― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsवैकल्पिक राजनीतिमा बग्रेल्ती दल, रास्वपा बन्ला मूलधार ?

वैकल्पिक राजनीतिमा बग्रेल्ती दल, रास्वपा बन्ला मूलधार ?



१४ मंसिर, काठमाडौं । २०६४ सालको निर्वाचनबाट बनेको संविधान सभाले संविधान दिन नसक्ने भएपछि तत्कालीन दल र सभासद्हरूलाई दबाब दिन काठमाडौंमा एउटा नारा देखिन्थो थियो- ‘ज्याला पूरा लियौ, अब संविधान देऊ ।’

तर पहिलो संविधान सभा संविधान जारी नगरी विघटन भयो । २०७० मा दोस्रो  संविधान सभाको चुनाव भयो । जुन चुनावमा काठमाडौंबाट चार जना व्यक्ति ‘कुकुर’ चुनाव चिन्ह लिएर उम्मेदवार बने ।

संविधान जारी गर्नका लागि दबाब दिने यही समूहले ती उम्मेदवार सांकेतिक रुपमा खडा गरेको थियो । भलै ती उम्मेदवारले जितेनन् । तर त्यो तत्कालीन दलहरूकाविरुद्ध वैधानिक चुनौती दिन कोही तयार हुँदैछ भन्ने सन्देश थियो ।

उज्ज्वल थापा नेतृत्वको यो समूह विवेकशील अभियान हुँदै २०७४ सालको चुनावमा विवेकशील नेपाली दलको रुपमा स्थानीय, प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा भाग लियो ।

स्थानीय तहमा काठमाडौं महानगरपालिकाको मेयरमा २१ वर्षकी रञ्जु दर्शनालाई उठायो । उनले नजिते पनि काठमाडौं जस्तो ठाउँमा पुराना पार्टीहरूसँग भिडेर ल्याएको मतको सन्देश परिणाम भन्दा व्यापक थियो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुनै सिट हासिल गरेन । दुई लाख बढी मत ल्याए पनि तीन प्रतिशतको थ्रेसहोल्ड नकटाएका कारण समानुपातिक सिट पनि पाएन । तर प्रदेश सभामा भने तीन सिट जित्यो ।

२०७४ सालको चुनावमा रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी पनि भाग लिएको थियो । तर उसले पनि जित हासिल गरेन । उल्लेख्य मत भने ल्यायो  ।

वैकल्पिक राजनीति गर्ने अभियान स्वरुप गठन भएका यी दुई दल चुनावमा आएको मतका कारण उत्साहित भए । अर्को चुनावको तयारीका लागि भन्दै विवेकशील र साझा पार्टी मिलेर २०७४ साल साउनमा पार्टी एकता घोषणा गरे ।

तर रविन्द्र मिश्रले हिन्दुधर्म राजतन्त्र लगायतका मुद्दासहित ‘विचारभन्दा माथि देश’ भन्ने दस्तावेज ल्याएपछि विवेकशील साझामा ठूलो वैचारिक विमति भयो । नेताहरू पार्टी छोडेर छिन्नभिन्न भए । विवेकशीलको फरक अभियान पनि ओझेलमा पर्‍यो । २०७९ असोजमा विवेकशील साझा छोडेर मिश्र राप्रपामा प्रवेश गरे ।

२०७९ को चुनाव आइपुग्दा विवेकशील साझाका उम्मेदवार जमानत समेत जोगाउन नसक्ने भए । रविन्द्र मिश्र आफैं राप्रपा प्रवेश गरेर राजा ल्याउने अभियानमा जुटे ।

विवेकशील नेपाली दल र पछि विवेकशील साझाको पार्टीको रुपमा रहेको दल आफैंमा कमजोर बने पनि  वैकल्पिक राजनीतिक लहर र त्यसप्रति ढल्किइरहेको जनमत भने झांगिँदो थियो ।

जुन कुरा २०७९ को वैशाखमा भएको स्थानीय चुनावमा काठमाडौं महानगरबाट बालेन,  धरान र धनगढी उपमहानगरबाट हर्क साम्पाङ र गोपाल हमालले उल्लेख्य मत प्राप्त गरेर जितेपछि पुष्टी भयो ।

स्थानीय तहको चुनावले देखाएको मत परिवर्तनको संकेत सञ्चारकर्म गरिरहेका रवि लामिछानेले नबुझ्ने कुरै थिएन । उनले आफूमा हुर्किँदै गएको राजनीतिक महत्वाकांक्षालाई साकार रुप दिन ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको दल खोलेर संगठित आकार दिए ।

प्रदेश सभामा सांसद भइसकेका विराजभक्त श्रेष्ठ जस्ता विवेकशील साझाको स्कुलिङका नेताहरू पनि त्यहाँ मिसिए । २०७९ को चुनावमा रास्वपा चौथो ठूलो दलको रुपमा प्रतिनिधि सभामा उदायो ।

११ लाख बढी भोट ल्याएर २१ सिटसहित प्रतिनिधि सभामा छिरेको रास्वपा  अन्य दलहरूलाई चुनौती दिनसक्ने शक्तिको रुपमा उदाए पनि यसका सभापित रवि लामिछाने सुरूमा नागरिकता विवादमा मुछिए । पछि सहकारीको  रकम अपचलनको अभियोग लाग्यो र हालसम्म उनी पुर्पक्षका लागि जेलमा छन्  ।

लामिछानेको मुद्दा र गतिविधिका कारण रास्वपाभित्रै विवाद बढ्यो । नेतृत्वको कार्यशैलीकै कारण सुमना श्रेष्ठ, सन्तोष परियार जस्ता नेताहरू पनि बाहिरिए ।

जेनजी आन्दोलनपछि नयाँ खालका अरु शक्तिहरूको पनि उदय भएपछि केही दबाब महसुस गरिरहेको रास्वपाले आइतबार औपचारिक रुपमा विवेकशील साझा पार्टीसँग एकता गरेको छ ।

यो एकताले पार्टीभित्रको टुटफुट लगायतका कारण अल्मलिएको र अभियानलाई आफ्नै बलमा मात्र उँभो लगाउन नसक्ने अवस्थामा पुगेको विवेकशील साझालाई पनि राजनीतिक वैचारिक मुद्दा पुनर्जागृत गर्ने संगठित शक्ति प्राप्त भएको छ ।

त्यसैले आइतबार एकता घोषणा सभामा दुवै पार्टीका नेताहरूले अब झन् शक्ति आर्जन गर्ने आधार मिलेको र नयाँ चुनावबाट बहुमत प्राप्त गर्ने दाबी गरे । उनीहरूले पुराना दलहरूभन्दा फरक हुने घोषणा पनि गरे ।

तर के उनीहरूले भनेजस्तो बहुमत प्राप्त गर्ने अवस्था छ ? के वैकल्पिक राजनीतिक धार बोक्ने यो दल मात्र हो ? विगतमा आन्दोलपछि नयाँ गर्छु भनेर उदाएका दलहरू भन्दा रास्वपा फरक हुन सक्छ ?  यो प्रश्नहरूको जवाफ खोज्न अहिले खुलेका पार्टी र विगतका दलहरूका अभियान र चुनावी परिणामलाई चिहाउनैपर्छ ।

के रास्वपा मात्रै हो वैकल्पिक ?

रास्वपा  गत चुनावबाटै २१ सिट प्राप्त गरिसकेको दल भएकाले यसको संगठित शक्ति अहिले तल्लो तहसम्म विस्तार भएको छ । तर जेनजी आन्दोलनपछि अन्य धेरै दल र समूहहरू वैकल्पिक राजनीतिको मुद्दा बोकेर आएका छन् ।

जुन निर्वाचन आयोगमा दर्ता पनि भइसकेका छन् । जेनजी आन्दोलनपछि धेरैले वैकल्पिक शक्तिको रुपमा आउन खोजेको दल कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टी हो ।

घिसिङ आफैं अन्तरिम सरकारमा मन्त्री छन् । तर मन्त्रीबाट हटेर चुनाव लड्ने गरी उनले पार्टी खोलिसकेका छन् । नेतृत्वमा पूर्व सचिव अनुप उपाध्याय भएपनि यसको मूल डिजाइनर घिसिङ नै हुन् ।

जेनजी आन्दोलनले पुराना राजनीतिक पार्टीहरूको शक्ति सत्ता ढालेपछि घिसिङ आफैं उनीहरूको प्रतिनिधिको रुपमा सरकारमा सहभागी भएका छन् ।

लोडसेडिङ हटाउन भूमिका खेलको भन्दै सामाजिक सञ्जालहरूबाट समेत निर्मित भएको व्यक्तित्वलाई उनले आफ्नो राजनीतिक महत्वाकांक्षामा जोडेका छन् । त्यसैले उनले जेनजी  आन्दोलपछिको मत आफूमा ल्याउन सकिने बुझाइमा छन् ।

त्यसो त योबीचमा रास्वपासँग एकाकार भएर अघि बढ्ने प्रयास घिसिङले पनि गरेका थिए । अहिले पनि यो प्रयास जारी छ  । तर रास्वपाको नेतृत्व र चुनाव चिन्हमाथि फेर्नुपर्ने खालको उनको प्रस्ताव रह्यो ।

रास्वपा छोडेकी नेता सुमना श्रेष्ठ र काठमाडौंका मेयर बालेन शाह समेतलाई जोडेर लैजाने प्रयास पनि भयो । तर कुरा नमिलेपछि घिसिङ आफ्नै पार्टी बनाएर अघि बढ्ने निर्णयमा पुगे ।  यो दलले यसैसाता औपचारिक पार्टी घोषणा गर्दैछ ।

जेनजी आन्दोलनपछि जन्मेको अर्को दल हो– हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी । गत स्थानीय तहको चुनावमा स्वतन्त्र चुनाव जितेका साम्पाङ अहिले विशेषगरी पूर्वी क्षेत्रमा सक्रिय छन् ।

उनले अघि सारेको श्रमदानको एजेण्डालाई सामाजिक सञ्जालहरू मार्फत् व्यापक प्रचार हुने गरेको छ । यही बलमा उनले अहिले पार्टी नै बनाएका छन् । पछिल्ला दिनमा पूर्वी पहाडका शहरी क्षेत्र र सदरमुकामहरूमा उनले गरेका  सभाहरूमा चासोपूर्वक ठूलो संख्यामा मानिसहरू उपस्थित देखिन्छन् । अब उनी पश्चिमी क्षेत्रमा पनि अभियान विस्तार गर्ने क्रममा छन् ।

अहिले खुलेको अर्को दल हो– गतिशील लोकतान्त्रिक पार्टी । डा. दिनेश प्रसाईं नेतृत्वमा रहेको यो दलमा बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत जस्ता व्यक्ति संलग्न छन् ।

यो दलले अभियानको रुपमा ढाल्न सकिरहेको छैन । तर सफल व्यावसायीको राजनीतिमा प्रवेशलाई केही चासोपूर्वक हेरिरहेका छन् ।

अर्को दल जन्मेको छ– प्रगतिशील लोकतान्त्रिक पार्टी । माओवादी पृष्ठभूमिका बाबुराम भट्टराई, जनार्दन शर्माहरूको संरक्षकत्वमा यो दल गठन भएको छ । भट्टराईले माओवादी छोडेर यसअघि नै नयाँ शक्ति पार्टी बनाएका थिए ।

२०७२ सालबाट सुरु भएको उनको वैकल्पिक राजनीतिको यात्राबीचमा उपेन्द्र यादव नेतृत्वको दलमा एकीकरण र विभाजन हुँदै अहिले नयाँशक्ति पार्टी पुनर्गठन गरे । जेनजी आन्दोलनपछि  भट्टराईले फेरि वैकल्पिक पार्टीको रुपमा विभिन्न समूह जोडेर ध्रुवीकरण गरे । जुन पार्टीमा रास्वपा छोडेका  सन्तोष परियार समेत अध्यक्ष परिषद्मा छन् ।

जसरी २०७९ को चुनावबाट  रास्वपा उदायो त्यही चुनावमा तराई केन्द्रीत भूभागमा अन्य दुई राजनीतिक शक्ति पनि वैकल्पिक धारको रुपमा उदाए ।

२०६३ सालको मधेश आन्दोलन पछि गठन भएका क्षेत्रीय एजेण्डा बोक्ने मधेसवादी दलहरूले  डेढ दशकसम्म गरेका गतिविधिबाट त्यहाँका जनता पनि आक्रोशित भइरहेका थिए ।

जुन जनमतलाई पूर्वी तराईमा सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो तर्फ आकर्षित गर्‍यो । मधेशको वैकल्पिक शक्तिको रुपमा प्रतिनिधिसभामा ५ सिट सहित प्रवेश गर्‍यो । मधेसमा त सरकार नै बनायो ।

सीके राउतसँग चाँडै पार्टी एकता गर्ने रेशम चौधरीको संकेत – KhabarHost

त्यस्तै पश्चिम तराईमा रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी उदायो । यी दुवै दललमा यो तीन वर्षको अवधिमा विग्रह आइसकेको छ । तर उनीहरूले नयाँ भएकाले वैकल्पिक रुपमा आफूलाई उभ्यारहेका छन् । पुराना दलहरूभन्दा आफूहरू फरक भएको भन्दै नयाँ एजेण्डाहरू अघि सारेका छन् ।

उनीहरूले २०४६ सालको आन्दोलनपछि अहिलेसम्म पटक पटक सत्तामा हालिमुहाली गरेका कांग्रेस एमाले, तत्कालीन माओवादीको मूलधार रहेको नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र मधेश केन्द्रित जसपा नेपाल, लोसपा जस्ता दललाई पुराना शक्ति भनेर त्यसविरुद्धको भोट आफूमा आउने ठानिरहेका छन् ।

वैकल्पिक शक्तिको नारामा भोट आफूतिर तान्न सकिने विश्वासमा खुलेका यी नयाँ शक्तिहरू धेरै समूहमा विभाजित भएका छन् ।

यो प्रसंगमा छुटाउनै नहुने शक्तिको नाम हो– बालेन शाह । दल नभए पनि एउटा छुट्टै शक्तिको रुपमा उनी छन् । उनले अहिलेसम्म औपचारिक रुपमा कसैलाई समर्थन पनि गरेका छैनन् । तर उनको पछि ठूलो समूह र उनको व्यक्तित्वको बलमा ठूलो मत आउन सक्ने आंकलन पनि राजनीति वृत्तमा छ ।

त्यसैले वैकल्पिक राजनीतिको एजेण्डा बोकेर पुराना पार्टीहरूविरुद्ध उभिन लागेका यस्ता बग्रेल्ती  दल र समूहमा मत विभाजित हुँदा के रास्वपाले आइतबार विवेकशील साझासँगको एकताका क्रममा भनेजस्तो वैकल्पिक शक्तिको रुपमा बहुमत ल्याउन सम्भव छ ?

जनमत कसरी बदलिइरहेको छ ?

अहिले परम्परागत र वैकल्पिक भनेर भइरहे पनि नेपालका सबै राजनीतिक दलहरूको निमार्णको इतिहास ‘वैकल्पिक’ मुद्दाहरूबाटै भएको हो । समयक्रममा ती  दलहरू आफ्नै कार्यशैलीका कारण परम्परागत भएका हुन् । अनि जनतालाई उनीहरूप्रति मोहभंग हुने गरेको छ । २०४६ सालको आन्दोलन यताका दल र चुनावहरूलाई हेर्दा नेपालको जनमत बदलिने गरेको देखिन्छ ।

२०४६ सालको आन्दोलनपछि कांग्रेस र एमालेलाई जनताले विकल्पिक शक्तिको रुपमा लिए । त्यसैले २०४८ सालको चुनावमा उनीहरू नयाँ शक्तिको रुपमा उदाए ।

३० वर्ष पञ्चायतमा ढलीमली गरेको व्यक्तिहरू संलग्न रहेर बनेको राप्रपा अर्थात् पञ्चहरूको शक्ति क्षीण भयो । तर तीन वर्ष पनि प्रतिनिधि सभा चल्न सकेन २०५१ सालमा मध्यावधि निर्वाचन भयो ।

२०५१ देखि २०५६ सालसम्म नेपालको संसद् अनेक खेल भए । जसको लाभ भूमिगत सशस्त्र विद्रोहमा रहेको माओवादीलाई भयो ।

२०६४ सालको चुनावमा शान्ति प्रक्रियाबाट मूलधारमा आएको माओवादीलाई जनताले  कांग्रेस र एमालेको विकल्पको शक्तिको रुपमा देखे । संविधान सभामा सबैभन्दा ठूलो दल बनाउने गरी चुनावमा जिताएर पठाए ।

तर २०७० साल आइपुग्दा माओवादी छिन्नभिन्न भयो । उसका गतिविधिले कुनै आकर्षित गरेन । बरु ४ सिट मात्र जितेको कमल थापा नेतृत्वको राप्रपा नेपाल २५ सिट ल्याउने गरी फस्टायो  । जनमत बदलियो ।

२०७४ सालको चुनावमा एमाले र माओवादीले बाम ध्रुवीकरणको एजेण्डा अघि सारे ।  जनताले एकपटक हेरौ भन्दै करिब दुई तिहाइ मत दिए । त्यही जगमा एमाले र माओवादीबीच पार्टी एकता नै भयो । तर दुई वर्ष पनि टिकेन । उल्टै संसद् विघटनको खेल भयो ।

यी घटनाक्रमबाट आजित भएका नागरिकले २०७९ सालको चुनावमा रास्वपालाई वैकल्पिक शक्तिको रुपमा एकैपटक २१ सिट ल्याउने गरी जिताएर पठाए ।

यता मधेशवादी दलहरू पनि २०६४ सालपछि शक्तिको रुपमा उदाए । त्यहाँका नागरिकहरूले अन्य दलको विकल्प तीनलाई ठाने । तर ती दलहरूमा झांगिएको सत्तामोह र टुटफुटका कारण २०७९ मा जनमत जस्ता पार्टीहरू उदाउने मौका पाए ।

यसको अर्थ के हो, नेपालमा हरेक चुनावमा जनमत बदलिइरहेको छ । जनताहरूले आफ्नो मत फेरिरहेका छन् ।

अहिले जेनजी आन्दोलनपछि चुनाव हुन लागेको हो । नयाँ पुस्ताका मतदाता आएका छन् । त्यसैले पुराना शक्तिहरूलाई पल्टाउने सक्ने विश्वास धेरैलाई पलाएको हुनसक्छ ।

त्यसैले बग्रेल्ती समूह र व्यक्तिहरू राजनीतिक दल खोल्न पाउने संवैधानिक अधिकारको प्रयोग गर्दै बाहिर आएका हुन् ।

तर जनताले जसलाई विश्वास गरेका छन्, तीनले एक कार्यकाल पनि पूर्णरुपमा विवादरहित भएर काम गरेका छैनन् ।

२०४८ को चुनावपछि कांग्रेसमा विग्रह आयो । २०५१ को चुनावपछि एमाले विभाजित नै भयो । २०५६ को चुनावपछि कांग्रेस विभाजित भयो ।

२०६४ को चुनावपछि माओवादी र मधेशवादी दल पटकपटक टुक्राटुक्रा भएर फुटे । २०७४ को चुनावपछि एमाले र माओवादी मिलेर बनेको नेकपा फुट्यो । पछि एमालेबाट अर्को एउटा समूह पनि बाहिरियो । २०७९ को चुनावपछि यो  करिब तीन वर्षमा वैलक्पिक भनेर उदाएका रास्वपाबाट पनि केही नेता बाहिरिए । जनमत र  नागरिक उन्मुक्ति त विभाजित नै भए ।

यी घटनाक्रमहरूले के देखाउँछ भने नेपालमा मतदाताहरू हरेक चुनावमा विकल्प खोजिरहेका छन् । तर मतदाताको मतको कदर त्यसरी उदाउने शक्तिहरूले गर्न सकेका छैनन् ।

अहिले जेनजी आन्दोलनका जगमा जति पनि शक्तिहरू आउन खोजेका छन् । ती पनि यो अपवाद भन्दा फरक होलान् भन्ने विश्वासिलो आधार चाहिँ भेटिएको छैन ।

पुरानाविरुद्ध नयाँको भाष्य नै विकल्प हो ?

वैकल्पिक राजनीति भन्नेबित्तिकै धेरैले ‘पुरानो विरुद्ध नयाँ’ मात्र बुझ्छन् । तर वैकल्पिक राजनीति भनेको केवल नयाँ नाम वा अनुहार मात्र होइन । वैकल्पिक हुनका लागि विचार पनि भिन्न हुनुपर्छ । राजनीतिक संस्कार पनि फरक हुनुपर्छ । दलभित्रको निर्णय प्रक्रियामा पारदर्शिता, सहभागितामूलक र उत्तरदायित्व सहितको संरचना पनि बन्नुपर्छ ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, जीवनशैली सादगी, शक्तिदुरुपयोग विरुद्ध आक्रामक नीति जस्ता नैतिक गुण पनि हुनुपर्छ ।

तर नेपालमा राजनीतिक दल र शक्तिहरूको शैली विचारभन्दा बढी व्यक्ति प्रधान देखिँदै आएको छ । २०७९ पछि खुलेका रास्वपा,  जनमत  र नागरिक उन्मुक्ति जस्ता दलहरूमै पनि त्यो प्रवृत्ति देखियो । त्यसैले वैकल्पिक भनेर आउन खोजेका शक्तिहरूले विगतका तमाम कमजोरीहरूबाट पाठ सिक्दै पुराना राजनीतिक शक्तिहरूलाई पल्टाउन सक्लान् ?





Read More