― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest news‘म्याद सकिएका प्रतिनिधिको हस्ताक्षरले विशेष महाधिवेशन हुन सक्दैन’

‘म्याद सकिएका प्रतिनिधिको हस्ताक्षरले विशेष महाधिवेशन हुन सक्दैन’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसमा महाधिवेशनको विषयमा दुई पक्ष देखिएका छन्, जहाँ संस्थापन पक्षले चुनावअघि महाधिवेशन नहुने दाबी गरेको छ।
  • महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् र ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाइसकिएको छ।
  • पूर्वमहामन्त्री विमलेन्द्र निधिले १४औं महाधिवेशन प्रतिनिधिको म्याद सकिएको र चुनावअघि कुनै महाधिवेशन नहुने बताउनुभएको छ।

नेपाली कांग्रेसका नेताहरू पार्टी महाधिवेशनलाई लिएर स्पष्ट दुई कित्तामा देखिएका छन् । संस्थापन पक्ष चुनावअघि महाधिवशेन हुन नसक्ने दाबी गर्दै आएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवशेन हुन नसके विशेष महाधिवेशन हुनुपर्ने अडानमा छन् ।

विशेष महाधिवेशनको मागसहित ५४ प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकिएको छ । पार्टीका पूर्वमहामन्त्री विमलेन्द्र निधि भने हस्ताक्षरकर्ताको वैधानिकतामाथि नै प्रश्न उठाउँछन् । १४औं महाधिवेशनका लागि तय भएका महाधिवशेन प्रतिनिधिको म्याद सकिइसकेको निधिको दाबी छ ।

चुनावका लागि तयारीमा लाग्नुपर्ने बेला पार्टीको विशेष वा नियमित महाधिवशेन गर्न नहुनेमा निधि अडिग देखिन्छन् । पार्टीको जारी केन्द्रीय समिति बैठक, नियमित र विशेष महाधिवशेनको बहस, पूर्वपदाधिकारीको समूह लगायतमा केन्द्रित रहेर कांग्रेस नेता निधिसँग अनलाइनखबरकर्मी लिलु डुम्रेले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:

जेनजी आन्दोलनपछि बोलाइएको केन्द्रीय समिति बैठक पर्वका कारण पर सारिएको भनिएको छ । तर १२ दिन बैठक रोक्नुलाई कतिपय नेताले शंकाको दृष्टिले हेरेका छन् । महाधिवशेनको मुद्दा ओझेल पार्न बैठक रोकिएको भन्ने आशंकाप्रति तपाईंको धारणा के छ ?

सबै सहमत भएर नै बैठक सारिएको हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री र अरू पदाधिकारीहरूसँग सल्लाह गरेर बैठक सारिएको हो । केन्द्रीय समितिको बैठक पर्वकै कारण सरेको हो ।

तिहार र छठ मनाउन साथीहरू जिल्ला-जिल्ला जानुभएको छ । छठ ११ गते बिहान सकिन्छ । १२ गते काठमाडौं फर्कने बाटोको म्याद भयो । त्यसकारण १३ गते बस्नेगरी बैठक सारिएको हो ।

केन्द्रीय समिति बैठकमा नियमित महाधिवशेनको कार्यतालिकाको प्रस्ताव आउने र त्यसमा छलफल हुने अपेक्षा नेता/कार्यकर्ताले गरेका थिए । तर महामन्त्रीले मंसिरभित्र नियमित महाधिवेशन गर्ने गरी पेस गर्ने भनिएको कार्यतालिकाले किन प्रवेश पाउन सकेन ?

२३ र २४ भदौको घटना नभएको भए २०८३ मंसिरमा महाधिवशेन हुने थियो । महामन्त्रीद्वय र सभापति शेरबहादुरजीको सल्लाहमै २०८३ को मंसिरमा १५औं महाधिवेशन गर्ने तयारी थियो ।

धेरैजसो केन्द्रीय समितिका साथीहरूको एउटा समझदारी जस्तो के थियो भने, चार वर्ष पुगेपछि एक वर्षको म्याद थप्ने । केही साथीहरूको संसद्‌ चुनाव २०८४ मा हुने हुँदा त्यसपछि गरौं भन्ने थियो । महाधिवेशनमा पार्टीभित्र हुने निर्वाचनको कारणले तिक्तता नआओस् भनेर चुनावपछि महाधिवशेन गरौं भन्ने साथीहरू पनि हुनुहुन्थ्यो ।

भदौ २३ र २४ गते असामान्य परिस्थिति बन्यो । चुनावको घोषणा भयो । सभापतिमाथि सांघातिक प्रहार भयो । मान्छेहरू असुरक्षित महसुस गरिरहेकै बेला अचानक दुई महामन्त्रीले विशेष महाधिवेशनको कुरा गर्न थाल्नुभयो । विशेष महाधिवशेन भनेर महामन्त्रीद्वयले बडो आश्चर्यजनक भूमिका खेल्नुभयो ।

नेतृत्व परिवर्तनको लागि त शेरबहादुरजीले पहिलेदेखि नै भनिसक्नुभएको थियो । उहाँले आफू विश्राम लिने सार्वजनिक रूपमै बताइसक्नुभएको थियो । तेस्रो पटक सभापतिको उम्मेदवार हुने व्यवस्था हाम्रो विधानमा पनि छैन । पार्टीको प्रमुख पदमा बसिरहने, यो कमिटी भङ्ग गरेर संयोजक बन्ने अथवा विधान संशोधन गरेर उमेरको हद हटाउने किसिमको अप्ठ्यारो बनाउने प्रवृत्ति कांग्रेसमा थिएन ।

मैले बुझ्न नसकेको कुरा, सभापतिमाथि सांघातिक प्रहार भएको छ । कांग्रेसका साथीहरू असुरक्षित र अन्योलमा छन् । यस्तो बेलामा विशेष अधिवेशनका लागि हस्ताक्षर अभियान चलाउनु त्यो पनि जिम्मेवार पदाधिकारीहरूबाट । यो अलि रहस्यमय छ ।

विधानमा भएको व्यवस्थाअनुसार विशेष महाधिवेशनको माग गरिएको हस्ताक्षर पक्षधरको भनाइ छ । पार्टी विधानले दिएको व्यवस्थाअनुसार माग गर्दा रहस्यमय हुन्छ र ?

विधानको व्यवस्था त धेरै छ नि । एउटा धारा मात्र छैन । विधानको व्यवस्थाअनुसार नै महामन्त्रीले सभापतिसँग सल्लाह गरेर केन्द्रीय समिति बैठकमा सोझै प्रस्ताव राख्न सक्नुहुन्थ्यो । हस्ताक्षर अभियान गरेर विशेष महाधिवेशन गर्नुपर्छ भन्ने त छैन नि । त्यसकारण विधानमा भएका कतिपय व्यवस्थालाई कुन बेलामा प्रयोग गर्ने भन्ने हुन्छ ।

महामन्त्रीको काम, कर्तव्य, अधिकारको व्यवस्था पनि विधानमा छ । पार्टीको समग्र नेतृत्व प्रदान गर्ने अधिकार र कर्तव्य पार्टी सभापतिको हो । महामन्त्रीहरूको अधिकार र कर्तव्य पार्टी सभापतिलाई सहयोग गर्ने हो । महामन्त्रीले कुनै पनि प्रस्ताव ल्याउँदा सभापतिसँग सहमति र अनुमति लिनुपर्छ । महामन्त्री आफैंले हस्ताक्षर अभियान चलाउनु विधानको प्रावधान उल्लंघन गर्नु हो ।

विधानअनुसार विशेष महाधिवेशनमा भाग लिने अधिकार १४औं महाधिवशेनका प्रतिनिधिलाई छैन । उहाँहरूको म्याद सकिइसक्यो ।

विशेष महाधिवेशन गर्दा पार्टीमा समस्या आउने हो भने विधानमा त्यो व्यवस्था किन राख्नुभएको त ?

२१ फागुनमा प्रतिनिधिसभा चुनाव घोषणा भएको छ । हामीसँग दुईटा मात्रै विकल्प छन्, कि प्रतिनिधिसभा चुनावमा भाग लिनुपर्‍यो कि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा लाग्नुपर्‍यो ।

साथीहरूका फरकफरक राय छन् । महामन्त्रीहरूले जुम मिटिङमार्फत चुनावमा भाग लिनुपर्छ भन्नुभएको हो ।

चुनावका लागि हामीलाई जम्मा चार महिनाको समय भएको हुँदा त्यो भन्दा पहिले महाधिवेशन वा कुनै विशेष अधिवेशन गर्नु भनेको चुनावलाई बाधा पार्नु हो । असहयोग गर्नु हो ।

नियमित महाधिवेशन गर्न नसक्ने हो भने विशेषमा जानुपर्ने विचार आएका छन् । तपाईं भने कुनै पनि प्रकारको महाधिवेशन गर्नु हुँदैन भन्नुहुन्छ किन ?

लोकप्रिय हुने कुरा म गर्दिनँ । केन्द्रीय कार्यालय महामन्त्री मातहतमा हुन्छ । क्रियाशील सदस्य नवीकरण र वितरण महामन्त्रीको जिम्मेवारीमा छ । ८ लाखभन्दा बढी क्रियाशील सदस्य छन् । उनीहरूको नवीकरण गर्नुपर्‍यो ।

मूल कुरा अहिले प्रतिनिधिसभा चुनावलाई फोकस गर्ने कि नगर्ने भन्ने हो । केन्द्रीय विषय मान्ने कि नमान्ने ? प्रतिनिधिसभा चुनाव गर्न निर्वाचन आयोगले १२० दिन आवश्यक पर्ने भनेको छ ।

निर्वाचन पार्टी कार्यालयहरू सानेपा, च्यासल वा संसद् भवन, टुँडिखेलमा हुने होइन । प्रत्येक वडाका बुथहरूमा हुन्छ । त्यसको व्यवस्थापन गर्ने बेलामा पार्टीले अरू कुनै काम गर्नु भनेको राष्ट्रिय जिम्मेवारीबाट पछाडि हट्नु हो ।

तपाईंको निष्कर्ष चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने हो ?

चुनाव सम्पन्न भएपछि चैत, वैशाख वा जेठ महिनामा गर्ने गरी कार्यतालिका बनाए भइहाल्यो नि ।

चुनावपछि महाधिवशेन गर्ने हो भने दलहरू पुनर्गठनसहित चुनावमा जाने मुद्दा कसरी सम्बोधन हुनसक्छ ?

पार्टीमा सुधार गर्दै जाने हो । पार्टीको सुधार प्रतिनिधिसभामा टिकट दिने बेलामा हुन्छ । चुनावमा नयाँ अनुहारबाट उम्मेदवार बन्न चाहनेलाई टिकट दिन सकिन्छ । जो जेनजी पुस्तालाई पार्टीमा ल्याउन सकिन्छ ।

उम्मेदवार मतदाताले रुचाएको हुनुपर्छ । त्यसकारण मतदाताले रुचाउने व्यक्तिलाई उम्मेदवारहरू छनोट गरौं भन्ने हो ।

विशेष महाधिवेशनका लागि यसरी जबर्जस्ती गर्दा त्यो दिशा (फुटतिर) मा जान सक्छ ।

कांग्रेसले पुरानो शैली परिवर्तन गरेर रफ्तारमा काम गरे नियमित समय (मंसिर)भित्र महाधिवशेन गर्न सकिने धारणाहरू आइरहेका छन् । के व्यवधानले यो अवधिमा महाधिवेशन गर्न सकिँदैन ?

रफ्तार भनेको के ? मेरो अन्तर्वार्ता तपाईंले पाँच मिनेटमा तयार गरेर छाप्न सक्नुहुन्छ ? अव्यावहारिक कुरा गर्नु भएन नि । न्यूनतम अवधि त छुट्याउन पर्‍यो नि । दुई महिनामा नियमित महाधिवेशन गर्न सकिन्छ भनेर कुनै बहादुरले देखाइदिए हुन्छ त ।

जतिसुकै फास्ट ट्र्याकमा गरे पनि सम्भव छैन । नयाँ पुस्तालाई क्रियाशील सदस्यता वितरण, त्यसको रेकर्ड, नवीकरण यी सबै काम यति छोटो अवधिमा सम्भव छ ? फास्ट ट्र्याक भनेको प्रविधिले गर्ने काम हो । अरू त फास्ट ट्र्याकमा हुन त सक्दैन नि ।

कार्यतालिका बनाएर मंसिरभित्रै नियमित महाधिवेशन गर्न सकिने एउटा प्रस्ताव महामन्त्री गगन थापाले बाहिर ल्याउनुभएको छ नि ?

हामीलाई दिनु भएको छैन ।

मंसिर २७ देखि १५औं महाधिवेशन गर्न सकिने दुई विकल्प सार्वजनिक गर्नुभएको हेर्नुभएको छैन र ?

हेरेको छैन । म पनि महामन्त्री, उपसभापति भएर काम गरेको मान्छे हो । क्रियाशील सदस्यताको सूची तयार नभई, त्यसमाथि उजुरी हाल्ने अधिकार नदिई, छानबिन नगरी प्रारम्भिक काम सुरु हुँदैन । वडादेखि प्रतिनिधि छानिँदै क्षेत्रीय तहका प्रतिनिधिले महाधिवेशन प्रतिनिधि छान्नुपर्छ । चरणचरणको प्रतिनिधि छनोट गर्नुपर्छ । कसरी छिटो गर्न सकिन्छ ?

महाधिवेशन हुने वर्ष सदस्यता वितरण र नवीकरण नगर्ने विधानको व्यवस्थाअनुसार समयमा काम सक्न पटकपटक पत्राचार गरिएको महामन्त्रीहरूको दाबी छ । तर तल्लो तहका संरचनाले छिटो काम नसक्दा सदस्यता वितरण र नवीकरणमा ढिलो हुन पुगेको उहाँहरूको तर्क छ । केन्द्रीय नेताहरूले आफ्नो क्षेत्र वा जिल्लाके सदस्यताको अवस्थाबारे तदरुकता नलिएको उहाँहरूको दाबी सही हो ?

क्रियाशील सदस्यता वितरण र नवीकरण हेर्ने काम महामन्त्रीको हो । हामीले राजनीतिक रूपमा भन्ने हो । क्रियाशील सदस्यका लागि समन्वय गर्ने काम उहाँ (महामन्त्री)ले गर्नुपर्‍यो नि ।

अहिले कुनै पनि प्रकारको महाधिवशेन गर्नर उपयुक्त नहुने हो भने विशेष महाधिवशेनका लागि संकलन भएको हस्ताक्षर के हुन्छ ?

केन्द्रीय कार्यालयमा दर्ता भए पनि बैठकको एजेन्डामा आएको छैन । उहाँहरू विधानको कुरा गर्नुहुन्छ । एउटा विधानसम्मत र अर्को एउटा राजनीतिक दृष्टिकोण हुन्छ । उहाँले विधानको कुरा गर्नुहुन्छ भने हस्ताक्षर गर्ने प्रतिनिधिले महाधिवशेनमा भाग लिइसक्नुभयो । विधानअनुसार विशेष महाधिवेशनमा भाग लिने अधिकार १४औं महाधिवशेनका प्रतिनिधिलाई छैन । उहाँहरूको अवधि सकिइसक्यो ।

केन्द्रीय समितिको मात्रै तपाईंको अवधि बाँकी छ । केन्द्रीय समितिको अवधिलाई थप्ने/नथप्ने निर्णय गर्न भने सकिन्छ ।

महामन्त्री आफैंले हस्ताक्षर अभियान गर्नु विधानको प्रावधान उल्लंघन हुनु हो ।

राजनीतिक तरिकाले आवश्यकता पहिचान गर्दै विधानको बाटो अवलम्बन गर्दै र कार्यान्वयन गर्दै जानुपर्छ भन्ने मेरो धारणा हो । अहिले विशेष महाधिवेशनको कानुनी कुरा गर्नुभयो भने उहाँहरूको कानुनी अधिकार पुग्दैन । राजनीतिक कुरा गर्नुहुन्छ भने अहिले विशेष वा नियमित महाधिवेशन गर्नु चुनावलाई डिस्टर्ब गर्नु हो ।

विशेष महाधिवेशनको हस्ताक्षरले पार्टी विभाजन हुने चिन्ता नेता कृष्ण सिटौलाको थियो । बहुमत महाधिवशेन प्रतिनिधिले विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गरेका छन् । विशेष महाधिवशेन मागका लागि गरिएको हस्ताक्षरले पार्टी विभाजन हुने देख्नुहुन्छ ?

विशेष महाधिवेशनका लागि जबर्जस्ती गर्दा त्यो दिशामा जान सक्छ । म एउटा कुरा जोड दिएर भन्न चाहन्छु, उहाँहरू नियमित महाधिवशेनकै पक्षमा हुनुहुन्छ । मेरो विचारमा उहाँहरूले विशेष महाधिवशेनको एजेन्डा छोडिसक्नुभएको छ । अहिले उहाँहरूले नियमित महाधिवेशन मंसिर वा पुससम्म गर्नुपर्छ भन्नुभएको छ ।

त्यो अवधिभित्र नियमित हुन नसके त्यही समयमा विशेष गरौं भन्ने माग छ नि ?

मैले सुनेको छैन । मैले सुनेको कुरा तपाईंलाई भन्छु । निर्वाचन आयोगले पुसमा समानुपातिकको बन्द सूची पेस गर्न भनेको छ । पुसमा समानुपातिकको बन्द सूची दर्ता गराउन काठमाडौँमै बसेर तयारी गर्ने हो ?

प्रत्यक्षमा कसलाई टिकट दिने ? समानुपातिकमा कसलाई दिने ? समानान्तर रूपमा छलफल हुन्छ । बन्द सूचीको नामावली एक साताभित्र निकाल्न तयार हुनुहुन्छ ? सक्नुहुन्छ ? सक्नुहुन्छ भने तक्मा लगाइदिन्छु ।

चुनाव अगाडि महाधिवेशन गर्ने हो भने कि त हामी चुनावमा भाग लिन्नौं भनेर निर्णय गर्नुपर्छ । यस्तो भन्यौं भने दुर्भाग्यपूर्ण हुन्छ । चुनावको तयारीका लागि ढिलो भइसकेको छ । गगन थापा, विश्वप्रकाश शर्मा, पूर्णबहादुर खड्का, शेखर कोइरालालगायत साथीहरूसँग मैले भनेको थिएँ- चुनावमा भाग लिने कुरामा छिटो निर्णय गरौं । चुनाव त फास्ट ट्र्याकमा हुन सक्दैन नि ।

जबसम्म मतदातासँग उम्मेदवारले व्यक्तिगत सम्पर्क गर्दैन, त्यसबेलासम्म कांग्रेस सम्पर्कमा नभएको मतदाताले ठान्छ । टेलिभिजनमा अनुहार देखाएर भाषण गरेर, सोसल मिडियामा अनुहार देखाएको आधारमा भोट दिन्छ त ? चुनावअघि पार्टीका अरू कार्यक्रम राख्न हुँदैन । चुनावमै केन्द्रित हुनुपर्छ । सतप्रतिशत समय, शक्ति र एकताका साथ चुनावमा जानुपर्छ । चुनावपछि पार्टी भित्रको प्रतिस्पर्धा गरौं न ।

कदाचित फागुनको चुनाव पर सर्ने अवस्था बन्यो भने पनि चुनावअघि महाधिवशेन गर्नै हुँदैन भन्ने तपाईंको निचोड हो ?

त्यो कदाचितमा अहिले प्रवेश गर्न चाहन्नँ । फागुनमा चुनाव हुन्छ भन्ने कल्पना गर्छु । २०८४ मा चुनाव भइदिएको भए अहिले महाधिवेशन गर्दा हुने थियो ।

तपाईंहरूले हस्ताक्षर नै फिर्ता गर्न दबाब दिनुभयो भन्ने आरोप थियो नि ?

गलत हो । लोभ देखाएर र दबाब दिएर हस्ताक्षर गराइएको भन्ने खबरहरू आएका छन् ।

विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षरले पार्टी संकटमा पुगेको तपाईंको विश्लेषण हो ?

यस्तै तरिका रह्यो भने त फुट्न सक्छ, त्यसतर्फ उहाँहरू जानु हुँदैन भन्ने मेरो मान्यता छ । पदाधिकारी, महामन्त्री कसैले पनि पार्टी फुटाउने खालको क्रियाकलाप गर्नु हुँदैन । पार्टीमा संकट आउन नदिन छलफल र एकता गर्न चाहियो ।

पूर्वपदाधिकारीहरूको एउटा गठजोड बनाउन तपाईंहरू संवाद गरिरहनुभएको छ । पार्टीमा सुधार नचाहने समूह भन्ने आरोप तपाईंहरूमाथि छ । किन यस्तो अवस्था बन्यो ?

१५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुन चाहनेहरूले चलाएको हल्ला हो यो । म त १४औं महाधिवेशनमै सभापतिको उम्मेदवार भइसकेको व्यक्ति हुँ नि । जिन्दगीभर संगठन निर्माणमा लागेको छु ।

मान्छेहरू असुरक्षित महसुस गरिरहेकै बेला अचानक दुई महामन्त्रीले विशेष महाधिवेशनको कुरा गर्न थाल्नुभयो । दुई महामन्त्रीले विशेष महाधिवशेन भनेर बडो आश्चर्यजनक भूमिका देखाउनुभयो ।

पूर्व पदाधिकारीहरूको भेटघाट छलफल अचेल रोकियो नि । किन ?

भदौ २३ र २४ पछिको समयमा आएको जटिलताले बैठक हुन नसकेको हो । चुनावलाई प्राथमिकता दिनको लागि एक भएर लाग्नुपर्छ । त्यो कोसिस हामी गरिरहेका छौं ।

तपाईंहरू पटकपटक छलफल गर्नुहुन्थ्यो । समूहमा भएको कुरा सभापति देउवालाई जानकारी गराउने पनि भन्दै आउनुभएको थियो । जनता सरकारसँग र कांग्रेससँग रिसाएका छन् है भनेर सभापतिलाई सुझाव दिनुभएन ?

हामीसँग जनता मात्र होइन कार्यकर्ता पनि रिसाएका छन् । एकअर्कासँग टाढिएका छौं ।

त्यही त, यही कुरा सभापतिलाई भन्नुभएन ?

भन्थ्यौं ।

तर, पनि सुधारको संकेत देखिएन ?

सुधारको प्रक्रिया भनेको जादुको छडी जस्तो हुँदैन । अहिलेसम्म देशमा जनताको अधिकार, सुशासन, प्रजातान्त्रिक प्रणाली, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको लागि सुधार गर्ने पार्टी कांग्रेस नै हो । अरू राजनीतिक दलहरूलाई कांग्रेसले अगुवाइ गरेको छ । कांग्रेसको स्थापनाकालदेखि लिएर अहिलेसम्म सुधारको क्रम जारी छ ।

अब नयाँ पुस्ता आउला । हामीभन्दा बुद्धिमान, हामीभन्दा समय बढी दिने, प्रविधिको प्रयोग गर्नसक्ने आउलान् । ध्वंश होइन, निर्माणका लागि प्रविधिको प्रयोग गर्ने व्यक्ति आउलान् । सुधार क्रमैसँग हुँदै जान्छ ।

तस्वीरहरू :  शंकर गिरी/अनलाइनखबर

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More