― Advertisement ―

NYT Strands बुधवार, अप्रिल 15 को लागि संकेत र जवाफ (खेल #773)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzleran मा तपाइँको दिनको मिड जोन – एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest newsशिक्षकलाई झुक्याएर नदीतिर भाग्ने ‘केटो’, त्रिशूलीको छालमै देख्यो भविष्य

शिक्षकलाई झुक्याएर नदीतिर भाग्ने ‘केटो’, त्रिशूलीको छालमै देख्यो भविष्य


राष्ट्रिय

समाचार.

  • उद्धब कँडेलले बाल्यकालदेखि त्रिशूली नदीप्रतिको लगाव राख्दै र्‍याफ्टिङ व्यवसाय सुरु गरी देशविदेशमा परिचित बनेका छन्।
  • उनी स्थानीय युवालाई तालिम दिएर, किसानको उत्पादन किनेर र समुदायसँग पर्यटन जोड्दै समृद्धि ल्याउन सक्रिय छन्।
  • कोरोना महामारीमा पनि १० करोड रुपैयाँ लगानी गरी त्रिशूली भिल्ला र जिपलाइन निर्माण गरेका छन्।

धादिङको बेनीघाट–बाहुनटारको पाखा, पखेरामा हुर्किएको एउटा बालक सधैं पुस्तकको अक्षरभन्दा नदीको आवाजतिर तानिन्थ्यो । त्रिशूली नदी उसका लागि केवल पानीको स्रोत थिएन, जीवनको सुरुदेखिकै गुरु थियो, निशब्द तर गहन ।

साथीहरू कक्षाकोठामा बसेका बेला ऊ झाडीमा झोला लुकाएर पानीतिर दौडिन्थ्यो । स्कुलको घण्टीले बोलाए पनि त्रिशूलीको छालले उसलाई अझै ठूलो आवाजमा डाक्थ्यो । कहिलेकाहीँ जीवनका सबैभन्दा गहिरा पाठ कक्षाले होइन, प्रकृतिले पढाउँछ । उद्धब कँडेलका लागि यो सत्य त्यसैबेला नै प्रमाणित भइसकेको थियो ।

समय फेरियो, वातावरण फेरियो, तर ती बालकको नदीप्रतिको लगाव कहिल्यै फेरिएन । आज उही बालक नेपालकै साहसिक पर्यटन क्षेत्रमा एक चिनिने व्यक्तित्व बनेको छ ।

बाल्यकालमा शिक्षकलाई झुक्याएर नदीमा भाग्ने जस्ता ‘अनुशासनहीन’ हर्कत भविष्यमा उसको जीवनको सबैभन्दा अनुशासित निर्णयको पृष्ठभूमि बन्नेछन् भन्ने उसले सोचेको सम्म थिएन । कक्षा १२ सकिएपछि उद्धब होटल म्यानेजमेन्ट पढ्न युरोप पुगे । विदेशको भूमिमा टेकेपछि उनले बुझ्न थाले- पैसा कमाउनु मात्र विदेश जानुको कारण हुँदैन ।

युरोपको कठोर समयमा उनले आत्मअनुशासन, दयालुपन र श्रमको मूल्य गहिरो रूपमा अनुभव गरे । बिहान–बेलुका काम, अपरिचित वातावरण र कठिनाइबीच उनले कुरा बुझ्दै गए । ’सपना कुनै देशले बनाइदिने होइन, सपना साहसले जन्मिन्छ’ उनले यो कुरा त्यहाँ बसेर मनन् गरे । कमाइभन्दा ठूलो कुरा उनले एकै पाठ सिके, ‘मान्छे बन्ने’ तरिका।

युरोप, अमेरिकाका देशमा पुगेर स्थापित भइसकेका धेरै नेपालीका लागि स्वदेश फर्कने इच्छा गर्नु भनेको अनावश्यक भावुकता देखाउनु ठानिन्छ । अझ मूर्ख बनेको भन्ने तरिकाले अर्थ्याइन्छ । तर उद्धबका लागि फर्कने तिर्सना हठ थिएन, यो त आत्माले गरेको आह्वान थियो । उनी फर्किए किनकि उनलाई थाहा थियो, उनको भविष्य त्यहीं छ, बाल्यकालले आवाज दिएको नदी किनारमै । फर्कंने जोखिम, अनिश्चित भविष्य, अपूर्ण योजना, सबै कुरा थाहा थियो । तर केही गर्न चाहने मन कहिलेकाहीँ यति ठूलो हुन्छ कि जोखिम पनि साना लाग्न थाल्छ ।

नेपाल फर्केर उनले धेरैले असम्भव ठानेको बाटो रोजे, र्‍याफ्टिङ व्यवसाय । एक–दुई डुंगाबाट सुरु भएको काम विस्तार हुँदै गएर देश–विदेशका पर्यटकका लागि विश्वासिलो नाम बन्यो । त्रिशूली आज पनि उद्धबका लागि पुरानै साथी हो, कहिल्यै धोका नदिने, कहिल्यै नफसाउने तर अनेकथरी सिकाउने सहयात्री । नदी रिसाउँछ, मौसम बदलिन्छ, पर्यटक कहिले धेरै, कहिले थोरै, तर पानीमा जन्मिएको साहस पानीमै परिक्षण हुन्छ । यही विश्वासले उद्धबलाई अघि बढायो ।

उनी केवल व्यवसायी होइनन्, एक अभियन्ता जस्तै खटिने मानिस । आफू मात्र सफल हुनु उनको लक्ष्य कहिल्यै रहेन । स्थानीय युवालाई तालिम दिए, गाइडहरू तयार गरे, किसानको उत्पादन किने, समुदायलाई पर्यटनसँग जोड्दै लगे । जसले गर्दा उनको सफलतामा स्थानीयहरूको पनि बराबरको हिस्सेदारी भयो । समुदायसँग सँगै हिँड्ने उनलाई थाहै थियो- जरा जहाँ रोपिन्छ, रुख त्यहीँ बलियो बन्छ ।

र्‍याफ्टिङ मात्रले उनको सपना पूरा हुन सक्दैनथ्यो । उनले अझ ठूलो चित्र देखे, त्रिशूली किनारमै यात्रुलाई घरजस्तो लाग्ने आवासको व्यवस्था । सुरुमा टेन्टेड क्याम्पमा पर्यटक राख्न थालियो । बिस्तारै कटेज रुम हुँदै आधुनिक बिल्डिङ बन्यो । स्विमिङ पुल, डिजे हल, डेक रेस्टुरेन्ट थपिँदै गए । अझ भनौं उद्धबले आफ्नो कमाइ त्यही किनारमा सिञ्चित गर्दै गए । यसरी जन्मियो ’त्रिशूली रिभर साइड रिसोर्ट’ । खोला किनारमै भएको उद्धबको पुर्ख्यौली जग्गा उनको पसिना र लगनले चिटिक्क सिंगारिएको छ ।

उनले यतिमै चित्त बुझाएनन् । रिसोर्टको पारीपट्टि नयाँ जग्गा किने । कोरोना कालमा अरू पर्यटन ब्यवसायी अताल्लिएर बसिरहेका बेला उनी फेरि निर्माणमा लागे । अनि तयार भयो साविक रिसोर्ट भन्दा प्रिमियम प्रपर्टी ’त्रिशूली भिल्ला’ ।

त्रिशूली भिल्ला र त्रिशूली रिभर साइड रिसोर्ट जोड्ने गरी जिपलाइन र स्काई साइक्लिङ बनेको छ । कोरोनासँग जुधिरहेको बेला १० करोड रुपैयाँ लगानी गर्ने आँट जो कोहिसँग हुँदैन । धेरैका लागि यो जोखिम देखिन्छ, तर उद्धबको नजरमा यो आत्मविश्वासको जग बसाल्ने इँटा थियो ।

भूकम्प, कोरोना जस्ता बिपत्तिमा जति पाएका थिए त्यति नै गुमाउनुपर्ने दिन पनि आए । यिनै क्षणमा कहिलेकाहीँ उनको मनले सोध्थ्यो, ‘विदेशबाट फर्किनु गल्ती त थिएन?’ तर त्रिशूलीको छालले आजसम्म उनलाई एउटा मात्र उत्तर दिएको छ, ’ठोक्किनु दुर्भाग्य होइन, बगिरहनु नै भाग्य हो’ ।

उद्धबको जीवनकथा केवल व्यक्तिगत सफलताको कथा होइन । यो कथा विदेशमा बसेका हजारौँ नेपालीको मनले सोध्ने प्रश्नको उत्तर हो । सपना वास्तवमै कसको–कहाँ पूरा हुन्छ ? थाहा हुँदैन ।

विदेशमा सीप, अनुशासन र अनुभव बटुलेर फर्केर केही निर्माण गर्ने साहस धेरैमा हुँदैन, तर सम्भव छ भन्ने प्रमाण उद्धबजस्ता मानिसहरू नै हुन् । उनीहरूको यात्रा भन्छ, ’देशमा कठिनाइ छ, तर सम्भावना पनि छ’। काम गर्ने आँट भए नदीको छालले जस्तै बाटो आफैँ कोरिदिन्छ ।

केही गर्न चाहने युवाका लागि मौन प्रेरणा हुन् उद्धब । सपना डरलाग्दो हुनु राम्रो हो, किनकि डरलाग्दा सपना नै जीवनको दिशा बनिदिन्छन् । त्रिशूली किनारमा पानीसँग खेल्दै हुर्किएको एउटा केटाले आज हजारौँलाई प्रेरणा दिन सक्नुको आधार त्यही मनको दृढता हो, जहाँ मन जोडिन्छ, बाटो त्यहीँ चम्किन्छ ।





Read More