― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest news‘शिक्षकले आफ्नो स्वार्थका लागि दलको झोले बनेर हिंड्नुभएन’

‘शिक्षकले आफ्नो स्वार्थका लागि दलको झोले बनेर हिंड्नुभएन’



महावीर पुनलाई किताब बेच्दाबेच्दै मन्त्री बन्नुपर्ने बाध्यता आइलाग्यो । उनी मन्त्री भएको दुई महिना बित्यो । जेनजी आन्दोलनमा सिंहदरबारस्थित शिक्षा मन्त्रालय आगजनीपछि केही समय केशरमहलमा बसेर कार्यसम्पादन गरेका पुन अहिले सिंहदरबारमा सरिसकेका छन् ।

अन्तर्वार्ताको लागि सोमबार साँझ सिंहदरबार पुग्दा मन्त्री पुन कार्यकक्षमै व्यस्त थिए । जेनजी आन्दोलनले जलेको मन्त्रालयमा पूर्ण रूपमा बत्ती जडान भएको छैन । मन्त्रालय अँध्यारो थियो । यही अँध्यारोबाट शिक्षामा उज्यालो ल्याउने सुरुआत गर्दै छन् मन्त्री पुन । दुई महिनाको अवधिमा आफूले गरेका काम र अबको योजना मन्त्री पुनले खुलेर राखेका छन् ।

मन्त्री पुनसँग अनलाइनखबरका बसन्त बस्नेत दिनेश गौतमले गरेको कुराकानी :

तपाईं आविष्कार केन्द्रमा बसेर होस् वा हिजोको दिनमा भोलिन्टियरिङ गर्दा राज्यले यसरी काम गरोस् भनेर जुन अपेक्षा राख्नुहुन्थ्यो; अहिले तपाइँ तालुकदार मन्त्री बन्नुभएको छ, कत्तिको फरक हुँदोरहेछ ?

मन्त्रालयको काम मैले जिन्दगीमा नगरेको, नसुनेको, थाहा नभएको काम हो । मैले बाहिरबाट मन्त्रालयको बारेमा धेरै टीकाटिप्पणी गरेको होइन ।

शिक्षा मन्त्रालयमा मात्र होइन, हरेक मन्त्रालय, सरकारी कार्यालयमा हुने भनेको ढिलासुस्ती हो । एउटा सानो कुराले पनि जनतालाई दु:ख दिने, लामो समयसम्म पर्खाउने, अल्झाइदिने र कर्मचारीले निर्णय गर्न डराउने बाहिरबाट पनि देखेको हुँ । मैले अनुभव गरेको पनि हो । अहिले शिक्षा मन्त्रालयमा आएपछि पनि त्यही देखिरहेको छु ।

अहिले पनि ढिलासुस्ती छँदैछ ?

ढिलासुस्ती भइहाल्छ नि ! मेरो काम भएन भनेर अहिले पनि मान्छेहरू आइरहन्छन् । सबै ढिलासुस्ती हटेको छ भनेको होइन नि !

केले गराउँदो रहेछ त ढिलासुस्ती ?

कर्मचारीहरू आफू तल पर्ने कुरा अथवा अख्तियारले समात्छ कि, कसैले केही गर्छ कि भनेर निर्णय दिन डराउँछन् । डराउनु पनि पर्छ । ऐन-कानूनमा नभएका कुराहरूलाई आफ्नो खुसीले गर्न पाइँदैन ।

तर, स्पष्टसँग भन्दैनन् । हुन्छ भनेदेखि हुन्छ भन्दिनुपर्छ । हुँदैन भने हुँदैन भन्दिनुपर्छ । त्यो कुरा भन्दैनन् क्या ! ल हेरौंला । यो अगाडि बढाउँला । हेर्दैछु । यति दिनपछि आउनू । पछि सम्पर्क गर्नू जस्ता कुरा कर्मचारीले गर्छन् ।

अर्को कुरा, मन्त्रालयमा ब्युरोक्रेटिक प्रोसेस छ । फाइल तलबाट दर्ता सुरु हुन्छ । दर्ताबाट सुरु हुँदै हुँदै गएर सचिव र सचिवबाट मन्त्रीसम्म आइपुग्छ । एक ठाउँबाट अर्को ठाउँमा फाइल जान एकदमै ढिलो हुन्छ ।

लामो समयदेखि सुन्दै आएका छौं, कर्मचारीले मन्त्रीलाई फनफनी घुमाउँछन् । तपाईंलाई कर्मचारीले कत्तिको घुमाएका छन् ?

स्वार्थ गाँसिएको छ भने घुमाउने हो । मन्त्रीको पनि स्वार्थ गाँसिएको हुनसक्छ । मन्त्रीले नहुने काम कर्मचारीलाई गराउन खोजिरहेको छ भने कर्मचारीले घुमाउँछ । कर्मचारीको पनि आफ्नो स्वार्थ हुनसक्छ । त्यो कुराले पनि घुमाएको होला । तर मैले हुन्छ भने तुरुन्तै गर्दिनू, हुँदैन भने हुँदैन भन्दिनु भनेको छु ।

तपाईंले केही आशा लाग्दा सुरुवात गरिसक्नुभएको छ । तपाईंसँग समय एकदमै थोरै छ । के-के भ्याउने/नभ्याउने कसरी समय छुट्याउनुभएको छ ?

काम गर्दै जाने हो । समय छुट्याउने भन्ने हुँदैन । म समय छुट्याएर कहिल्यै पनि काम गर्दिनँ ।

प्राज्ञिक क्षेत्रमा लामो समयदेखि बहस विमर्श हुँदै आयो कि, दलहरूको भर्ती केन्द्र भयो । विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कुलपतिबाट हटाउन खोज्नुभएको छ । कसरी कार्यान्वयन गर्नुहुन्छ ?

यो विश्वविद्यालयका उपकुलपतिहरूबाट आएको कुरा हो । विश्वविद्यालयमा राम्रो शैक्षिक वातावरण बनाउन राजनीतिक हस्तक्षेप हुनुहुँदैन । हस्तक्षेपले गर्दा काम गर्न सक्दैनौं भनेर उपकुलपतिहरूकै कुरा हो, मेरो होइन ।

प्रधानमन्त्री कुलपति नहुने व्यवस्था भयो भने राजनीतीकरण बन्द हुन्छ । प्रधानमन्त्रीलाई म कतिवटा विश्वविद्यालयको कुलपति छु भन्ने नै थाहा हुँदैन । स्थायित्व पाओस् नपाओस् मतलब छैन । पायो भने राम्रो भयो, पाएन भने जेसुकै होस् ।

राजनीतिक भागबण्डा गर्दा हरेक विश्वविद्यालयमा कोही कर्मचारी कुनै पार्टीको हुन्छ । कोही कर्मचारी कुनै पार्टीको हुन्छ । अनि एउटा पार्टीको कर्मचारीले गरेको कुरा अर्को पार्टीलाई मन पर्दैन ।

एउटा पार्टीको विद्यार्थी युनियनले गरेको कुरा अर्को पार्टीको विद्यार्थी युनियनले मन पराउँदैन । विद्यार्थी युनियन मात्र होइन, प्राध्यापक संघ छ । त्यहाँ प्रध्यापकहरूको संघ पनि पार्टी-पार्टी अनुसार छन् । उनीहरूको आपसमा मेलमिलाप हुँदैन । जहिले पनि किचलो निस्किरहन्छ । उपकुलपतिलाई काम गर्न प्रेसर हुन्छ ।

राजनीतिक भागबन्डामा उपकुलपति, रेक्टर, रजिस्ट्रार, डीनहरू नियुक्त गर्ने प्रथा हट्यो भने शैक्षिक वातावरण बन्छ । १४ वटा विश्वविद्यालयको उपकुलपति, रेक्टर, रजिस्ट्रार र डीनहरूसँग छलफल गर्दा यो कुरा आएको हो ।

कुलपति प्रधानमन्त्री नहुने व्यवस्था भयो र स्वच्छ, सक्षम व्यक्ति कुलपति बनाउन सकियो भने राजनीतीकरण बन्द हुन्छ । भागबण्डा नगरी नियुक्त गर्नको लागि स्वार्थ नभएको बोर्ड खडा गर्नुपर्छ ।

बोर्ड अफ डाइरेक्टर अथवा बोर्ड अफ ट्रस्टी गठन गर्न सकिन्छ । यही बोर्डले स्वच्छ कुलपति र अन्य पदाधिकारीहरू नियुक्त गर्ने चलन बसाल्यो भने राजनीतिक हस्तक्षेप कम हुँदै जान्छ । विश्वविद्यालयका पदाधिकारीहरूको सुझावअनुसार प्रधानमन्त्री कुलपति नरहने गरौं भनेको हो ।

अनि प्रधानमन्त्रीलाई म कतिवटा विश्वविद्यालयको कुलपति छु भन्ने नै थाहा हुँदैन । प्रधानमन्त्रीलाई उपकुलपति मैले चुन्ने हो भन्ने मात्र थाहा हुन्छ । पार्टीको प्रधानमन्त्री आइसकेपछि पार्टीकै चाकरीवालाहरू आउँछन् । मलाई उपकुलपति, डीन बनाइदिनु पर्‍यो भन्ने माग राख्छन् । त्यसरी राजनीतीकरण भएकोले यो सिस्टमलाई हटाएर स्वच्छ कुलपति चुन्ने सिस्टम बसाल्न खोजेको हो ।

तपाईको कार्यकाल छोटो छ । यो गाँठो कसरी फुकाउने ?  तपाईंले सकारात्मक थालनी गरे पनि भोलि गएर यसले कार्यान्वयनमा स्थायित्व पाइराख्छ भन्ने आशा गर्नुभएको छ ?

सकेसम्म मेरै पालामा मन्त्रालयलाई टुक्र्याउँछु ।

स्थायित्व पाओस् नपाओस् मतलब छैन । स्थायित्व पायो भने राम्रो भयो । पाएन भने जेसुकै होस् । तर एउटा राम्रो कुराको थालनी हो । र, भविष्यमा त्यो कुराको थालनी भएको थियो भनेर जनताको चित्त बुझ्नुपर्‍यो । राम्रो कामको थालनी गरेको थियो तर भएन भनेर जनताले बुझ्ने कुरा हो ।

तर, स्थायित्व ल्याउनको लागि दुईवटा उपाय छ । एउटा उपाय, यसलाई राष्ट्रिय सभामा विधेयकको रूपमा पेश गरिदिने । भोलि संसद् बनिसकेपछि राष्ट्रिय सभाले लैजान्छ, पास गर्छ । दोस्रो, यसलाई अध्यादेशको रूपमा लैजाने । अध्यादेश पनि पछि संसद्‌ले पास गर्नुपर्ने हो । तर पास नगर्न पनि सक्ला । गरेन भने जसले गरेन उसको दोष हुन्छ ।

भनेपछि तत्कालका लागि अध्यादेश ल्याउने सोचमा हुनुहुन्छ ?

त्यो पनि प्रयास गर्दैछु । उच्च शिक्षाको विधेयक छ । त्यही ड्राफ्टलाई सुधार गरेर विधेयक रूपमा लैजान पनि सकिन्छ ।

विश्वविद्यालय मापदण्ड विधेयक त्यो बुँदा थप गरेर राष्ट्रिय सभामा लैजाने हो ?

तयारी हुँदैछ । छिट्टै जान्छ । उच्च शिक्षा विधेयकलाई परिमार्जन गरेर अगाडि बढाउन खोजेको हो ।

दलीयकरणको चंगुलबाट शिक्षा क्षेत्रलाई निकाल्ने उपाय के-के देख्नुभएको छ ?

यसबाट मुक्त गर्न विद्यार्थी पनि जागरुक हुनुपर्छ । तर विद्यार्थी जागरुक भएर यो हटाउलान् जस्तो लाग्दैन । विद्यार्थी आफैं विभिन्न विद्यार्थी संगठनमा लागेर झगडा गरिरहेका छन् । शिक्षामा आमूल परिवर्तन ल्याउन दुई वटा कुरा छ । विश्वविद्यालयमा प्राध्यापकदेखि कुलपति, उपकुलपति र कर्मचारी मिलेर वातावरण सिर्जना गर्नुपर्छ । तर वातावरण सिर्जना गर्लान् जस्तो लाग्दैन ।

विद्यालयस्तरको शिक्षामा पनि राजनीतीकरण छ । विद्यालयस्तरको शिक्षा सञ्चालन गर्न संविधानले स्थानीय सरकारलाई जिम्मा दिएको छ । तर स्थानीय सरकार गतिलो भएको ठाउँमा राम्रो चलेको छ । धेरै ठाउँमा गतिलो छैन । थोरै ठाउँमा मात्र स्थानीय सरकारले पठनपाठनलाई राम्रोसँग चलाएका छन् ।

धेरै ठाउँमा राजनीतीकरण भएर पालिका अध्यक्षले आफ्नो मान्छेलाई भर्तीकेन्द्र बनाउने, आफूखुसी गर्ने गरेका छन् । त्यसलाई रोक्न अभिभावक जागरुक हुनुपर्छ । अभिभावक जागरुक भएनन् भने विद्यालय शिक्षा अगाडि बढ्दैन ।

स्थानीय सरकारका प्रमुख सुध्रेनन् भने अभिभावकलाई मैले उचालिरहेको छु । अभिभावक र विद्यार्थीलाई आन्दोलन गर भनेको छु । आन्दोलन गरेर पनि मानेनन् भने पालिकामा गएर धर्ना बस भनिरहेको छु ।

गजबको मन्त्री हुनुहुँदोरहेछ । अभिभावक र विद्यार्थीलाई आन्दोलन गर भनेर उचाल्ने ?

छु त ! अब केही सिप नलागेपछि । स्थानीय सरकारले आफूखुसी मनपरी गरेको अभिभावकले गुनासो गरिरहेका छन् । विद्यार्थीको पढाइ भएको छैन । कतिपय ठाउँमा विद्यालय व्यवस्थापन समिति बनेको छैन । शिक्षकको तलब भदौ महिनामै पठाइसकियो । तर अहिलेसम्म तलब खुवाएको छैन ।

केही सिप नलागेपछि आन्दोलन त एउटै उपाय हो त । त्यसकारण अभिभावक, शिक्षक सबैलाई स्थानीय सरकारले अचाक्ली गर्‍यो भने, मनपरी गर्‍यो भने धर्ना बस, आन्दोलन गर भनेर भनिराखेको छु ।

स्थानीय तहले हेर्न सकेन भने विद्यालय शिक्षालाई कहाँ राख्ने त मन्त्रीज्यू ?

कहीं राख्ने होइन । त्यो विद्यालयस्तरको शिक्षा स्थानीय तहले हेर्नै पर्छ । हेर्न सकेन भने अभिभावक र विद्यार्थीहरूले आन्दोलन गर्नै पर्छ । आन्दोलन गरेर पनि मानेन भने आउने स्थानीय चुनावमा त्यस्ता नेतृत्वलाई हटाउनै पर्छ ।

शिक्षक पनि स्थानीय तहमा बस्न मानिरहेका छैनन् नि ?

शिक्षकले आफ्नो स्वार्थको लागि मानेका छैनन् होला । अथवा, यो स्थानीय सरकारमा भर पर्छ । कतिपय ठाउँमा शिक्षक स्थानीय तहमा बस्न मानिरहेका छन् । कतिपय ठाउँमा मानिरहेका छैनन् । त्यहाँको स्थानीय तहको जिम्मेवार व्यक्तिहरू के कस्ता छन् त्यो अनुसार भएको हुनुपर्छ ।

अर्को, शिक्षा बिग्रिनुमा विद्यालयहरूमा स्थानीय तहले प्रधानाध्यापक अयोग्य राखेर हो । हेडमास्टर योग्य राख्नु पर्‍यो । हेडमास्टर योग्य भयो भने विद्यालयको ५० प्रतिशत समस्या सुल्झिन्छ ।

एउटा हेडमास्टरसँग त्यत्रो क्षमता हुन्छ है ?

किन हुँदैन ? हेडमास्टर राम्रो भयो भने सबै कुरा राम्रो हुँदै जान्छ । हेडमास्टर खराब भयो भने सबै खराब हुन्छ ।

पठनपाठन राम्रो भएन भने अभिभावक-विद्यार्थीले आन्दोलन गर्नुपर्छ भन्नुभयो । तर शिक्षकले हकहित हुन सकेन भनेर यसअघि काठमाडौंका सडकमा आन्दोलन गरेको देख्नुभएको छ । तपाईं पनि आन्दोलनबाट बनेको मन्त्री हो । के थाहा फेरि तपाईंको कदमको विरुद्धमा प्रतिकार पो गर्छन् कि ?

शिक्षकले आन्दोलन मात्रै गर्ने ? स्कूलमा गएर नपढाउने ? त्यस्तो गर्ने हो भने त्यसको प्रतिकार गर्ने शक्ति अभिभावक र जनता नै हो । आफ्नो छोराछोरीलाई पढाउन पाउनु अभिभावकको मौलिक अधिकार हो ।

शिक्षकले गर्ने आन्दोलन पेशागत हकको लागि हो । समस्या परेमा आन्दोलन गर्न पायो । राजनीतिक आन्दोलन होइन पेशागत हकहितको लागि आन्दोलन गर्न पाउनुपर्छ ।

शिक्षकले राजनीतिक आन्दोलन गर्न पाउनुहुँदैन भनेको सायद दलगत आन्दोलन भन्न खोज्नुभएको हो भन्ने अर्थमा बुझें । तर संविधानले ट्रेड युनियनको अधिकार दिएको छ नि ?

विगतमा पञ्चायतको बेलामा, निर्दलीय समयमा शिक्षक संगठनहरू खुले, जुन बेलामा दलहरू प्रतिबन्धित अवस्थामा थिए । शिक्षकको मुखबाट विद्यार्थीको मुखबाट पेशाकर्मीको मुखबाट राजनीतिक आवाजहरू निकाल्ने बेला थियो । अहिले लोकतन्त्र छ, अभिव्यक्ति स्वतन्त्रता छ तर शिक्षकहरू अहिले पनि दलहरूमा छन् । स्कूलमा शिक्षाको गुणस्तर कता पुगिसक्यो तर शिक्षक नेता बनेर हिंड्ने, कार्यकर्ता बनेर हिंड्ने अवस्था बनिराख्यो ।

यसलाई कन्ट्रोल गर्न खोज्दा अहिलेको शिक्षा मन्त्रीले हाम्रो संविधान प्रदत्त अधिकार नै खोस्न लाग्यो भनेर जुन चर्चा चलिरहेको छ नि यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?

मैले जारी गरेको सूचनालाई राम्रोसँग नपढेर हो । त्यहाँको अक्षर अक्षर पढ्नु पर्‍यो नि ! शब्दशब्द पढ्नु पर्‍यो ।

विज्ञ शिक्षकले पढेनन् होला त मन्त्रीज्यू ?

अँ पढेको छैन । पढेको भए त्यो कुरा गर्दैनन् । मैले कसैको ट्रेड युनियन अधिकार खोस्दिनँ, खोसेको छैन । ट्रेड युनियन त संविधानले दिएको कुरालाई मैले कसरी खोस्न सक्छु ? संगठनको नाममा विद्यालयमा शैक्षिक वातावरण बिगार्नुभएन ।

विद्यालयको शैक्षिक वातावरण विद्यालयमा बनाउनु पर्‍यो । विद्यार्थीको भविष्यसँग खेलबाड गर्नुभएन । शिक्षक आफ्नो स्वार्थको लागि झोले भएको हो । त्यसरी झोले भएर स्कूलमा नजाने अनि तलब खाने ? नेताहरूको चाकरी गर्न पाइँदैन ।

तर, एउटा शिक्षक संगठनको अध्यक्षले मन्त्रीले मानसिक तनाव दिएर शिक्षकहरु कक्षामा गएर पढाउन सक्ने अवस्था बनिरहेको छैन भन्नुभएको सुन्नुभएको छ ?

भनेपछि उहाँ चाहिं साह्रै ठूलो झोले हुनुहुँदोरहेछ । झोले काम गर्न नपाउने भएँ भनेर टर्चर भएको होला । शिक्षक महासंघ छ । खारेज गर्ने भनेको छैन । यो भन्दा अगाडि बनेका ऐनहरूमा, नियमावलीहरूमा पनि स्पष्टसँग भनेको छ । त्यो नियमावली र ऐन मैले ल्याएको होइन । जुन सूचना छ, त्यसमा फलाना ऐनको फलाना दफाअनुसार काम नगर्नु भनेको छ ।

शिक्षकले त्यो कुरा नपढी ट्रेड युनियन खाइदिन लागेको भनिराखेका छन् । विज्ञप्ति निकालेका छन् । मलाई संविधान पढ्नु, ऐन पढ्नु भनेर भनेको छ । मैले त पढेर लेखेको हो । नपढी लेखेको त होइन नि !

तपाईं २०३७ सालतिर नेपाल राष्ट्रिय शिक्षक संगठनमा चितवन जिल्ला कार्यसमितिमा बस्नुभएको रहेछ । आफू शिक्षक संगठनमा बसेर आउने, अहिले हामीलाई शिक्षक संगठनमा बस्न नदिने, यो कस्तो मन्त्री हो भन्दैछन् नि ?

२०३७ सालमा हामीले आन्दोलन गरेको हो । त्यो भनेको पञ्चायती कालको कुरा हो । त्यही आन्दोलनले अहिलेको शिक्षक संगठनमा ठालु पल्टिने नेताहरू छन् । नेतागिरी गर्ने मौका पाएका छन् । अहिलेका शिक्षकहरूले सञ्चय कोष खान पाएका छन् ।

शिक्षक आफ्नो स्वार्थको लागि झोले भएर हिंड्ने ? स्कूल गएर नपढाउने ? त्यस्तो शिक्षक आफू त खाल्टामा जान्छ-जान्छ, देशलाई नै खाल्टामा पार्छ । शिक्षकलाई खुरुखुरु पढाऊ मात्रै भनेको छैन के ! १० बजेदेखि ४ बजेसम्म राजनीति नगर भनेको हो ।

त्यतिबेलासम्म शिक्षकले पेन्सन पाउने व्यवस्था थिएन । अरु कर्मचारी सरह पेन्सन पाउनुपर्छ । कर्मचारी सरह संचय कोष पाउनुपर्छ भनेर जिल्लाजिल्लामा शिक्षक संगठनको तदर्थ समिति गठन गरेर आन्दोलन गरेको हो ।

त्यो हकहितको लागि गरेको हो । त्यो राजनीतिको लागि गरेको होइन । जिल्लाको तदर्थ समितिको कोषाध्यक्ष बनाइदिएका थिए । मेरो जीवनीमा पनि लेखेको छु । त्यतिबेला प्रतिबन्धित अवस्थामा हामीले खोलेको हो । पछि गएर शिक्षक संगठन वैधानिक भयो । शिक्षकले बिहान १० बजेदेखि ४ बजेसम्म स्कूल पढाउनु पर्‍यो ।

१० बजेभन्दा पहिले कुनै पार्टीमा लागे पनि भयो । ४ बजेपछि कुनै पार्टीमा लागे पनि भयो । पार्टीको आस्था राख्न पाइयो । भोट दिन पाइयो । तर स्कूल सञ्चालन हुने समयमा पार्टीको झोला बोकेर स्कूल छोडेर चाहिं जानुभएन भन्ने कुरा मात्रै हो ।

कुरो त मिठो हो तर यो देशमा अदालतका न्यायाधीश भइसकेपछि पार्टीको कार्यालयमा धन्यवाद दिन जान्छन् । डाक्टर, प्राध्यापक पार्टीमा छन् । हरेक मान्छेको गोजीमा एउटा नागरिकता, अर्कोमा पार्टीको सदस्यता भएको देशमा शिक्षक-प्राध्यापकलाई राजनीति नगर, खुरुखुरु पढाऊ भनेर सम्भव छ ?

खुरुखुरु पढाऊ मात्रै भनेको छैन के ! १० बजेदेखि ४ बजेसम्म राजनीति नगर भनेको हो । वकिलहरू पार्टीमा जान्छन् । न्यायाधीश जान्छन् । पाइलट जान्छन् । कर्मचारी जान्छन् । नेपाल त्यसै बिग्रेको होइन त । यही कारणले नेपाल बिग्रेको हो । बेथिति बढेको हो । यो दुर्भाग्यले गर्दा नेपालको विकास नभएको हो ।

नियुक्तिदेखि बढुवा-सरुवासम्म पार्टी चाहिन्छ । कहाँ जाउन् बिचरा शिक्षकहरू ?

अब खाल्टामा जाने । आफू त खाल्टामा जान्छ-जान्छ देशलाई नै खाल्टामा पार्छ । झोला बोक्ने, पार्टीको चाकरी गर्ने अहिलेको प्रथा होइन । यो चाकरी प्रथा राणा शासनभन्दा अगाडि थियो । पृथ्वीनारायण शाहको पालाभन्दा अगाडि पनि थियो होला । चाकरी गर्ने प्रथा रणबहादुर शाहको पालादेखि अहिलेसम्म पनि चलिरहेको छ । राणा शासन फाल्यौं । पञ्चायती व्यवस्था फाल्यौं । बहुदलीय व्यवस्था आयो । गणतन्त्र आयो । शासन पद्धतिहरू परिवर्तन गर्‍यौं तर जुन सोचाइ छ, जुन संस्कार छ, त्यसलाई परिवर्तन गरेनौं ।

अघिल्ला मन्त्रीहरू हुँदा यहाँ सरुवा बढुवाको लाइन लाग्थ्यो । चाकडी गर्न आइपुग्थे । अहिले चाहिं के छ ?

आउँदैनन् । कोही-कोही शिक्षक सरुवा गर्न आउँछन् । मैले स्पष्टसँग भन्दिन्छु, सरुवा गर्ने मन्त्रालयले होइन, स्थानीय सरकारले हो । जुन ठाउँबाट सरुवा गर्न चाहने हो त्यो ठाउँको स्थानीय सरकारले सहमति दिनुपर्‍यो । जुन ठाउँमा सरुवा भएर जान चाहने हो त्यो ठाउँको स्थानीय सरकारले पनि सहमति दिनुपर्‍यो । त्यहीअनुसार गर्ने हो । मसँग चाकरी गर्न आउँदैनन् ।

मन्त्रीज्यू वैज्ञानिक पनि पर्नुभयो । यो मन्त्रालयलाई नै टुक्र्याउने योजना बनाउनुभयो त ? यो कहाँ पुग्यो?

त्यो प्रोसेसमा काम हुँदैछ । कसरी टुक्र्याउने भनेर काम सुरु भइसकेको छ । सकेसम्म मेरै पालामा मन्त्रालयलाई टुक्र्याउँछु । टुक्र्याउनुको कारण अर्को नयाँ मन्त्री थप्नलाई होइन । विज्ञान प्रविधिको विकासको लागि हो । विज्ञान प्रविधिको विकास भएन भने देशको विकास हुँदैन । विज्ञान प्रविधिको विकास गर्न बलियो मन्त्रालय हुनुपर्छ । अहिले विज्ञान प्रविधि मन्त्रालय भनेर शिक्षा मन्त्रालयसँग जोडेर एउटा कुनोमा राखिदिएको छ । शिक्षा मन्त्रालयको बजेटको एउटा सानो अंश पनि त्यसले भागमा छैन ।

स्थानीय सरकार प्रमुख सुध्रेनन् भने अभिभावक र विद्यार्थीलाई आन्दोलन गर भनेको छु । हेडमास्टर योग्य भयो भने विद्यालयको ५० प्रतिशत समस्या सुल्झिन्छ ।

अर्को हिसाबले यहाँ ब्रेन ड्रेन भयो । ब्रेन गेन हुनुपर्नेमा ड्रेन चाहिं भयो भन्ने खालको चर्चा चलेको छ । एकातिर यो हेर्ने तालुकदार मन्त्रालय र यहाँका निकायहरू उपेक्षामा परेका छन् । बजेट कम छ । अर्कोतिर प्रतिभाहरूलाई रोकेर देशमै राख्ने अवस्था छैन । यो किन भयो ?

बुद्धि नपुगेर भयो । बुद्धि हुनु पर्‍यो नि ! नेपालमा अहिलेसम्म जति प्रधानमन्त्रीहरू भए ती प्रधानमन्त्रीहरूको बुद्धि नपुगेको हो । अहिलेसम्म २२ जना प्रधानमन्त्री भइसके । तर कुनै पनि प्रधानमन्त्रीले विज्ञान प्रविधिको विकासलाई प्राथमिकतामा राखेनन् । मन्त्रीको बुद्धिले मात्र पुग्दैन प्रधानमन्त्रीको पुग्नुपर्छ ।

यत्रो-यत्रो क्रान्ति हाँकेर आएका प्रधानमन्त्रीहरू यति ठूला आन्दोलनमा यति धेरै वर्ष जेल बसेर आएका प्रधानमन्त्रीको किन बुद्धि पुगेन होला मन्त्रीज्यू ?

अब त्यो बुद्धि किन पुगेन भनेर ती प्रधानमन्त्रीहरूलाई नै भन्ने हो । तर हाम्रा प्रधानमन्त्रीहरूले यसको महत्त्व बुझेनन् ।

उहाँहरूको पढाइ पनि भएन । केही पीएचडी गरेका नेताहरू पनि छन् । तर नेतृत्वमा बसिरहेकाको पढाइ छैन । पढाइ नभए पनि फरक पर्ने थिएन । प्रधानमन्त्री हुनलाई पढाइ हुनुपर्छ भन्ने छैन । सोचाइ हुनुपर्थ्यो, त्यो पनि आएन ।

तपाईं आफ्नो पालामा के गर्दै हुनुहुन्छ, कुनै पाइलाहरू सार्दै हुनुहुन्छ ?

पहिलो काम विज्ञान मन्त्रालय फोर्ने हो । एउटा बलियो मन्त्रालय बनाउने हो । दोस्रो, नवप्रवर्तनलाई जोड दिने हो ।

हामीसँग प्राविधिक धारको सीटीईभीटी छ । तर लथालिङ्ग छ, यसमा के गर्दै हुनुहुन्छ ?

सीटीईभीटीमा पनि राजनीतीकरण भएको छ । पुनर्संरचना गर्नुपर्ने भएको छ । पुनर्संरचना गर्न एउटा कार्यदल गठन गरेर काम अगाडि बढाएको छु ।

विश्वविद्यालयमा परीक्षा भएको लामो समयसम्म नतिजा नआउने अवस्था छ । अब ढिलाइ गर्नेको बजेट कटाइदिन्छु भन्नुभयो । यसको क्रिया-प्रतिक्रिया कस्तो पाउनुभएको छ ? कार्यान्वयन गर्न सम्भव छ ?

यो ठूलो कुरा होइन । जसले समयमा गर्दैन तिनीहरूको बजेट काट्दिन्छु भनेकै हो । अब त्यो त एउटा तर्साउने कुरा भयो । यो कुरालाई सुधार गर्न चेतना आउनुपर्छ । कडा नियम मात्र बनाएर हुँदैन ।

त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन प्रतिवेदन तत्कालीन प्रधानमन्त्रीले रोकेर राख्नुभयो । तपाईं आइसकेपछि सार्वजनिक भयो । त्यसको कार्यान्वयन कहाँ पुग्यो ?

जग्गा छानबिन गरेर त्रिभुवन विश्वविद्यालयको नाममा ल्याउनुपर्ने कुराहरू प्रतिवेदनमा आएको छ । कुनै कुराहरू कानूनी रूपमा गाह्रो छ । कानूनी कुराहरूलाई अख्तियारमा लगेर दिइसकेको छ । अख्तियारले अगाडि बढाओस् भनेर दिएको हो ।

मन्त्रालयले नै अख्तियारलाई दिएको हो ?

हो । त्यो रिपोर्टलाई आधार मानेर यो-यो कुराहरूमा हेर्दिनु पर्‍यो भनेर अख्तियारलाई दिएको छ ।

चुनावका लागि दलहरूलाई हामीले आशा जगाउने होइन । आशा आफैं जाग्नुपर्‍यो ।

यो चुनावी सरकार हो । निर्धारित समयमा चुनाव गर्नुपर्ने अवस्था छ । तर निर्धारित समयमा चुनाव हुन्छ कि हुँदैन ? एउटा राजनीतिक पार्टीले चुनावमा आउँदिन कि जस्तो कुरा गर्दैछ । अब देश चुनावतिर गयो है भनेर कसरी भर गर्ने ?

हामीले आशा जगाउने होइन । उनीहरूको आशा आफैं जाग्यो भने भयो, जागेन भने हामीले के गर्ने ? चुनाव गराउनको लागि अहिलेको सरकार आएको हो । सरकार जसरी भए पनि चुनाव गराउँछ । कसैले भाँड्न खोज्छ भने वार्तामा ल्याएर चुनावमा जान अनुरोध गर्ने हो ।

त्यसो गर्दा पनि कसैले भाँड्छ भने कसरी गर्ने त ?

मुख्य कुरा सुरक्षाको हो । हामीसँग प्रहरी, सशस्त्र प्रहरी र सेना गरी तीनवटा सुरक्षा निकाय छन् । साथसाथै म्यादी प्रहरीहरू आउँछन् । जसरी भए पनि गराउने हो । सरकारको उद्देश्य चुनाव गराउने हो । फागुन २१ गतेभन्दा धेरै बस्न चाहँदैनौं । हामी यसैमा टाँसिइरहँदैनौं ।

तर, कुनै कुराले चुनाव बिथल्यो भने त्यो हाम्रो सरकारको गल्ती हुँदैन । त्यो भाँड्ने समूहको गल्ती हुन्छ, जिम्मेवारी उसले लिनुपर्छ ।

अनि सुरक्षा मनोबल कस्तो छ त ? अस्ति आन्दोलनबाट कति हतियार लुटिएका छन्, कतिका पोशाक लुटिएका छन् ?

लुटिएका हतियारहरू संकलन हुँदैछ । दुई/चार सय हतियारहरू संकलन गर्न नसकिएला रे ! हाम्रो सशस्त्र प्रहरी छ । आर्मी छ । आर्मीसँग पनि हतियार छ त । त्यसकारण दुई/चार सय हतियार लुटिएका छन् । यसले चुनाव भाँड्छ कि भनेर निहुँ देखाएर चुनाव भाँड्न त भएन नि !

कतिपय नेताहरूले यो सरकार कसको हो ? यो नेपालीको सरकार होइन भन्ने खालका कुराहरू गरिरहेका छन् नि ?

जसले भनेको हो, उसको सरकार नहोला तर जनताको सरकार त हो नि ! उहाँहरू बाहेक अरू पनि जनता छन् । उहाँहरूको मात्रै पार्टी छ र ? अरू पनि पार्टी छन् । नेपालमा पार्टीको के कमी छ ?

पार्टीको संख्या धेरै भयो भनेर गुनासो गर्दै हुनुहुन्थ्यो नि? 

त्यो त धेरै भयो नि ! अब रहरले खोल्छन् भने खोलुन् । खोल्नेलाई नखोल्नु भन्न मिलेन । तर व्यक्ति-व्यक्तिको पार्टी खोल्नु राम्रो होइन । चुनावमा पुराना स्वार्थी समूहले मौका पाउँछन् भन्ने कुरा भनिराखेको छु । अलि थोरै संख्यामा पार्टी हुनुपर्‍यो ।

कति जति संख्यामा पार्टी हुनुपर्‍यो ?

१५० छ भने कमसेकम १०-१५ वटा पार्टीसम्म हुनु सुहाउँदो कुरा हो ।

तपाईं यति गम्भीर कुरा गर्नुहुन्छ । तपाईं आफैं एकेडेमिक ब्याकग्राउन्डबाट आएको व्यक्ति हो । देश-विदेशमा तपाईंको नाम बनेको छ । म्यागासेसे जस्तो प्रसिद्ध सम्मान पाउनुभएको छ । हिजो-आज तपाईंलाई सामाजिक सञ्जालमा अलि हल्काफुल्का ढंगले प्रस्तुत गर्न खोजिएको हुन्छ । तपाईं पनि त्यसमा रमाइराखेको देखिन्छ । यसलाई कसरी लिनुभएको छ?

म पनि मान्छे हुँ । कहिले रमाइलो पनि गरिन्छ । हाँसो-ठट्टा पनि गरिन्छ । व्यंग्य पनि गरिन्छ ।

तपाईंले उठाएको मुख्य कुरा ओझेल परिराखेको छ जस्तो लाग्दैन ?

लागोस्/नलागोस् मलाई त्यस्तो छैन । कुनै समयमा केही कुरा सोसल मिडियामा भनिन्छ । त्यो तयार गरेर भनेको होइन । कहिले-कहिले दिमागमा झट्ट कुनै कुराहरू आउँछ । आएको बेलामा हाल्दिने हो । प्राय:जसो कुराहरू ठट्टा र वास्तविकतालाई अँगालेर राखेको हुन्छु ।

तपाईंका कतिपय सोच छरपस्ट बन्लान् । एउटै मालामा नउनिएलान् । विचारलाई आधार दिने संगठनको टेको चाहिएला । तपाईं कुनै पार्टीमा समाहित हुने सोच्नुभएको छ कि ?

मलाई रहर छैन ।

बिस्तारै संगठनको रूपमा अगाडि बढौं भन्ने खालको छैन ?

छैन, छैन मलाई छैन । रहर छैन । भविष्यमा के हुन्छ, मैले भविष्य सोच्दा पनि सोच्दिनँ ।

मन्त्रीको कार्यकालपछिको जीवन के होला भनेर सोच्नुभएको छैन ?

सोचेको छैन । म त मन्त्री भएपछि त्यही पहिला जुन रूपमा थिएँ, त्यही रूपमा अगाडि जाने हो । म स्वतन्त्र भएर बस्न चाहन्छु । अहिले कति दिन भयो यो घरबाट निस्केको छैन । अहिले एउटा परिस्थितिले बसिरहेको छु । जेल त नभनौं । तर जेल जस्तै छ यो । यो भर्‍याङबाट तलतिर त गएको छैन ।

अनि प्रधानमन्त्रीलाई भेट्न जानुभएको छैन ?

प्रधानमन्त्री कार्यालयमा मिटिङ हुँदा मात्रै म बाहिर निस्किन्छु । एउटा परिस्थिति आइपर्‍यो । छोटो समयको लागि हो भनेर बसिराखेको छु ।

खानपिन बसोबास सबै यहीं छ । बाहिर उद्घाटनमा जाउँजाउँ लाग्दैन ?

म त मन्त्रालय अगाडि हेलिकप्टर ल्याए पनि जान्नँ ।

म मन्त्री बनेको बेला यो बनेको हो भनेर भित्तामा लेखाउने रहर धेरैलाई हुन्छ नि ?

छैन, छैन । मलाई पटक्कै छैन ।

तस्वीरहरू : शंकर गिरी/ अनलाइनखबर 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More