― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsशहरका भित्ताहरूमार्फत कसले र किन भन्दैछ, ‘खुसी बन’?

शहरका भित्ताहरूमार्फत कसले र किन भन्दैछ, ‘खुसी बन’?


राष्ट्रिय

समाचार.

  • किरण तुलाधरले काठमाडौंका गल्लीहरूमा ढाका टोपीमा सजिएका वृद्धको तस्वीरसहित ‘खुसी बन’ नारा लेखेर सकारात्मक सन्देश फैलाइरहेका छन् ।
  • यो स्ट्रिट आर्टले शहरका थकित यात्रुलाई सकारात्मक ऊर्जा दिन्छ ।

ढाका टोपीमा सजिएका एक वृद्ध छन्, दिल खोलेर हाँसेका । हाँस्दा आँखा ठूल्ठूला देखिएका छन् । दाँत बिग्रेको छ । यो फोटो आजकाल आजकल काठमाडौंका भित्ताहरूमा जताततै देखिन थालेको छ । जुन फोटोसँगै केही आह्वान गर्दै नारा लेखिएको हुन्छ ।

करिब-करिब रङ उडेका पर्खाल र धुलोले छोपिएको हहरको कोलाहलबीच अचानक देखिएको त्यो ओजपूर्ण अनुहार सदा र हर्दम बोलिरहन्छ ।

त्यो बोली सुन्न चित्र हेर्ने मान्छेसँग सामर्थ्य हुनुपर्छ । धैर्य हुनुपर्छ । चित्र एकै फेरमा सयौंसँग बोल्न सक्छ । सुप्त रूपमा । थाहै नपाई । तर, आश्चर्य यो छ कि, चित्रको बोली भौतिक कानले सुन्दैन । त्यसका लागि महसुस गर्न सक्नुपर्छ । भित्रै मनदेखि । किनकि त्यो चित्र यसरी बोल्छ, त्यो कुनै ठूलो भाषण हुँदैन । विज्ञापन हुँदैन । राजनीतिक नारा हुँदैन ।

चित्रको बोली फेरिँदैन । स्थिर रहन्छ । यस्तरी कि जसरी पनि आफ्नो बोली सुनाउन चित्रमा देखिएका ती वृद्ध चाहन्छन् । शहरका सबै ठाउँमा । र, शहरका सबैलाई ।

‘खुसी बन’ ।

त्यसैले त उनी निरन्तर यही दुई शब्द दोहोर्‍याइरहन्छन् । तेहोर्‍याइरहन्छन् । त्यसको कम्पन्न सुन्ने/नसुन्ने जिम्मा किरण तुलाधर र उनका साथीहरूले अरूमै छोडिदिएका छन्।

000

‘दु:ख’कै वरिपरि घुमिरहेको मान्छे आफ्नो पूरा जुनीमा सायदै दु:खको घेराबाट फुत्किन्छ । यो मान्छेको तितो नियति हो । भलै वर्षौंअघि भगवान गौतम बुद्धले दु:खको कारण-निवारणबारे दीक्षा दिएका थिए । मान्छे दु:खमा नै रुमलिरहन्छ ।

यही यथार्थताको बोधले किरणलाई सुर चल्छ । मान्छेले आफ्नो दु:खलाई सदा बोकिरहने प्रवृत्तिप्रति उनको चित्त दु:खाइ छ । थाह छ, मृत्युपर्यन्त दु:खले मान्छेलाई छाड्दैन । तर, मान्छेले त्यो बोध नगरेर केवल भौतारिरहने स्वभाव राख्ने भएकाले झन् दु:ख थपिने किरण सुनाउँछन् ।

मान्छे भित्रै ‘खुसी’ हुने तर त्यसका लागि मान्छेले आफ्नो समस्या आफैँ बुझ्नुपर्ने र जीवनको वास्तविक उद्देश्य चिन्नु पर्ने उनी सोच्छन् । तर, मान्छेले त्यस्तो गर्दैन । बरू केही नराम्रो हुन साथ ऊ बन्द कोठामा थुनिन्छ । नकारात्मक कुरा मात्र सोच्छ । आफूलाई कमजोर ठान्छ । उसले कसैलाई पनि आफ्नो कुरा बताउन सक्दैन । ऐकान्तिक हुन खोज्छ । अनि बिस्तारै-बिस्तारै आफैं हार्दै जान थाल्छ ।

अनि, उनले आफ्नो बाइक निकाल्छन् । झोलामा रङ र ब्रश बोक्छन् । त्यसबेला शहर आफ्नै दैनिकीअनुसार अस्ताउन लागेको हुन्छ । मान्छेहरू आ-आफ्नो घर जाने हतारमा हुन्छन् । चोकचोकमा जाम र फुटपाथमा मान्छेको अध्याधिक चाप पनि हुन्छ ।

त्यस्ता कुराले किरण रोकिँदैनन् । बरू ती साराप्रति उनी आफ्नै तरिकाको पर्वाह गर्छन् । र, आफू हतास-हतारमा हुन्छन् । त्यसपछि लुक्दैछिप्दै शहरका चोक-चोकमा, गल्ली-गल्लीमा, भित्ता-भित्तामा दुईटा शब्द मात्र लेखिरहन्छन्– खुसी बन ।

त्यसपछि नै हो, ढाका टोपीमा सजिएका एक वृद्ध अचाक देखिन्छन् । ज-जसले उनलाई गल्लीहरूमा, भित्ताहरूमा देख्छन्/हेर्छन्, ती सबैलाई शान्त भएर, अपार माया र प्रेम सहित भनिरहन्छन्– खुसी बन !

000

किरणका लागि यसपाली समय संयोग बन्दियो । किनकि जेनजी विद्रोहपछि देश दु:खमा गयो । दिनादुदिन त्यो दु:खले देशलाई थिच्दै गइरहेको थियो । त्यस्तो बेला धेरैसामु आफूलाई चिन्न प्रेरित गर्ने, आफूलाई माया गर्न लगाउने सन्देश कसरी पुर्‍याउने ?

कुनै समय उनी स्वयं एन्जाइटी र मानसिक तनावको अँध्यारोमा फसेका थिए । देश नै त्यस्तो भएको बखत उनमा पनि फेरि त्यही उकुसमुकुस भइरहेको थियो । उनले सोचे– मलाई के गर्दा खुसी मिल्छ ? उत्तर सहज थियो– अरूलाई खुसी बाँड्दा ।

अनि उनले कसरी खुसी बाँड्न सक्थे ? अरूलाई खुसी हुनु है भनेर । त्यसपछि नै हो, काठमाडौं र ललितपुरका धेरै गल्लीहरूमा ‘खुसी बन’ ह्वात्तै देखिन थालेको हो । धेरैले चित्र हेरेर गन्थन गर्न थालेको । कुरा गर्न थालेको ।

000

अहिले बजारमा ‘खुसी बन’ मा देखिएक ती वृद्ध को हुन् ? भन्ने आफ्नै खालको अनुमानहरू देखिएका छन् । कसैले साहित्यकार भैरव अर्याल भनेका छन्, कसैले हरिवंशको पात्र भनेका छन् । थरिथरी अनुमान गर्नेहरू छन् ।

भलै यो सडकचित्र कोभिड महामारीका बखत पनि चाबहिल क्षेत्र देखिएको थियो ।

त्यसबेला पनि किरण र उनका साथीहरूले नै बनाएका थिए । तर, आफ्नो व्यस्तताले निरन्तरता दिन सकेनन् । यसपाली किरणले जोसिलो साथ पाए । र, बाइकबाट शहर चक्कर लगाउँदै खुसी बाँडिरहे ।

यद्यपि यी समयमा ‘खुसी बन’मा देखिएका पात्र एउटै हुन् । किरणका अनुसार ती पात्र न भैरव अर्याल हुन् न हरिवंशको पात्र ।

‘खुसी बन’का सर्जक किरण तुलाधर ।

रहस्यको पर्दा उघार्दै किरणले वास्तविकता सुनाए । ‘ती उनका एक आत्मीय मित्रका पिता हुन् । ती वृद्ध, जो अभाव र कष्टको जीवनमा पनि सधैँ मुस्कुराइरहन्छन् ।

बुढेसकालको मेहनत र पसिनाको गन्धमा पनि उनको ओठको हाँसो कहिल्यै ओइलाउँदैन । किरणले त्यही निष्कपट मुस्कानलाई शहरको सम्पत्ति बनाउने निधो गरेका हुन्, ताकि दु:ख र तनावमा पिल्सिएको शहरले सन्तोषको एउटा पाठ पढ्न सकोस् ।

किरणले फोटो देखाए तर गोपनीयताका कारण ती वृद्ध र उनको फोटोलाई सञ्चारमाध्यमबाट बाहिर ल्याउन मानेनन् । यद्यपि एउटा वास्तविक पात्र र सुन्दर सन्देशलाई शहरमा व्यापाक बनाउने उनको काम सजिलो पक्कै थिएन । ललितकलामा यस प्रकारको कलालाई ‘स्ट्रिट आर्ट’ भनिने गरिन्छ । मुलत: स्ट्रिट आर्ट आवाजविहीनहरूको आवाज निकाल्ने माध्यम विश्वभर हुने गर्छ ।

किरणका लागि ‘खुसी हुनु’ भन्ने सन्देश फैलाउन त्यस्तै भइदियो । त्यसै खातिर प्रहरीले तीनचार पटक त नियन्त्रणमै लिएर सोधपुछ गर्‍यो । कतिपय ठाउँमा स्थानीयको गाली र भित्ता फोहोर गरेको आरोप पनि खेप्नुपर्‍यो ।

तर किरणको तर्क बेग्लै थियो । उनी घरबेटीहरूलाई सम्झाउँथे, ‘जुन भित्तामा पहिलेदेखि नै फोहोरी नारा, गाली र राजनीतिक विज्ञापन थिए । त्यहाँ एउटा ओजपूर्ण मुस्कान थप्नु कसरी अपराध हुन्छ ?’

बिस्तारै मान्छेहरूले उनलाई बुझ्न थाले । कतिले त अहिले आफ्नै पसल र रेस्टुरेन्टमा यो चित्र बनाइदिन उनलाई निम्तो समेत दिन थालेका छन् । यसरी उनी एउटा सन्देश लिएर सडक अर्थात् एक खुला ग्यालरीमा आए ।

अहिले उनलाई आफ्नो काम ‘वृक्षरोपण’ झै लाग्छ । जसरी एउटा रुखले कसैलाई भेदभाव नगरी नि:शुल्क शीतल छाया र स्वच्छ हावा दिन्छ, सडकका यी चित्रहरूले पनि बाटो हिँड्ने हरेक थकित यात्रीलाई एक क्षणका लागि भए पनि सकारात्मक ऊर्जा दिन्छ ।

र, शहर गुञ्जाएस बनिरहन्छ‍- खुसी बन ।





Read More