― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest news२० वर्षको लक्का जवान पलेँटी, जसले नेपाली आधुनिक संगीत जोगाइरह्यो

२० वर्षको लक्का जवान पलेँटी, जसले नेपाली आधुनिक संगीत जोगाइरह्यो


राष्ट्रिय

समाचार.

  • पलेँटीले २० वर्षदेखि नेपाली आधुनिक संगीतमा प्रत्यक्ष प्रस्तुति र कलाकारहरूको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेलेको छ।
  • पलेँटी कार्यक्रमले ७० भन्दा बढी सर्जकहरूलाई प्रस्तुत गर्ने अवसर दिएको छ र कलाकारहरूको सांगीतिक यात्रा डिजिटल अर्काइभमा सुरक्षित छ।
  • आभासले पलेँटीलाई काठमाडौं बाहिर विस्तार गर्ने योजना बनाएका छन् र देशविदेशमा दर्शकलाई लाइभ हेर्ने सुविधा उपलब्ध गराएका छन्।

२००६ को जनवरी ६‍ ।

एकाबिहानैको समय । धेरै त विछ्यानमै थिए सायद । काठमाडौं भर्खरै उठ्दै थियो । युवा उमेरका आभास एउटा अपेक्षा लिएर बागबजार जाँदै थिए, प्रेमध्वज प्रधानलाई भेट्न, उनकै घरमा । त्यहाँ गएर ‘यसो गर्छु, उसो गर्छु’ आभास मनमा कल्पिँदै थिए ।

संयोगवस मर्निङ वाकबाट फर्किरहेका प्रेमध्वज प्रधानसँग घरअगाडि नै उनको भेट भयो । बाटोमै उभिएर उनले प्रधानसँग आफ्नो कुरा राखे । तर, प्रधानले उनको कुरालाई ठाडै अस्विकार गरिदिए । र, घरमा समेत बोलाएनन् ।

खासमा प्रधानलाई पलेँटीमा गाउनका निमित्त आग्रह गर्न आभास गएका थिए ।

000

आज त्यो समय बितेको पनि वर्षौं भइसक्यो ।

दु:खको कुरो, प्रेमध्वज प्रधान हामी माँझ छैनन् । भलै पलेँटीमा प्रधानको उपस्थिति डिजिटल अर्काइभमा कैद छ । अर्थात्, कुनै समय गाउन अस्विकार गरेका प्रधान अन्तरालमा पलेँटी फर्किए ।

त्यही पलेँटी, डिसेम्बर २०२५ सकिएसँगै २० वर्षको वयस्क भएको छ । दुई दशक पार गरेको पलेँटी झरिलो भएको छ । वलिष्ठ, आकर्षक छ । चकमकाउँदो र एक सुन्दर युवतीले झैं शहरमा सुन्दरता छरिरहेको छ ।

तर बालसुलभमा हुँदा पलेँटीलाई कम्ता सकस थिएन । नाम चलिसकेका गायक/संगीतकारहरू हत्तपत्त पलेँटीमा पलेँटी कस्न आउन मान्दैनथे । त्यसको एउटै कारण– दुई घण्टासम्म पलेँटी कसेर लगातार गाउनु थियो । त्यो पनि प्रत्यक्ष ।

प्रेमध्वज प्रधानले आभासको सुरुआती प्रस्ताव अस्विकार गर्नुमा त्यही नै मुख्य कारण थियो । तर, आभासको आड पाएर पलेँटी हुर्किरह्यो । रोनाधोना गरेरै ठीक, पलेँटी अघि बढिरह्यो । यो मानेमा आभास पलेँटीका अभिभावक हुन् । उनले पलेँटीलाई साँच्नै कुनै बालकझैं गरेर हुर्काए ।

वर्तमान समयमा कुरा गर्ने हो भने, नेपाली आधुनिक संगीतको पुनरुत्थान गर्ने महत्वपूर्ण भूमिकामा छ, पलेँटी । यो मानेमा सानो कोठा, सीमित श्रोता र अन्तराल भए पनि पलेँटी शालिन र स्थिर छ । आखिरीमा पलेँटी कुनै हतारका लागि बनेको अथवा बनाइएको हुँदैहोइन । विशुद्ध प्रत्यक्ष संगीतमा डुबुल्की मार्न बनाइएको हो । शहरको कोलाहललाई भुलेर धुनहरूको नजिक झुम्न बनाइएको हो ।

यसले २० वर्षको कोशेढुङ्गा पार गरेको बखत आभासलाई एक विशेष कार्यक्रम गर्ने सोच नभएको पनि होइन । तर, अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नियमित कार्यक्रमहरू भइरहेकाले उनले ठूलै र अलग्गै कार्यक्रमको जरुरत ठानेनन् । बरू यही डिसेम्बरको पलेँटीमा ‘संगत र सहकार्य’ शीर्षकमा उनी आफैं गुञ्जिए । त्यसमा उनले पुराना स्मृतिहरू कोट्ट्याए । प्रसंगहरू सुनाए । र, पलेँटीमा आएका १२ सर्जकहरू अहिले यस धर्तीमा नरहेको दु:खान्त सुनाए ।

तन्नेरी पलेँटीलाई फर्केर हेर्दा आभास आफू पनि यससँगै हुर्के/बढेको बताउँछन् । पलेँटी नहुँदो हो भने यसबेला उनी भारत हुन सक्थे । किनकि झन्डै-झन्डै उनी कलकत्ता जाने तयारीमा थिए ।

तर त्यसैबखत फत्तेमान राजभण्डारीको कार्यक्रमको जिम्मा उनीमाथि आइलाग्यो । संगीतमै भविष्य बनाउने सोचिरहेका उनले फतेमानका लागि केही गीतहरू बनाए । अनि ती र पूराना गीतसहित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा फत्तेमान गुन्जिए ।

त्यसपछि साथीहरूको सल्लाहमा सन् २००५ मा ‘पलेँटी कसेर आभासलाई सुनौं’ भन्ने नामको कार्यक्रमको थालनी भयो । त्यसमा आभासले एउटा कोठामा गीत गाउँथे । उनका साथीहरू सुन्न आउँथे । त्यसरी उनले लगातार १२ वटा कार्यक्रम एक्लैले प्रस्तुत गरे । यद्यपि टिकटको शुल्क भने उही बेलादेखि लाग्थ्यो ।

अर्को वर्ष, नेपाली आधुनिक संगीतमा दार्जीलिङको योगदान रहेको महसुस गर्दै उनले दार्जीलिङ र नेपालका कलाकारहरूलाई जोडेर आफ्नो कार्यक्रमलाई परिमार्जन गर्ने सोचे । कार्यक्रममा एक महिना दार्जीलिङका कलाकार र अर्को महिना नेपालका कलाकारलाई पालैपालो प्रस्तुति दिन लगाउने योजना थियो । अनि त्यसैबेला पहिलेको लामो शीर्षकलाई छोट्याएर ‘पलेँटी श्रृंखला’ राखियो । अज पछि मात्र ‘पलेँटी’ मात्र राखियो । जुन आजपर्यन्त कायम छ ।

त्यस्तै कलालाई पुनर्जीवित गर्ने उद्देश्य कार्यक्रम गर्ने भएकाले गाउने ठाउँलाई ‘आर-शाला’ नाम दिइयो । त्यस नामले कलाको पुनरुत्थान र पुनरुत्पादनको भावनालाई समेत समेट्थ्यो । यो नाम पनि आजपर्यन्त कायम छ ।

त्यसयता अहिलेसम्म पलेँटीमा ७० बढी सर्जकहरू आइसकेका छन् । जसमा गीतकार, संगीतकार, गायक, गायिका सबै पर्छन् । मूल सर्जकबाहेकका अन्य कलाकारहरू जोड्ने हो भने त ७० माथि संख्या पुग्छ ।

चन्दन लोम्जेल, कर्म योञ्जन, कालीप्रसाद रिजाल, दिनेश अधिकारी, रत्नशमशेर थापा, लक्ष्मीप्रसाद देवकोटा, अम्बर गुरुङ, मञ्जुल, प्रकाश गुरुङ, अशोक राई, किरण खरेल, मदनकृष्ण श्रेष्ठदेखि पलेँटीभन्दा कान्छी अभिज्ञा घिमिरेसम्म पलेँटीमा देखिइसकेका छन् ।

मुलत: पलेँटी संगीतको ‘माइक्रो इभेन्ट’ सिरिज हो । यसमा गीत रचनाको पृष्ठभूमि, रेकर्डिङ प्रक्रिया र विभिन्न यादहरूबारे अन्तरक्रिया पनि हुने गर्छ । प्रत्यक्ष गायन हुनाले कार्यक्रमभर दर्शकले सर्जकलाई नजिकबाट महुसस गर्न सक्छन् ।

आभासका अनुसार पलेँटीमा प्रस्तुति दिने अधिकांश कलाकारहरूका लागि यो नै पहिलो सोलो कन्सर्ट हुने गरेको पनि छ । तर, मुख्यत: पुरानो पुस्ताका कलाकारहरू जो गाउन छोडिसकेका थिए वा कुनामा पुगिसकेका थिए, उनीहरूलाई पुनर्जीवन दिनु र उनीहरूलाई नयाँ पुस्तासँग जोड्नु पलेँटीको प्रमुख उद्देश्य हो।

यस्तो उद्देश्य राखिएको पलेँटीको कार्यक्रम प्रायः वर्षभरिको क्यालेन्डर बनाएर तय गरिन्छ । अर्थात् आगामी वर्ष कुन समयमा कुन कलाकारले प्रस्तुति दिन्छन्, अघिल्लो वर्ष नै निश्चित हुन्छ । र, कलाकारहरूलाई तयारीका लागि समय दिन पहिले नै जानकारी गराइन्छ ।

दुई घण्टाको पलेँटीको एउटा शृङ्खलामा करिब १४ देखि १६ वटा गीत गाइन्छ । यदि गीतहरू पुराना छन् भने संख्या अलि बढी हुन सक्छ । तर, कार्यक्रम दुई घण्टा बढी जाँदैन । कारण दर्शक र कलाकार दुवैको सहजता हो ।

रिहर्सललाई पलेँटीले एकदमै महत्व दिँदै आएको छ । जो सुकै कलाकार भए पनि भए पनि कार्यक्रम हुनुभन्दा १० दिन अगाडि रिहर्सल सुरु गरिन्छ । कार्यक्रमपश्चात भने दार्जीलिङ/सिक्मिकका कलाकारहरूलाई घुम्न समय दिइन्छ ।

यसरी नै पलेँटीले आजको दिनसम्म आफ्नो अस्तित्व बचाइरहेको छ । सन् २००६ तिर भने एक टेलिभिजनसँगको सहकार्यमा सर्जकहरूको सांगीतिक यात्रामा केन्द्रित रहेर अन्तर्वार्ता लिने र अर्काइभ पनि गर्ने गरेको थियो । यद्यपि, त्यो समयको रेकर्डिङका टेपहरू हाल उपलब्ध नभएको आभासले बताए ।

पछि उनी आफैंले पनि अन्तर्वार्ता लिए । जसको अर्काइभ भने पलेँटीको आफ्नै युट्युब च्यानलमा समेत राखिएको छ । आजको समयमा भने छुट्टै अन्तर्वार्ता नलिई प्रस्तुतिकै क्रममा अन्तरक्रिया गरिन्छ ।

पलेँटी लक्का जवान हुँदै जाँदा नेपाली संगीत क्षेत्रमा एउटा गुण लगाएको छ । किनकि धेरै हस्तीहरूको अर्काइभ पलेँटीसँग छ । फत्तेमानले कसरी गाउँथे ? प्रेमध्वज प्रधानले कसरी गाउँथे ? लक्ष्मी प्रसाद देवकोटाले कस्ता गीतहरू लेखेका थिए ? जस्ता कुराहरू पलेँटीको आफ्नो आर्काइभमा सुरक्षित छन् ।

धेरै त युट्युबमा पनि राखिएका छन् । तर त्यहाँ गुणस्तर राम्रो भएको मात्र राखिएको आभास बताउँछन् । यद्यपि अनुसन्धानकर्ताहरूलाई आवश्यक परेको खण्डमा ती सबै सामग्री उपलब्ध गराइने उनले जानकारी दिए । त्यस्तै कतिपय सर्जकको फोटो र प्रस्तुतिको दुर्लभ अर्काइभ पलेँटीसँग भएको उनले बताए ।

आज पलेँटी काठमाडौंमा सीमित छ जस्तो लाग्न सक्छ । तर नेपाली आधुनिक संगीतमा एक किसिमको जागरण ल्याएको पलेँटी काठमाडौंबाहिर र विदेशमा पनि पुगेको छ । सुरुमा पलेँटीमा गाउन अस्विकार गरेका प्रेमध्वज प्रधानलाई लिएर नै पलेँटी अस्ट्रेलिया पुग्यो । फतेमान र अम्बर गुरुङलाई लिएर चीन गयो । उपत्यकाबाहिर हेटौँडा, नारायणगढ, पाल्पा, पोखरा र नेपालगञ्ज पुग्यो ।

पलेँटीको अर्को स्परुप हो, सानो । अर्थात् पलेँटीको नियमित कार्यक्रम सानो हलमै हुने गर्छ । विगतमा शुभचिन्तकहरूको अनुरोधमा ठूलो हलमा पनि पलेँटी गरिएको थियो । तर, कालिकास्थानमा रहेको आर-शालामा समेत दर्शक कम हुने हुँदा ठूलो हलमा आँट्न नसकेको आभासको भनाइ छ ।

यद्यपि पलेँटीलाई चाख्ने दर्शकहरू क्रमश: फेरिंदै छन् । अहिले त घरमै बसेर पलेँटीलाई लाइभ हेर्न सकिन्छ । यो सुविधा देशविदेशमा रहेका दर्शकहरूले प्रयोग गर्न सक्छन् ।

भविष्यमा पलेँटीलाई अझै सशक्त बनाउने र काठमाडौँ बाहिरका शहरहरूमा पनि कार्यक्रम विस्तार गर्ने योजनामा छन् आभास । ‘ट्राभल पलेँटी’ । उपत्यका बाहिरका शहरमा जनघनत्व पनि बाक्लै भएकाले त्यो सम्भव हुने अपेक्षा आभासको छ ।

त्यसभन्दा बढी नेपालमा हरेक कुरा अस्थिर भइरहँदा एउटै संस्थाले २० वर्षसम्म एउटा अभियानलाई निरन्तरता दिन पाउनुलाई उनी ठूलो महत्त्वपूर्ण मान्छन् ।





Read More