― Advertisement ―

GPD ले RTX-स्तर ग्राफिक्सको साथ एउटा सानो प्यान्थर लेक पावरहाउस निर्माण गर्‍यो, त्यसपछि उत्साहीहरूले सबैभन्दा बढी चाहेको सुविधा हटायो।

पीसीडीमा शक्तिशाली GPDi रेटेड प्यानटेग रेटेड प्रक्षेपण ग्राफिक्सकोर अल्ट्रा X7 358H ले RTX 3050M ग्राफिक्स कार्यसम्पादन नजिकै डेलिभर गर्दछMCIO 8i जडानले उच्च ब्यान्डविथ बाह्य...
HomeLatest newsस्थानीयले तोडफोड गरे, वडाध्यक्षले खुकुरी नचाए – KhabarHost

स्थानीयले तोडफोड गरे, वडाध्यक्षले खुकुरी नचाए – KhabarHost



२५ पुस, पोखरा । पोखरा महानगरपालिका–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् । स्थानीयको विरोधका कारण पोखराको अवस्था तनावग्रस्त बनेको छ ।

पोखरा महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी छनोट गरी पोखरा–३३ को झाँक्रीबगरमा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

पोखरा महानगरपालिका र प्रशोधन केन्द्र निर्माणका लागि छनोट भएको कम्पनी टेरासोल्भ रिनुएबल प्रालिबीच गत २ मंसिरमा सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत सम्झौता भएर प्रक्रिया अगाडि बढाइएको थियो ।

एकातिर महानगरले नै रोक्कामा राखेको ९६ रोपनी जग्गाको विवाद कायमै छ भने अर्कोतिर फोहोर प्रशोधन केन्द्र निर्माणस्थल आसपासका स्थानीयले सहमतिबिना निर्माण हुन नदिने भन्दै आन्दोलन गरिरहेका छन् ।

पोखरा महानगर, निर्माण कम्पनी र स्थानीयबीच सहमति गरेर मात्र अगाडि बढाउनुपर्ने भन्दै मेयर धनराज आचार्यदेखि सरोकारवालालाई गुहार मागिरहेका स्थानीयले शुक्रबार वडा कार्यालयमा प्रदर्शन गरेका थिए ।

प्रभावित क्षेत्रका नागरिकलाई बेवास्ता गरी सो ठाउँमा फोहोर प्रशोधन केन्द्र बनाउन नदिने भन्दै वडा कार्यालयमा तालाबन्दी र तोडफोड गर्न लागेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनका क्रममा स्थानीयले वडाध्यक्ष रामचन्द्र अधिकारीको गाडी तोडफोड गर्न लागेका थिए । आफ्नो गाडी तोडफोड गर्न लागेपछि वडाध्यक्ष अधिकारी खुकुरी बोकेर निस्किएका थिए ।

वडा र आफ्नो गाडी तोडफोड भएपछि जंगिदै वडाध्यक्ष नै खुकुरी लिएर निस्किएपछि स्थिति थप तनावग्रस्त बनेको थियो । घटनापछि वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वडाध्यक्ष अधिकारीलाई शिशुवा प्रहरी कार्यालयमा ल्याएर स्थिति साम्य पार्न प्रहरीले बल प्रयोग गरेको थियो ।

स्थानीयवासीले वडा कार्यालयमा तालबन्दी, वडाध्यक्षको गाडी तोडफोड र टायर बालेर नाराबाजी गरेका थिए । स्थिति अनियन्त्रित हुन नदिन पोखरामा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यहाँको जग्गाको मूल्यांकन तथा विवाद, फोहोर प्रशोधन केन्द्र निर्माण हुँदा पर्ने असरबारे स्थानीयहरू प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको ध्यानाकर्षण गराउन पुगेका छन् ।

‘स्थानीयले तालाबन्दी, तोडफोड र टायर बालेर प्रदर्शन गर्न थाले । त्यही क्रममा गाडी तोडफोड भएपछि वडाध्यक्ष अधिकारी खुकुरी नचाउँदै निस्के । अनि स्थिति थप तनावग्रस्त बन्यो,’ स्थानीय पत्रकारसमेत रहेका सञ्जय आचार्यले भने, ‘अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आक्रोशित स्थानीयले पेलेर नजान चेतावनी दिइरहेका छन् भने यो योजना अगाडि बढ्नै नदिने बताइरहेका छन् ।’

गाडी तोडफोडपछि वडाध्यक्ष अधिकारीले खुकुरी नचाउँदै निस्किएको थालेको स्थानीयको आरोप छ । वडाध्यक्षले भिडमा छिरेर खुकुरी प्रहार गर्न खोजेपछि स्थिति उग्र बनेको हो ।

प्रशोधन केन्द्र निर्माण गर्ने भनिएको ठाउँ खेतीयोग्य जमिन रहेको, धार्मिक मठमन्दिर र पानीको स्रोतसमेत रहेको, त्यसको प्रत्येक्ष प्रभाव स्थानीयमा पर्ने र त्यहीं मुनिबाट बगेको सेती नदीसमेत प्रदूषित हुनसक्ने भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

पोखराका मेयर धनराज आचार्यले पोखरा–३३ मा टिकट काटेर हेर्ने फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने घोषणा गरेका थिए । पोखरा–३३ मा प्रशोधन केन्द्र बनाउन महानगरले १७ जना जग्गा धनीहरूको ९६ रोपनी जग्गा २०८० को सुरुदेखि नै रोक्का राखेको छ । कमसल जग्गाको बढी मूल्यांकन गरेर पेस गरिएको भन्दै प्रमुख जिल्ला अधिकारी नेतृत्वको मूल्यांकन समितिले फाइल रोकिदिएको थियो ।

स्थानीयको जग्गा रोक्का गर्दै बैना दिनका लागि पोखरा महानगरको खाताबाट ५५ लाख रुपैयाँ वडाध्यक्ष अधिकारीको खातामा पठाएको पाइएको थियो । सरकारी पैसा व्यक्तिको खातामा पठाएको विषय सार्वजनिक भएपछि वडाध्यक्ष र मेयर आचार्यसहितले हिसाब मिलान गराएका थिए । तर त्यो पैसाबाट स्थानीयले भने बैना पाइसकेका थिए ।

पोखरा–३३ झाँकीखोला बगर र आसपासमा फोहोर प्रशोधन केन्द्र निर्माण हुने भएपछि विभिन्न स्वार्थ समूह लागेको र बेलाबेला विवादसमेत हुँदै आएको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २०८० पुस १७ गतेदेखि व्यावसायिक उडान सञ्चालन गर्ने घोषणा भएपछि पोखरा–३३ पुँडीटारमा स्थानीय फोहोर प्रशोधन केन्द्र र लामेआहालमा अस्थायी फोहोर बिसर्जन गर्ने निर्णय एकै पटक भएको थियो ।

अस्थायी ल्यान्डफिल र स्थायी फोहोर प्रशोधन केन्द्र निर्माणका लागि जग्गा खोज्ने संयोजक वडा नम्बर ३३ कै वडाध्यक्ष थिए । मेयर आचार्य पनि सोही वडामा हुन् ।

अस्थायी ल्यान्डफिल साइडमा पटकपटक विवाद र फोहोर जानै रोकावट हुने अनि स्थायी फोहोर प्रशोधन केन्द्र नै निर्माण नहुने शृंखला दोहोरिइरहँदा मेयर आचार्यमाथि दबाब थियो ।

फोहोर प्रशोधन केन्द्र निर्माण तथा सञ्चालकका लागि सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत सूचना आह्वानसमेत २०७९ चैतमै भएको थियो । जसमा ५ वटा कम्पनीले मनसायपत्र पेस गरेका थिए ।

ससबीडी–टेरासल्व रिन्युएवल जेभी, भेन्चर वेस्ट टू इनर्जी, बायोमास अल्टरनेटिभ रिन्युएवल इनर्जी, जीके कृषि फर्म र क्रियटिभ सरसफाइ जेभी, एमएस वेस्ट सर्भिस, हिमालयन लाइफ प्लास्टिक, ग्रिन रोड वेस्ट म्यानेजमेन्ट, नेपाल पब्लिक हेल्थ र एमएस बोर्डरलेस कन्सल्टिङ कर्पोरेसनले प्रशोधन केन्द्र निर्माण तथा सञ्चालनका लागि मनसायपत्र पेस गरेका हुन् ।

त्यसमा पनि ३ वटा कम्पनी छानेर २०८० मंसिर १७ मा बैठकले टेरासल्व रिन्युएवलको प्रस्तावलाई स्वीकृत गर्दै प्रशोधन केन्द्र निर्माण तथा सञ्चालन गर्ने निर्णय भएको इन्जिनियर नेत्र तिमिल्सिनाको भनाइ छ ।

फोहोर प्रशोधन केन्द्र निर्माण हुने भएपछि रातारात चलखेल गरी जग्गाको भाउ बढाइएको, स्वार्थ समूह हावी भएको, जग्गा खरिद–बिक्री गर्न खोजिएको लगायतका विवाद निस्किएका थिए । विवादको सिलसिला जारी नै रहेका बेला गत मंसिर २ गते महानगरले टेरासल्व रिन्युएवलसँग सम्झौता गरेको हो ।

सम्झौता लागु भएको मितिले ३० दिन भित्र आयोजना क्षेत्रको लागि वातावरणीय र प्राविधिक दृष्टिकोणले उपयुक्त जग्गा महानगरले उपलब्ध गराउनुपर्ने थियो । तर त्यो अवधि समाप्त भइसके पनि जग्गाको विवाद समाधान हुनुको साटो झनै बल्झिँदै गएको छ ।

३० दिन भित्र महानगरले जग्गा उपलब्ध गराउन नसक्ने भएमा त्यसको जानकारी जिम्मा पाएको कम्पनीलाई लिखित रूपमा गराउनुपर्ने सम्झौतामा छ । महानगरबाट जानकारी प्राप्त गरेपछि कम्पनीले छुट्टै क्षतिपूर्ति दाबी गर्न नपाउने गरी कम्तीमा ७० रोपनी जग्गा, दोस्रो पक्षले थप ९० दिन भित्र महानगरको समन्वयमा खरिद गर्नुपर्ने सम्झौतामा छ ।

यसरी दोस्रो पक्षले खरिद गरेको जग्गासँग जोडिएको परियोजनाका लागि आवश्यक सार्वजनिक जग्गा भोगाधिकारसम्बन्धी व्यवस्था मिलाउने दायित्व महानगरकै हुने सम्झौतामा उल्लेख छ । उक्त समयसीमा भित्र पनि जग्गाको व्यवस्थापन हुन नसकेमा जग्गा प्राप्तिको थप समयको लागि दोस्रो पक्षबाट निवेदन पेस गरेमा औचित्यको आधारमा ६० दिन म्याद थप गर्न सकिने सम्झौता भएको थियो ।

सो समयसीमा भित्र पनि जग्गाको व्यवस्थापन हुन नसकेमा यो सम्झौता स्वत: रद्ध हुने सम्झौता भएको निर्माणको जिम्मा पाएको टेरासोल्व रिनुएवल प्रालिका अध्यक्ष विमल शर्मा पोखरेलले अनलाइनखबरसँग बताए ।

‘आवश्यक जग्गा उपलब्ध गराउने जिम्मेवारी महानगरको हो । महानगरले कम्पनीलाई नै खरिद गर्नका लागि भनेको छ । जग्गा व्यवस्थापन अन्य ठाउँमा पनि हुनसक्छ तर महानगरले जग्गा रोक्का राखेको र प्राविधिक कारणले उपलब्ध गराउन नसकेको बताएको छ,’ अध्यक्ष पोखरेलले भने, ‘हामी त निर्माणका लागि तयार छौं । जग्गा व्यवस्थापन गर्नुपर्ने समय पनि बाँकी नै छ । २१ वर्षपछि यो परियोजना महानगरलाई नै हस्तान्तरण गरिने हो ।’

प्रशोधन केन्द्र निर्माणका लागि लगानीकर्ताहरू उत्साहित रहेको उनले सुनाए । अन्य ठाउँमा भए पनि वा सरकारको सामित्वमा रहेका जग्गाहरू पनि महानगरले उपलब्ध गराउन सक्ने उनको भनाइ छ । परियोजनाका लागि ७० रोपनी जग्गा आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । १७ जना स्थानीयको ९६ रोपनी जग्गा अहिले रोक्का भए पनि टुंगोमा लाग्न सकेको छैन ।

सम्झौता भएको मितिले २ वर्ष २ महिना भित्र निर्माण कार्य गरिने सम्झौतामा छ । विस्तृत परियोजना प्रतिवेदनमा कायम हुने आयोजना लागत अंक, यो सम्झौता तयार गर्दा दोस्रो पक्षले प्रस्ताव पालिकाको गरेको आर्थिक वर्ष २०८१/८२ को मूल्यमा कायम भएको आयोजनाको कूल लागत ८० करोड रुपैयाँको १५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुने देखिएमा संशोधन गर्न सकिने सर्त राखिएको छ ।

अब भने लगानी यसअघि अनुमान गरिएकोभन्दा बढेर डेढ अर्ब पुग्ने देखिएको कम्पनीका अध्यक्ष शर्माले अनलाइलाइखबरसँग बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले असमझदारीका कारण अहिले समस्या आएको र स्थानीयलाई बुझाएरै फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने बताए । उनले घटनालाई बढाउने र लम्ब्याउने काम नगरिदिन सरोकारवालालाई अनुरोध समेत गरे ।

‘हरेक ठाउँमा मानिसले आफ्नो मत राख्छन्, यो स्वभाविकै हो । प्रशोधन केन्द्र बनाउने नै हो । हामीले छलफल गरिरहेकै छौं । कहीँ न कहीँ बनाउनै पर्छ । समझदारीमै प्रशोधन केन्द्र बन्छ,’ मेयर आचार्यले भने, ‘सिंगो पोखराको फोहोर व्यवस्थापन गर्ने परियोजना हो । जग्गाको व्यवस्थापन पनि हुन्छ । यसलाई सरोकारवालाले बल्याएर होइन, सहयोग र समन्वय गरेर समाधान गर्नुपर्छ ।’

२६ महिनामा निर्माण सम्पन्न गरेर व्यवसाय सुरु गरेको २१ वर्षसम्म निजी कम्पनीले प्रशोधन केन्द्र सञ्चालन गर्नेछ । त्यसपछि भने पूर्ण रूपमा सञ्चालित अवस्थामै महानगरलाई उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपूर्व पोखरा–१४ बाच्छे बुडुवाबाट पोखरा–३२ लामेआहालमा अस्थायी ल्यान्डफिल बनाइएको छ । त्यहाँ पनि स्थानीयले विभिन्न माग राखेर आन्दोलन र फोहोर लैजानै अवरोध गर्दै आइरहेका छन् भने ल्यान्डफिल साइटसमेत भरिँदै गएकाले पोखराको फोहोर व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ ।

अहिले पोखरामा संकलन हुने फोहोर ८ वटा कम्पनीले ल्यान्डफिल साइट पुर्‍याउँदै आएका छन् । बिनाप्रतिस्पर्धा तिनै कम्पनीहरूलाई पटकपटक जिम्मेवारी दिइएपछि महानगरमाथि नै प्रश्न उठ्दै आएको छ ।

पोखरा महानगरलाई पहिलेभन्दा ठूलो आर्थिक रकममा घाटा पर्ने गरी ३ वर्षका लागि पहिलेकै कम्पनीलाई म्याद थपिएपछि अख्तियार र महालेखाको कार्यालयले प्रश्न उठाउँदै आइरहेको छ ।

यी कम्पनीले यसअघि वार्षिक १ करोड ७० लाख रूपैयाँ राजस्व बुझाउँथे । तर अहिले भने ३ वर्षको १ करोड ८६ लाख रुपैयाँ मात्र राजस्व पाउने गरी बिनाप्रतिस्पर्धा ठेक्का लगाइएको छ । यी कम्पनीसँगको सम्झौता पनि सकिने मिति नजिकिएसँगै पोखराको फोहोर कसरी उठ्छ भन्ने चिन्ता र चासो पोखरेलीको छ भने मेयर आचार्यमाथि पनि दबाब परिरहेको छ ।

फोटो सौजन्य : सञ्जय आचार्य

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More