― Advertisement ―

उत्तर कोरियाको लाजरसले धोखाधडी लेनदेन प्रयोग गरेर कोषहरू लुटेपछि केल्प DAO हिस्टमा $ 290M क्रिप्टोको साथ बन्द गर्यो।

LazaryZer Group मा Laazarus explore Kelp DAOआक्रमणकारीहरूले क्रस-चेन लेनदेनहरू प्रमाणित गर्ने सर्भरहरू सम्झौता गरे, नक्कली स्थानान्तरणहरू अनुमोदन गर्न गलत डाटा फिडिङलेयरजीरो र केल्प DAO...
HomeLatest news‘बालेनको उदयले युवामा चेतनाको झिल्को बाल्यो, अब राँको बन्दैछ’

‘बालेनको उदयले युवामा चेतनाको झिल्को बाल्यो, अब राँको बन्दैछ’



पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्रीबाट हट्नुपर्‍यो । सूर्यदर्शन सहकारी ठगीकै विषयले रविको कारागार यात्रासमेत सुरु भयो ।

२०८१ कात्तिक २ गते काठमाडौंबाट  पक्राउ परेका रवि पुस २५ गते सहकारी ठगी प्रकरणमा ६५ लाख रूपैयाँ बझाएर धरौटी रिहा भए । तर ग्यालेक्सी मिडियामार्फत सहकारीको रकम हिनामिना गरेको आरोप रविलाई लाग्दै गयो ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा पुस ४ गते बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएपछि रविले नेपालको राजनीतिमा हलचल ल्याइरहेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमै तारिख बुझ्न बुधबार पोखरा आइपुगेका रविले राजनीतिक भेटघाटसमेत गरे । उनले प्रतिशोध साध्ने पुराना नेताहरूलाई जेनजी आन्दोलनको जगमा पाखा लगाउने उद्घोष गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीच भएको ७ बुँदे सहमतिले देशमै राजनीतिक तरंग ल्यायो । उनीहरूको मिलनले ठूला र परम्परागत दलहरूलाई पनि नजिक्यायो ।

रवि–बालेनसँगै सरकारका भौतिक पूर्वाधार, ऊर्जा मन्त्री कुलमान घिसिङको संरक्षकत्वमा खुलेको उज्यालो नेपाल पार्टीलाई पनि मिल्न दबाब दियो । जेनजी आन्दोलनका अभियान्ता सुदन गुरुङकै जोडबलमा कुलमानसँग पनि ७ बुँदे सहमति भएपछि पुराना दलहरू झस्किएका थिए ।

तर, निर्वाचन आयोगमा सोमबार समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसदका उम्मेदवारहरुको बन्द सूची बुझाएको रास्वपाले त्यसपछि आलोचना खेपिरहेको छ ।

समानुपातिकको कोटामा राजनीतिक शक्ति र सत्ता आर्जनको माध्यम बनाइएको भन्दै रास्वपाको आलोचना भइरहेको छ । चर्चित सेलिब्रेटी तथा कलाकारहरु नै सम्बन्धित समुदाय र भुँइतहका आवाज लिएर जाने प्रतिनिधिहरूको मर्मलाई चिरहरण गरेको आरोपसमेत लागिरहेको छ ।

सामनुपातिकतर्फको बन्द सूचीमा परेका उम्मेदवार, बालेन–कुलमानसँगको एकता, अबको चुनाव र त्यसको अंकगणितका विषयमा रास्वपा सभापति रवि लामिछानेले पोखरामा पत्रकारसँग प्रश्नोत्तर गरे । प्रस्तुत छ, रविसँग भएको प्रश्नोत्तर–

समानुपातिक प्रणालीको मर्म र भावनाविपरीत चर्चामा रहेका र धनाढ्यहरूलाई समावेश गरेर पठाइएपछि आलोचना भइरहेको छ, किन यस्तो गरियो ?

हामी नयाँहरू एक ठाउँमा उभिएर जाने निर्णय अलिकति छोटो समयमा भयो । जसका कारण तयारीमा समय नपुगेको हो । सार्वजनिक चासोमा आउनुभन्दा अगाडि नै यसलाई रिभ्यु गर्ने समय हुन्छ भन्ने थियो । किनभने कुलमानजीसँग त हामीले यता सूची बनाउनु छ, यता सहमति गर्दै थियौं । रास्वपासँग विधि छ, विधिभन्दा बाहिर कुनै हालतमा जाँदैन ।

परिवारवादमा रास्वपा स्पष्ट छ, विधानले नै दिँदैन । कथंकदाचित यी सबै विधिहरू नाघेर कोही जानु नै भएछ भने पनि राइट टू रिकलको व्यवस्था विधानले गरेको छ । यसको अभ्यास अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा गरेकै हौं । समयले गर्दा अझै २ दिन अरू पनि केही विवाद आउँछन् कि भनेर वेट गरिराखेका छौं । अब २ दिनमा जति पनि देखिएका जायज मागहरू छन्, सबै सम्बोधन गर्छौं । बोक्न पर्ने एउटा पनि मान्छे छैन पार्टीले । म साथीहरूलाई निर्धक्क भन्छु, लोकतन्त्रको सुन्दरता यो हो कि गुनासो आएपछि समाधान गर्ने अभ्यास हामीबाट सुरु भएको छ । यो खबरदारी हाम्रा लागि सुवर्ण अवसर हो । त्यसका लागि धन्यवाद दिन चाहन्छु । तर कुनै पनि समस्या आउनेवाला छैन ।

क्रमसंख्या त सच्याउनुहोला तर रोज्दाखेरी नै चर्चामा रहेका, अलि बढी धनाढ्य पात्रहरू रोजेको देखियो नि ?

नेपाल सबै तप्का, वर्ग, पेसा, व्यवसायमा भएका मान्छेहरूको राजनीतिमा रुचि भएको राष्ट्र हो । जुन किसिमको राजनीति देशमा चल्यो, त्यसले राजनीति नगर्ने मान्छेहरूलाई पनि जुर्मुराएको हो । यो पुरानो दलको दबदबा हटाउनका लागि सबै अगाडि बढेको यो, संयोग हो । त्यसकारण यसलाई अन्यथा लिनु हुँदैन ।

अन्यथा भएछ भने सच्याउने ठाउँहरू छँदै छन् । व्यापार–व्यवसाय क्षेत्रका ४ जना जति साथीहरू हुनुहुन्छ । उहाँहरूको पनि कुनै किसिमको संविधानले नदिएको, गैरकानुनी वा आपराधिक क्रियाकलापको पृष्ठभूमि रहेछ भने विधान, विधि पनि छ नि ।

तपाईंहरूले बुझाएको बन्द सूची हेर्दा चितवन र मोरङमा यतिधेरै समानुपातिक उम्मेदवार कसरी भए, किन भए ?

तपाईंहरूले समाचार पढ्नुभयो होला । ४ कि ६ जना छन् । हामीले हेर्‍यौं, कतिपयको पहिले नै नाम लेखिएको हुँदा जस्तो पठाउनुभयो, त्यस्तै गएको हुनसक्छ । मैले चेक गरें, चितवनका ४ देखि ६ जना छन् ।

प्राइमरी इलेक्सनमा अगाडि आउनेलाई पनि पारिएन, पछाडि पारियो भन्ने आरोप छ नि ?

प्राइमरी इलेक्सनको विधिलाई हेर्न जरुरी हुन्छ । भोटिङको वेटेज नै सम्पूर्ण होइन । सबै मान्छे आफ्नो सदस्य बनाएर भोटै हालिदिनुभयो भने त स्वयं निर्वाचित हुनुभयो नि त । त्यस कुरालाई पनि मध्यनजर राख्दै वेटेज राखेको छ, ५० प्रतिशत मात्र भेटिङबाट हुने हो । भोटिङबाट जितेका थिए भन्ने भइरहेको छ, त्यस्तो होइन । यसमा समस्या छ भने हल गर्छौं ।

विधिभन्दा बाहिर गएर बोक्नुपर्ने एउटा पनि मान्छे रास्वपासँग छैन । नयाँ सबै आउनुभएका साथीहरू अब रास्वपा हो । हिजो उहाँहरू कहाँ हुनुहुन्थ्यो, के गर्नुहुन्थ्यो बेग्लै कुरा हो । रास्वपाले विधिलाई नै प्राथमिकता दिन्छ । विधिमा समस्या छैन म भन्दिन, छन् । तर, त्यसलाई समाधान गर्छौं ।

१०० प्रतिशत म ग्यारेन्टी गर्दिनँ, बढीभन्दा बढी सच्याउने कुरामा हामी छौं । जुन कुरा अहिले सच्याउनुपर्ने भनेर आएका छन् नि त्योभन्दा ठूलो समस्या त देखेका छौं । कतिपय साथीहरूलाई उम्मेदवारी फिर्ता लिनुपर्छ है, प्रत्यक्ष लड्न जानुपर्छ पनि भनेको छु । निर्देशन दिने तहमा पुग्यो भने पनि म निर्देशन दिन्छु । यसमा कुनै चिन्ता लिनु पर्दैन । अर्को कुरा जुन सार्वजनिक चासो, आम गुनासो आयो नि, हामीले खोजेकै यही त हो । लोकतन्त्रमा मजबुत हुने नै यसरी हो नि ।

पुराना दलभित्र समानुपातिकमा रहेका एक/एक मान्छेलाई केलाएर अहिले जसरी प्रश्न गरिएको छ, हामीले हिजोदेखि प्रश्न गर्न सकेको भए, खबरदारी गर्न सकेको भए लोकतन्त्र यति ठूलो मजाकको विषय बन्ने थिएन । आज तपाईँहरुले चिन्ता गर्नुभएको खेलाडी आए, कलाकार आए, पत्रकार आए । आए नि, देश बचाउन किन आउँदैनन् ? जतिखेर देश संक्रमणकालीन अवस्थामा पुग्छ, देशलाई प्राण भर्छु भनेका मान्छेले काम नगरेपछि सबै आउनुपर्छ । एकदमै हतार र ध्रुवीकरणले हामीसँग समय नै थिएन । तर सच्याउने समय हामीसँग छ । नयाँ पनि उस्तै भन्ने अवस्था रहँदैन । बन्दसूचीमा पर्न नहुने मान्छे परेको रहेछ भने त्यो नाम काटिन्छ ।

त्यस्ता मान्छे समानुपातिकमा परे भन्ने तपाइँलाई चाहिँ लागेको छ कि छैन ?

छ । मैले निर्देशन नै दिइसकेको छु । लागिसकेको छु र मैले भनिसकेको पनि छु । अरु दलमा भन्दा हामीमा धेरै प्रश्न आउनु भनेको जनताले हामीमाथि विश्वास गरेका हुन् नि । रास्वपाले गडबड हुन दिँदैन, निर्धक्क हुनुहोला । नाम काटिँदा बरु १०० जनाको नाम जान्छ भने पनि जाओस् ।

लोकतन्त्रको आधारभूत मान्यता र समानुपातिक, समावेसिताको मर्मभन्दा विपरीत गएर हामी केही पनि गर्दैनौं । हिमाल, पहाड, तराई सबैको उपस्थिति छ । चर्चित मान्छेहरूमा तपाईं हाम्रो ध्यान गएको हो । नियत खराब छैन ।

तपाईंले आफूमाथि लागेको फौजदारी अभियोगका कारण प्रधानमन्त्रीमा बालेनलाई अगाडि सार्नुभएको हो ?

मलाई मुद्दा थिएन भने पनि गर्नुपर्ने यही नै थियो । म के स्पष्ट पार्छु भने युवाहरूमा राजनीतिक चेतना ल्याउनका लागि काठमाडौंका मेयरका रूपमा बालेनको उदय पछाडि परिवर्तनको झिल्को बलेको हो । अब राँकोको रूप दिँदैछौं । युवाहरूको आन्दोलनपश्चात् काठमाडौंका मेयर साबले जुन जिम्मेवारी देखाउनुभयो, त्यसका आधारमा पनि सहमति भएको हो । उहाँको संलग्नता नभए पनि कहीँ न कहीँ उहाँको सद्भाव, सुझाव र सल्लाहको बलमा यो सरकार बनेको पनि हो ।

जेनजीको विश्वासको पात्र पनि त अरू दलका नेताहरूभन्दा बालेनजी हुनुहुन्थ्यो नि । नयाँ परिवर्तनको झिल्को लिएर आएको मान्छेका रूपमा, युवाहरूले आन्दोलन गरेको र युवाहरूले सर्वाधिक रुचाएको व्यक्तिको रूपमा पनि प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनुपर्छ ।

अबको निर्वाचनमा तपाईंको उम्मेदवारी र भूमिकाको योजना चाहिँ के हो ?

षडयन्त्रको निर्वाचनबाट पनि डिपार्चर लिने हो हामीले । चुनाव अगाडि गठबन्धन गर्ने, आफ्नो चुनाव चिह्नभन्दा बाहिरको लागि मत माग्ने काम रास्वपाले गर्दैन । रास्वपाको चुनाव चिह्न घन्टी हो, अरू उम्मेदवार हाम्रा छैनन् । चुनावी गठबन्धनले लोकतन्त्रको जुन हुर्मत लिइएको छ, हामी त्यसबाट बाहिर जान चाहन्छौं ।

जिम्मेवारी बाँडफाँटको कुरामा भोलि छेउमा बसेर मैले यसो गर्न पाए हुन्थ्यो, यसलाई हाल्न पाए हुन्थ्यो भन्ने त्यो षडयन्त्रको युगबाट पनि बाहिर निस्कन चाहन्छौं । त्यसैले हामी कसरी चुनाव लड्छौं, हाम्रो प्रधानमन्त्री को हो भन्ने स्पष्ट पारेर गएका हौं । मेरो उम्मेदवारीको कुरा त त्यस्तो ठूलो कुरा होइन । चितवन–२ बाटै उम्मेदवार हुने हो । तर पार्टीमा सरसल्लाह गर्दा केही भन्नुभयो भने बेग्लै कुरा हो ।

लोकतन्त्र, गणतन्त्र, संघीयता जस्ता विषयमा तपाईंहरूको विगतका अभिव्यक्ति स्पष्ट थिएनन् । खास तपाईंहरूले गर्न, बनाउन चाहेको कस्तो हो ?

हाम्रा राजनीतिक प्रतिवेदनहरूमा यी कुरा स्पष्ट छन् । रास्वपाका जन्मदेखि आजसम्म विभिन्न विवादमा पारियो । हाम्रा कुराभन्दा बढी हाम्रा विवादले स्थान पाए । आम नागरिकमा जाने सन्देश हामी जोडिएका विवादले प्राथमिकता पाए । नीति, सिद्धान्त, आदर्श केही छैन भन्दै आइएको छ । ती साथीहरूसँग समय छैन, हाम्रा दस्तावेज पढ्न ।

हामीले सबैभन्दा बढी गरेको पेचिलो प्रश्न देशको संरचनाको विषय थियो । बोझिलो र पार्टीका नेता व्यवस्थापन गर्ने जुन प्रदेश संरचना छ, रेक्ट्रोफिट हुनुपर्छ भन्ने कुरामा जोड लगाएका छौं । अन्य शासकीय स्वरूपका विषयमा पनि हामीले प्रश्न गरिरहेका छौं, हाम्रो सामर्थ्य पुगेका दिनमा प्रत्यक्ष कार्यकारीको विषय उठाउँला, यो त बहसको विषय हो ।

हामीले त्यसमा सघन छलफल गर्नुपर्छ । सबै राजनीतिक दल, स्टेकहोल्डर्स बसिसकेपछि हाम्रो अनुभवले यो गर्दा कहाँ पुग्छौं त्यो त्यसपछिको कुरा होला । हाम्रा कागजात, हाम्रा सिद्धान्त र नीति मिलेपछि मात्र सहमति गर्ने निष्कर्षमा पुगेर सम्झौता गरेका हौं । हाम्रो देशको शासकीय संरचना कस्तो हुन्छ भनेर हामीले अघिल्लो बाचापत्रमै स्पष्टसँग पनि भनेका छौं । धेरै मानिसका रगतले सिन्चिएर बनेको संविधान हो, फेरि पनि यी विषयले व्यापक छलफलको माग गर्छ ।

अहिलेकै निर्वाचन प्रणालीअनुसार कुनै पनि दललाई बहुमत ल्याउन सजिलो छैन । तपाईंहरूले हिसाब गरेको अंकगणित के हो ? फेरि पुरानै दलसँग सहकार्य गर्नुपर्ने स्थिति पनि आउन सक्ला, के छ प्रक्षेपण ?

नेपाली नागरिकले धेरै साथीहरूलाई नेताका रूपमा, पार्टीका रूपमा आशा गर्नुभएको छ । अधिकांश मानिसले आशा र भरोसा गरेका मानिसहरूलाई एक ठाउँमा उभ्याइसकेपछि ठूलो परिवर्तन गर्नसक्ने राष्ट्रिय सपना, इच्छा, आकांक्षा पूरा गर्न सक्ने मत ल्याउँछ भन्ने लाग्छ । संख्या त म आज भन्न सक्दिनँ, हामीले चाहेका अधिकांश कुरा पूरा सम्बोधन गर्नसक्ने मत प्राप्त गर्छौं । बाँकी कुरा नागरिकको विवेकमा छोडौं ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More