― Advertisement ―

Nvidia ईन्जिनियरहरूले कथित रूपमा AI मद्दतको साथ तीन गुणा बढी कोड मन्थन गर्छन्, तर उद्योग पर्यवेक्षकहरूले चेतावनी दिन्छ कि लाइनहरू बराबर मान्दैनन्।

कर्सरले Nvidia ईन्जिनियरहरू भन्दा तीन गुणा बढी कोड रिपोर्ट गर्छ अघिNvidia ले आउटपुटमा रिपोर्ट गरिएको बृद्धिको बावजुद दोष दरहरू समान रह्यो भन्ने कुरा राख्छAI-सहयोगी...
HomeLatest newsमधेशमा शृंखलाबद्ध हत्या – KhabarHost

मधेशमा शृंखलाबद्ध हत्या – KhabarHost



२१ माघ, जनकपुरधाम । १६ माघ दिउँसो ३ बजे सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भयो । गोली प्रहारबाट उनको घटनास्थलमै मृत्यु भयो ।

सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनार छेउमा रहेको आफ्नै खेतमा ट्याक्टरले खेत जोतिरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो । सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार यादवमाथि दुई राउन्ड गोली प्रहार गरिएको थियो । एक गोली छातीमा र अर्को पिठ्युँमा लागेको थियो ।

घटनामा संलग्न कसैलाई पनि हालसम्म पक्राउ गर्न नसकिएको र गोली प्रहारको कारण तथा अभियुक्तको पहिचान खुल्न नसकेको डीएसपी पालले जानकारी दिए ।

यो घटनापछि स्थानीय त्रसित छन् । ‘घटना भएको करिब डेढ घण्टापछि मात्र हामीलाई जानकारी आयो । खेतबाट करिब १०० मिटर टाढा काम गरिरहेका स्थानीयले समेत यसबारे केही बोल्न मानेका छैनन् । डराएका हुन् वा अन्य कारण के हो, स्पष्ट छैन,’ प्रवक्ता पालले भने, ‘यसले अनुसन्धानमा केही कठिनाइ भएको छ । तर दोषी पहिचानका लागि प्रयास जारी छ ।’

यो घटनाले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई असर पार्ने हो कि भन्ने भयसमेत सिर्जना भएको छ । तर, प्रवक्ता पाल भने मृतक कुनै राजनीतिक दलमा आबद्ध व्यक्ति नभएकोले यो घटनाले चुनावमा भय–त्रासको वातावरण सिर्जना नगर्ने तर्क गर्छन् ।

प्रेमनाथ यादवमाथि गोली प्रहार भएको स्थान ।

यो घटना हुनुभन्दा केही घण्टाअघि मात्र महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरकी ७३ वर्षीया रासोदेवी यादवको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो । निर्वस्त्र अवस्थामा मृत फेला परेकी उनी माघ १४ गते राति घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएकी थिइन् । परिवार र स्थानीयले खोजतलास गर्ने क्रममा घर अगाडिकै उखुबारीमा उनको शव फेला परेको थियो ।

शव र घटनास्थलको अवस्था शंकास्पद देखिए पनि पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले बताए । ‘घटनास्थलबाट कुनै ठोस प्रमाण फेला परेको छैन । बिहान मर्निङ वाकमा निस्किने गर्नुहुन्थ्यो भन्ने परिवारबाट जानकारी पाएका छौं । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थप कुरा खुल्नेछ,’ उनले भने ।

यस्तै, माघ १४ गते मध्यराति करिब २ बजेतिर बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडिहमा जगरुक मण्डलको घरमा एक समूह प्रवेश गरी अन्धाधुन्ध हतियार प्रहार गर्‍यो । उक्त घटनामा आमा र छोराको घटनास्थलमै मृत्यु भएको थियो भने बुबासहित तीन जना घाइते भएका थिए ।

घटनामा जगरुक मण्डलकी श्रीमती ४६ वर्षीया सुमित्रा देवी र ३१ वर्षीय छोरा रामईश्वर मण्डलको विभत्स हत्या भएको थियो । हतियार प्रहारबाट जगरुक मण्डल, उनकी २१ वर्षीया छोरी रिना कुमारी र २३ वर्षीया बुहारी मनिता घाइते भएका थिए । बुहारी मनितालाई भने सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडिहमा जगरुक मण्डलको घर ।

घटनापछि प्रहरीले मनितासहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । मनिता रामईश्वरकी श्रीमती हुन् । उनीसँगै बाराको प्रसौनी गाउँपालिका–७ का २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पनि पक्राउ गरिएको छ । धानुकलाई बारा जिल्लाको विश्रामपुर गाउँपालिका–४ मुसहरवाबाट भारत जाँदै गर्दा नियन्त्रणमा लिइएको हो ।

प्रारम्भिक अनुसन्धानमा मनिता र धर्मेन्द्रबीचको विवाहेत्तर सम्बन्धका कारण घटना घटेको खुलेको छ । ‘घटनामा अहिलेसम्म मनिता र रामईश्वरको संलग्नता रहेको खुलेको छ । अनुसन्धानमा अहिलेसम्म यी दुई बाहेक अन्यको संलग्नता देखिएको छैन । थप अनुसन्धान हुँदैछ,’ बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले भने ।

मनिता र रामईश्वर पति–पत्नी भए पनि उनीहरूबीच सम्बन्ध राम्रो नभएको र विगतमा पटक–पटक विवाद हुँदै आएको प्रहरीको भनाइ छ । वैदेशिक रोजगारका लागि यूएईमा रहेका धर्मेन्द्र माघ ११ गते मात्र नेपाल फर्किएर घटना घटाएको खुलेको छ ।

पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चुनाव पिरियड चलिरहेको बेला ४८ घन्टा भित्र श्रृंखलाबद्ध रूपमा भएका यी तीन घटना गम्भीर अपराधका घटनाले मधेशमा भय–त्रासको वातावरण बनिरहेको छ । यद्यपि, यी घटना पारिवारिक र व्यक्तिगत रिसइवीको कारण भएकाले राजनीति र चुनावसँग जोडेर हेर्न नमिल्ने भनाइ मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाको छ ।

‘यी घटनाहरू राजनीतिक होइनन् । घटनाको प्रकृति छुट्टै खालका छन् । राजनीतिसँग रिलेटेड भएको भए अर्कै कुरा हुन्थ्यो,’ उनले भने ।

मनिता र धर्मेन्द्र ।

मधेशमा ६ महिनामा ५६ जनाको हत्या

चालु आर्थिक वर्षको ६ महिनामा मधेश प्रदेशमा ५६ वटा हत्याका घटना भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशका ८ जिल्लामा ५६ जनाको हत्या भएको हो । मृतकहरूमध्ये २६ जना पुरुष र १८ जना महिला छन् । यस्तै, ९ जना बालक र ३ जना बालिका रहेको तथ्यांकमा उल्लेख छ ।

जिल्लागत तथ्यांकअनुसार सबैभन्दा बढी हत्या सप्तरी जिल्लामा भएको छ । सप्तरीमा १३ जनाको हत्या भएकोमा ५ जना पुरुष, ६ जना महिला तथा एक–एक जना बालक र बालिका छन् ।

त्यसैगरी, सो अवधिमा धनुषा र सिरहामा ९–९ जनाको हत्या भएको छ । धनुषामा ४ जना महिला, २ जना पुरुष, २ जना बालक र १ जना बालिका छन् । सिरहामा ४ जना पुरुष, ३ जना महिला तथा एक–एक जना बालक र बालिका रहेका छन् ।

रौतहटमा ८ जनाको हत्या भएको छ, जसमा ४ जना पुरुष, २ जना महिला र २ जना बालक छन् । पर्सामा ६ जनाको हत्या भएकोमा ३ जना पुरुष, २ जना महिला र १ जना बालक रहेका छन् ।

महोत्तरी र सर्लाहीमा ४–४ जनाको हत्या भएको छ । महोत्तरीमा ३ जना पुरुष र १ जना महिला छन् भने सर्लाहीमा ४ जना पुरुषको हत्या भएको तथ्यांक छ । सो अवधिमा सबैभन्दा कम बारामा ३ जनाको हत्या भएको छ, जसमा १ जना पुरुष र २ जना बालक छन् ।

यी घटनाहरूमा पारिवारिक विवाद, आपसी रिसइबी, सामाजिक सञ्जाल, लागुऔषध प्रयोगलगायत कारणहरू रहेको एक प्रहरी अधिकारी बताउँछन् ।

गत आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशमा ९९ जनाको हत्या भएको थियो । जसमा ५३ जना पुरुष र ३६ जना महिला छन् । यस्तै ५ जना बालक र ६ बालिका रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

आर्थिक वर्ष २०८०/०८१ मा मधेशमा १२७ जनाको हत्या भएको थियो भने आव २०७९/०८० मा १०९ जनाको हत्या भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More