― Advertisement ―

HomeLatest newsविशेष महाधिवेशनले पार्टी फुट्छ, त्यो म हेर्न सक्दिनँ : देउवा – KhabarHost

विशेष महाधिवेशनले पार्टी फुट्छ, त्यो म हेर्न सक्दिनँ : देउवा – KhabarHost



११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नाम भजाएर पार्टीमा विवाद नगर्न सचेत गराएका छन् ।

महाधिवेशनको विषयमा विवाद चुलिँदै गएपछि बिहीबार संस्थापन पक्षीय शीर्ष तहका नेताहरूलाई छलफलमा बोलाएर उनले आफ्नो नाम भजाएर विवाद नगर्न सचेत गराएका हुन् ।

छलफलमा सहभागी एक नेताका अनुसार सभापति देउवाले विशेष महाधिवेशनमा गए पार्टी फुट्ने र आफूलाई त्यो सह्य नहुने धारणा व्यक्त गरेका थिए ।

‘साथीहरू चुनाव अघि र पछि महाधिवेशनको पक्षमा उभिएपछि सभापतिज्यूले हामी सबैलाई हर्कानु भयो‚’ ती नेताले भने‚ ‘सभापतिज्यूले मेरो नाम लिएर पार्टीमा विवाद किन गरिरहेको भन्दै हप्काउनु भयो।’

देउवाले आफूले सभापति पदको जिम्मेवारी कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई दिइसकेको र आगामी महाधिवेशनबाट आफू सभापति नहुने दोहोर्‍याएका थिए ।

‘अहिले पनि मैले कार्यवाहक दिइसकेको छु र कार्यकारी भूमिकामा छैन । फेरि पनि महाधिवेशनबाट म हुने हैन‚’ सभापति देउवाको भनाई उद्ध्रीत गर्दै ती नेताले भने‚ ‘मलाई किन विवादमा तानिरहेको ?’

देउवाले पार्टी मिलाएर लैजान पनि नेताहरूलाई निर्देशन दिएको ती नेता बताउँछन् । विशेष महाधिवेशनमा गए पार्टी विभाजन हुने भन्दै उनले विशेष महाधिवेशन रोक्ने ढंगबाट पार्टी चलाउन निर्देशन दिएका थिए।

‘विशेष महाधिवेशन नगर्नुस्, नियमित महाधिवेशन गर्नुस्‚’ देउवाको भनाइ उधृत गर्दै ती नेताले भने‚ ‘विशेषले पार्टी फुटाउँछ । पार्टी फुटेको, टुटेको म हेर्न सक्दिनँ ।’

सभापति देउवाले आफूनिकट नेताहरूलाई बैशाखमा महाधिवेशन गर्ने भन्दै मिति तोकेर नहिड्न पनि नेताहरूलाई निर्देशन दिए ।

महाधिवेशन जहिले गरेपनि सहमतिमा गरिनुपर्ने उनको भनाइ थियो ।

‘महाधिवेशन सहमतिमा गर्दै जाँदा हुन्छ । बीचमा निर्वाचन आए रोकेर निर्वाचनमा लाग्नू । महाधिवेशन सहमतिमै गर्नू‚’ देउवाको भनाइ उधृत गर्दै ती नेताले भने ।

सभापति देउवाले बिहिबार कार्यवाहक सभापति खड्का, पूर्व पदाधिकारीहरु, केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक, मीन विश्वकर्मालगायतका नेताहरुलाई छ्लफलका लागि बोलाएका थिए ।





Read More