― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsसमानुपातिकमा तरमारा वर्गको रजगज – KhabarHost

समानुपातिकमा तरमारा वर्गको रजगज – KhabarHost



नेपालमा समानुपातिक प्रणाली कसैको दया, कृपा वा राजनीतिक उपहारका रूपमा आएको थिएन । यो व्यवस्था लामो समयसम्म राज्यसत्ताबाट बहिष्कृत गरिएका समुदायको पीडाको परिणाम थियो ।

जाति, लिंग, क्षेत्र, वर्ग र पहिचानका आधारमा पछाडि पारिएका नागरिकलाई राज्यको निर्णय प्रक्रियामा ल्याउने उद्देश्यसहित संविधानमा समानुपातिक प्रणालीको व्यवस्था गरियो । दुईटा संविधान सभाले संविधान बनाउँदा पनि यो प्रणालीले तल्लो तहबाट राज्य संयन्त्रमा प्रतिनिधित्व गराउने भन्ने मर्म बोक्यो ।

तर, आज यही व्यवस्था राजनीतिक दलहरूका लागि नेताका छोराछोरी, भाइभतिजा, श्रीमती, आसेपासे र पहुँचवालालाई सत्ताको कुर्सीसम्म पुर्‍याउने सुरक्षित भर्‍याङमा रूपान्तरण भएको छ।

यो केवल प्रणालीको विकृति होइन, संविधानको मर्ममाथि गरिएको संगठित हमला हो । यो हमलामा विगतमा पुराना दलहरू संलग्न थिए । अहिले परिवर्तन गर्छु भनेर आएका नयाँ रास्वपा जस्ता दल पनि थपिए ।

समानुपातिक प्रणालीको आत्मा समावेशिता हो । तर समावेशिता देखाउनका लागि मात्रै प्रयोग गरिएको छ । समावेशिताका सबै क्लस्टर मिलाएर अहिले चुनावका लागि उम्मेदवार तय गरिएको छ । तर त्यो क्लस्टर भित्र अपवाद बाहेक पहुँचवाला र राज्यको ‘तरमारा वर्ग’कै बर्चस्व छ ।

तरमारा वर्ग (क्रिमी लेयर) कस्तो हुन्छ ? यसको प्रबृत्ति कस्तो हुन्छ ? एक पटक नियालौं । तरमारा वर्ग भन्नाले कुनै पनि पिछडिएको वा वञ्चित समुदाय भित्रैको आर्थिक, शैक्षिक र राजनीतिक रूपमा सबल सानो समूहलाई जनाउँछ । यी मानिसहरू कागज र कानुनी रूपमा त ‘पिछडिएको वर्गमै पर्छन्, तर व्यवहारमा भने उनीहरू सुविधा, पहुँच र शक्तिमा अगाडि हुन्छन् ।

तरमारा वर्गको प्रकृति आरक्षणको लाभ बारम्बार आफैं अथवा त्यस समूहको माथिल्लो तहले मात्र लिने खालको हुन्छ । यसले गर्दा वास्तविक गरिब र पछाडि परेकाहरू लाभबाट बाहिरिन्छन्।

तरमारा वर्गले राजनीतिमा आफूलाई समुदायको प्रतिनिधिको रूपमा प्रस्तुत गर्छ । राजनीतिक दलसँग सौदाबाजी गर्छ । आन्दोलन र पहिचानको कुरा गरेर आफ्नो शक्ति सुरक्षित गर्न खोज्छ ।

भारतमा पिछडिएको क्षेत्रका लागि दिएको आरक्षणको दुरुपयोग भएपछि त्यहाँ अदालतले क्रिमी लेयर हटाउन निर्देशन दिएको थियो । नेपालमा पनि समावेशिताको दुरुपयोग बढ्न थालेपछि सर्वोच्च अदालले आरक्षणको व्याख्या गर्दै तरमारा वर्गको पहुँचबाट त्यसलाई बाहिर ल्याउनुपर्ने व्याख्या गरेको थियो ।

तर, सर्वोच्च अदालतको आदेशको मर्मलाई यस पटक पनि दलहरुले वास्ता गरेनन् । समानुपातिक उम्मेदवारको सूची बनाउँदा समावेशी समानुपातिकको धज्जी उडाए ।

तरमारा वर्गले राजनीतिमा आफूलाई समुदायको प्रतिनिधिको रूपमा प्रस्तुत गर्छ । राजनीतिक दलसँग सौदाबाजी गर्छ । आन्दोलन र पहिचानको कुरा गरेर आफ्नो शक्ति सुरक्षित गर्न खोज्छ ।

अहिले दलहरूले खडा गरेका समानुपातिक उम्मेदवारका सूची हेर्दा पहुँचवालाकै नाम छ ।

राष्ट्रपति, पूर्वराष्ट्रपति, पार्टीका वरिष्ठ नेतादेखि प्रभावशाली गुटका संरक्षणकर्ताहरूले संसद् छिर्ने सहज ढोकाको रूपमा यसलाई प्रयोग गर्न खोजेका छन् । यसले एउटा गम्भीर सन्देश दिएको छ- समानुपातिक संघर्षशील भुईं तहका नागरिकका लागि होइन, शक्ति संरचना भित्र बसेर हालीमुहाली गरेका तरमाराहरूका लागि मात्र हो ।

यो प्रवृत्ति कुनै एक वा दुई ठूला दलमा सीमित छैन । दशकौँदेखि सत्तामा रहेका परम्परागत दलहरू यस विकृतिका बाहक हुन् । समानुपातिक सूचीमा बारम्बार दोहोरिने अनुहार, प्रत्यक्ष निर्वाचनमा पराजित भइसकेका वा चुनाव लड्न नै नचाहने नेताहरू, अनि नेताका नजिकका नातेदारहरू अहिले पनि सूचीमा परेका छन् । के समानुपातिक जनताको प्रतिनिधित्वका लागि हो कि दल भित्रको शक्ति र नेता व्यवस्थापनका लागि ?

यो भन्दा चिन्ताजनक पक्ष के छ भने, पुराना दलको आलोचना गर्दै ‘राजनीतिमा नयाँ संस्कार’ ल्याउने दाबीका साथ उदाएका नयाँ दलसमेत यो मामिलामा विकृत देखियो ।

रास्वपा जस्तो दल, जसले पुरानो राजनीतिक संस्कृतिको विरोधलाई आफ्नो मुख्य पहिचान बनाएको थियो, उसले पनि समानुपातिक सूची तयार गर्दा अरू दलको भन्दा विकृत अभ्यास गर्‍यो । परिवर्तनको नारा लगाउने दलमा पुरानै प्रबृत्ति दोहोरिनुले कुनै आशाको सन्देश दिँदैन ।

रास्वपाले योग्यता, समावेशिता र पारदर्शिताको कुरा त गर्‍यो, तर व्यवहारमा समानुपातिक सूची बनाउँदा त्यसलाई नै उल्लंघन गर्‍यो । पार्टी भित्र पहिले समानुपातिक चयन गर्नका लागि आन्तरिक चुनाव गर्‍यो । जसले बढी भोट ल्याउँछ त्यसलाई सूचीमा पारेन । वा, सूचीमा परेकाहरूलाई पनि नम्बरमा पछि राख्यो । आन्तरिक चुनाव लडेर बढी भोट ल्याएकाहरू अहिले खिस्स परेका छन् ।

रास्वापले नातागोता र बाहिर आफ्नो आवाज आफैं बोल्न सक्षम भएका सेलिब्रिटीहरूलाई सूचीमा राख्यो । पार्टी भित्रका कुनै नेतासँग नजिक भएका कारण कोही सूचीमा परे । कोही राजनीतिक संवाद गराइदिएवापत सूचीमा छिरे । कोही तीन पक्षको एकता प्रक्रियाका क्रममा भएको पदीय भागबन्डाबाट सूचीबाट प्रवेश गरे । रास्वपाले भन्दै आएको न मेरिट ख्याल गरियो न त आरक्षण आवश्यक पर्ने वर्ग भित्रको तल्लो तहको व्यक्ति सूचीमा प्रवेश गर्‍यो ।

सीमान्तकृत समुदायका वास्तविक प्रतिनिधिभन्दा चिनजान, पहिचान र आन्तरिक पहुँच भएका व्यक्तिहरू अघि सारिएपछि अहिले रास्वपा भित्रै पनि यो विषयमाथि गम्भीर प्रश्न उठेको छ- नयाँ भनिएको दलले नै पुरानै बाटो हिँड्ने हो भने, परिवर्तनको कुरा गर्नुको अर्थ के रहन्छ ?

समानुपातिक प्रणालीलाई सत्ता राजनीतिको महत्वाकांक्षा पूरा गर्ने सुरक्षित मार्गका रूपमा प्रयोग गर्ने प्रवृत्ति संस्थागत हुँदै गएको छ ।

प्रत्यक्ष निर्वाचनमा जनतासँग मत मागेर जित्ने साहस नगर्ने नेताहरू समानुपातिक सूचीको आडमा संसद् छिर्छन् । यो शैलीले यसले लोकतन्त्रको आधारभूत मूल्य-मान्यता प्रतिस्पर्धा र जनउत्तरदायित्वलाई कमजोर बनाएको छ ।

जनताबाट प्रत्यक्ष अनुमोदन नलिई सांसद बन्ने महत्वाकांक्षा अहिले सर्वत्र जागेको छ । त्यसको उदाहरण अहिले समानुपातिक सूचीमा बसेका सेलिब्रिटीहरू नै हुन् । देशभर आफ्नो पहुँच र प्रभाव राख्न सक्ने सेलिब्रिटीहरू वास्तविक सीमान्तकृत समुदायका लागि छुट्याएको कोटाको बाटोबाट लुसुक्क संसद् छिर्न खोजेका छन् । यदि वास्तवमा उनीहरू जनताको प्रतिनिधिको रूपमा अनुमोदित भएर आउने हो भने समानुपातिक सूचीमा नबसी प्रत्यक्ष चुनाव लड्ने आँट देखाउनुपर्ने थियो ।

समानुपातिक कोटा प्रत्यक्ष चुनाव लड्न नसक्नेका लागि त्याग गर्न सक्नुपर्ने थियो । तर उनीहरूले त्यो उदारता देखाएनन् । अर्थात् उनीहरू पनि यही समाजका उत्पादन हुन्, नयाँको अपवादको रूपमा प्रकट भएनन् ।

सबैभन्दा ठूलो विडम्बना यो छ, जसका लागि समानुपातिक प्रणाली बनाइएको थियो, तिनै समुदाय यसबाट सबैभन्दा बढी बाहिर धकेलिएका छन् । वास्तविक दलित, उत्पीडित जनजाति, विपन्न महिला, अपांगता भएका नागरिक र दुर्गम क्षेत्रका प्रतिनिधि अझै पनि पार्टीको सूचीमा तलतिरै सीमित छन् । उनीहरूका लागि समानुपातिक सपना मात्र बनेको छ, जबकि पहुँच भएकाहरू रामबहादुर थापा, अर्जुननरसिंह केसी जस्ता व्यक्ति पहिलो नम्बरमै सुरक्षित छन् ।

दलहरूले गरेको यो कर्म केवल नैतिक रूपमा मात्र गलत होइन, संवैधानिक रूपमा पनि आपत्तिजनक छ। संविधानले समानुपातिक प्रणालीलाई सामाजिक न्यायको औजारका रूपमा परिकल्पना गरेको हो । सर्वोच्च अदालतले समेत यसको दुरुपयोगप्रति चिन्ता व्यक्त गर्दै सुधारको आवश्यकता औंल्याइसकेकोले संविधान र अदालतको भावनालाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिनुपर्ने थियो । तर दलहरूका लागि समानुपातिक राज्यका सबैलाई मूलधारमा ल्याउने होइन, आफ्ना निकटको हैसियत वृद्धि गर्ने साधन मात्र बन्यो ।

यसले लोकतन्त्रलाई अर्को गलत मोडतर्फ लगिएको संकेत गर्छ । नेपालमा राजतन्त्रको अन्त्य गरियो, तर वंश र परिवारको विशेषाधिकार समाप्त भएन । विगतमा दरबारका भाइ-भारदारहरूको हालिमुहाली हुन्थ्यो । अहिले गणतन्त्रका प्रतीकका रूपमा मानिएका व्यक्ति र संस्थाहरूले नयाँ भारदारी संरचना खडा गरेका छन् र तिनै अहिले लाभग्राही सूचीमा पर्ने गरेका छन् ।

फरक यति मात्र छ, पहिले राजाका छोरा राजा बन्थे, आज नेताका छोराछोरी सांसद बन्छन् । पहिले दरबारका भारदारहरू शासन-प्रशासनमा हाबी हुन्थे, अहिले दल र तीनका नेताहरूले खडा गरेका नवभारदारहरू हावी हुन्छन् । अर्थात् प्रणाली बदलियो, अनुहार बदलिए, तर मानसिकता बदलिएन । जनताले यसलाई सामाजिक न्यायको माध्यम होइन, नेताहरूको निजी क्लबका रूपमा बुझ्न थालेका छन् ।

यदि यही प्रवृत्ति निरन्तर चलिरह्यो भने समानुपातिक प्रणालीप्रति जनविश्वास पूर्ण रूपमा समाप्त हुनेछ । समानुपातिक यही विकृतिको निरन्तरताका लागि हो भने यसको औचित्यमै प्रश्न उठ्न सक्छ । कतिपयले त अहिले नै उठाउन थालिसकेका छन् ।

समानुपातिक कसका लागि ? नेताका आपेपासेका लागि कि सदियौँदेखि आवाजविहीन बनाइएका नागरिकका लागि ? समानुपातिक कुनै समुदायका उच्च वर्गका लागि कि तल्लो वर्गका लागि ? यो प्रश्नको जवाफ दलहरूले दिनैपर्छ ।

समानुपातिक सूची बनाउँदा स्पष्ट मापदण्ड, पारदर्शिता र सार्वजनिक जवाफदेहिता अनिवार्य गर्नुपर्ने थियो । एउटै व्यक्ति वा परिवार पटकपटक सूचीमा पर्ने अभ्यास अन्त्य हुनुपर्ने थियो । प्रत्यक्ष निर्वाचनमा हार्ने वा नलड्नेहरूलाई समानुपातिकबाट पुरस्कृत गर्ने संस्कृति बन्द गर्नुपर्ने थियो । तर यतातर्फ दलहरूले ख्याल नै गरेनन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More