― Advertisement ―

OpenAI को पछिल्लो अधिग्रहणले यसको कोडेक्स कोडिङ सहायकको लागि बाटोमा ठूला परिवर्तनहरू देख्न सक्छ

एआईको पुष्टि गर्नको लागि यसको योजना खोल्नुहोस् र ओएआईको पुष्टि गर्नुहोस् पूर्वाधारकोडेक्सले ओनाको पूर्वाधारबाट लाभ उठाउन सक्छ, जसले लामो समयदेखि चल्ने कार्यहरूको लागि वातावरण...
HomeLatest newsहामीले लोकतन्त्रको जग हाल्यौं, जेनजीले समृद्धिको महल ठड्याउनुपर्छ

हामीले लोकतन्त्रको जग हाल्यौं, जेनजीले समृद्धिको महल ठड्याउनुपर्छ



ज्ञानको सीमा नै हुँदैन । न्यूटनको प्रसिद्ध भनाइ छ- हामीले जानेको एउटा थोपा हो, जान्न बाँकी समुद्र । त्यसैले विनम्रता र जिज्ञासाले मात्र सिकाइ सम्भव हुन्छ । कुनै पनि पुस्ता आफैंमा पूर्ण हुँदैन, उसले आफ्नो युगको काम मात्र गर्छ ।

म मानवजातिको विकासको सिद्धान्तमा विश्वास गर्छु । ब्रह्माण्डको उत्पत्तिदेखि जीवन, समाज, राज्य र राजनीतिसम्म सबै सापेक्ष र निरन्तर विकसित हुन्छन् । यो दृष्टिकोणले हामीलाई इतिहासको निरन्तरता बुझाउँछ र हरेक पुस्तालाई आफ्नो जिम्मेवारी थाहा दिन्छ ।

जेनजी शब्दलाई पनि धेरैले उमेर समूह मात्र ठान्छन् । होइन, यो निश्चित कालखण्डको चेतना हो । दोस्रो विश्वयुद्धपछि विज्ञान–प्रविधिको तीव्र विकाससँगै मानिसको सोच, आकांक्षा र चेतना फरक भयो । बेबी बुमर, एक्स, वाई हुँदै सन् १९९७ देखि २०१२ सम्म जन्मिएका पुस्तालाई जेनजी भनियो । जबकी नेपालमा सन् १९९७ मा अपूर्ण लोकतन्त्र थियो, सन् १९९६ मा माओवादी विद्रोह सुरु भयो । विश्वमा डिजिटल प्रविधिको तीव्र विकास हुँदै थियो ।

यो पुस्ता डिजिटल नेटिभ हो । इन्टरनेट, एआई र ग्लोबल कनेक्टिभिटीमा हुर्कियो । उसको चेतना तीव्र छ । त्यसैले राज्य, समाज, अर्थ–राजनीति र संस्कृतिलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्छ । पुराना संरचनाले यो पुस्ताको आकांक्षा सम्बोधन गर्न सक्दैन । यो परिवर्तनको माग होइन, बाध्यता हो । हाम्रो पुस्ता (एक्स र वाई) ले उपनिवेशबाट मुक्ति, निरंकुश शासनको अन्त्य र लोकतन्त्र ल्याउने काम ग‍र्‍यौं ।

विश्वमा पनि ६० को दशकसम्म एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा उपनिवेशहरूको विरुद्ध आन्दोलन चले । राजतन्त्रहरू ढले । नेपालमा २००७ सालमा राणा शासन र शाहको डबल शासन अन्त्य भयो । २०४६ मा पञ्चायत ढल्यो । २०५२ मा माओवादीले जनयुद्ध सुरु ग‍र्‍यो । २०६२/६३ को जनआन्दोलनले राजतन्त्र अन्त्य गरी गणतन्त्र ल्यायो । तर यो अपूर्ण रह्यो ।

मैले १२ बुँदे समझदारी ड्राफ्ट गरेको थिएँ । त्यसमा लेखिएको थियो- नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक र जातपातजन्य विभेदको अन्त्य गरी राज्यको पुनर्संरचना गर्ने । यो वाक्य संविधानमा पनि छ । तर पूर्णता भएन । किन भएन ?

पहिलो, शक्ति सन्तुलन र अदृश्य चलखेल । दृश्य राजनीतिमा मात्र होइन, भूराजनीति, ब्युरोक्रेसी र सुरक्षा अंगहरूले प्रभाव पार्छन् । दोस्रो, पहिलो संविधानसभा भंग भयो । किनकि क्रान्तिकारी शक्तिहरू बहुमतमा भए पनि अदालतको प्रयोग र चलखेल भयो । दोस्रो संविधानसभामा पुराना शक्तिहरू फर्किए । सम्झौता आवश्यक भयो ।

हात्तीसँग कुस्ती होइन, जुक्तिले अंकुश लगाएर गन्तव्यमा पुर्‍याउनुपर्छ । एउटा भनाइ छ – सर्वनाशे समुत्पन्ने अर्धं त्यजति पण्डित: । अर्थात् सबै फाल्ने होइन, आधा बचाएर आधा पछि भरौँला ।

२०७२ असोज ३ मा संविधान जारी हुँदा मैले भनेको थिएँ- यो आधा गिलास भरिएको छ, आधा खाली । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता बचायौं । तर शासकीय स्वरूप, न्याय प्रणाली, भ्रष्टाचार नियन्त्रण, सेना र पुलिसको लोकतन्त्रीकरण अपूर्ण रह्यो । यो अपूर्णताले सुशासन रोकेको छ र विकासलाई अवरुद्ध बनाएको छ ।

त्यसैले अब जेनजी पुस्ताको पालो छ- लोकतान्त्रिक जगमा टेकेर समृद्धीकरणको चरण पूरा गर्ने । २००७, २०४६, २०६२/६३ सालपछिको यो २०८२ सालको चौथो खुड्किलो हो । सुशासनका लागि संविधानका कमजोरीहरू सच्याउनु पर्छ । पुलिस, सेना, प्रशासन र न्यायालयको पुनर्संरचना । जनलोकपाल जस्ता स्वतन्त्र अख्तियार संस्था गठन । भ्रष्टाचारमा शून्य सहनशीलता । ठूला काण्डको छानबिन आयोग तत्काल सक्रिय बनाउनुपर्छ । किनकि प्रमाणहरू नष्ट हुँदैछन् ।

तीव्र आर्थिक वृद्धिका लागि पनि चार आयाम आवश्यक छ । हाम्रो प्रतिव्यक्ति आय हेर्दा पनि हामी १० गुणा पछाडि छौं । दुई अंकको आर्थिक वृद्धि गर्न आवश्यक छ । घस्रेर होइन, भ्यागुतो जस्तो उफ्रेर टेकअफ गर्नुपर्छ । २०६५ को बजेट वक्तव्यमा मैले लेखेको थिएँ – सर्वाधिक घस्रने होइन, उफ्रने तरिकाले जानुपर्छ । त्यसैले पहिलो, वृद्धि चाहियो ।

दोस्रो, इक्विटी अर्थात् असमानता न्यूनीकरण । अमेरिकाको उदाहरण हेर्दा वृद्धि भए पनि असमानताले समस्या ल्याएको छ ।

तेस्रो, पर्यावरण । हिमाली क्षेत्रमा जलवायु परिवर्तनको जोखिम बढ्दो छ । प्रकृतिसँग संघर्ष होइन, सहकार्य चाहिन्छ ।

चौथो, खुसी । भौतिक सुख मात्र होइन, आत्मिक सुख । पारिवारिक र सामुदायिक वातावरण ।

एलजीबीटीआईक्यूको अधिकारको विषय पनि उत्तिकै महत्वपूर्ण छ । उनीहरूको अधिकार संविधानमा लेखिएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार, दलितलाई पीएचडीसम्म नि:शुल्क शिक्षा र भूमिहीनलाई जमिनको व्यवस्था गर्ने विषय कार्यान्वयन हुन जरुरी छ ।

यी सबै गर्न अहिलेको अवस्थामा पहिला जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्छ । २ देखि ४ महिनाभित्र सरकारसँग लिखित समझदारी गर्नुपर्छ । राजपत्रमा प्रकाशित हुनुपर्छ । यसले आन्दोलनलाई वैधानिकता र ऐतिहासिकता दुवै दिन्छ । धर्ना दिएर हुन्छ कि जसरी हुन्छ, यो गर्न ढिलो नगर्नुहोला ।

त्यसपछि मुख्य कुरा बेलैमा चुनाव हुनु आजको आवश्यकता हो । हामीले पाएको आधा गिलास पनि घोप्टन्छ, यदि चुनाव भएन भने । त्यसैले आधा गिलास घोप्ट्याउने होइन, भर्नेतर्फ लाग्नुपर्छ ।

जेनजीलाई मेरो अनुरोध छ, विदेशमा भएका नागरिकले पनि भोट हाल्न पाउनेगरी दबाब दिनुहोला । त्यस्तै, अहिले भोट हाल्ने उमेर १६ र उम्मेदवार बन्न – स्थानीय तहमा १८, माथिल्लो तहमा २१ वर्ष हुनेगरी संशोधन गराउन पहल लिन अनुरोध गर्छु । यो गर्न अध्यादेशबाट सम्भव छ । अहिलेको जस्तो संविधानको समझदारीले मिलाउन सकिन्छ ।

त्यस्तै, विचार मिल्ने सबैलाई एक ठाउँमा ल्याएर पुराना भ्रष्ट शक्तिलाई बिदा गर्न नयाँ वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने अहिलेको आवश्यकता हो । अहिले संघीयता लगायतका कुरा फ्याक्ने हैन, बरु त्यो अपूर्ण छ, त्यसलाई पूर्ण बनाउनुपर्छ । यी कुरालाई क्रमश: सुधार्नुपर्छ । मैले संविधान जारी भएकै बखत भनेको थिएँ ।

त्यसपछि पुरानो शक्तिबाट यो सम्भव छैन, नयाँ चाहिन्छ भनेर हामी लागिरहेका थियौं । दस वर्षदेखि वैकल्पिक शक्तिको लागि यसमै लागिरहेका थियौं । संविधान जारी भएको दिनदेखि बोल्ने बाबुराम यहीँ छ । अरु तीनवटा टाउकोले दश वर्षदेखि चलाएका थिए । त्यसविरुद्ध हामी लडिरहेका थियौं । हाम्रो ताकत पुगिरहेको थिएन । त्यसमा अहिले तपाईंहरूको ताकत थपिएको छ । यसमा हाम्रो पूर्ण साथ छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समावेशी संसदले स्थिरता दिन्छ । कतिपयले प्रत्यक्ष कार्यकारी हुँदा सिक्किमीकरण हुने डर रहेको उदाहरण दिनुभयो । सिक्किमको उदाहरण गलत बुझाइ हो । त्यहाँ संसदले पास गरेको थियो, राष्ट्रपतिले होइन ।

यी सबै भन्दाभन्दै एउटा कुरामा के स्पष्ट हुनुपर्छ भने, क्रान्ति आफैंमा एउटा रिलेसन हो । यो एउटा पुस्ताले अर्कालाई हस्तान्तरण गर्छ । हामीले लोकतन्त्रको जग हालेका छौं । तपाईंहरूले समृद्धिको महल ठड्याउनुहोस् । म सहयात्रीको रूपमा सधैं साथमा छु । अघि भनेजस्तै संविधानलगायतका विषयमा आधा गिलास अझै खाली छ । मिलेर भरौँला ।

(जेनजीका प्रश्न र जिज्ञासामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको जवाफको सम्पादित अंश)





Read More