― Advertisement ―

प्रधान सदस्य ? तपाईंले प्राइम डे २०२६ अगाडी नै $३३५ नि:शुल्क लाभहरू प्राप्त गर्न सक्नुहुन्छ — कार्यक्रम अघि दाबी गर्नका लागि यहाँ ८ उत्कृष्ट...

Amazon प्राइम डे लगभग आइपुगेको छ, यस वर्षको बिक्री आधिकारिक रूपमा जुन २३ मा सुरु हुँदैछ। जबकि टेक हाउसको प्रमुख कार्यक्रमबाट सबै कुरालाई फ्ल्याग...
HomeLatest news‘महाधिवेशनबाट जो आए पनि एमालेको चरित्र बदलिँदैन’ – KhabarHost

‘महाधिवेशनबाट जो आए पनि एमालेको चरित्र बदलिँदैन’ – KhabarHost



नेकपा (माले) का संस्थापक महासचिव सीपी मैनाली नेपालगञ्जमा सम्पन्न छैटौं महाधिवेशनसम्म नेकपा (एमाले) मा थिए ।

२०५४ सालको त्यही महाविधेशनबाट वामदेव गौतम लगायतसँग मिलेर एमाले फुटाएर माले पुनर्गठन गरे ।  २०५६ सालको निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि वामदेव लगायत प्रायः सबै नेताहरू एमालेमा फर्किँदा मैनालीले मालेलाई निरन्तरता दिए  । उनै मैनालीसँग एमालेको महाधिवेशनबारे अनलाइनखबरका सन्त गाहा मगरले गरेको संवादको सम्पादित अंशः

 

एघारौं महाधिवेशनको संघारमा रहेको एमालेलाई आजको परिवेशमा कसरी मल्यांकन गर्नुहुन्छ ?

२०४९ सालमै एमालेले मार्क्सवादी सिद्धान्तलाई छाडेर जनताको बहुदलीय जनवाद (जबज) भन्ने उद्धार पूँजीवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त बनायो ।

नेताहरू देश र जनतालाई भन्दा व्यक्तिगत सम्पत्तिलाई प्राथमिकता दिनुको सैद्धान्तिक जग नै जबज हो । सरकारमा चुनाव गरेर पनि पुग्न सकिन्छ तर राज्य बदल्न जनताको बल चाहिन्छ जुन कुरा जबजले मान्दैन । राज्य र सरकार सम्बन्धी दृष्टिकोणमा चिप्लिएको हुनाले नेताहरूमा पूँजीवादी चरित्रका गल्ती कमजोरीहरू देखा परेका हुन ।

यहाँले सिद्धान्तलाई दोष दिनुभयो । जबज मौलिक सिद्धान्त होइन र ?

यो मौलिक होइन । सोभियत संघको नीतिबाट आजित भएका युरोपियन कम्युनिस्टहरूले १९७०–८० को दशकमा युरो–कम्युनिज्म भन्ने सिद्धान्त निकाले । जसले युरोपमा विकसित पूँजीवाद छ, पूँजीवादी प्रजातन्त्र सशक्त र व्यवस्थित छ । त्यसकारण पूँजीवादी प्रजातन्त्रको चुनावबाट नै सत्तामा गएर समाजवाद ल्याउन सक्छौं भनेको छ । तर त्यहाँ पनि पाँच–सात वर्ष पनि चल्न सकेन । त्यही असफल सिद्धान्तको फोटोकपी हो जबज । सुरेन्द्र ढकालले त युरोकम्युनिज्मको किताब मदन भण्डारीलाई मैले नै दिएको हुँ भन्नुहन्थ्यो । यो असफल सिद्धान्तको नक्कल हो, सफल सिद्धान्तको नक्कल गरेको भए पनि हुन्थ्यो । विश्व कम्युनिस्ट आन्दोलनमा जानकारी नराख्ने यहाँका कम्युनिस्ट र समर्थकले त्यसलाई पत्याएर मौलिक सिद्धान्त भनेका हुन, जुन लाजमर्दो कुरा हो ।

२०५१ मा मनमोहन अधिकारीको नेतृत्वमा बनेको नौ महिने सरकारमा यहाँ पनि मन्त्री हुनुहुन्थ्यो । जबजलाई मार्गनिर्देशक सिद्धान्त मानेको एमाले सरकारले ल्याएको ‘आफ्नो गाउँ आफै बनाऊँ’, ज्येष्ठ नागरिकलाई भत्ता जस्ता कार्यक्रम त आजपर्यन्त लोकप्रिय छ त ?

कुनै पनि सिद्धान्त व्यवहारमा रुपान्तरण हुन समय लाग्छ । मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्दा जबजको नीति लिएको दुई वर्ष पनि भएको थिएन । जतिबेलासम्म एमालेमा मार्क्सवाद रंगगन्ध केही बाँकी थियो ।  म स्थानीय विकास मन्त्री थिएँ । त्यही मन्त्रालयबाट आफैं गाउँ आफैं बनाउँ भन्ने नीति कार्यक्रम अगाडि सारियो ।

त्यसलाई कार्यान्वयन गर्न भरमग्दुर प्रयास गरें । यो कार्यक्रमको विरोधमा भएका कांग्रेस लगायतका साथीहरूलाई पनि समितिमा राखेर काम गरें । त्यो कार्यक्रम सामूहिक विचारबाट आएको थियो तर कार्यान्वयन गर्ने जिम्मेवारीमा म थिएँ । कार्यान्वयनको सफलताको भागीदार म पनि हुन्छु । पछि अरुले पनि नक्कल गरेर यस्तै कार्यक्रम लिए ।

आफ्नो गाउँ आफैं बनाऊँ, वृद्धभत्ता जस्ता कार्यक्रम ल्याउन मार्क्सवादी भइरहनै पर्दैन ।

विरोधीहरूले कम्युनिस्ट सरकार आयो भने ६० वर्ष पुगेकालाई गोली हानेर मार्छन् भनेर प्रचार गरे । त्यसलाई खण्डित गर्न ज्येष्ठ नागरिकलाई भत्ता दिने नीति ल्यायौं । यी दुबै काम गर्न मार्क्सवादी भइरहनै पर्दैन । अलिकति विवेक सम्मत् प्रजातन्त्रवादी वा राष्ट्रवादीले पनि लागु गर्नसक्थे ।

एमालेकै कारणले गर्दा पानी–बिजुली वितरणमा असमाजन राष्ट्रघाती सन्धि संसद्बाट पारित भएको होइन र ? हामीले त्यतिबेला कालीनदीको मुहान लिम्पियाधुरा नै हो भन्ने स्पष्ट पार्नुपर्छ भनेका थियौं । सन्धिमा ‘महाकाली नदीको अधिकांश भाग दुई मुलुक बीचको सीमा नदी’ भएको कुरा मात्र राखियो । २०७६ पुसमा आएर भारतले लिम्पियाधुरा, लिपुलेक, लिपुलेक लगायतका नेपाली भूभागलाई आफ्नोतिर नक्सा निकाल्यो । त्यो सबैभन्दा ठूलो राष्ट्रघात थियो ।

केपी ओली नेतृत्वको सरकारले २०७७ मा चुच्चे नक्सा जारी गर्‍यो । सन् १८१६ को सुगौली सन्धिमा उल्लेखित महाकालीको मुहान लिम्पियाधुरा नै हो भन्ने आधारमा नक्सा जारी गरेको देखिन्छ । यसहिसाबले हेर्दा एमालेले राष्ट्रवादी काम गरेको भएन र ?

चुच्चे नक्साका लागि ओलीलाई धन्यवाद । तर जसरी आफ्नो प्रतिष्ठाका निम्ति विदेश नीतिलाई प्रयोग गरिरहेका छन् त्यसले राष्ट्रलाई नोक्सान गरिरहेको छ ।

त्यसको बेग्लै कहानी छ । त्यतिबेला नेकपा भित्र को  भारतको निकट हुने भन्ने एक किसिमको प्रतिस्पर्धा थियो । ओलीलाई कसरी भारतबाट टाढा पुर्‍याउने भनेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नै दवाव दिएर छाप्दाछाप्दैको नीति तथा कार्यक्रममा चुच्चे नक्साको प्रसंग हाल्न लगाइयो ।

प्रचण्ड र माधव नेपालले नक्सा छापेपछि भारत ओलीसँग रिसाउँछन् भनेर त्यसो गर्न लगाएका थिए । त्यसो गर्दा  ओली भारतबाट टाढा र हामी नजिक हुन्छौं भन्ने खेल खेलेको बुझिन्छ ।

नक्सा छपाउन हाम्रो भूमिका छ भनेर प्रचण्ड र माधव नेपालले सार्वजनिक रूपमा कहिल्यै भनेनन् । भारतबाट विरोध भएपछि ओलीले पनि मैले मात्र कहाँ हो ?  माधव–प्रचण्डले दबाब दिएपछि गरेको हुँ भन्न थाले । नक्सा छापिएकोमा हाइहाइ भएपछि मैले मात्र गरेको हुँ भन्न थालेका हुन् । नेपाली जनता चुच्चे नक्साकै पक्षमा थिए ।

एमालेमा नीति होइन नेतृत्व समस्या हो भन्नेहरू पनि छन् । जस्तो २०५४ मा यहाँले वामदेव गौतमसँग मिलेर एमाले फुटाउनु भयो । मुख्य समस्या तपाईँहरू जस्ता नेताहरू होइनन् र ?

गलत कुरा लिएर जाने अनि हामीलाई दोष लगाउने ? नेपाली कांग्रेसको उदार पूँजीवाद र एमालेको उदार पूँजीवाद त एउटै छ । बरु कांग्रेसले उदार पूँजीवादलाई मार्गनिर्देशक सिद्धान्त त भनेको छैन । उहाँहरू त जबजलाई मार्गर्दशक मानेर हिंड्नु भएको छ ।

एउटा कम्युनिस्ट पार्टीले उजार पूँजीवाद मानेर हिंड्छ भने त्यो कम्युनिस्ट रहन्छ र ? सिद्धान्त नै गलत बोकेर हिंडेपछि सही कुरा गर्ने संभावना कम रहन्छ । वर्गीय दृष्टिकोण रहँदैन, जनताबाट अलग्गिन्छन् ।

एउटा अन्तर्वार्तामा यहाँले त्यतिबेला वामदेव गौतमको कुरा मानेर मैले वैचारिक संघर्षको प्लेटफर्म छोड्नुहुँदैनथ्यो भन्नु भएको थियो । समस्या सिद्धान्तमा भन्दा व्यक्तिमा रहेछ ?

म नयाँ जनवाद  र वामदेवजी जबजको पक्षमा थिए । उनले तपाइँले आफ्नो सिद्धान्त यो महाधिवेशनमा स्थगित गर्नुहोस्, एकीकृत महाकालीको सन्धिमा एकजुट भएर जाउँ भनेका थिए । त्यसो गर्दा नेतृत्वलाई पराजित गर्न र पार्टीबाट गल्तीबाट बचाउन सकिन्छ भन्ने उनको धारणा थियो ।

मैले उनको कुरा पत्याएर आफ्नो दस्तावेजलाई स्थगन गरें । तर त्यहाँ वामदेवजीले भने जस्तो भएन । विभिन्न खेलहरू भए । हामी अल्पमतमा पर्‍यौं । विभिन्न बार्गेनिङ भए । वास्तवमा त्यो महाधिवेशनमा पार्टी फोड्न उताउलो भएको माधव नेपाल हो । उनी वामदेवसँगै मलाई निकाल्न चाहान्थें ।

२०३९ सालमा उनीहरूले नै मलाई राजीनामा दिँदा पनि कारवाही गरेर हटाएका थिए । २०४६ सालको कात्तिकमा बसेको बैठकमा मलाई जे भनेर कारवाही गरिएको थियो त्यही भनेर आन्दोलन गर्ने निर्णय भयो । त्यसपछि मैले त्यतिबेलाको कारबाही फिर्ता लिनुस् भनेको मान्नु भएन, किनकी त्यो उनीहरूले कसैले लगाएर गरेका थिए ।

महासचिव (माधव नेपाल) नै पार्टी फुटाउन लाग्छन् र ?

त्यतिबेला वामदेव र मेरो समूहलाई ‘वासी (वामदेव–सीपी) गुट’ भन्थे । माधवजीले मसँग एक पटक पनि कुरा गर्न चाहनु भएन । किनकी म उहाँको तारोमा थिएँ । मलाई बढार्नका लागि फुट चाहन्थें ।

मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीले एमालेको नेतृत्व गरे । त्यसमध्ये कसको कार्यकाल सफल देखियो ?

सबै पेलाहा नै हुन् । २०३९ सालदेखि नै बहुमत भएपछि गाईलाई गोरु वा गोरुलाई गाई बनाउन सकिन्छ भन्ने सोच भएका मान्छेहरू त्यहाँ छन् । भिन्नता राख्ने कार्यकर्तालाई पेल्ने अराजनीतिक ढंगको व्यवहार छ ।

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा आउन रोक्नु गलत हो ।

स्वभाव र शैलीको हिसाबले केपी ओली अली अहंकारी, इखालु र महत्त्वकांक्षी हुन । शैलीकै कारणले बढी बदनाम भए । जसले गर्दा देश, एमाले र उहाँ स्वयमलाई पनि घाटा भयो ।

यो महाधिवेशनबाट केही फरक होला कि ?

न त त्यहाँ स्वच्छ चुनाव हुन्छ न त मान्छेहरू निर्वाचित भएर पदमा पुग्छन् । केपी ओलीका विरुद्ध ज-जसले चुनाव  लडे ती सबैले पार्टी छोड्ने स्थिति बन्यो । जस्तो माधव नेपाल, भीम रावल । ओली अहिले सोच, काम, विचार, बोली आदीले गर्दा अलोकप्रिय छन् र पनि अध्यक्ष पद छोडेका छैनन् । उनी नजिकका मान्छेहरू अहिले पनि एमालेको त्राणहार ओली नै हुन् भनिरहेका छन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कस्ता व्यक्ति हुन् ?

ईश्वर पोखरेल कोकेका पुराना र कर्मशील मान्छे हुन् । २०३३ सालदेखि कोर्डिनेशन केन्द्रमा थिए । एक्का–दुक्का भूल पनि गरे होलान् । तर उनी विचार दिने तहको वरिष्ठ मान्छे  हुन ।

आफ्नो पदीय शक्ति दुरुपयोग गरेर अब पनि ओलीले नै चुनाव जित्छन् भन्नेहरू छन् ।

ईश्वर पोखरेलले जितिहालओली नेतृत्वको भन्दा एमाले फरक होला ?

त्यस्तो त हुँदैन । किनभने एमालेले जबज ल्याएर मार्क्सवादलाई विस्थापन गरिसकेको छ । ईश्वर पोखरेलले उनकै कार्यालयमा कुरा गर्दा भूराजनीतिक कारणले गर्दा जबजलाई सिद्धान्त बनाउनु परेको बताएका थिए । उनले अहिले पनि जबज मार्गदिर्नेशक सिद्धान्त हो भनिरहेका छन् ।

उनी आएपनि मार्क्सवाद चिप्लिएको अवस्थामा त फरक आउँदैन । तर काम गर्ने तरिकामा  भिन्नता हुनसक्छ । सर्वसत्तावाद, प्रतिशोध, इख नराखेर विधान अनुसार चल्यो भने पार्टीको आन्तरिक जीवनमा खुकुलोपन आउनसक्छ । यद्यपि त्यो पार्टीको चरित्र बदलिँदैन । नयाँ नेतृत्व आयो भने पनि एमालेलाई पूँजीवादी चरित्रबाट बाहिर निकाल्छ भन्ने देखिँदैन ।

युवा पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने बहस सबै पार्टीमा छ । युवाको हातमा नेतृत्व गयो भने एमालेमा केही भिन्नता आउला ?

आउँदैन । अहिले जति छन् नि सबै जबज पक्षधर छन् । कोही मार्क्सवादी आउँछन् भने उमेर बढी भएका मान्छे आए पनि केही काम गर्ला ।

पूर्व राष्ट्रपति विद्या भण्डारीको एमालेमा फर्किएर राजनीति गर्ने चाहनालाई यहाँ के भन्नुहुन्छ ?

संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिमा आउनु हुन्न भनेको छैन । एमालेको विधानले पनि रोकेको छैन । एमालेले आन्तरिक रूपमा पनि त्यस्तो निर्णय गरेको थिएन । केपी ओलीको टीमले न रोकेको हो ।  विद्या भण्डारीलाई रोक्ने कुरा ठीक होइन । ७० वर्षे उमेर हद र दुई कार्यकाल भन्दा बढी पदमा बस्न नपाउने प्रावधानलाई त ओलीले नै नाघेका हुन । आफूले जे पनि गर्न हुने तर अरुलाई रोक्ने कुरा ठीक होइन । पूर्वराष्ट्रपति राजनीतिमा आउँदाका फाइदा बेफाइदा त हुने नै भयो तर रोक्ने कुरा चाहिँ गलत हो ।

तस्बिर/भिडिओ : चन्द्रबहादुर आले /अनलाइनखबर

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More