राष्ट्रिय
समाचार.
- नेकपा एमालेले गण्डकी प्रदेश कास्कीका तीनवटै निर्वाचन क्षेत्रका लागि बैनबहादुर अधिकारी क्षेत्री, कृष्ण थापा र दामोदर पौडेल बैरागीलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
- एमालेले युवा उम्मेदवार नदिँदा पार्टी कार्यकर्ता र नेताहरूमा उत्साह कम भएको र सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिएको छ।
- कास्की क्षेत्र नम्बर २ मा कृष्ण थापाले आफूलाई ठूलो रुचि नभए पनि पार्टीको विश्वासमा चुनाव जित्न कडा मिहिनेत गर्ने बताएका छन्।
४ माघ, पोखरा । गण्डकी प्रदेशको राजधानी रहेको जिल्ला कास्कीमा चुनावी सरगर्मी बढ्दैछ । राजनीतिक दलहरूले धमाधम उम्मेदवारी चयन गरिरहेका छन् । यसबीच एमालेले तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ ।
कास्की क्षेत्र नम्बर १ मा बैनबहादुर अधिकारी क्षेत्री, २ मा कृष्ण थापा र ३ मा दामोदर पौडेल बैरागीलाई उम्मेदवार बनाउने एमालेको तयारी छ । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटै क्षेत्र जितेको एमालेलाई यसपटक विरासत जोगाउने चुनाैती छ ।
कास्की–१ म टिकट हात पारेका अधिकारी एमाले जिल्ला अध्यक्ष हुन् । क्षेत्र नम्बर २ मा उम्मेदवार तय भएका थापा यसअघि पनि पटक–पटक टिकट पाउँदै आएका नेता हुन् । क्षेत्र नम्बर ३ का पौडेल विघटित प्रतिनिधिसभाका सदस्य हुन् । २०७९ मंसिरमा भएको चुनावमा उनी विजयी भएका थिए । पूरा कार्यकाल बिताउन नपाएका पौडेलले पुन: टिकट प्राप्त गरेका छन् ।
जेनजी आन्दोलनपछि कुनै न कुनै क्षेत्रमा युवा उम्मेदवार हुने युवाअपेक्षामा भने एमाले चुकेको छ । जेनजी आन्दोलनले पार्टी रुपान्तरण र युवा सहभागिताको एजेन्डा उठाएको थियो । त्यसको प्रभाव कास्कीमा पनि पर्ने सम्भावना मानिएको थियो । तर, टुंगो लागेको उम्मेदवारहरूको नामले भने कास्की एमाले कार्यकर्ता उत्साही देखिएका छैनन् ।
गण्डकीका पूर्वमुख्यमन्त्री तथा स्थायी कमिटी सदस्यबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा पर्दै आएका केन्द्रीय सचिव खगराज अधिकारीको जिल्ला भएकाले पनि यसपटक चासोका साथ हेरिएको थियो । कास्कीमा टिकट पाउने तिनै जना खगराज समूहकै हुन् । उम्मेदवार भने अप्रत्याशित आएको भन्दै नेता कार्यकर्ता नै उत्साही देखिएका छैनन् ।
खगराजले गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारीसमेत प्राप्त गरेका छन् । उनी इञ्चार्ज हुँदा गण्डकीमा भएको टिकट वितरणलाई लिएर कतिपय नेता कार्यकर्ताले सामाजिक सञ्जालमा असन्तुष्टिसमेत व्यक्त गरिरहेका छन् ।
गण्डकीमा टिकट पाउनेमध्ये मुस्ताङका इन्द्रधारा बिष्ट, मनाङका पाल्देङ छोपाङ, स्याङ्जाका मीनप्रसाद गुरुङ र खिमबहादुर थापा, बागलुङका हिरा केसीलगायत एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । गण्डकी प्रदेश र त्यसमा पनि राजधानीसमेत रहेका कास्कीमा धेरै नेता कार्यकर्ताको चासो थियो ।
यसअघि कास्की क्षेत्र नम्बर १ बाट मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट बैरागी विजयी भएका थिए । यसपटक युवाहरूले टिकट पाउने सक्ने अनुमानसहित आन्तरिक तयारीसमेत नेताहरूले गरिसकेका थिए ।
कास्की क्षेत्र नम्बर १ मा एमाले कास्की अध्यक्ष बैनबहादुरसँगै युवा नेता दिलिप न्यौपाने, पुष्पज्योति ढुंगाना, टिकाराम पगेनी, पद्मप्रसाद पौडेल, बालासिंह काउचा मगर र नारायणी भट्टराईको नाम क्षेत्र नम्बर १ बाट सिफारिस भएको छ । कास्की सचिव दर्शन लामाको नामसमेत यो क्षेत्रमा चर्चामा थियो । खगराजको आफ्नै क्षेत्र पनि भएकाले उनीनिकट युवा दिलिप न्यौपानेले टिकट पाउने चर्चा एमालेभित्र थियो र न्यौपाने चुनावी अभियानसमेत चलाइरहेका थिए ।
सबैलाई उछिन्दै कास्की अध्यक्ष अधिकारीले टिकट हात पारेका हुन् । अधिकारी जिल्ला समन्वय समिति कास्कीका पूर्व प्रमुखसमेत हुन् ।
कास्की १ मा यसअघिको चुनावमा एमालेका मनबहादुरले २५ हजार ७०८ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका किशोरदत्त बरालले २३ हजार १८१ र रास्वपाका राजु राईले १० हजार ९४१ मत ल्याएका थिए ।
गण्डकीमा प्रमुख चासोका साथ हेरिएको ठाउँ हो, कास्की क्षेत्र नम्बर २ । नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले ह्याट्रिक मारेको यो क्षेत्रमा उनको निधनपछि भएको उपनिर्वाचन र २०७९ मंसिरको निर्वाचनमा विद्या भट्टराईले जित हासिल गरेकी थिइन् ।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षामन्त्री रहेकी विद्याले लामो समय चलेको शिक्षक आन्दोलनकै क्रममा पदबाट राजीनामा दिएकी थिइन् । शिक्षक आन्दोलनको भावनाअनुसार शिक्षा विधेयक ल्याउन सरकारकै नेतृत्वकर्ताले असहयोग गरेको उनको आरोप थियो । त्यसयता उनी एमाले पार्टी राजनीतिमा पनि सक्रिय देखिएकी छैनन् ।
गत मंसिर २७ मा भएको ११औं महाधिवेशनमासमेत उनले भाग लिइनन् । निष्ठाको राजनीति गरेको भन्दै विद्याको प्रशंसा भइरहे पनि उनी सक्रिय नरहेकाले कास्की २ बाट यसपटक युवा नेता रश्मि आचार्य उम्मेदवार बन्ने चर्चा थियो ।
एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यसमेत चुनिएका रश्मिले चुनावी तयारीसमेत गरिरहेका थिए । उनीसहित यो क्षेत्रबाट पूर्व मेयर तथा प्रदेश सांसद थापा, प्रभा कोइराला, मीना गुरुङ, सञ्जीव कोइराला, तेजनारायण अधिकारीको नाम सिफारिस भएको छ ।
कास्की २ बाट रश्मिपछि मीना गुरुङले टिकट ल्याउने सक्ने चर्चासमेत एमालेभित्र थियो । तर, कास्कीको यो क्षेत्रमा थापाकै पोल्टामा घुमिफिरी टिकट परेको छ ।
यसअघि थापा गण्डकी प्रदेश सभाको सांसदबाट राजीनामा दिएर २०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पोखरा महानगरको मेयरका उम्मेदवार बनेका थिए । तर, एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका धनराज आचार्यसँग उनी पराजित भए ।
धनराजलाई कांग्रेस, माओवादीसहित गठबन्धनको समर्थन थियो । एमालेको बलियो गढ मानिएको यो क्षेत्रमा लोकप्रिय र नयाँ उम्मेदवार उठाउनुपर्नेमा अलोकप्रिय व्यक्तिलाई टिकट दिइएको भन्दै नेताकार्यकर्ताले सामाजिक सञ्जालमै लेखिरहेका छन् ।
२०५४ सालमा पोखराको मेयरमा निर्वाचित भएका थापा २०७० सालमा पनि तत्कालीन कास्की क्षेत्र नम्बर २ मै उम्मेदवार थिए । त्योबेला उनी कांग्रेस नेतृ शारदा पौडेलसँग पराजित भएका थिए । पहिलो संविधान सभामा टिकटको आकांक्षा राखे पनि नपाएका थापाकै पोल्टामा एकपछि अर्को अवसर जाँदा पछिल्लो परिस्थितिमा एमालेलाई कठिन पर्न सक्ने नेता कार्यकर्ताले अभिमत जाहेर गरिरहेका छन् ।
२०७९ को चुनावमा एमालेबाट दीपक पौडेलको टिकट खोसिएपछि मेयरमा थापालाई नै उम्मेदवार बनाइएको थियो । तर, उनी धनराजका सामुन्ने कमजोर सावित भएका थिए । गत निर्वाचनमा यो क्षेत्रबाट विद्या १६ हजार ९९८ मत ल्याएर विजयी भएकी थिइन् । रास्वपाका माधव प्रसाद कडेंलले सुरुमा लगातार अग्रता लिँदै अन्तिममा वडा नम्बर १७, २१ र ३३ को मत गणना हुँदा पराजित भएका थिए ।
रास्वपाका कँडेलले १२ हजार ४९५ मत ल्याएका थिए भने गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले ९ हजार ६५९ मत ल्याएका थिए । यो क्षेत्रमा राप्रपाका सुवर्णराज पन्तले पनि ३ हजार ९९३ मत ल्याएको थिए ।
कास्की २ मा टिकट पाएका थापाले आफूलाई ठूलो रुचि नभए पनि पार्टीले विश्वास गरेर अगाडि बढाएकाले स्वीकार गर्नैपर्ने बताए । ‘एक सिपाहीले पार्टीलाई अप्ठेरो परेकै बखत योगदान गर्ने हो, प्रमाणित गरेर देखाउने हो,’ थापाले भने, ‘अब तपाईं नै उठ्नुपर्छ भनेर पार्टीले उम्मेदवार बनाएपछि चुनावमा होमिने हो, जितलाई कायमै राख्ने हो ।’
क्षेत्र नम्बर ३ बाट पनि निवर्तमान प्रतिनिधिसभा सांसद दामोदर बैरागीसहित १३ जना सिफारिस भएको थियो । देवीप्रसाद सुवेदी, माधव बास्तोला, लक्ष्मण बराल, भोजकुमारी थापा, नन्दलाल अधिकारी, जगतबहादुर विश्वकर्मा, धनबहादुर नेपाली, राजीव पहारी, कर्णबहादुर गुरुङ, सूर्य खड्का बिखर्ची, डीबी नेपाली र ओमप्रसाद सुवेदी सिफारिस भएका थिए ।
यी सबैलाई पाखा पार्दै ओलीबाट फेरि पनि बैरागीले नै टिकट हात पारेका हुन् । एमाले कास्कीमा कम अवसर पाएका नेताको परिचय बनाएको बैरागीलाई नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका बाबजुद मतदाताले जिताएका थिए ।
खगराजनिकट नेता मानिने बैरागीले एमाले नेता जगत विक, राजीव पहारीलगायत नेतालाई पछि पार्दै टिकट हात पारेका हुन् । भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षसमेत भएका बैरागीलाई यसपटक चुनाव जित्न कडा मिहिनेत आवश्यक पर्ने एमाले नेताहरूकै भनाइ छ ।
कास्की ३ मा यसअघि बैरागी २२ हजार ९८० मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी गठबन्धनबाट माओवादी नेता रामजीप्रसाद बरालले १७ हजार ५३५ र रास्वपाका योगराज पौडेलले १२ हजार १८० मत ल्याएका थिए ।
पछिल्लो परिस्थितिमा एमालेले कास्कीमा स्वच्छ छवि बनएका, युवा र अहिलेसम्म परीक्षण नभएका नेतालाई टिकट दिनुपर्नेमा त्यसो नहुँदा उत्साही नबनाएको एक नेताले बताए ।
‘यसअघिको चुनाव र अहिलेको परिस्थितिमा हुन लागेको चुनाव भिन्न छ । टिकट दिँदा तल्लो तहसम्म उत्साह बढ्ने खालका नेताहरूलाई टिकट दिइनुपर्थ्यो । युवालाई उम्मेदवार बनाएको भए एमाले गढ कास्कीका तीनवटै क्षेत्र फेरि पनि एमालेकै पोल्टामा पर्न सक्ने बलियो सम्भवना थियो,’ कास्कीका एक केन्द्रीय नेताले भने, ‘तर, पार्टीले उम्मेदवारको टुंगो नै लगाइसकेकाले जिताउनै पर्ने बाध्यता त छँदैछ तर उम्मेदवार छनोटमा ध्यान दिएको भए उत्साह पनि थपिन्थ्यो । अब अरु दलका उम्मेदवार कस्ता आउने छन् भन्ने हेरेर पनि चुनावको आंकलन गर्न सकिन्छ ।’

