राष्ट्रिय
समाचार.
- नेपाल जनरल मार्केटिङले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दुरुपयोग गरेको पाइएको छ।
- लेखा परीक्षकले एनजीएमको कारोबार मिलान नठिक भएको भन्दै आफ्नो डिस्क्लेमर राखेको छ।
- राष्ट्र बैंकको अनुमति नलिई कर्जा लगानी गरेकाले एनजीएममाथि कारबाही हुनसक्ने स्रोतले दाबी गरेको छ।
२५ कात्तिक, काठमाडौं । व्यापारिक घराना ज्योति समूह अन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम) ट्रेडिङले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दुरुपयोग गरेको पाइएको छ ।
एनजीएमले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा धेरै ब्याजदरमा अन्य संस्था तथा व्यक्तिलाई कर्जाकै रूपमा लगानी गरेको पाइएको हो ।
पछिल्लो समय घरायसी विवादका कारण चर्चामा रहेका डा. रूप ज्योति अध्यक्ष रहेको ज्योति समूहको एनजीएमले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा कानुन विपरीत परिचालन गरेको हो । त्यसमा कर्जा लिएको कम्पनीको पैसालाई संस्थापकले आफूखुसी प्रयोग गर्न तथा कर्जा लगानी गर्दै आएको छ ।
कम्पनीको लेखा परीक्षकले समेत एनजीएमको कारोबार तथा हिसाब मिलान ठिक नभएको भन्दै आफ्नो असहमति पनि जनाएको छ । सोही अनुसार लेखा परीक्षकले लेखा परीक्षण प्रतिवेदनमा पनि आफ्नो ‘डिस्क्लेमर’ राखेको स्रोतले जानकारी दियो ।
‘लेखा परीक्षकले समेत अस्वीकार गरेको प्रतिवेदन कम्पनीले सरकारी निकायमा बुझाएको देखिन्छ,’ स्रोतले भन्यो,‘ लेखा परीक्षण प्रतिवेदन हेर्दा आयकर ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन तथा बैंकिङ कसुर सम्बन्धी ऐन विपरीत काम गरेको देखिन्छ ।’
स्रोत अनुसार ब्याज आम्दानीलाई विवरण नदेखाएकाले आय कर ऐन विपरीत, विनाअनुमति कर्जा प्रवाह गर्ने काम गरेकाले राष्ट्र बैंक ऐन र कर्जाको दुरुपयोग गरेकाले बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन विपरीत काम गरेको देखिन्छ ।
स्रोतका अनुसार कम्पनीको कारोबार सम्बन्धी गतिविधिका आधारमा महालेखा परीक्षक, ठूला करदाताको कार्यालय तथा नेपाल राष्ट्र बैंकबाट कारबाही हुने सम्भावना छ ।
आयकर छली सन्दर्भमा ठूला करदाताको कार्यालय र कर्जा दुरुपयोग तथा कर्जा लगानीका सन्दर्भमा राष्ट्र बैंकमार्फत आवश्यक कारबाही हुन सक्ने स्रोतको दाबी छ ।
एनजीएमले सरकारी निकायमा बुझाएको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा समेत कैफियत देखिएको कार्यालयका एक अधिकारीले बताए ।
एनजीएमले बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा दीर्घकालीन र अल्पकालीन कर्जा लिएको छ । उक्त कर्जालाई कम्पनीका सञ्चालकले आफूखुसी प्रयोग गर्ने र कर्जामै लगानी गर्ने गरेको प्रतिवेदनमा उल्लेख रहेको स्रोतको भनाइ छ ।
‘कम्पनीले कर्जा रकमलाई पनि अन्य कम्पनी तथा व्यक्तिलाई कर्जा अर्थात् ब्याज लिने गरी लगानी गरेको देखिन्छ,’ स्रोतले भन्यो, ‘उक्त व्यापारिक समूहले अधिक ब्याज असुली गरेका कारण अदालतमा मुद्दाहरू समेत खेप्दै आएको देखिन्छ ।’
एनजीएमले आव २०७९/८० मा बैंक तथा वित्तीय संस्था एवं व्यक्तिबाट करिब ३ अर्ब २९ करोड कर्जा लिएको छ । त्यसमध्ये करिब १ अर्ब रुपैयाँ ब्याज आम्दानीको कर्जा लगानी गरेको देखिन्छ ।
एनजीएमले बैंक तथा वित्तीय संस्थाबाट ३८ करोड ५६ लाख रुपैयाँ टर्म लोन लिएको छ भने ७८ करोड २८ लाख डिमान्ड लोन, ६९ करोड १० लाख सर्ट टर्म लोन, १ अर्ब २ करोड बराबर ओभरड्राफ्ट र ४ करोड रुपैयाँ मार्जिन लोन लिएको छ ।
त्यसपछि कम्पनीले संस्थाबाट पनि कर्जा लिएको छ भने १२.२५ प्रतिशतसम्मको ब्याजदरमा सर्वसाधारणबाट पनि कर्जा लिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
उक्त अवधिमा कम्पनीसँग नगद र बैंक मौज्दात गरेर १९ करोड २६ लाख रुपैयाँ छ । यसमध्ये कम्पनी व्यवस्थापनले प्रमाणीकरण गरेको १५ करोड नगद छ भने ४ करोड २३ लाख बैंक मौज्दात छ ।
कुनै पनि संस्थाले कर्जा लगानी तथा निक्षेप संकलन गर्न राष्ट्र बैंकको अनुमति अनिवार्य हुने राष्ट्र बैंक प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।
पौडेलका अनुसार हायर पर्चेज तथा मार्जिन लेन्डिङको काम गर्ने कम्पनीले समेत राष्ट्र बैंकबाट अनुमति लिएको पौडेल बताए ।
‘केन्द्रीय बैंकको अनुमति नलिई कर्जा दिने वा निक्षेप लिने काम गरे राष्ट्र बैंक ऐन अनुसार कारबाही हुन्छ,’ पौडेलले भने ।
ऐन अनुसार केन्द्रीय बैंकको अनुमति नलिई कर्जा लिने वा निक्षेप दिने काम गरे बिगोको तीन गुणा जरिबाना र ७ वर्षसम्मको जेल सजाय हुने ऐनमा उल्लेख छ ।
ज्योति समूहको अध्यक्षमा रूप ज्योति, एनजीएमको अध्यक्षमा उनका छोरा अभिक ज्योति र उपाध्यक्षमा छोरी सुरुचि ज्योति छन् ।
एनजीएमले हिरो कम्पनीका दुई पाङ्ग्रे मोटरसाइकल आयात तथा बिक्री वितरण गर्दै आएको थियो । गत वर्षदेखि उक्त कारोबार पनि चौधरी गु्रपले लगेको छ । हाल एनजीएमले विद्युतीय दुई पाङ्ग्रे सवारी आयात तथा बिक्री वितरण गर्छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

