― Advertisement ―

युकेको आकाश-उच्च बिजुली लागतले चुपचाप एआई फर्महरूलाई विदेशमा धकेलिरहेको छ किनकि सस्तो बजारहरूले महत्वपूर्ण कार्यभार र भविष्यको नवीनतालाई लोभ्याउँछ।

उच्च ऊर्जाको भार AI को लागि लागत हो UKएआई डिप्लोइमेन्टको लागि सस्तो बिजुली निर्णायक कारक बनिरहेको छसंयुक्त राज्यको पूर्वाधारको फाइदाले एआई वर्कलोडको शिफ्टलाई गति...
Homeहङकङदेखि दुबईसम्म वर्षेनी सयपत्री पुर्‍याउँछन् चितवनका गोविन्द

हङकङदेखि दुबईसम्म वर्षेनी सयपत्री पुर्‍याउँछन् चितवनका गोविन्द



५ कात्तिक, चितवन । ‘नेपालमा सियोसमेत विदेशबाट ल्याउनुपर्छ’ भन्ने भाष्य आम नेपालीमा जनजिब्रोमा झुण्डिएको छ । तर, पछिल्ला दिन नेपालबाट निर्यात पनि गर्न सकिन्छ र हुन्छ भन्ने सकारात्मक सन्देश पनि बढ्ने क्रम सुरु भएको छ ।

चितवनको कालिका नगरपालिका–२ का पुष्पखेती गर्ने किसान गोविन्द बाँस्तोलाले विगत ३ वर्षदेखि विदेशमा सयपत्री फूल र माला निर्यात गरिरहेका छन् । हामी अहिले तिहार मनाइरहेका छौं । घर घरमा लक्ष्मीपूजा, गाई, गोरु पूजा मनाइरहेका छौं । भोलि भाइटीका छ ।

तिहारमा सयपत्री फूलको महत्व भनिराख्नै पर्दैन । यही महत्व बुझेका बाँस्तोलाले हङकङमा ३ सय केजी सयपत्री फूल र १ हजार माला बुनेर पठाइसके, तिहार अघि नै ।

त्यस्तै, दुबईमा ८ सय थान माला पठाए । यहाँ तयार गरिएको माला पत्रिका र प्लाट्रिकमा प्याक गरेर काठमाडौं पठाउने र त्यहाँबाट फूल निर्यात गर्ने अन्य व्यवसायीले नै विदे पठाउने गरेको गोविन्दले सुनाए ।

‘काठमाडौंसम्म फूल पठाउने जिम्मा हामीले लिन्छौं, काठमाडौंमा फूल रिसिभ गरेपछि त्यो उसकै जिम्मा हुन्छ’ गोविन्दले भने, ‘लगातार ३ वर्षदेखि फूल र माला पठाउने गरेकोले भुक्तानीको समस्या पनि भएको छैन ।’

कालिका नगरपालिका–२ मा रहेको ‘फूलमाला फार्म नेपाल’ सञ्चालन गरेका गोविन्दले फूलखेती गर्न थालेको ६ वर्ष भयो । सुरुमा सानो स्केलमा फूल लगाएका उनले अहिले ५ बिगाहा जमिनमा सयपत्री उत्पादन गर्दै आएका छन् । यसवर्ष मात्रै झण्डै १५ हजार माला बेचिसकेका उनको बारीमा थप १० हजारभन्दा बढी माला बुन्न पुग्ने सयपत्री छ । माला सप्लाई गर्ने एक ठूलो पाटीलाई सुरुमा १० हजार माला दिएपछि बाँकी फूल र माला भने उनले घरबाट नै बेचेका छन् । एक मालाको १ सय र फूलको प्रतिकिलो ४ सयदेखि ५ सय रुपैयाँसम्म पर्दछ । गोविन्दले वर्षेनी ६० हजार माला उत्पादन गर्ने गरेका छन् । उनको विचारमा विदेशमा बसेका नेपालीहरूले तिहारको अवसरमा नेपालबाट सयपत्री फूल र मालाको माग गर्ने गरेकोले हरेक वर्ष फूल र माला पठाउने गरिन्छ ।

उनका अनुसार गत वर्ष फूल र माला हङकङ र कतार पठाइएको थियो । यसवर्ष पहिलोपटक दुबई माला पठाइएको हो । गत वर्ष मालाबाहेक सयपत्री फूलको थुँगासमेत दुई क्विन्टल उनले हङकङ पठाएका थिए । विदेश निर्यात गर्दा पनि रकम भने नेपालमा बिक्री गर्ने बराबरकै नै लिने गरेको गोविन्दले सुनाए । चितवनमा तिहारको माला र फूल विदेश निर्यात गर्ने उनी नै पहिलो किसान हुन् ।

उनको फार्ममा १२ महिना नै सयपत्री फूल उत्पादन हुने गर्दछ । यो सिजनमा मात्रै ३० जना स्थानीय महिला दिदीबहिनीहरूले रोजगारीसमेत पाएका छन् । उनको घरको आँगनभरी नै बसेका महिलाहरूलाई दिनभर फूलको माला बुन्न भ्याइनभ्याई छ ।

उनीहरूले एक माला बुनेको ६ रुपैयाँ पाउँछन् । एक जनाले दिनमा ३ सय वटासम्म माला बुन्न सक्छन् । त्यसो हुँदा दिनमा नै १८ सयदेखि २ हजारसम्म एक स्थानीय महिलाले आयआर्जन गर्नसक्ने गोविन्दले बताए ।

बास्तोलाको घरको सिङो परिवार नै फूल खेतीमा रमाएको मात्रै छैन सन्तुष्ट पनि छ । काठमाडौं, पोखरा, हेटौडा, सुर्खेत, बाग्लुङ, धनगढी उनको नियमित बजार हो । फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाका अनुसार यो वर्ष चितवनमा ४० बिघामा सयपत्री फूलको उत्पादन भएको छ, त्यसबाट लगभग ५ लाख माला बन्न सक्छ ।

यसवर्ष तिहार चाँडै भएकोले सयपत्री फूलको पर्याप्त उत्पादन नभएको हुँदा बजारमा माग पनि निकै उच्च छ । भारतबाटसमेत सयपत्री फूल आउन कडाई भएपछि सयपत्री फूल र माला पाउन निकै मुस्किल छ । मूल्य पनि गत वर्षभन्दा निकै उच्च छ ।

लकडाउनले जुराएको आइडिया

प्राध्यापन पेशा गर्ने गोविन्द कोरानाको लकडाउनका बेला काठमाडौंको शंकरदेव क्याम्पस पठाउँथे । गाउँमा आउँदा एक विद्यालयको जमिन खाली देखेपछि उनले त्यहीँ सयपत्री फूल लगाउँदा कस्तो होला भन्ने सोच बनाए ।

कृषि पढेका साथी मनोज ढकालसँग सरसल्लाह गरेर उनले घर नजिकैको आधारभूत विद्यालय पिपरियाको ४ कट्ठा जमिन भाडामा लिएर सयपत्री फूल रोपे । तिहार अगाडि बजारमा फूलको बजार बुझे । उत्पादन पनि राम्रो भयो । सबै फूल बिक्री भएपछि उत्साहित बने । राम्रो आम्दानी भएपछि विस्तार गर्दै लगे ।

सुरुकै वर्ष ३० हजार रुपैयाँ लगानी गर्दा ६० हजार आम्दानी भयो । गोविन्द, उनका दाजु अमित बाँस्तोला र गोविन्दकी श्रीमती तीनै जना ‘डिग्री होल्डर’ हुन् । गोविन्दले चितवन मेडिकल कलेजमा बायोस्टाटिक्स् विषय पढाउँछन् । दिउँसोमा कलेज पढाउने उनीसहित दाजु, श्रीमती र घरका सबै सदस्य अधिकांश समयमा फूल खेतीमा नै बित्ने गरेको छ । फूल खेती गरेपछि अहिलेसम्म पछाडि फर्किएर हेर्न नपरेको गोविन्दले सुनाए । सुरुमा सयपत्री फूलमात्रै उत्पादन गरेका गोविन्द अहिले बीउ, बेर्ना र फूल तीनवटै विद्यामा विस्तारित भएका छन् ।

वार्षिक ५० लाखको कारोबार, स्थानीयलाई रोजगारी

गोविन्दको फार्ममा सयपत्रीको मात्रै वार्षिक ५० लाखभन्दा माथिको कारोबार हुने गरेको छ । यसवर्ष मात्रै १० लाख सयपत्रीका बेर्ना उत्पादन गरेर विक्री गरेका उनले सयपत्रीको फूलको बीउसमेत बेच्ने गर्दछन् । एक केजी बीउको डेढ लाखसम्म पर्छ ।

सयपत्रीको बेर्ना आफैंले उत्पादन गरेर बेचे पनि बीउ भने उनले भारतबाट खरिद गरेर स्थानीय किसानलाई बेच्ने गरेका छन् । बेर्ना एक गोटाको ३ रुपैयाँमा पर्न बिक्री हुन्छ । सयपत्रीको टेनिसबल प्रजातिको बेर्ना र फूल मात्रै उनले उत्पादन गर्ने गरेका छन् ।

कलकत्ते प्रजाति भन्दा टेनिस बल बढी टिकाउ र राम्रो हुने भएकोले धेरै जसो किसानले यही सयपत्री बढी लगाउने गर्दछन् । बीउको उत्पादनमा भने मौसम मिलाउन समस्या हुने र विभिन्न प्रतिकुलता आउने गोविन्द बताउँछन् ।

५ बिगाहा जमिन ५ वर्षका लागि प्रति कठ्ठा वार्षिक ५ हजार भाडा तिर्ने गोविन्दको फार्ममा मात्रै २० जनाले रोजगारीसमेत पाएका छन् । बेर्ना तयार गर्ने नर्सरी बनाउने, गोडमेल गर्ने, भिटामिन तथा विषादी हाल्नेदेखि अन्य विभिन्न काममा स्थानीयलाई रोजगारीसमेत दिएको गोविन्दले बताए ।

यो सिजनको फूलखेती गर्दा उनको ७ लाख रुपैयाँ हालसम्म खर्च भएको छ । जमिनको लिज अझै २ वर्ष बाँकी छ । उनले आफ्नो फूल व्यवसाय पनि विस्तार गर्दै लैजाने सोच बनाएका छन् । अफसिजनमा समेत सयपत्री फूलको बेर्ना तयार गर्ने गोविन्दले यस वर्ष १ लाख बेर्ना बेचिसकेका छन् भने बाँकी १ लाख बेर्ना तिहार लगत्तै बेच्ने तयारी गरेका छन् । अफसिजनको बेर्ना धेरै जसो धादिङ, काठमाडौंको थानकोट र काभ्रेमा जाने गरेको छ ।

सिजनमा नेपाली सयपत्रीको प्रयोग भए पनि अफसिजनमा भारतीय सयपत्रीले नेपाली बजार लिने गरेकोले त्यसलाई विस्थापन गर्न र स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्न बनाउन आफू लागिरहने उनले बताए । काठमाडौंमा मात्रै दैनिक ५ हजार खपत हुने तथ्यांक रहेको भन्दैं त्यसलाई विस्थापन गर्न १२ महिना नै सयपत्री फूलखेती गर्ने उनको योजना अनुसार काम भैरहेको छ । यसमा सरकारले पनि भारतीय फूल रोकेर सहयोग गर्नुपर्ने उनको धारणा छ ।

साउनमा रोपेको बेर्नाले असोज र कार्तिकमा, असोजमा रोपेको बेर्नाले मंसिर, पुस र माघ, कार्तिकमा रोपेको बेर्नाले माघ, फागुन, चैत, फागुनमा रोपेको बिरुवाले वैशाख, जेठ, असार, बैशाखमा रोपेको बिरुवाले असार, साउन, भदौंको फूलको माग पुरा हुने बास्तोलाले बताए । एक महिनामा बेर्ना तयार हुने र रोपेको २ महिना पछि फूल फुल्ने बास्तोलाले जानकारी दिए ।

यसपटक तिहार चाँडै परेको पहाडी भेगमा सयपत्री फूलहरु फुल्न ढिलाई भएकोले बजारमा उच्च माग रहेको छ । असोज अन्तिम साता परेको झरीको प्रत्यक्ष मार सयपत्रीमा परेकोले पर्याप्त फूल उत्पादन हुन सकेको छैन ।

गोविन्दले सयपत्री फूल उत्पादन सुरु गरेदेखि नै कालिका नगरपालिकाले वार्षिक आर्थिक तथा अन्य सहयोगहरु गर्दै आइरहेको छ । कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले सुरुमा १२ जना सयपत्री फूल उत्पादन गर्ने किसानलाई उनीहरुको उत्पादनको स्केल हेरेर सहयोग गरेको बताए । वर्षको ३ लाखका दरले पालिकाले सहयोग गर्दै आएको छ । नगर प्रमुख रेग्मीले विदेशमा नेपालबाट सयपत्री फूल निर्यात गर्ने कालिका नगरपालिका मात्रै भएकोले आफूलाई पनि खुसी र गौरव मिलेको बताए ।

पालिकाकै पहलमा बास्तोलाको फार्ममा गत बर्ष बागमती प्रदेश सरकारले १५ लाख मूल्य बराबरको हाइटेक टनेल प्रदान गरेको छ । सयपत्री फूलको बेर्ना र फूल उत्पादनमा उत्कृष्ट काम गरेको भनेर हाइटेक टनेल दिएको हो । यसमा अब कट् फ्लाबरहरु उत्पादन गर्ने सोच गोविन्दले बनाएका छन् । यस्ता फूलहरु भारतबाट आउने गर्दछ । कम्तीमा पनि चितवनको माग पुर्‍याउने लक्ष्यसहित काम गरेको बास्तोलाले बताए ।





Read More