― Advertisement ―

के तपाईको Xbox नियन्त्रकले हालसालै ब्याट्री समावेश नगरी पठाएको थियो? माइक्रोसफ्टले अन्ततः मुद्दालाई स्वीकार गरेको छ र खेलाडीहरूलाई ‘एक पटकको प्रस्ताव’ को साथ क्षतिपूर्ति...

केही Xbox ब्याटर शिपिङ बिना वायरलेस कन्ट्रोलरहरू छन्। महिनाहरूMicrosoft ले अब खेलाडीहरूलाई आफ्नो हराएको वस्तु नि:शुल्क दाबी गर्न "एक पटकको प्रस्ताव" प्रदान गरिरहेको छखेलाडीहरूले...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

गत शुक्रबार र शनिबार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रसिद्ध कण्ठशिल्पी ज्ञानु राणाको सांगीतिक कार्यक्रम भयो। झन्डै दुई घण्टासम्म चलेको सो कार्यक्रममा १६ वटा गीति रचनाहरू प्रस्तुत गरिए।

कार्यक्रमलाई दुई खण्डमा विभाजन गरी प्रस्तुत गरिएको थियो। आध्यात्मिक जीवनशैली रूचाउने ज्ञानु राणाले आफ्नो कार्यक्रमको थालनी सरस्वती वन्दनाबाट गरेकी थिइन्।

आजभन्दा ७७ वर्षअघि कास्कीको बाटुलेचौरमा जन्मेकी राणाले नेपाल र नेपालबाहिरका विभिन्न भाषामा गीत गाएकी छन्। खासगरी लोकगीतमा आफ्नो गहिरो पहिचान बनाएकी ज्ञानुले धर्मराज थापाका धेरै रचनामा आफ्नो स्वर गुञ्जाएकी छन्।

कार्यक्रमको दोस्रो र तेस्रो प्रस्तुतिको रूपमा ‘फूलबारी तिम्रै हो माया’ र ‘चौतारीमा मै बसे होला कि’ प्रस्तुत भएका थिए। कार्यक्रममा आफ्नो सांगीतिक यात्राको संस्मरण सुनाउँदै गीत गाइरहेकी राणाले ‘चौतारीमा मै बसे होला कि’ गीत भारतीय स्वरशिल्पी हेमलतासँग रेकर्ड गरेको स्मरण गरिन्।

कार्यक्रमको चौथो प्रस्तुतिको रूपमा अद्वितीय गायक नारायणगोपालसँग गाएको लोकप्रिय गीत ‘मान्छेको माया यहाँ’ प्रस्तुत गरिएको थियो। यस क्रममा उनले गीतकार राममान तृषित र संगीतकार शिवशंकरलाई सम्झना गरिन्। ज्ञानु राणाले गाएका गीतहरूको सहगायनमा उनलाई ‘पलेँटी’का युवा गायक रूपक चौधरीले साथ दिएका थिए।

रेडियोमा रेकर्ड गर्दाका आफ्ना सहगायकहरूलाई सम्झँदै राणाले ‘भिज्यो तिम्रो रातो पछ्यौरी’, ‘कसैले बुझेन मेरो मनको बहलाई’, ‘पिर पर्‍यो कत्तिको’ बोलका गीतहरू प्रस्तुत गर्दै कार्यक्रम अगाडि बढाइन्।

यसपछि पालो आएको थियो गोपाल योञ्जनले ज्ञानु राणासँग गाएको गीत ‘च्याङ्बा होइ च्याङ्बा’को। यस गीतको प्रस्तुतिको क्रममा गोपाल योञ्जनले आफूलाई तामाङनीजस्तै भएर गीत गाउन अनुरोध गरेको संस्मरण ज्ञानुले गरिन्। उनको सिको गर्दै कार्यक्रममा सहगायन गरिरहेका रूपक चौधरीले तामाङजस्तै लबजमा स्वर गुञ्जाइरहेका थिए।

Laxmi bank
Laxmi bank

त्यसपछि ज्ञानु राणाले आफ्ना पिताजी धर्मराज थापाको सम्झना गर्दै आफ्नो पहिलो रेकर्डेड गीत सुनाइन्। ‘जाने कहाँ हो’ बोलको सो गीत गाइसकेपछि उनी भन्दै थिइन्- ‘हेर्नु त मैले १४ वर्षको उमेरमा बुवासँगै गएर रेडियोमा रेकर्ड गरेको थिएँ यो गीत। ओहो! युग पो बितिसकेछ; झन्डै ६३-६४ वर्ष!’ भावुक देखिएकी उनी अगाडि भन्दै थिइन्- ‘अझै गाइरहेको छु; सकुन्जेल गाइरहन्छु।’

उनको यो अभिव्यक्तिले दर्शकदीर्घामा तरंग फैलिएको थियो। कार्यक्रममा अर्को गीत सुनाउने क्रममा उनी भन्दै थिइन्- ‘रेडियोबाट मैले गाएको सुनेपछि एक दिन नारायणगोपाल दाइले भन्नुभयो- ‘ज्ञानु! मैले लोकगीत कम गाएको छु। तिमी कति राम्रो गाउँछौ। म पनि तिमीसँग एउटा लोकगीत गाउनुपर्‍यो। तिम्रो बुबालाई भनेर एउटा गीत ल्याऊ त!’

सुरूमा उनलाई नारायणगोपाल जिस्किएका हुन् कि जस्तो लाग्यो। तर होइन रहेछ। ज्ञानुले यो कुरा लोकसर्जक धर्मराज थापालाई सुनाएपछि थापाले आफूले पहिले गइसकेको ‘हरियो भन्नु नि कान्छी त्यो रानी बन’ गीतलाई परिमार्जन गरेर ‘सिरीमा सिरिनी कान्छा बतासै चल्यो’ बोलमा युगल गीत तयार पारिदिए र ज्ञानु राणाले नारायणगोपालसँग पहिलो गीत रेकर्ड गरिन्।

पहिलो चरण ज्ञानु राणाको सांगीतिक यात्राको चर्चामा केन्द्रित कार्यक्रम, दोस्रो चरणमा भने धर्मराज थापामाथि केन्द्रित भएको थियो।

कार्यक्रम सञ्चालक आभास भन्दै थिए- ‘पोखराको बाटुलेचौरले धर्मराज थापा दियो। धर्मराज थापाले नेपाली संगीत जगत्लाई थुप्रै कोसेली दिनुभयो। लोक संगीत र साहित्य त दिनुभयो नै। उहाँले काठमाडौँबाहिरका गन्धर्वलाई केन्द्रमा भित्र्याउनुभयो र नेपाली संगीत जगत् गन्धर्वमय भयो। त्यसको उदाहरण झलकमान गन्धर्व हुन्। त्यस्तै ज्ञानु राणाजस्ती गुणी शिल्पीलाई दीक्षित गर्नुभयो र त नेपाली सङ्गीत जगत् आजसम्म धन्य हुन पाइरहेको छ।’

यसपछि कार्यक्रम सञ्चालकले ज्ञानु राणाका सुपुत्र तथा धर्मराज थापाका नाती विकासजंग राणालाई पलेँटीको मञ्चमा निम्त्याए। विकासले आफ्नो पहिलो कोसेलीको रूपमा उही ‘सिरीमा सिरीको’ उद्गम गीत ‘हरियो भन्नु नि’ गुञ्जाए।

विकासको गायनमा धर्मराज थापाको झझल्को सुनिन्थ्यो। आफ्नो छोराको गायनमा बुबाको झझल्को आएकोमा ज्ञानु राणा भावुक देखिन्थिन्। उनी भन्दै थिइन्- ‘छोराले बुबाको गीत गाउँदा म झलझली उहाँलाई नै सम्झँदैछु।’

ज्ञानुले आफ्ना बुबासँगको विगत र अनेक सम्झना सुनाउँदै गइन्। छोराले धर्मराज थापाका लोकप्रिय गीतहरू प्रस्तुत गर्दै गए। उनले क्रमश: ‘नेपालीले माया मार्‍यो बरिलई’, ‘आज मादल बजेको किन’, ‘साइली रिमै चौरी गाई’ सुनाइरहँदा दर्शकदीर्घामा अद्भुत आनन्द प्रसारण भएझैँ देखिन्थ्यो।

धर्मराज थापाका गीतको प्रस्तुति गर्दै गरेका विकासले ‘हरियो डाँडा माथि हलो जोत्ने साथी’ बाट आफ्नो एकल गायन समापन गरेका थिए। कार्यक्रमको अन्तिम कोसेली पोखरेलीहरूको सिर्जना ‘करोड मुटुहरूको ढुकढुकी नेपाल’बाट गरिएको थियो। पोखराकै गीतकार नवराज कार्कीले रचेको यस गीतलाई सरोजगोपालले धुन भरेका थिए। यस गीतलाई पोखरासँगै सम्बन्ध रहेका ज्ञानु राणा, बाबा राणा, अरुण थापा र सरोजगोपालले संयुक्त स्वर दिएका थिए।

यसपालिको पलेँटीमा वाद्यवादनतर्फ दिनेशराज रेग्मी (किबोर्ड), सुन्दरकुमार महर्जन र पारशमणि सुवेदी (रिदम सेक्सन), मिलन घिमिरे (बाँसुरी), सुदीप खत्री (बेस गितार) र प्रविन पुलामी मगर (रिदम गितार) को सहभागिता रहेको थियो।

‘पलेँटी’ लाई हलमै उपस्थित भएर हेर्न अनुकूल नहुने देश-विदेशका संगीतप्रेमीका लागि यसपालिदेखि नै ‘लाइभ’ हेर्न मिल्ने ‘पे पर भ्यू’को व्यवस्था गरेको जानकारी पनि गराइएको थियो। त्यसका निम्ति www.paleti.com.np मा प्रवेश गरेर ‘Purchase Live Access’ बटन क्लिक गरेर प्रक्रिया अगाडि बढाउन सकिने जनाइएको छ।

अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार, शनिबार प्रस्तुत हुने ‘पलेँटी’मा आउँदो महिना गायक फत्तेमानलाई सम्झना गरिने भएको छ।

आगामी महिनाको अन्तिम शुक्रबार (नोभेम्बर २८) गायक फत्तेमानको जन्मदिन परेकोले सो अवसरको पलेँटीलाई फत्तेमानमय बनाउने कुरा आयोजकले जानकारी गराएका छन्। त्यस अवसरमा संगीतकार तथा पलेँटी संयोजक आभासले गायक फत्तेमानसँग सम्बन्धित निबन्ध सुनाउनेछन्। ‘पलेँटी’ले एकसाथ निबन्ध र गीत प्रस्तुत गरिने कार्यक्रमलाई ‘गीति-निबन्ध’ को नाम दिँदै आएको छ।

Gyanu-Rana-performing-at-Paleti-1-1762146717.jpg

 





Read More