― Advertisement ―

HomeLatest newsसुदूरपश्चिम प्लेअफमा, जनकपुरले भेट्टाउन सकेन लय – KhabarHost

सुदूरपश्चिम प्लेअफमा, जनकपुरले भेट्टाउन सकेन लय – KhabarHost


सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणमा पनि प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । अर्कोतर्फ जनकपुर भने ४ खेलसम्म जितविहीन रहेर प्रतियोगिताबाट बाहिरिने पहिलो टोली हुने संघारमा छ ।

राष्ट्रिय

समाचार.

  • सुदूरपश्चिम रोयल्सले लगातार पाँच खेल जितेर नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा प्लेअफमा स्थान बनाएको छ।
  • साविक विजेता जनकपुर बोल्ट्स चार खेल लगातार हारेर प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ।
  • लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ।

१३ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा विजेता भएको जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम दोस्रो संस्करणमा ठीक विपरीत लयमा छन् ।

गत संस्करण शानदार प्रदर्शन गरेपनि फाइनलमा चुक्दा उपविजेतामा सीमित भएको टोली सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणमा पनि प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । अर्कोतर्फ जनकपुर भने ४ खेलसम्म जितविहीन रहेर प्रतियोगिताबाट बाहिरिने पहिलो टोली हुने संघारमा छ ।

शनिबार भएको खेलमा साविक विजेता जनकपुरमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम लगातार ५ खेल जितेर प्लेअफमा स्थान बनाउन सफल भयो । जनकपुर भने लगातार चौथो खेलमा पराजित भयो ।

पहिलो खेलदेखि ५ खेल खेल्दासम्म धेरै परिवर्तन नगरेको सुदूरपश्चिम सन्तुलित देखिँदा धेरै परिवर्तन र परीक्षण गरिरहेको जनकपुरले भने अझै लय भेट्टाउन सकेको छैन ।

जनकपुरले आज नियमित कप्तान अनिल साहलाई नै बेन्चमा राख्दै विदेशी खेलाडी वायन पार्नेललाई कप्तानी दिएको थियो । उनको पछिल्लो प्रदर्शन पनि सन्तोषजनक हुन नसक्दा बाहिर राख्नुको कारणबारे भने हल्का चोटका कारण नखेलाइएको बताइयो ।

जेजस्तो कारणले टिम परिवर्तन गरिएको भएपनि जनकपुरले नतिजा भने परिवर्तन गर्न सकेको छैन । अब ३ खेल मात्र खेल्न बाँकी जनकपुरले सबै खेल जितेर पनि विश्वस्त नहुने अवस्थामा पुगिसकेको छ । जनकपुरलाई सबै खेल जितेर अन्य नतिजा पनि आफू अनुकुल आउनुपर्ने छ ।

सुदूरको शान कायमै

पहिलो संस्करणदेखि नै गीतमार्फत ‘मैदानमा तुफान, सुदूरको शान’ घन्काउँदै आएको सुदूरपश्चिमले मैदानमा पनि सोही किसिमको प्रदर्शन गर्दै शान कायमै राखेको छ ।

शनिबार साविक विजेता जनकपुरसँगको खेलमा टस हारेर पहिले फिल्डिङ गरेको सुदूरले जनकपुरलाई मध्यम योगफलमै रोकेर लक्ष्य पूरा गर्‍यो ।

टस जितेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो । जवाफमा खराब सुरुवातका बाबजुद संयमित ब्याटिङ गर्दै सुदूरले खेल जित्यो ।

बलिङमा सुदूरका अविनाश बोहराले ४ विकेट लिएर जनकपुरलाई केही कम योगफलमा रोके । १० ओभरको समाप्तिमा ५५-३ को अवस्थामा रहेको जनकपुर १५ ओभर सकिँदा ११२-३ को अवस्थामा थियो र क्रिजमा सञ्जय कृष्णमुर्ती सेट भएर खेलिरहेका थिए ।

सञ्जयले जनकपुरलाई १६० भन्दा माथिको योगफल बनाउने गरी खेलिरहेका थिए तर अर्धशतक बनाएर सञ्जय आउट भएपछि जनकपुरका लागि कसैले पनि राम्रो फिनिसिङ गर्न सकेनन् । जनकपुरले अन्तिम ५ ओभरमा ३३ रन मात्र जोड्न सक्यो र ४ विकेट गुमायो ।

जनकपुरको फिनिसिङमा ब्रेक लगाउन अविनाश बोहराले ४ विकेट लिए भने त्यसअघि टप अर्डरलाई स्कट कुग्लेइनले दबाबमा राखेका थिए । स्कटले ३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएपछि दुई अस्ट्रेलियन पावर हिटरलाई चाँडै गुमाएपछि सुदूरपश्चिम ठूलो दबाबमा आएको थियो । १ रन मात्र जोड्दा जोश ब्राउन र क्रिस लिन आउट भएपछि विनोद भण्डारी र इशान पान्डे मिलेर तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गरे ।

विनोद ४१ रन बनाएर आउट भएपछि इशानले अर्धशतक बनाए । ५४ रनमा इशान आउट भएपछि हर्मीत सिंहले ३ छक्का र १ चौका प्रहार गर्दै सुदूरलाई जिताए ।

खेल जिताउन विनोद र इशानको साझेदारी नै निर्णायक रह्यो । इशान प्लेयर अफ द म्याच समेत घोषित भए ।

खेलपछि कुरा गर्दै सुदूरपश्चिमका अविनाश बोहराले ५ वटै खेल जित्न पाउँदा धेरै हर्षित भएको बताए । ‘राम्रो भइरहेको छ टिमबाट, नेपाली खेलाडीहरूबाट पनि राम्रो प्रदर्शन हुँदा खुसी लागेको छ’ उनले भने, ‘आफ्नो प्रदर्शनबाट पनि योगदान दिन पाएँ, सोचेको जस्तै भइरहेको छ।’

अविनाशले टिमको माहोल पनि राम्रो भएको र विदेशी मात्र नभएर नेपाली खेलाडीबाट पनि राम्रो प्रदर्शन हुने किसिमले योजना बनिरहेको बताए ।

जनकपुरले भेट्टाउन सकेन लय

साविक विजेता जनकपुर बोल्ट्सले भने यस संस्करणमा लय समात्नै मुस्किल भएको देखिएको छ । ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा जनकपुरले एक खेल पनि जित्न सकेको छैन ।

सुदूरसँगको खेलमा डिफेन्ड गर्न सक्ने योगफल बनाएको भएपनि बलरहरूबाट फितलो प्रदर्शन रहँदा दबाब सिर्जना गर्न सकेन । सुरुवातमै २ विकेट लिएको भएपनि जनकपुरले खेलमा पकड जमाउन सकेन ।

अर्कोतर्फ जनकपुरले निरन्तर परीक्षण पनि गरिरहेको छ जसका कारण टिम सन्तुलित बन्न सकिरहेको छैन । जनकपुर अब लिग चरणबाटै बाहिरिने संघारमा छ ।

खेलपछि कुरा गर्दै जनकपुरका ब्याटिङ प्रशिक्षक अनिल मन्डलले चाहेजस्तो हुन नसकिरहेको बताए । ‘हामीले गर्न खोजेको जस्तो भइरहेको छैन, ब्याटिङमा हामी पछाडि परिरहेका छौं’ उनले भने, ‘अघिल्लो खेलहरूमा पनि बलिङ राम्रो हुँदा ब्याटिङ चल्न सकेन।’

मन्डलले टिम बाहिरिनसकेको अवस्थामा अब बाँकी खेलमा राम्रो गरेर प्लेअफमा पुग्न प्रयास गर्ने बताए ।

लुम्बिनीले जगायो आशा

शनिबार नै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि अन्तिम ओभरमा जित निकाल्दै दोस्रो जित हासिल गर्‍यो । ५ खेलमा २ जित निकालेको लुम्बिनीले अब प्लेअफ पुग्नका लागि आशा जगाउँदा पोखरा एभेन्जर्स भने कमजोर देखिएको छ ।

पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा पूरा गर्‍यो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले मिडल अर्डरमा संयमित ब्याटिङ गरे भने आजै टोलीमा आएका श्रीलंकन ब्याटर निरोशन डिक्वेलाले ३७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

बलिङ र फिल्डिङमा फितलो प्रदर्शन गर्दा पोखराले भने खेल जित्न सकेन । बलिङमा बिपिन खत्रीबाहेक अन्य बलर महँगो साबित भइरहेका छन् र दबाबपूर्ण बलिङ गर्न सकिरहेका छैनन् ।

आजको जितपछि लुम्बिनीको ५ खेलबाट ४ अंक भएको छ र अब २ खेल खेल्न बाँकी छ । पोखराले ४ खेलमा २ अंक जोडेको छ र ३ खेल खेल्न बाँकी छ । दुवै टोली बढीमा ८ अंकसम्म पुग्न सक्छन् ।

लुम्बिनीका सहायक प्रशिक्षक सुवास खकुरेलले दुवै खेल जितेर प्लेअफमा पुग्ने विश्वास राखेका छन् । ‘अझै २ खेल बाँकी छ, त्यो जित्यौं भने प्लेअफमा पुग्न सकिन्छ’ सुवासले भने, ‘टिम राम्रो लयमा छ, दुई खेल जितेर प्लेअफमा पुग्नेछौं।’

यता पोखराका जिमी नीशमले भने निराशाजनक प्रदर्शन भएको बताए । ‘पहिलो इनिङमा च्यालेन्जिङ देखिएको छ तर पनि योगफल राम्रो नै थियो, बलिङमा धेरै रन खर्चियौं’ उनले भने ।

नीशमका अनुसार टिमले बाँकी ३ खेलमा राम्रो खेलेर कमब्याक गर्ने र प्लेअफमा पुग्ने सम्भावना कायमै रहेकाले आशावादी रहेको बताए । नीशमले भने आज एनपीएल २०२५ को अन्तिम खेल खेलेका थिए । उनी अब आईएल टी-२० खेल्न यूएई गएका छन् ।





Read More