― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest news‘युद्धमा प्रयोग हुने हतियारहरूबाट जेनजी आन्दोलनमा गोली वर्षाएको देखियो’

‘युद्धमा प्रयोग हुने हतियारहरूबाट जेनजी आन्दोलनमा गोली वर्षाएको देखियो’



जेनजी आन्दोलनको तीन महिनापछि एमनेस्टी इन्टरनेशनल नेपालले त्यतिबेलाको दमन र बल प्रयोगबारेको एक प्रतिवेदन सार्वजनिक गर्‍यो । चेतावनी सहित संयमतापूर्वक गैरघातक बल प्रयोग गर्नुपर्नेमा युद्धकालमा प्रयोग हुने हतियारहरूको अन्धाधुन्ध प्रयोगलाई एमनेस्टीले ‘गैरकानूनी काम’ भनेको छ । एमनेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियासँग प्रतिवेदनका विषयवस्तुमा केन्द्रित भएर अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश :

एमनेस्टीको प्रतिवेदनमा त्यहाँ हुनुपर्ने जति सुरक्षा संयन्त्रको अभाव अनि कम घातक बलको अथवा कम घातक संयन्त्रहरूको ज्यादा प्रयोग र घातक हतियारहरूको गैरकानुनी प्रयोगले यो अवस्था आयो भन्ने निष्कर्ष रहेछ । किन यो निष्कर्षमा पुग्नुभयो ?

हामीले खुला स्रोतबाट प्राप्त विभिन्न फोटोहरू र भिडियोहरूको अवलोकन गर्‍यौं ।

हामीले ल्याबमा प्रमाणहरूलाई परीक्षण पनि गर्‍यौं । अनि प्रत्यक्षदर्शीहरूसँगको कुराकानी समेतको आधारमा हामीले यो निष्कर्ष निकालेका हौं ।

माइतीघर मण्डलाबाट प्रदर्शन सुरु हुँदा प्रदर्शन शान्तिपूर्ण थियो । एभरेस्ट होटल अगाडि उहाँहरू शान्तिपूर्ण तरिकाबाट आफ्नो आवाज राख्नुभएको थियो । केहीले उच्छृङ्खल गतिविधिहरू गरेको भन्ने कुरा आएको छ । प्रहरीले पनि कतिपयले पानीको बोटलहरू फाल्न थाले भन्ने खालको कुरा गर्नुभएको छ ।

धकेलाधकेल भइसकेपछि त्यहाँ ब्यारिकेड ढलेको छ, अनि प्रहरीले एक्कासी बल प्रयोग गरेको देखिएको छ । प्रहरीले पानीको फोहोरा सहित बल प्रयोग गरेको देखिएको छ । पानीको फोहोरा प्रयोग भएलगत्तै अश्रुग्यास प्रहार भएको देखिएको छ ।

उहाँहरूले अलिकति संयमता अपनाएर पछाडि हटेको भए हुने थियो । संसद भवन संवेदनशील संरचना थियो, त्यसलाई जोगाउन हामीले बल प्रयोग गर्न बाध्य हुनुपरेको थियो भन्ने संकथन उहाँहरूले बाहिर ल्याइराख्नु भएको छ ।

प्रदर्शनकरीलाई बानेश्वर चोकसम्म जानदिने अवस्था बनाएर उहाँहरूले त्यो भवनको लागि थप सुरक्षा गरेको भए त्यो अवस्था नआउन सक्थ्यो । प्रहरीले एभरेष्ट होटल अगाडि आफ्नो नियन्त्रण गुमायो । लगभग १२ हजार प्रदर्शनकारीहरू त्यहाँ भेला भएको अवस्थामा हुनुपर्ने संख्यामा प्रहरीको तैनाथी र परिचालन थिएन ।

त्यसपछि उहाँहरूले आत्तिएर बल प्रयोग भएको भन्ने खालको कुरा गर्नुभएको छ । क्रमैसँग बल प्रयोग हुनुपर्नेमा एकाएक बल प्रयोग भएकाले अवस्था बिग्रिएको देखिन्छ । उहाँहरूले शुरुमै सामान्य बल प्रयोग गर्नुपर्नेमा एकाएक कम घातक भनिने बल प्रयोग गरेर त्यसको दुरुपयोग गरेको पायौं ।

त्यो प्रदर्शनमा कतिपय केटाकेटी थिए । १४ वर्षका बालबालिकाहरू पनि पुगेका थिए । पानीको प्रयोग गर्ने क्रममा त्यो कुरालाई ख्याल राख्नुपर्ने थियो । प्रदर्शनमा को संलग्न थिए भन्ने कुरालाई पनि ख्यालमा राख्न आवश्यक छ ।

बालबालिका भएको अवस्थामा त अझ विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ । हामीले फोटो र भिडियोहरू विश्लेषण गर्दा देख्यौं, रेलिङमा अड्किइराखेको अवस्थामा उनीहरूलाई ताकेर पानीको फोहोरा प्रयोग गरिएको थियो, त्यहाँ कम बल प्रयोगको दुरुपयोग भयो ।

प्रतिवेदनमा बल प्रयोगको संयमता र सिलसिलेवारयुक्त प्रयोग हुन सकेन भन्नुभयो, त्यो संसद भवन अगाडिको प्रदर्शनमा थियो । त्यसतर्फ नै संकेत गर्नुभएको हो ?

बल प्रयोग गर्दा सिलसिलेवार रुपमा त्यसलाई बढाउनुपर्छ भन्ने नै मान्यता हो । बल प्रयोगको सन्दर्भमा ‘प्रिन्सिपल्स अन द यूज अफ फोर्स एण्ड फायर आर्म्स’ भन्ने संयुक्त राष्ट्रसंघको सिद्धान्त पनि छ । बल कसरी प्रयोग गर्ने ? बन्दुक कसरी प्रयोग गर्ने ? भन्नेबारेमा उसले स्पष्ट मार्गनिर्देशक सिद्धान्त तोकिदिएको छ ।

बल प्रयोग गर्नुअघि उहाँहरूले शुरुमा चेतावनी दिनुपर्ने थियो । उहाँहरूले ‘चेतावनी दिएका हौं, तर ठूलो भिड भएकाले सुनिएन’ भन्ने खालको कुरा गर्नुभएको थियो । त्यसबाट भने उहाँहरूले सहुलियत पाउनुहुन्न ।

पर्याप्त मात्रामा चेतावनी दिएपछि त्यसको पालना गर्ने समय पनि दिनुपर्छ । ठूलो भीड, सभामा अक्सर एकाध तत्वहरूले बिथोल्ने प्रयास गरिरहेका हुन्छन् । त्यस्तो पक्षलाई सुरक्षा संयन्त्रले ख्याल राख्ने र निगरानी गरेर अलग्याउने प्रयास गर्नुपर्छ ।

केही प्रदर्शनकारीहरू हिंसात्मक भए भन्ने बाहनामा समग्र प्रदर्शन वा भेला नै हिंसात्मक थियो भन्ने व्याख्याबाट पर रहनुपर्छ । मेरो विचारमा प्रहरीबाट भएको गल्ती नै त्यहि थियो । केही प्रदर्शनकारीहरूले अलिकति हिंसात्मक वा उच्छृङ्खल बन्न खोजेको व्यवहार देखाएपछि उहाँहरूले एकाएक बल प्रयोग गर्न सुरु गर्नुभयो । बल प्रयोग गरेपछि अवस्था बिग्रियो ।

संवेदनशील क्षेत्रमा ढुंगामुढा सहित हुलहुज्जत गर्न आएपछि बल प्रयोग हुन्छ । त्यसले नरोकिएपछि गोली त चल्छ नै भन्ने तर्कहरू आएका छन् । ती तर्क कत्तिको औचित्ययुक्त हुन् ?

यी अत्यन्त गैरऔचित्ययुक्त संकथन हुन् । नागरिकले कर तिरेर राज्यको सुरक्षा संयन्त्रलाई आफ्नो जिउ, धन र अधिकार सुरक्षित गर्ने दायित्व सुम्पिएका छन् । संवेदनशील क्षेत्र राज्यसंयन्त्रको मात्रै होइन, नागरिकहरूको पनि हो । त्यो ठाँउ नागरिकको पनि सम्पत्ति हो ।

आफ्नो जिम्मेवारीबाट उम्कने र पन्छिने औजार बनाउने उद्देश्यले यो खालको संकथन बाहिर आइरहेको छ । यदि प्रहरीले संयमता अपनाएर बानेश्वर चोकमा भेला भएका सबै प्रदर्शनकारीलाई एकत्रित गरेर दिनभरि नारा जुलुस गर्न दिएको भए संसद भवनमा त्यति धेरै क्षति हुने थिएन । ढुंगामुढा वा सामान्य क्षति हुन्थ्यो होला ।

आगो लगाउने तोडफोड गर्ने मनसायबाट नै प्रदर्शनकारीहरू अघि बढेको भन्ने खालको सुरक्षाकर्मीहरूको जुन कथन आइरहेको छ, त्यो अनुमानमा आधारित भयो । सबै ठाँउमा अनुमानले काम गर्दैन । बरु फिल्डमा भएका उहाँहरूले त्यही खालको तयारी र सतर्कना नअपनाएको देखिन्छ ।

श्रीलंकाकै उदाहरण हेरौं । त्यहाँ २-३ हप्ता लामो आन्दोलन भयो । प्रदर्शनकारीहरू त राष्ट्रपति भवनमै प्रवेश गरे । उनीहरूले राष्ट्रपतिको भवन जलाएनन् । राष्ट्रपतिको कुर्सीमा गएर बसे, स्विमिङ पुलमा गएर पौडी खेले ।

हाम्रा सुरक्षाकर्मीहरूले जे अनुमान गरेका थिए, जे षडयन्त्रका सिद्धान्तहरू अघि सारेका थिए, तिनले उनीहरूको व्यवस्थापनलाई झनै कमजोर बनाइरहेको छ ।

अमेरिकाकै क्यापिटल हिलमा राष्ट्रपति ट्रम्पको बहिर्गमनका बेलामा त्यत्रो प्रदर्शन भयो । अमेरिकाका राष्ट्रपति भवन कब्जा गर्ने अवस्था आउँदा पनि जम्मा दुई जना व्यक्तिको ज्यान गएको थियो ।

बंगालदेशको त अवस्था ठीक फरक छ नी । हैन ?

बंगलादेशको अवस्था फरक छ । त्यहाँ राज्यले लामो अवधि अर्थात एक/दुई वर्षदेखि दमन गरेर राखेको थियो । १४–१५ सय मानिसहरूको मृत्यु भएको थियो । बल प्रयोगलाई सुरक्षाकर्मीहरूले छल्ने औजारको रुपमा प्रयोग गर्न मिल्दैन । उहाँहरूले जुन ट्याक्टिस अपनाउनुभयो, त्यो सही रणनीति थिएन ।

हाम्रोमा जतिपनि शान्तिपूर्ण भेला वा विरोध प्रदर्शन हुन्छ, त्यो सुन्नासाथ राज्यसंयन्त्रमा रहेकाहरू तर्सिने अवस्था बन्यो । मनोवैज्ञानिक रुपमा त्रसित हुने अनि त्यसलाई दमन गर्ने मनस्थितीका साथ अघि बढ्ने सोचाई नै समस्याको जड हो ।

किनभने नागरिक आमअसन्तुष्टि छ, जुन उहाँहरूलाई थाहा छ । यावत कारणले नागरिकका अधिकार खोसिएका छन्, न्याय पाएका छैनन् । राज्यका संयन्त्रहरू कमजोर भएका छन् । आर्थिक असमानताहरू बढेको बढ्यै छन् ।

राज्य सत्ताबाट त्यसलाई अभिव्यक्त गर्न रोक्ने र अभिव्यक्ति गर्ने माध्यमहरू पनि बन्द गर्ने खालको प्रवृत्ति आइराखेको छ । संविधानमा पनि सुनिश्चित गरिएको शान्तिपूर्ण भेला हुने, आफ्नो मत राख्ने असन्तुष्टि जाहेर गर्ने अधिकारलाई सम्मान गरेको भए अथवा सहजीकरण गरिदिएको भए अवस्था अर्कै हुन्थ्यो ।

गुनासा र आलोचना नसुन्ने, सुन्नै नचाहने र फरक मतलाई दबाउने चरित्र नेपालको राज्य सत्ताको चरित्र हो । त्यसका साथै हाम्रो सामाजिक र अरु परिवेशहरूमा पनि आम चरित्र नै त्यस्तो बन्न पुगेको छ । यसले गर्दा समस्या भएको हो ।

छोटो समयमै घातक हतियारहरूको प्रयोगले यो अवस्था आयो भन्ने विश्लेषणबाट देखिन्छ । किन सुरक्षाकर्मीहरू हतारिएका होलान् ?

कम घातक हतियारलाई पनि सही तरिकाले प्रयोग गरिएको थिएन, त्यसको दुरुपयोग भएको थियो । लामो समयसम्म अश्रुग्यास चलेको छ, त्यहाँ हजारौं राउण्ड अश्रुसेलहरू प्रहार भएको छ । अश्रु ग्यासका खोकाहरूको पनि हामीले विश्लेषण गरेका छौं ।

बानेश्वर भनेको एकदमै घना बस्ती भएको ठाउँ हो । मानिसहरू आवाजजावत गर्ने ठाउँ पनि हो । त्यो प्रदर्शनमा धेरै केटाकेटी किशोर र नवयुवाहरू(जेनजी)हरू थिए । अश्रुग्यास प्रयोग गर्ने पनि एउटा विधि छ ।

अश्रूग्यासलाई माथि हावातिर ताकेर प्रहार गर्नुपर्छ । ताकि त्यसको मुख्यप्रभाव हावातिर नै हराओस् भन्ने अपेक्षा गरिन्छ । हामीले के देख्यौं भने धेरै अश्रुग्यासका सेलहरू सोझै भिडतिर फालिएको छ ।

त्यहाँ प्रयोग हुने रसायन अनि कतिपय अवस्थामा अश्रुग्यासकै सेलले छाती लगायतका संवेदनशील ठाँउमा लाग्यो भने घातक हुनसक्छ । अश्रुग्यास आफैं पनि कमघातक मात्रै हो तर गैरघातक होइन । ०६२/०६३ सालको आन्दोलनमा कयौं व्यक्तिहरूको अश्रुग्यासकै कारण ज्यान गएको घटना हामीले सुनेका थियौं ।

अन्तर्राष्ट्रिय मानवअधिकारको मापदण्ड अनुसार अश्रुग्यासको प्रयोग भएको छैन, यतिसम्मकी अस्पतालमै अश्रुग्यास प्रहार गरिएको पनि हामीले भेटेका छौं ।

चिकित्सकहरूले नै त्यो दिन सुरक्षाकर्मीहरूबाट निजामती अस्पतालको आकस्मिक कक्षामै पनि झन्डै/झन्डै चाहिँ अश्रुग्यास प्रयोग भएको थियो भन्नुभएको छ ।

अश्रुग्यास सँगसँगै अरु बल प्रयोग भइरहेको देखिन्छ । अश्रुग्यासको प्रयोगपछि अरु बल प्रयोग भएको भन्ने होइन । रबरका गोली र धातुका गोली पनि एकसाथ प्रयोग भएको देखिन्छ । एकसाथ सबै बलहरू प्रयोग भएकाले पनि अवस्था बिग्रिएको हो ।

तपाईंहरूको प्रतिवेदनमा घातक हतियारहरूको प्रयोग भएको कुरा छ । एफ.एन.एफएएल भन्ने एक खालको हतियार र स्टर्लिङ सब मेसिनगनको प्रयोग भयो भन्नुभएको छ । युद्धमा प्रयोग हुने यस्ता हतियार शान्तिपूर्ण प्रदर्शनमा किन चलाइयो ?

एफ.एन.एफएएल भनेको बेल्जियममा बनेको मेसिनगन हो । ती हतियार द्वन्द्वकालमा नेपालमा आयात भएका हुन् । स्टर्लिङ सबमेसिनगन बेलायतमा बनेको घातक हतियार हो । यिनीहरू युद्धका बेलामा प्रयोग हुने हतियार हुन् । यस्ता हतियारहरू पहिलो र दोस्रो विश्वयुद्धका बेलामा ब्यापक प्रयोग भएका थिए ।

हामीले द्वन्द्वकालमा खुब नाम सुनेका एस.एल.आर.(सेल्फ लोडिङ मेसिनगन) र इन्सासजस्ता हतियारहरू प्रयोग भएको पाएका छौं । युद्धमा मात्रै प्रयोग हुने र शान्तिपूर्ण प्रदर्शनमा प्रयोग गर्न नमिल्ने हतियारहरू भदौ २३ मा प्रयोग भएका छन् ।

यस्ता हतियार कसरी र कुन अवस्थामा प्रयोग गर्न मिल्छ भन्ने पनि मानव अधिकारसम्बन्धि मापदण्ड छ । सबै उपायहरू सकिएपछि, कम घातक उपायहरूले काम गरेन अनि व्यापक रुपमा हिंसा फैलिएर मानिसहरूको ज्यान नै जाने अवस्था छ, सन्निकट मृत्युको अवस्था छ भने बल्ल यस्तो हतियारबारे सोच्नुपर्ने हो ।

व्यापक हिंसा, सन्निकट मृत्यु वा त्यस्तै अवस्थाको निर्क्यौल कसरी हुन्छ ? सुरक्षाकर्मीहरूले नै त्यसको तय गर्ने हुन् ? उनीहरूले त प्रदर्शनकारीहरू नरोकेको भए संसद भवनमा आगजनी भएर ठूलो हताहती हुन्थ्यो भन्ने अनुमान गर्न सक्ने भए नी । हैन ?

अनुमानले बल प्रयोगको औचित्यसिद्ध हुँदैन । उहाँहरू फिल्डमा हुनुहुन्छ । र उहाँहरू त्यो अवस्थालाई झेल्न तालिमप्राप्त हुनुहुन्छ । उहाँहरूले हतियार प्रयोग गर्ने अवस्थामा संयमता अपनाउनुपर्ने थियो । हाम्रो आफ्नै घरेलु कानून र अन्तर्राष्ट्रिय मानवअधिकार मापदण्डको व्यवस्था ख्याल गर्नुपर्ने थियो ।

बल प्रयोग गर्दा पनि घुँडाभन्दा तल गोली हान्नुपर्ने मापदण्ड छ । हामीले थुप्रै मेडिकल कागजात हेर्‍यौं । डाक्टरहरूसँग कुरा गर्‍यौं । धेरैलाई छातीमा, पेटमा, घाँटीमा र टाउकोमा गोली लागेको छ । उहाँहरूले जथाभावी लापरवाहीपूर्वक हतियारको प्रयोग गर्नुभएको देखिन्छ । कम घातक र घातक दुवै खालका हतियारहरूको जथाभावी र लापरवाहीपूर्वक प्रयोग भएको छ ।

यसरी बल प्रयोग गर्नु हाम्रो आफ्नै स्थानीय कानुन अनुसार पनि मिलेन । अन्तर्राष्ट्रिय मानवअधिकार कानुन अनुसार त हुँदै भएन । त्यसकारण हामीले हतियारहरूको गैरकानुनी प्रयोग भयो भनेका हौं ।

बन्दुकको गैरकानुनी प्रयोग भनिएको छ । प्रचलित कानुन अनुसार ‘चेन अफ कमाण्ड’बाट निर्देशन भयो भने तिमीले ट्रिगर थिच्न पाउँछौं भनेरै उनीहरूलाई हतियार दिएको होइन र ?

सुरक्षाकर्मीहरूलाई हतियार दिइएको हुन्छ । तिमीहरूले अन्तिम अवस्थामा मात्रै यसको प्रयोग गर्ने हो भनेर शर्त सहित त्यो हतियार दिइएको हो । यो खेलौना र खेलाँची होइन भनी उहाँहरूलाई तालिम दिएर दक्ष बनाएर मात्र हतियार दिइन्छ । ती हतियार शपथको शर्त सहित दिइएको हुन्छ ।

कानुनी सुविधा अनुसार ती हतियार दिइएको हो भन्ने तर्कका आधारमा तिनको प्रयोग नगरेर के गर्ने भन्न मिल्दैन । अन्तिम विकल्पको रुपमा अरु कुनै उपायबाट पार नलाग्ने भयो भने हतियारको प्रयोग गर्ने हो ।

बल प्रयोगसम्बन्धी हाम्रा केही कानूनहरू छन् । एउटा स्थानीय प्रशासन ऐन २०२८ छ । अर्को अत्यावश्यक वस्तु संरक्षण २०१२ छ । त्यो कानुन सन् २०१२ होइन कि वि.सं. २०१२ सालमा जारी भएको हो । त्यो ऐनमा आवश्यक वस्तुहरूको संरक्षणको लागि फिल्डमा खटिने सुरक्षाकर्मीहरूले सिधै आदेश नै नलिकन बन्दुक प्रयोग गर्न पाउने व्यवस्था रहेछ ।

उपद्रव गर्न लागेको व्यक्तिलाई गिरफ्तार गर्ने क्रममा ऊ भाग्यो भने घुँडा भन्दा तल बल प्रयोग गर्ने व्यवस्था रहेछ, अनि त्यसक्रममा हताहती भयो भने सुरक्षाकर्मीलाई बात नलाग्ने खालको सुविधा रहेछ । अक्सर सभासम्मेलन जुलुसहरूमा यस्तो क्षति हुँदा उहाहरूले आवश्यक वस्तु संरक्षण ऐन प्रयोग गर्‍यौं भन्नुहुन्छ ।

आन्दोलनमा बल प्रयोग गर्दा जे परिणाम आउँछ, त्यसबाट भाग्न लागि त्यो ऐन राम्रो औजार बनिरहेको छ । २०१२ सालको ऐन अन्तर्राष्ट्रिय मानव अधिकार कानुन अनुसार एकदमै नमिल्दो छ । हाम्रो स्थानीय प्रशासन ऐन पनि नमिल्दो छ । दुवै ऐनलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार सुधरा गर्नुपर्छ भन्ने सुझाव दिएका छौं ।

त्यतिबेला घाइते तथा कतिपय मृतकको उपचारमा संलग्न चिकित्सकहरूसँग तपाईंहरूले कुराकानी गर्नुभएको रहेछ । कुनै युद्धभूमि छेउछाउमा गरिएको उपचार वा त्यस्तै खालको भयावह वर्णन पो त छ प्रतिवेदनमा । हैन ?

यस्ता घटना हुनसक्छन् भनेर उहाँहरू जहिले पनि तयारी अवस्थामा बस्नुहुने रहेछ । प्रदर्शनमा बल प्रयोग र त्यसपछि हुने सम्भावित घटनालाई उहाँहरूले प्रकोपको रुपमा हेरेर तयारीका साथ बस्नुभएको रहेछ ।

उहाँहरूले भूकम्पपछि र द्वन्द्वकालमै पनि एकाएक यति ठूलो रुपमा हामीले पीडा महसुश गर्नुपरेको थिएन भन्नुभयो । घातक बल प्रयोगले संवेदनशील ठाँउमा गोली लागेर घाइतेहरूको भीड अस्पतालमा बढिरहेको थियो । त्यो अवस्थामा स्वास्थ्यकर्मी र चिकित्सक पनि आत्तिएका रहेछन् ।

त्यतिबेला लापरवाहीपूर्वक जथाभावी रुपमा गोलीहरू चलाइएको रहेछ । चाहे रवरको गोली होस् या धातुको । त्यसैले यस्तो नतिजा आएको हो भन्ने उहाँहरूको निष्कर्ष रहेछ । अस्पतालमा भयावह अवस्था भएको बर्णन गर्नुभएको छ ।

आन्दोलनका बेलामा कुल घाइतेमध्ये १५/२० प्रतिशत अलि गम्भीर घाइतेहरू आउँछन् । तर यसपाली ६०/७० प्रतिशत गम्भीर घाइतेहरू अस्पताल पुगेका रहेछन् । २०६२/६३ मा लाखौं मानिसहरू सडकमा थिए । त्यतिबेला पनि घाइते र गम्भीर घाइतेहरूको अनुपात यस्तो थिएन, निकै कम थियो । उहाँहरू कयौंले युद्धको अवस्था भोगेजस्तो भयो भनेर प्रतिक्रिया दिनुभयो ।

बानेश्वर चोकमा पुगेको भिड आक्रमक भयो । भित्र रहेका सुरक्षाकर्मी स्पेसल टास्क फोर्सका दस्ताले साथमा जे थियो, त्यही चलाए भनेर एक प्रत्यक्षदर्शीले बताएका हुन् ?

यो प्रत्यक्षदर्शीको भनाई हैन । हामीले एकजना वरिष्ठ सुरक्षाकर्मी प्रहरी अधिकृतसँग कुरा गर्‍यौं । म आफैं एकदमै असन्तुष्ट थिएँ । जुन तरिकाबाट हामीले आफ्नो ड्यूटी गरिरहेका थियौं, त्यति मिलेको देखिएको थिएन भनेर उहाँले प्रतिक्रिया दिनुभयो ।

ठूला जुलुस सभा विरोध प्रदर्शनलाई व्यवस्थापन गरेको अनुभवको आधारमा हामीमा पर्याप्त तयारी थिएन भन्ने उहाँको भनाई थियो । अनि उहाँले पर्याप्त राजनीतिक गुप्तचरी रहेनछ भनेर जवाफ दिनुभयो ।

हरेक सभाजुलुसमा घुसपैठियाहरू आउन सक्छन् । तिनलाई पहिचान गर्ने र त्यहाँबाट निकाल्ने मामिलामा सुरक्षाकर्मीहरूले रणनीति बनाउन चुकेको देखियो । यसले गर्दा अवस्था बिग्रियो भन्ने उहाँहरूको निष्कर्ष रहेछ ।

प्रदर्शनकारीहरू संसद भवन अगाडी पुगे । त्यहाँ प्रदर्शनकारीहरू त्यहाँ पुगेपछि अब भित्र छिर्छन् भन्ने अनुभूति भएर आत्तिएर आफूसँग जे छ त्यही प्रयोग गर्नुभयो । संसद भवनभित्र नेपाल प्रहरीको विशेष सुरक्षा दल छ । सायद ऊ सक्रिय भयो र आफूसँग जे थियो त्यही हतियार प्रयोग गर्‍यो होला भन्ने उहाँको प्रतिक्रियालाई हामीले प्रतिवेदनमा समेटेका हौं ।

तर त्यो कमजोरी स्वीकार्नु मात्रै जवाफदेहिता होइन । त्यहाँ जे घटना घटेको छ, सुरक्षाकर्मीले त्यसको जिम्मेवारी दिनुपर्छ र उनीहरूले निष्पक्ष अनुसन्धानमा पूर्ण सहयोग गर्नुपर्छ ।

एमनेस्टी इन्टरनेशनल नेपालले प्रतिवेदनमा राज्यका विभिन्न निकायहरूलाई फरक फरक खालको सिफारिस गरेको छ । के कस्ता सिफारिसहरू परेका छन् ?

नेपाल सरकारले नागरिकको विरोध प्रदर्शन गर्न पाउने हकलाई संरक्षण गर्नुपर्छ । हाम्रो संविधान र मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय मान्यताहरूले पनि नागरिकको विरोध गर्ने हकलाई सहजीकरण गरिदिनुपर्छ । नागरिकहरूले त्यसको अभ्यास गर्न खोजे भने सहजीकरण गरिदिनुपर्छ । शान्तिपूर्ण विरोध प्रदर्शनबाट राज्य त्रसित हुन मिल्दैन ।

सभासम्मेलन र जुलुसहरू गर्ने जतिपनि ठाँउ छन्, ती ठाँउहरूलाई निषेधित क्षेत्र घोषणा गरेर नागरिकहरूलाई संकुचित बनाउन मिल्दैन । धुलिखेल, थानकोट वा सल्लाघारीमा गएर गरिने बिरोध प्रदर्शनको त अर्थ भएन । जसले सुन्नुपर्ने हो, जसले देख्नुपर्ने हो, उहाँहरू त्यहि पुगेर आफ्ना कुराहरू राख्न चाहनुहुन्छ भने त्यसलाई सहजीकरण गरिदिनुपर्छ ।

स्थानीय प्रशासन ऐनमा निषेधित क्षेत्र तोकिदिने जुन खालको प्रबन्ध छ त्यसलाई अन्तर्राष्ट्रिय मानव अधिकार अनुकूल बनाउनु आवश्यक छ । संवेदनशील क्षेत्रको सुरक्षाको जुन प्रश्न छ, त्यहाँ सुरक्षाकर्मीहरूलाई जुन ढंगले स्वेच्छाचारी बल प्रयोग गर्ने अधिकार दिएको छ, त्यसलाई सच्याउनुपर्छ ।

नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हो । हरेक चार वर्षमा त्यहाँ नेपालको मानवअधिकारको अवस्थाका बारेमा समीक्षा हुन्छ । फ्रान्स, लातभिया र आइसल्याण्डले नेपालमा विरोध प्रदर्शनको अधिकार संकुचन भएको भनेर प्रश्न उठाएका थिए । ती सुझावलाई नेपाल सरकारले पनि स्वीकारेको छ ।

भेला, सभा एवं जुलुसहरूलाई व्यवस्थापन र नियमन गर्ने मामिलामा प्रहरीले गरिरहेको अभ्यासलाई व्यापक सुधार गर्नुपर्ने देखिन्छ । माथिबाट आएको आदेशका कारण गोली चलाएँ भन्ने आधारमा मात्रै उन्मुक्ति मिल्दैन । फिल्डमा खटिने सुरक्षाकर्मीहरूले व्यक्तिगत जिम्मेवारी लिनुपर्ने हुन्छ ।

कमान्डरले दिएको आदेश पालना नभएकै कारण फिल्डमा खटिएको अफिसरलाई कारवाही गर्न मिल्दैन । फिल्डमा खटिने प्रहरीले त्यति विवेक राखेको हुनुपर्छ । उहाँहरूका थुप्रै चुनौतीहरू छन् । तर त्यसको आधारमा मात्रै कमजोरी अथवा गल्तीबाट उन्मुक्ति पाउन मिल्दैन ।

नेपालमा बल प्रयोग सम्बन्धी कानुनकै आवश्यकता भएको हो ?

कानुनको अभाव त छैन । बल प्रयोगको लागि धेरै कानुनहरू छन् । सामान्यतया स्थानीय प्रशासन ऐन अन्तर्गत सभा जुलुस नियमनमा जिल्ला प्रशासन कार्यालय अथवा प्रमुख जिल्ला अधिकारीको भूमिका हुने रहेछ । अत्यावश्यक बस्तु संरक्षण ऐनमा प्रहरी आफूले बल प्रयोग गर्ने रहेछ । राष्ट्रिय निकुञ्ज ऐनमा पनि त्यस्तै व्यवस्था छ ।

तर नागरिकमाथि बल प्रयोग गर्ने विषयलाई भने अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड अनुकूल बनाउनुपर्छ भनेर हामीले सिफारिस गरेका छौं । संसदले नै भीड नियन्त्रणको कानुन ल्याउने प्रयास गर्‍यो भने त्यो राम्रै हो ।

अश्रुग्यास, रवरको गोली प्रयोग गने हतियारहरू एवं काइनेटिक इम्प्याक प्रोजेक्टाइल(केआईपी)हरूको प्रयोग पनि सुधार हुनुपर्छ भनेका छौं । काइनेटिक इम्प्याक प्रोजेक्टाइल(केआईपी)भनेको कुनै औजारमा राखेर प्रहार गरिने हतियार भन्ने बुझ्नुपर्छ ।

अश्रुग्यासदेखि रबरको गोली केआईपी मार्फत प्रहार गरिन्छ । शरिरलाई नछेड्ने रबरका गोली, प्लास्टिकका गोलीहरू अनि रबर फोमहरू त्यसमा पर्छन । घाउ मात्रै बनाउन हो, शरीर छेड्दैन भन्ने मान्यतामा तिनको प्रहार गरिन्छ । तिनलाई सावधानीपूर्वक प्रयोग गरिएन र संवेदनशील अंगमा पर्न गयो भने घातक परिणाम ल्याउन सक्छ ।

सुरक्षाकर्मीहरूले बल प्रयोग गर्ने सिद्धान्त छ, त्यसक्रममा पाँचवटा कुरालाई ख्याल गर्नुपर्छ । एउटा, आवश्यकताको सिद्धान्त हो । त्यो खालको बल प्रयोग आवश्यक थियो कि थिएन ? भन्ने हेरिन्छ ।

दोस्रो, वैधानिकता । कुन कानुनमा टेकेर बल प्रयोग भइरहेको छ ? बल प्रयोगमा कानुनी आधार पनि खोजिनुपर्छ ।

तेस्रो, बल प्रयोग समानुपातिक रुपमा मिलेको पनि हुनुपर्छ । भिडको संख्या कति थियो ? उनीहरू कत्तिको हिंसक थिए ? त्यसको अनुपातमा कति बल प्रयोग गर्नुपर्‍थ्यो भन्ने कुरा हेरिनुपर्छ ।

चौथो, सावधानी पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । सकेसम्म कम क्षति होस्, न्यूनतम क्षति होस्, सकेसम्म मान्छे नमरुन् भनेर सावधानी अपनाउनुपर्छ । त्यसैले त गोली चलाउनै परे घुँडामुनि लाग्ने गरी मात्रै सावधानी अपनाउनुपर्छ भनिएको हो ।

पाँचौ, बल प्रयोग गर्दा विभेद अपनाउन हुँदैन । एउटा सभा जुलुस गर्दा कुन हदसम्म बल प्रयोग भएको छ, त्यही खालको अर्को सभा जुलुसमा पनि त्यति नै बल प्रयोग हुनुपर्छ ।

अर्थात सबैलाई एउटै व्यवहार गर्नुपर्छ । सभाजुलुसमा रहेका विभिन्न खालका प्रदर्शनकारीहरूलाई लक्षित गरेर बल प्रयोग गर्नुभएन । यदि उनीहरू हिंस्रक छन् भने लक्षित गर्न पाइन्छ । त्यसकारण यी सिद्धान्तहरूलाई राम्रोसँग र उचित रुपमा पालना नगरेको हामीले देखेका छौं ।

बल प्रयोगको ‘चेन अफ कमाण्ड’ कस्तो हुन्छ ? अनि उनीहरूलाई कसरी र कुन हदसम्म जवाफदेहि बनाउन सकिन्छ ?

सरकारले गठन गरेको न्यायिक जाँचबुझ आयोगको म्याद एक महिना थपिएको छ । आयोगले निष्पक्ष रुपमा शीघ्र र प्रभावकारी रुपमा अनुसन्धान गर्नुपर्छ । र, उसले स्वतन्त्र ढंगबाट अनुसन्धान गर्नुपर्छ । कतै कसैबाट दबाब प्रभावमा नपरी उसले आफ्नो निष्कर्ष सार्वजनिक गर्नुपर्छ ।

त्यसको आधारमा थप अनुसन्धान गर्न आवश्यक छ भने महान्यायाधिवक्ता कार्यालयले निष्पक्ष, पारदर्शी र प्रभावकारी ढंगबाट मौजूदा कानून बमोजिम अभियोजन गरेर स्वतन्त्र न्यायपालिका समक्ष मुद्दा पेश गर्नुपर्छ ।

फिल्डमा प्रहरीको सिपाही थियो कि नीतिगत तहमा प्रधानमन्त्री नै किन नहुन्, जो-जो जोडिएका छन् । संलग्नताको आधारमा उनीहरू कानुन बमोजिम जवाफदेही बन्नुपर्ने हुन्छ । आजको दिनसम्म नेपालमा यसरी कसैलाई पनि जवाफदेही बनाइएको छैन ।

यस्तो जवाफदेहिता प्रशासनिक प्रकृतिको हुन्छ या फौजदारी मुद्दाकै सामना गर्नुपर्छ ? कसरी सिमांकन गर्न सकिन्छ ?

भदौ २३ गते प्रशासनिक प्रकृतिको अपराध होइन । देशमा १९ जना युवकको मृत्यु भएको थियो । राज्यको संलग्नतामा उहाँहरूको हत्या भएको छ । यो फौजदारी घटना हो तसर्थ फौजदारी जवाफदेहिता बहस हुनुपर्छ ।

निर्णय गर्नेहरू, त्यसको कार्यान्वयन गर्नेहरू र कार्यान्वयनलाई सहजीकरण गर्नेहरू अनुसन्धानको दायरामा आउछन् । बल प्रयोग गर्न आदेश दिने, आदेश पालना गर्न सहजीकरण गर्ने र सडकमा बसेर जसले आदेश पालना गरेको छ सबैको समान जिम्मेवारी हुन्छ ।

मैले अघि पनि उल्लेख गरेको थिएँ । फिल्डमा रहेको सुरक्षा अधिकारीले म बल प्रयोग गर्दिन भन्न पाँउछ, उसँग त्यो विवेक हुन्छ । यदि कसैले त्यसरी बल प्रयोगमा इन्कारी गरेको छ भने उसको प्रतिरक्षा गर्नुपर्छ ।

कतिपय अवस्थामा माथिको आदेश उसले आफैं बल प्रयोग गरेको छ भने त्यसको जवाफदेही पनि ऊ आफैंले लिनुपर्ने हुन्छ । यसमा तलमाथि भन्ने नै हुँदैन । आदेश दिने निजामति र राजनीतिक संयन्त्रमा रहेका व्यक्तिहरूले पनि फौजदारी जवाफदेहिता बहन गर्नुपर्ने हुन्छ ।

भोलि मुद्दा चलेमा अदालतले प्रमाण र पुष्टि हुने अरु विषयवस्तु खोज्ला । लिखित रुपमा आदेश दिने माथिल्लो तहको व्यक्ति प्रमुख जिल्ला अधिकारी हो । त्यो भन्दा माथिल्लो तहको संलग्नताको प्रमाण कसरी खोज्ने ?

यो न्यायिक प्रश्नको विषयवस्तु भयो । स्वतन्त्र न्यायपालिकाले मुद्दाका साथ प्रमाण र अरु विवरणको छानबिन गर्ला । हामीले त्यसमा विश्वास गर्नुपर्छ ।

तर दुःखको कुरा, नेपालमा आजसम्म यस्तो भएको देखिएको छैन । त्यही भएर हामी दण्डहीनताको दलदलमा छौं । सधैं यस्तो हुँदैन, अवस्था परिवर्तन हुन्छ । जवाफदेहिता सुनिश्चित गर्नुपर्छ, दण्डहीनताको चक्र तोड्नुपर्छ ।

विगतका शान्तिपूर्ण आन्दोलन र प्रदर्शनमा भएको दमनको तुलनामा यसपटक सानो संख्या, सानो क्षेत्र थियो । तर यही घटनामा ज्यादा बल प्रयोग भयो । दण्डहीनताले गर्दा यो घटनामा ज्यादा प्रयोग भयो क्यारे । होइन ?

दण्डहीनता त हो नै । दण्डहीनताले सत्तामा रहने शासकहरूमा एकखालको चरित्र निर्माण हुँदै गइरहेको छ । नेपाल मात्रै होइन अन्यत्र पनि राजनीतिक लाभका लागि जे गरेपनि हुन्छ भन्ने संस्कृति विकसित भइरहेको छ । ठूला शक्ति राष्ट्रहरूमा पनि अधिनायकवादी सोचको विकास भइरहेको छ ।

यस्तो सोचले गर्ने भनेको विमतीको दमन नै हो । उनीहरूले विरोध प्रदर्शनकारीहरूलाई शत्रु ठानिरहेका हुन्छन् । भेनेजुएलामा नोबेल शान्ति पुरस्कार पाउने क्रिस्टियाना कोरियानाको निर्वासनदेनि रुसमा एलेक्सी नोबाल्लीलाई पुटिन सत्ताले मारेको उदाहरण हामीसँग छ ।

चीन, भारत र नेपालमा पनि फरक मत राख्नेलाई जसरी पनि सिध्याउने भन्ने खालको सोच विकास भइरहेको देखिन्छ । यो मानव अधिकारको दृष्टिकोण डरलाग्दो हो ।

जेनजी आन्दोलनमा दमन गरेको पुष्टि हुनेहरूले भोली अन्तर्राष्ट्रियस्तरमा पनि के कस्ता अप्ठेराहरू ब्यहोर्नुपर्ने हुनसक्छ ?

उहाँहरू भोलि दोषी ठहरिनुभयो भने नेपालमै दण्डभागी हुनुपर्छ । तर कथंकदाचित राज्यका संयन्त्रहरू प्रभावकारी भएनन, तर उनीहरू दोषी ठहरिए भने अन्तराष्ट्रिय समूदायले पनि त्यसलाई हेरेको हुन्छ । अन्तर्राष्ट्रिय समूदायले ‘भेटिङ’ गर्नसक्छ ।

अर्कोतर्फ अहिले त मानवअधिकार उल्लंघकर्ताहरूमाथि विश्वव्यापी क्षेत्राधिकारको विषय पनि छ । मानवअधिकारको गम्भीर उल्लंघनमा संलग्न भएको, मुछिएको, सहजीकरण गरेको वा उक्साएको आरोपितहरूको हकमा विश्वव्यापी क्षेत्राधिकार आकर्षित हुन्छ ।

उहाँहरू विश्वव्यापी क्षेत्राधिकार आकर्षित गरेका मुलुकहरूमा पुग्नुभयो भने गिरफ्तारीमा पर्नुहुन्छ । त्यहाँको स्थानीय कानुन अनुसार उहाँहरूमाथि मुद्दा चल्छ । कर्णेल कुमार लामाको घटना सुन्नुभएकै होला ।

त्यो द्वन्द्वकालको हो, यो त शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको मात्रै हो भनेर छुटकारा पाउने अवस्था हुँदैन । मानव अधिकारको उल्लंघनको घटना, चाहे द्वन्द्वकालको होस् या शान्तिपूर्ण कालखण्डको किन नहोस्, त्यसलाई फरक ढंगले हेरिँदैन ।

राजनीतिक अर्थात निर्वाचित पदाधिकारीहरू पनि जवाफदेहिताको यो सीमाभित्र पर्न सक्छन् ?

उहाँहरू पर्नुहुन्छ र पर्न पनि पर्छ । यदि प्रमाणित हुनुभयो भने कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । प्रमाणित नभएको अवस्थामा त उहाँहरूले पनि स्वच्छ सुनुवाई र प्रतिरक्षाको अधिकारबाट आफूलाई बचाउ गर्न पाउनुहुन्छ ।

यी सबै खुड्किला पारेर गरेर दोषी प्रमाणित भएमा मात्रै उहाँहरूले सजाय भोग्नुपर्ने हो । कसैले पनि कसैप्रति राजनीतिक प्रतिशोध राख्नुहुँदैन । राजनीतिक प्रतिशोधरहित भएर स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्छ ।

‘हामी त्यहाँ आवाज उठाउन गएका थियौं । मारिन होइन’ भन्ने प्रतिवेदनको निष्कर्ष छ । तर जेनजी आन्दोलनको सय दिन बितिसक्दा कसैले पनि त्यो हदसम्मको बल प्रयोग र हताहतीको जिम्मेवारी लिएको देखिँदैन । यो क्षतिको जिम्मा कसले लिने ?

यो एकदमै दुःखद पक्ष हो । अरुलाई दोष पन्छाएर कुकर्म र गल्तीबाट छुटकारा पाइरहने संस्कारका कारण यस्तो भएको हो । जसमा नैतिक, कानुनी जे जस्तो पर्छ, जिम्मेवारी लिनुपर्छ । जो सत्तामा थिए, जसले निर्णय गरेर सुरक्षाफौज खटाए उनीहरूले जिम्मेवारी लिने साहस देखाउनुपर्छ ।

आ–आफ्नो जिम्मेवारी लिने कुरा उहाँहरूको लागि मौका पनि हो । उहाँहरूले जिम्मेवारी लिनुभयो भने प्रक्रियागत ढंगबाट पनि उहाँलाई नै सजिलो हुने कुरा हो । तर फगत घुसपैठियाहरूबाट सिर्जना भएको अपराध हो भन्ने संकथन निर्माण गरियो भने दण्डहीनताको चक्र रहिरहन्छ ।

राजनीतिक नेतृत्व, सुरक्षा नेतृत्व र राज्यसंयन्त्रले युवा मारिएको विषयलाई सामान्यीकरण गर्नतिर लाग्यो भने दण्डहीनता रहिरहनेछ । जेनजी आन्दोलन मात्रै होइन, विगतको १० वर्षे द्वन्द्व, मधेश आन्दोलन, गौर हत्याकाण्ड लगायतका घटनामा जवाफदेहिता खोजिनुपर्छ ।

विगतमा राज्यसंयन्त्रको अगुवाईमा जति पनि ज्यान मार्ने काम भएका छन्, हरेकमा जवाफदेहिता खोजिनुपर्छ । घटनामा संलग्न कसैको निधन भइसकेको छ भने मरणोपरान्त समेत दोषी भएको अभिलेख सार्वजनिक रुपमा रहनुपर्छ । नत्र केही वर्षपछि भावी पुस्ताले गर्ने शान्तिपूर्ण आन्दोलनमा यस्तै क्षेति बेहोर्नुपर्ने हुनसक्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More