― Advertisement ―

कसरी भौतिक एआई प्रभावकारी रूपमा तैनात गर्ने

आजको धेरै जसो उद्यम AI अझै पनि क्लाउड डाटासेन्टरको सीमा भित्र काम गर्दछ।यसले विश्लेषण वा निजीकरण जस्ता डिजिटल कार्यहरू राम्ररी ह्यान्डल गर्छ, तर टेल...
HomeLatest newsरवि-बालेन भेटले उत्साही जेनजी – KhabarHost

रवि-बालेन भेटले उत्साही जेनजी – KhabarHost



८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको भेटले जेनजीलाई उत्साही बनाएको छ । वैकल्पिक शक्ति मिल्नुपर्ने दबाब बनाउँदै आएका जेनजी रवि-बालेनको सोमबारको वार्तापछि उत्साही देखिएका हुन् ।

रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालय रहेको भवनमा बालेन र रविबीच गएराति करिब ७ घण्टा वार्ता भएको थियो ।

वार्तापछि उनीहरू एउटै गाडीमा बाहिरिएका थिए । करिब पाँच घण्टा रवि र बालेनबीच ‘वान वन वान’ वार्ता भएको पनि स्रोतले अनलाइनखबरलाई बताएको छ ।

राजनीतिक एकताको गृहकार्यमा भएको सो वार्तालाई लिएर जेनजीहरू उत्साही देखिन्छन् । त्यसमाथि रवि र बालेनबीच प्रधानमन्त्रीसम्मकै बाँडफाँटको कुरा मिलेको समाचारले उनीहरू एकता नजिक रहेको संकेत देखिन्छ ।

रवि-बालेन वार्ताले आफूहरू उत्साही र आशावादी रहेको भन्दै द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङले अब कुलमान घिसिङलाई पनि जोड्न पाए गज्जब हुने बताए ।

‘अब म आफैँले पनि रवि लामिछाने, बालेनज्यूलाई भेट्नुपर्छ, मिल्नुपर्छ भनेर दबाब दिएको हुँ । मैले मात्र पहल गरेर भेटाएको भन्दा पनि सहजीकरण गरेको हुँ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘अब यसमा कुलमान घिसिङलाई पनि सँगै ल्याउनुपर्छ । त्यति गरेपछि मन अलि शान्त हुन्छ ।’

यदि रवि, बालेन र कुलमानहरू एक ठाउँमा आए भने आफूहरू पनि सोही पार्टीमा जोडिने सम्भावना प्रवल रहेको संकेत गुरूले गरे ।

‘यसरी एक हुनुपर्छ भनेर हामीले नै यो कदम चालेका हौं । प्रधानमन्त्रीमा बालेन हुनुपर्छ भनेर हामीले पनि जोडबल गरिरहेका छौँ, किनभने रवि लामिछानेको त विभिन्न ‘केस’ छन् नि त ! त्यसैले अब उनीहरू मिले भने त्यही पार्टीमा हामी जोडिने सम्भावना धेरै छ ।’

यिनै सुदनले यसअघि बालेन र ऊर्जामन्त्री कुलमान घिसिङ भेटाएको दाबी गरेका थिए । कुलमान घिसिङले ‘देश बनाउने हकमा हामी सँगै छौँ’ भनेर बालेनसँगको फोटो सार्वजनिक गरेपछि उनले यस्तो दाबी गरेका थिए । त्यसपछि नख्खु कारागारमै पुगेर रवि लामिछानेलाई भेटे र वैकल्पिक शक्ति एक हुनुपर्ने विषयमा छलफल गरे ।

त्यसबेला नै रविबाट सकारात्मक प्रतिक्रिया पाएका गुरुङले उनी जेलमुक्त भएपछि पनि भेटेर वैकल्पिक शक्ति एक बनाउने विषयमा सबै पक्षसँग छलफल गर्न दबाब दिए । ‘मैले मेरो मात्र पहल भन्न मिल्दैन । हामी धेरैको सहजीकरण, पहल र दबाबले पनि यो कोर्समा माहोल बन्दै गएको हो,’ गुरुङले अनलाइनखबरसँग भने ।

सोमबारको भेटपछि रविले पनि वैकल्पिक शक्ति एक हुने विषयमा छलफल प्रारम्भ भएको बताउँदै यो संवादमा ऊर्जामन्त्री कुलमान घिसिङ र द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङसँग पनि छलफल गर्ने बताएका छन् । यसरी तीव्र गतिमा छलफलहरू अघि बढ्दा आफूहरू उत्साही रहेको गुरुङले बताएका छन् ।

यसअघिबाट जेनजीका केही समूहले वैकल्पिक शक्ति एक गराउँन पटकपटक प्रयास गरिरहेका छन् ।

जेनजी आन्दोलनपछि नै कुलमान, बालेन र रवि लामिछानेलगायतका शक्तिलाई मिलाउन यिनीहरुले प्रयत्न गरेका थिए । त्यसमा रास्वपाकी पूर्वनेता सुमना श्रेष्ठ, सागर ढकाललगायतका युवा पनि सामेल थिए ।

कुलमान घिसिङले उज्यालो नेपाल पार्टी गठन गर्नुपूर्व पनि यी समूहले सबैलाई मिलाउने प्रयत्न गरेका थिए । उक्त पार्टीको नाम नै उज्यालो नेपालभन्दा पनि ‘नेपाल जनसेवा पार्टी’ राखेर अघि बढ्नेसम्मको सहमति भइसकेको थियो ।

तर, अन्तिम घडीमा आएर उक्त नाममा सहमति नजुटेपछि सुमना श्रेष्ठहरु यसबाट बाहिरिएका थिए । यी शक्तिलाई मिलाउन सुरुबाटै प्रयत्नरत सुदन गुरुङ समूह भने अन्तिम समयसम्म कुलमानसँगै थिए ।

सोही पार्टीमा बालेनले आफ्नातर्फबाट केही नाम केन्द्रीय सदस्यको लागि पठाउनेसम्मका विषय चर्चामा थिए ।

तर, अन्तिममा बालेन पक्षधर पनि यसमा जोडिएनन् । सुमना श्रेष्ठलगायतका युवा पनि उज्यालो नेपालमा रहन सहमत भएनन् । त्यसपछि सुदन गुरुङ नेतृत्वको द काउन्सिल अफ जेनजीका प्रदेश संयोजकहरुले पनि केन्द्रीय सदस्यमा टिपाइसकेको नाम निकाल्न लगाएका थिए ।

कोशी प्रदेश संयोजक उपार्जुन चामलिङले भने असहमति जनाएर सुरुवातबाटै केन्द्रीय सदस्यमा नाम टिपाएका थिएनन् । यसबाहेक अन्य सबै प्रदेश संयोजकले नाम टिपाए पनि अन्तिम घडीमा सुदन गुरुङकै सहमतिमा उज्यालो नेपाल पार्टीको प्रस्तावित केन्द्रीय सदस्यको सूचिबाट नाम झिकेका थिए ।

यसपछि जेनजीहरु बालेन शाहसँग संवाद गर्न थाले । सुदननिकट जेनजी अगुवाका अनुसार बालेनलाई केन्द्रमा राखेर पार्टी ल्याउनुपर्ने भन्दै आफूहरु सक्रिय भए । वैकल्पिक शक्तिको लागि पटकपटक संवाद गरे । यो समूहले जेनजी मुभमेन्ट अलायन्स, जेनजी फ्रन्टसँग संवाद गरेको थियो ।

यता जेनजी फ्रन्ट पनि रक्षा बमलाई नेतृत्व मानेर वा रञ्जु दर्शनासहितलाई लिएर नयाँ पार्टी बनाउने भन्नेसम्मको छलफलमा थियो । यो समूहले पनि वैकल्पिक शक्तिको लागि संघर्षरत सबै पक्षसँग छलफल गर्न भ्यायो । अन्य जेनजी समूह पनि सबै पक्षसँग छलफलमा थिए ।

तर, पनि निचोड निस्किएको थिएन । सबैलाई मिलाउने जेनजी प्रयासले कुनै निकास दिनसकेको थिएन । यहीबीचमा एकाएक कुलमान र बालेनको फोटो सार्वजनिक भयो । यो भेटघाटलाई लिएर सुदन गुरुङले आफ्नो सहजीकरणले बल्ल सार्थकता पाएको आशयको टिप्पणी गरे ।

त्यसपछि अब आफूले रवि लामिछानेलाई पनि एक ठाउँमा ल्याउन भूमिका खेल्ने बताए । नभन्दै नख्खु कारागारमै पुगेर लामिछानेसँग उनले भेट गरे । लामिछानेबाट सकारात्मक लक्षण पाएका उनले अब कुनै हालतमा वैकल्पिक शक्ति मिलाउन लागि पर्ने वाचा गरे ।

जेनजी फ्रन्टका अगुवा युजन राजभण्डारीले वैकल्पिक शक्ति एक हुने विषयमा भएको छलफलको प्रारम्भलाई सकारात्मक रूपमा हेर्नुपर्ने बताए । एउटा बलियो वैकल्पिक शक्तिको आवश्यकता देशमा रहेकाले त्यसतर्फ यसका प्रमुख नेताहरू छलफलमा बस्नुले आसाको सञ्चार गरेको उनले बताए ।

तर, यसरी एक हुँदै गर्दा केबल एकअर्काबीच तालमेल गर्नेभन्दा पनि दीर्घकाललाई हेरेर विचार-सिद्धान्तमा स्पष्ट भएर अघि बढ्न युजनको सुझाव छ ।

‘यसरी एक हुँदै गर्दा प्रोसेसअनुसार अघि बढेर दीर्घकालीन रूपमा शक्ति स्थापित हुनेगरी लाग्नुपर्छ । विचार–सिद्धान्तमा स्पष्ट भएर अघि बढ्नुपर्छ,’ युजनले भने, ‘यद्यपि, जे भए पनि अहिले यसरी छलफल प्रारम्भ हुनु नै एउटा सुखद कुरा हो । हाम्रो समाजलाई एउटा आसा चाहिएको छ । नयाँहरू एकठाउँ आउँदा आसाको सञ्चार भएको छ ।’

यसरी बनेको नयाँ दल र समूहहरूको गठबन्धनले जेनजीका मुद्दा स्थापित गर्न र सरकारसँगको सम्झौतालाई अत्मसात गरेर कार्यान्वयनमा जोड दिन पहल गर्नुपर्ने उनले बताए ।

यद्यपि, यो छलफलको प्रारम्भ आफैँमा निकै सकारात्मक कुरा रहेकाले थप तथ्य खुल्दै जाँदा आफूहरूले पनि आवश्यक निर्णय लिने युजनले बताए ।

‘यसरी बनेको शक्तिमा हामी जोडिने–नजोडिने विषयमा पहिला त उहाँहरूको मुद्दा, एजेन्डा, विचार लगायतका कुरा हेर्छौँ । त्यसपछि समूहमा छलफल गरेर योजना बनाउँछौँ । यद्यपि, राजनीतिक रूपमा अघि बढ्न वैकल्पिक शक्तिसँग छलफल गर्न हामी सधैँ सकारात्मक छौँ । यो शक्तिले युवालाई राम्रै स्पेस दिन्छ भन्ने अपेक्षा पनि छ,’ उनले भने ।

जेनजी अगुवा साङ्केन राई भने अहिले नै आशावादी भएर निचोडमा पुगिहाल्ने अवस्था नरहेको बताउँछिन् । आमजनताले रवि र बालेन दुवैलाई आशावादी दृष्टिले हेरे पनि आफूहरूले भने उनीहरूको भावी रणनीति, कार्ययोजना, शैली र आचरणलाई हेरेर मात्र टिप्पणी गर्नसक्ने उनले बताइन् ।

‘तत्कालको लागि केही नहुनुभन्दा यति हुनुलाई आशावादी भएर हेर्न सकिएला । तर अहिले नै यसबारे टिप्पणी गर्न हतार हुन्छ । उहाँहरूको आचरण, कार्यशैली र विचार लगायतका कुरा हेरेपछि थप बोल्न सकिन्छ,’ साङ्केनले अनलाइनखबरसँग भनिन्, ‘म व्यक्तिगत रूपमा उहाँहरू दुवैको फ्यान हैन । के उहाँहरू साच्चै बेस्ट अप्सन हो त ? जुन तरिकाको कार्यशैली बालेनजीको छ, त्यो शैली हाम्रो जस्तो लोकतान्त्रिक देशमा राम्रो हो त ? यसरी पनि सोच्नुपर्ला ।’

यद्यपि, पहिलाकै पुराना दलका पुराना नेता नै सत्तामा फर्कने कुराभन्दा यो वैकल्पिक गठबन्धन केही राम्रो भएको स्वीकार्दै उनले थप भनिन्, ‘अब उहाँहरुको शैली हेरौँ । राम्रो गर्दा हाम्रो साथ सधैँ हुन्छ । नभए अरुलाईजस्तै आलोचना नै गर्छौँ ।’
जेनजी अगुवा खेमराज साउद आमजनताले आस गरेका वैकल्पिक पात्रहरू एक ठाउँमा आउन संवाद अघि बढाएको विषयले निकै उत्साही बनाएको बताउँछन् । त्यसमाथि यी शक्तिले जेनजी आन्दोलनका माग र भावनालाई समेट्ने र आफ्नो म्यान्डेट कार्यान्वयनमा भूमिका खेल्नेबारे खुलेरै बोलिरहेकाले पनि झन् आसावादी रहेको तर्क उनको छ ।

यसरी नयाँ शक्तिहरू मिल्दै गर्दा नेपाली राजनीतिमा आसाको सञ्चार पनि भएको र यसले फ्रस्ट्रेट नागरिकमा ऊर्जा भरेको विश्वास पनि साउदले व्यक्त गरे ।

‘उहाँहरू हाम्रो म्यान्डेटलाई मानेर, नयाँ शक्ति एक भएर पुरानाहरूलाई परास्त गर्ने भन्दै संवादमा हुनुहुन्छ, जुन जेनजी आन्दोलनको चाहना पनि हो । तर अब यसमा कुलमानलाई पनि तान्नुपर्छ र तीन शक्ति एकठाउँ हुनुपर्छ भनेर थप दबाब हामीले दिइरहेका छौँ,’ उनले भने ।

यदि वार्ता सकारात्मक भएर तीन शक्ति एक ठाउँ आए आफूहरू पनि त्यसमा जोडिने साउदले बताए । जेनजी र सरकारबीच भएका सम्झौतालाई कार्यान्वयन गर्ने सर्त यी शक्तिले माने आफूहरू जोडिन तयार रहेको बताउँदै उनले थपे, ‘हामी जुन दल (पुरानाबाहेक) मा जोडिए पनि आफ्नो म्यान्डेट लिएर जान्छौँ । त्यो हुबहु मानेर कार्यान्वयनमा सघाउ पुर्याउनैपर्छ । त्यसैले उहाँहरूको छलफलमा पनि जेनजीका माग र म्यान्डेटलाई मान्छौँ भनेकाले हामी अझ सकारात्मक र उत्साही छौँ ।’





Read More