनाउँदा, दक्षिण एशियाली बङ्गलादेशमा जस्तो अभिव्यक्ति नियन्त्रणमुखी हुन नदिन सम्बन्धित पक्ष चनाखो र सचेत रहनुपर्दछ। यी तथ्यहरूलाई मनन् गर्दै सूचनाप्रविधि विधेयक ल्याउन जरूरी भइसकेको छ।

