― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsभारतले अमेरिकी डलर ‘सप्लाई’ नगर्दा रुपैयाँ हालसम्मकै कमजोर

भारतले अमेरिकी डलर ‘सप्लाई’ नगर्दा रुपैयाँ हालसम्मकै कमजोर


राष्ट्रिय

समाचार.

  • नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ र भारतले अमेरिकी डलरसामु भारु कमजोर हुन दिँदा यसको असर परेको छ।
  • भारत र अमेरिकाबीच व्यापार विवादका कारण डलर आपूर्ति बढाएर भारुलाई कमजोर हुनबाट बचाउने प्रयास नभएपछि नेपाली रुपैयाँ कमजोर भएको छ।
  • नेपाल राष्ट्र बैंकले बिहीबार १ अमेरिकी डलरको बिक्री दर १ सय ४४ रुपैयाँ ६१ पैसा कायम गरेको छ जुन हालसम्मकै उच्च विनिमय दर हो।

१८ मंसिर, काठमाडौं । नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । भारतले अमेरिकी डलरसामु भारु कमजोर हुन दिँदा नेपाली रुपैयाँ पनि कमजोर भएको हो ।

अमेरिकाको भन्सार नीति र भारत लगायत देशले अन्तर्राष्ट्रिय व्यापार बाहुल्य कम गर्ने सहमति गरेपछि भारु कमजोर हुँदै आएको छ । भारतले भारुलाई कमजोर हुन नदिन बजारमा डलर आपूर्ति गरेर सन्तुलनमा राख्न सक्थ्यो ।

तर, भारत र अमेरिकाबीच व्यापार विवादका कारण डलर ‘सप्लाई’ (आपूर्ति) बढाएर भारुलाई थप गिर्नबाट बचाउने प्रयास नै नगरेपछि त्यसको असर नेपली रुपैयाँमा पनि देखिएको हो ।

नेपाली मुद्राको विनिमय दर भारुसँग स्थिर अर्थात् १ सय भारु बराबर १ सय ६० नेपाली रुपैयाँ कायम गरिएको छ । भारतसँगको स्थिर विनिमय दरका कारण भारुमा हुने उतारचढाव आधारमा डलर र रुपैयाँको कारोबार हुन्छ ।

अमेरिकी डलरसँगको विनिमय दर पनि भारुमा परिवर्तन गरेर गणना हुने भएकाले डलर बलियो भएको असर नेपाली विनिमय दरमा देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।

रुस र युक्रेन युद्धका बेला पश्चिमा देशले रुसबाट इन्धन आयात नगर्ने निर्णय गरे । त्यससँगै रुसलाई पश्चिमा देशले ऋण बक्यौता पनि भुक्तानी गर्न दबाब दिएका थिए । सोही समयमा भारतले भारु र रुसले रुबेलमा कारोबार गर्ने गरी कच्चा तेल आयात गर्दै आएको छ ।

भारतले रुससँग स्थानीय मुद्रामा व्यापार सुरु गरेपछि अमेरिका रुष्ट हुँदै आएको थियो । त्यसपछि अमेरिकाले भारतबाट निर्यात हुने वस्तुमा ५० प्रतिशत भन्सार शुल्क कायम गरेपछि भारतमा विदेशी लगानी फिर्ता हुने क्रम बढ्न थालेको छ ।

भारतमा प्रत्यक्ष वैदेशिक लगानीमा कमी आउनुका साथै फिर्ता हुने क्रम बढ्यो । त्यसले डलरको माग बढाउँदा भारु कमजोर भएको पौडेलको भनाइ छ ।

साथै, विश्व राजनीति अस्थिर हुँदा डलरमा लगानी बढेको पौडेलले बताए । तर, भारुको मुद्रास्फीति स्थिर छ, जीडीपी वृद्धि राम्रो भएकाले भारुमा आएको गिरावटले खासै असर नगर्ने उनको भनाइ छ । तर, भारतसँगको स्थिर विनिमय दर प्रणालीले नेपाली मुद्रालाई असर गर्ने उनले बताए ।

नेपाली मुद्रा कमजोर हुँदा रेमिट्यान्स प्राप्त गर्ने परिवारको आम्दानी बढेको उनको भनाइ छ । ‘पर्यटन उद्योग, निर्यातहरूमा नेपाली रुपैयाँ कमजोर हुँदा फाइदा हुन्छ,’ पौडेलले भने,‘ नकारात्मक पक्ष भनेको वैदेशिक ऋणको किस्ता, साँवा तिर्न महँगो पर्छ ।’

तेस्रो मुलुकसँगको व्यापार र पर्यटन महँगो हुन जान्छ । इलेक्ट्रोनिक्स गुड्सको मूल्य बढ्छ । यसले अलिकति मुद्रास्फीतिमा पनि चाप पार्न सक्ने पौडेलको बुझाइ छ ।

नेपालीका लागि विदेश यात्रा महँगो हुनुका साथै विद्यार्थीले लैजाने रकम बढ्न जाने उनको भनाइ छ । आयातमा आधारित देशलाई मुद्रा कमजोर हुँदा नोक्सान धेरै हुने उनको बुझाइ छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दरका आधारमा १ अमेरिकी डलरको बिक्री दर १ सय ४४ रुपैयाँ ६१ पैसा र खरिद दर १ सय ४१ रुपैयाँ १ पैसा कायम भएको छ । यो विनिमय दर हालसम्मकै उच्च हो । त्यसैगरी बिहीबार एक अमेरिकी डलर बराबर ८८.८९ भारु कायम छ ।





Read More