राष्ट्रिय
समाचार.
- नेपाली राजनीति एक यस्तो वृत्त जस्तै बनिरहेको छ, जसको केन्द्रमा पुराना अनुहारहरू वर्षौंदेखि देखिंदै आएका छन्। सत्ताको साँचो एउटै पुस्तामा सीमित छ। जनताले दशकौँदेखि सुन्दै आएका नामहरू देश र जनताको भाग्यको निर्णायक बन्दै आए।
- जब नेतृत्व सत्तासँग मात्र जोडिन्छ, तब त्यसलाई नछाड्ने मानसिकता विकास हुन्छ। यस्तो सोचले पदमा टाँसिने संस्कार जन्माउँछ। जबकि लोकतान्त्रिक राजनीतिक संस्कारमा नेतृत्व समयसापेक्ष परिवर्तन हुनुपर्छ; नयाँ विचार, नीति र कार्यशैलीलाई ठाउँ दिनुपर्छ।
- हामीले खोजेको नयाँ नेतृत्व प्रणाली र नयाँ राज्य प्रणाली हो; त्यो युवाले हाँक्ने, समयसापेक्ष र युग सुहाउँदो हुनुपर्छ।
नेतृत्व पुस्तान्तरण केवल दलको आन्तरिक प्रश्न होइन, यो मुलुकको समग्र भविष्यसँग जोडिएको विषय हो। विडम्बना नै मान्नुपर्छ– पञ्चायती व्यवस्था होस् वा बहुदलीय; सत्ताको नजिक रहेका नेताहरू अझै पनि सत्ताकै नजिक छन्। व्यवस्था परिवर्तन भए पनि उनीहरू सत्ताबाट धेरै पर पुगेका छैनन्।
नेपाली राजनीति एक यस्तो वृत्त जस्तै बनिरहेको छ, जसको केन्द्रमा पुराना अनुहारहरू वर्षौंदेखि देखिंदै आएका छन्। सत्ताको साँचो एउटै पुस्तामा सीमित छ। जनताले दशकौंदेखि सुन्दै आएका नामहरू देश र जनताको भाग्यको निर्णायक बन्दै आए। यस्तो स्थितिमा नयाँ पुस्ताका नेताहरूलाई समाहित गर्ने, उनीहरूको ऊर्जा, दृष्टि र नयाँपनलाई राजनीतिक मूलधारमा ल्याउने प्रसंग ओझेलमा परेको छ।
पुस्तान्तरणको प्रश्न उठाउँदा अझै पनि त्यसलाई धम्कीको रूपमा लिने पुरानो पुस्ताको मानसिकता हट्न सकेको छैन। यही कारणले नेतृत्व परिवर्तनको प्रक्रिया सहज, संस्थागत र दीर्घकालीन रूपमा देश हितमा आधारित बन्न सकेको छैन। पछिल्लो जेनजी विद्रोह पनि त्यसैको अभिव्यक्त रूप हो।
राजनीतिक नेतृत्व पुस्तान्तरण भनेको केवल उमेरको आधारमा नयाँ मान्छे ल्याउने कुरा मात्र होइन; यो सोच, दृष्टिकोण र कार्यशैलीमा पनि रूपान्तरण ल्याउने प्रक्रियासँग गाँसिएको हुन्छ। तर, नेपालमा पुस्तान्तरण भन्नासाथ सत्तामा बसिरहेकाहरूको पद गुम्ने डरले प्रक्रिया सुरु नहुँदै अवरुद्ध हुन्छ।
पार्टीको भित्री संरचना यति केन्द्रीकृत छ कि जहाँ केही निश्चित व्यक्ति वा समूहले मात्रै सबै निर्णयको लगाम समातेका हुन्छन्। नेतृत्व हस्तान्तरण गर्नुको सट्टा आफन्त, सन्तान वा आफ्नै घेराभित्रको मान्छेलाई अघि बढाउने प्रवृत्ति बढ्दो छ। यसले स्वस्थ प्रतिस्पर्धा मार्फत योग्य नेतृत्व उदय हुने बाटो थुनिदिएको छ।
नेपाली राजनीतिमा कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दलहरूमा पुस्तान्तरणको प्रक्रिया बारम्बार छलफलमा आएको देखिन्छ, तर व्यवहारमा भने त्यो प्रतिबिम्बित हुनसकेको छैन। नेपाली कांग्रेसमा बीपी कोइरालादेखि हालसम्म नेतृत्वका अनुहारहरू थोरै मात्र फेरिएका छन्। शेरबहादुर देउवा दशकौंदेखि सत्ताको वरिपरि छन्। एमालेमा केपी शर्मा ओली, ईश्वर पोखरेल जस्ता नामहरू झन्डै चार दशकदेखि देखिंदै आएका छन्।
पुस्तान्तरणको समस्या केवल व्यक्तिमा मात्र सीमित छैन, यसले संस्थागत संरचनामा समेत गहिरो प्रभाव पारेको छ।
माओवादी आन्दोलनका नाममा नयाँ आशा लिएर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि नेतृत्वको गद्दीबाट कहिल्यै टाढा जान चाहेनन्। यिनै अनुहारहरूको एकाधिकारका कारण नयाँ नेतृत्वको विकास अवरुद्ध भएको छ।
युवाहरूले राजनीतिमा छिर्ने अवसर त पाएका छन्, तर उनीहरूलाई निर्णय तहमा पुर्याउने ढोका अझै खुल्न सकेको छैन। कतिपय नयाँ अनुहारहरू पार्टीभित्र देखिए पनि उनीहरू पुराना नेताहरूका भरपर्दा अनुयायीको भूमिकामा सीमित छन्। उनीहरूलाई नेतृत्वको मोर्चामा अघि ल्याउने सच्चा प्रयास नै गरिएको देखिंदैन। उल्टो, कुनै युवा नेता उभिन खोजेमा ‘अपरिपक्व’, ‘अनुभवहीन’ जस्ता आरोप लगाएर दबाउने काम भइरहेको छ। यस्तो प्रवृत्तिले नेपालको राजनीतिमा नयाँपनको सम्भावनालाई नै चुनौती दिएको छ।
पुस्तान्तरणको समस्या केवल व्यक्तिमा मात्र सीमित छैन, यसले संस्थागत संरचनामा समेत गहिरो प्रभाव पारेको छ। पार्टीहरू आन्तरिक लोकतन्त्रविहीन भएका छन्। नेतृत्व परिवर्तनका लागि तय गरिएका नियम, समयसीमा र कार्यशैली व्यवहारमा लागू हुनसकेका छैनन्। पार्टीको महाधिवेशन बारम्बार पछाडि धकेलिने वा नेतृत्व चयनमा अस्वाभाविक हस्तक्षेप हुने गरेका उदाहरण प्रशस्त छन्। यस्ता अभ्यासले राजनीतिमा योग्य र समर्पित कार्यकर्तालाई निरुत्साहित तुल्याउने काम मात्र गर्दैन, जनताको विश्वास पनि कमजोर बनाउँछ।
नेपाली राजनीतिमा पुस्तान्तरण नहुनुको अर्को कारण हो– नेतृत्वदायी पदलाई शक्ति, सुविधा र व्यापारिक फाइदाको स्रोत ठान्ने प्रवृत्ति। जब नेतृत्व सत्तासँग मात्र जोडिन्छ, तब त्यसलाई नछाड्ने मानसिकता विकास हुन्छ। यस्तो सोचले पदमा टाँसिने संस्कार जन्माउँछ। जबकि लोकतान्त्रिक राजनीतिक संस्कारमा नेतृत्व समयसापेक्ष परिवर्तन हुनुपर्छ; नयाँ विचार, नीति र कार्यशैलीलाई ठाउँ दिनुपर्छ। पुराना पुस्ताले आफ्नो अनुभव सन्देशको रूपमा दिई नयाँ पुस्तालाई जिम्मेवारी सुम्पन सक्नुपर्छ। तर नेपालमा यो संस्कार स्थापित हुनसकेको छैन।
नेपालका प्रमुख दलहरूले बेलाबेलामा ‘युवालाई अवसर दिनुपर्छ’, ‘नेतृत्व परिवर्तनको समय आएको छ’ भन्ने भाषण गर्छन्। तर, यस्ता कुराहरू भाषणमै सीमित हुन्छन्, व्यावहारिक कदम चालिएको देखिंदैन। उदाहरणका लागि, कुनै युवा नेता लोकप्रिय बन्दै गयो भने त्यसलाई रोक्न षड्यन्त्र गरिन्छ, अवसर कटौती गरिन्छ। कतिपय अवस्थामा त पार्टीभित्रका युवा नेताले विद्रोह नै गर्नुपरेको छ। यस्तो असहज वातावरणमा योग्य र सक्षम युवाहरू राजनीतिमा टिक्न नसक्ने अवस्था आउँछ। उनीहरू या त निराश भएर पन्छिन्छन्, या पुरानै शैलीमा समाहित हुन बाध्य हुन्छन्।
पुस्तान्तरणको अभावले राजनीतिमा केवल व्यक्ति होइन, नीति र सोच पनि पुरानै अवस्थामा स्थिर रहन्छ। समाजमा भएका नयाँ चुनौती, प्रविधिको विकास, अन्तर्राष्ट्रिय सम्बन्ध, जलवायु परिवर्तन, श्रम पलायन, युवाको आकांक्षा आदि विषयलाई समेट्ने दृष्टिकोण नेतृत्वमा भएन भने देश पछाडि पर्छ। पुराना नेताहरूले वर्षौंदेखि एउटै भाषाशैली, नारा जस्तै लाग्ने प्रतिबद्धता र आलोचना–प्रधान राजनीतिमा मात्रै ध्यान दिएका छन्। समस्याको गहिरो विश्लेषण, दीर्घकालीन योजना र नवीन सोचको अभावले राजनीति जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिन सकेको छैन।
हामी नयाँ बन्ने हो, पुरानो होइन; हामी अघि बढ्ने हो, पछाडि फर्किने होइन। हामीले खोजेको परिवर्तन शब्दजालमा अल्झेर भावी पुस्तालाई परनिर्भर, असुरक्षित बनाउने र देशलाई भड्खालोमा हाल्ने प्रवृत्ति विरुद्धको विद्रोह हो।
अहिलेको विश्व राजनीतिको प्रवृत्ति हेर्ने हो भने धेरै मुलुकमा युवा नेतृत्व अघि बढिरहेको छ। क्यानडामा जस्टिन ट्रुडोले नेतृत्व गरे भने फ्रान्समा इम्यानुएल म्याक्रो आए, फिनल्यान्डमा सान्ना म्यरिन जस्ता नेताहरू अगाडि देखिए। उनीहरूका निर्णय, अभिव्यक्ति र कार्यशैलीले नयाँ पुस्ताको प्रतिनिधित्व गरेको पाइन्छ। यस्ता नेतृत्वले समाजमा नयाँ ऊर्जा थप्छ, नयाँ विश्वास निर्माण गर्छ। नेपालमा पनि यस्ता उदाहरण आउन सक्थे, यदि पुराना नेताहरूले मार्गप्रशस्त गरिदिएको भए। तर नेपालमा त्यसको ठिक उल्टो हुँदैछ, जहाँ नयाँको उदयलाई अवसर नभई चुनौतीका रूपमा लिने गरिन्छ।
नेतृत्व पुस्तान्तरणको अभावले युवामा राजनीतिप्रतिको मोहभंग बढाएको छ। युवा पुस्ता राजनीतिलाई परिवर्तनको माध्यम होइन, व्यर्थको झगडाको खेल मान्न थालेका छन्। यो स्थितिले भविष्यका लागि गम्भीर संकट निम्त्याउँछ। जब राजनीति गुणवान्, इमानदार र विचारवान् युवाले त्याग्छन्, तब त्यो ठाउँ भ्रष्ट, स्वार्थी र अवसरवादीहरूले ओगट्छन्। यसले लोकतन्त्रलाई कमजोर बनाउने खतरा उत्पन्न गर्छ।
पुस्तान्तरणलाई सहज बनाउन दलहरूले केही आधारभूत सुधार गर्नुपर्छ। पहिलो, आन्तरिक लोकतन्त्रलाई मजबुत बनाइनुपर्छ। पार्टीको नेतृत्व तय गर्ने प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाइनुपर्छ। दोस्रो, पदावधिको सीमा तोक्नुपर्छ, जसले नेतृत्वलाई समयमै हस्तान्तरण गर्न बाध्य बनाओस्। तेस्रो, युवालाई निर्णय तहमा पुर्याउने कोटा वा विशेष नीति ल्याइनुपर्छ। केवल भ्रातृ संगठनमा सीमित राखेर युवा नेताको विकास हुँदैन। चौथो, पुराना नेताहरूले अनुभवलाई साझा गर्दै मार्गदर्शकको भूमिकामा जान तयार हुनुपर्छ। सत्तासँग टाँसिइरहने मनोवृत्तिले पुस्तान्तरण सम्भव छैन।
नेतृत्व पुस्तान्तरण केवल दलको आन्तरिक मामिला होइन, यो राष्ट्रकै भविष्य हो। अब पुराना नेताहरूबाट आशा गर्नुभन्दा उनीहरूले नयाँ पुस्तालाई खुला र स्वतन्त्र वातावरणमा नेतृत्व दिनुपर्छ। किनभने लोकतन्त्र टिकाउ बनाउने, समाजसँग राजनीति जोड्ने र राज्यका संस्थालाई विश्वसनीय बनाउने बाटो पुस्तान्तरणबाटै शुरु हुन्छ।
नेपालको राजनीतिक यात्राले धेरै मोड पार गरेको छ– पञ्चायती शासन, प्रजातन्त्र, गणतन्त्र हुँदै संघीयतासम्म। तर, नेतृत्वको अनुहारमा विविधता आउन सकेको छैन। गणतन्त्रको नाममा वंशवाद झनै संस्थागत हुन थालेको छ। यो विरोधाभासको अन्त्यका लागि अब नेतृत्वमा रूपान्तरण अपरिहार्य छ।
जनताले आश गर्ने नयाँ पुस्ता तयार छ, तर ढोका खुलाउनुपर्ने जिम्मेवारी अझै पनि पुरानै पुस्ताकै काँधमा छ। उनीहरूले त्यो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न सके मात्र नेपालको राजनीति साँच्चिकै परिवर्तनको दिशामा अघि बढ्न सक्छ।
यसर्थ, हामीले खोजेको नयाँ नेतृत्व प्रणाली र नयाँ राज्य प्रणाली हो; त्यो युवाले हाँक्ने, समयसापेक्ष र युग सुहाउँदो हुनुपर्छ। समग्र राज्यको पुनर्संरचनाका लागि बृहत् राजनीतिक पहल आवश्यक छ। त्यसबाट विकास हुने प्रगतिशील चेतना र बन्ने श्रमजीवी वर्गको राज्यसत्ता नै अबको बाटो हो; न कि एकताको नाममा पुराना प्रवृत्तिको केन्द्रीकरण, विभाजनको दुश्चक्र हुँदै असफलताको विरासत।
हामी नयाँ बन्ने हो, पुरानो होइन; हामी अघि बढ्ने हो, पछाडि फर्किने होइन। हामीले खोजेको परिवर्तन शब्दजालमा अल्झेर भावी पुस्तालाई परनिर्भर, असुरक्षित बनाउने र देशलाई भड्खालोमा हाल्ने प्रवृत्ति विरुद्धको विद्रोह हो। यही नै समयको माग हो।
(लेखक प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता हुन्।)
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

