― Advertisement ―

सैमसंगले HBM4 मेमोरी 11.7Gbps गतिमा पठाउँछ र प्रारम्भिक उद्योग नेतृत्वको दाबी गर्दछ

Samsung ले व्यावसायिक HBM4 AI शिप मेमोरी प्रतियोगिताको रूपमा सुरु गर्छ माथिHBM4 ले 11.7Gbps स्पीडमा पुग्छ जबकि डाटा सेन्टरहरूको लागि उच्च ब्यान्डविथ र दक्षता...
HomeLatest newsबेलायतको वर्क परमिट भिजा दिलाइदिने नाममा बढ्यो ठगी

बेलायतको वर्क परमिट भिजा दिलाइदिने नाममा बढ्यो ठगी



२१ पुस, लन्डन । बेलायतको वर्क परमिट भिजा दिलाइदिने नाममा नेपालीहरुबाटै नेपाली ठगिने क्रम बढेको छ ।

अहिले बेलायतमा असाइलम केस, वर्क परमिट स्पोन्सरसीपदेखि जागिर र कोठा मिलाइदिने भन्दै कयौं नेपालीले नेपालीहरुबाट करोडौं रकम ठग्ने प्रवृत्ति झन् फस्टाइहँदा नेपाली दूतावासले समेत चासो व्यक्त गरेको छ ।

यो ठगीबाट उल्लेख्य संख्याका विद्यार्थी मात्र नभई गैरविद्यार्थी पनि सिकार बनेका छन् । यस्ता ठगीका कारण लाखौं रकम मात्र गुमेको छैन, सम्बन्धित व्यक्ति र उसको परिवार समेत ठूलो मानसिक तनावमा पर्नुपरेको छ ।

लन्डनस्थित नेपाली दूतावासले यसप्रति सजग रहन अपिल गरेको छ । दूतावासले एक सूचना जारी गर्दै कामका लागि स्पोन्सरसीप खोजिदिने बहानामा उल्लेख्य नेपालीहरु ठगीमा परेका गुनासा दूतावासमा प्राप्त भएको जनाउँदै ठगीबाट बच्न सचेत रहन अपिल गरेको हो ।

दूतावासले जनाए अनुसार ठगीमा पर्नेहरु कतिपय नेपालबाट संयुक्त अधिराज्य (यूके) आउन चाहनेहरु छन् भने कतिपय यूकेमै रहंदै आएका नेपाली समेत छन् ।

‘ठगी गर्नेहरु कतिपय नेपालीमूलका व्यक्तिहरु नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरुमार्फत तेस्रो मुलुकका व्यक्तिहरुसंगको सम्पर्कमा पुगी ठगीमा परेकाहरुको गुनासो पनि आएको छ’, राजदूतावासले सूचनामा भनेको छ’, ‘यस किसिमको संगठित अपराधमा धेरै व्यक्तिहरु प्रत्यक्ष परोक्ष रुपमा संलग्न रहने, उनीहरुले आफ्नो सक्कल पहिचान लुकाउने र फरक नामबाट आफूलाई चिनाउने, घर बासस्थानको ठेगाना नदिने नखुलाउने, सम्पर्क नम्बरहरु परिवर्तन गरिरहने र रकम ठगी गरि सम्पर्कविहीन हुने गर्दछन् ।’

दूतावासले त्यस्ता व्यक्तिले यूकेको कानूनी कारवाहीबाट बच्न र ठगीको प्रमाण नछोड्नका लागि नेपालमा नै रकम असुल गर्ने र यूकेमा पनि बैंकमार्फत कारोबार गर्ने नगरेको भेटिएको जनाएको छ ।

यस्ता किसिमका अपराधहरु नेपाल र संयुक्त अधिराज्य दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरु तथा यूकेमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ ।

समस्यामा परेका नेपालीलाई दूतावासको इमेल info@nepembassy.org.uk वा +४४–७४०४९३९२७४ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले पछिल्लो समय लन्डनस्थित नेपाली दूतावासलाई ठगीबारे धेरै गुनासो प्राप्त भएको बताए ।

‘ठगीको सिकार हुनुभन्दा पहिले नै राम्रोसंग बुझौं र विचार गरौं, पर्याप्त सूचना र जानकारीबिना यस्तो बाटो हिंड्दै नहिंडौं’, दुवाडी भन्छन्, ‘आवश्यक हुन्छ भने कानूनविद्, सोलिसिटर वा दूतावासजस्ता आधिकारिक निकायहरुमा सम्पर्क गरेर सोधीखोजी गरौं र उचित सल्लाह लिऔं ।’

उनले ठगी बढेकामा चिन्ता व्यक्त गर्दै आवश्यक परे ठगहरुको सूची नै सार्वजनिक गरेर उनीहरुमाथि कारबाहीका लागि पहल गर्न दूतावास तयार रहेको समेत जनाए ।

कार्यवाहक राजदूत दुवाडीले ठगीबाट पीडितहरुलाई प्रमाणसहित आउन अपिल गर्दै आवश्यक अनुसन्धान र कारबाहीका लागि दूतावासले सक्दो सहजीकरण गर्ने प्रतिवद्धता गरेका छन् ।

ठगीको गुनासो बढेपछि यसअघि नै वैदेशिक रोजगार विभागले पनि यसअघि नै सूचना जारी गर्दै सचेत हुन आग्रह गरेको छ ।

 





Read More