― Advertisement ―

यी विशाल चिनियाँ एलईडी डोमहरूले स्फेयर अवधारणा उधारो र लस भेगास लागतको एक अंशमा डेलिभर गर्छन्।

चीनमा एस-ग्यास प्रक्षेपणको भेगास शैलीको आकर्षण लागतहरू।चिनियाँ विकासकर्ताहरू एक्लै तमाशाको सट्टा सांस्कृतिक कथा कथनलाई पछ्याउँछन्।Tiangong Nova ले क्षेत्रीय दर्शकहरूको लागि 16K इमर्सिभ मनोरञ्जन ल्याउँछ।चीनले...
HomeLatest newsफेसबुकसँगै हुर्किएका जेनजी किन फेसबुकमै सक्रिय छैनन् ?

फेसबुकसँगै हुर्किएका जेनजी किन फेसबुकमै सक्रिय छैनन् ?


राष्ट्रिय

समाचार.

  • जेनजी पुस्ताले फेसबुकलाई पुरानो र सार्वजनिक प्लेटफर्म मान्दै कम सक्रियता देखाउँछन् ।
  • सन् २०१४ देखि २०२२ सम्म अमेरिकी किशोरहरूमा फेसबुक प्रयोग ७१ प्रतिशतबाट ३२ प्रतिशतमा झरेको देखाएको छ ।
  • नेपालमा पनि २२ वर्षमुनिका अधिकांश जेनजीहरूले फेसबुकमा फोटो राख्दैनन्, स्ट्याटस सेयर गर्दैनन् ।

फेसबुक र जेनजी पुस्ता सहोदर दाजुभाइ जसरी करिब एकै समयमा आए । सँगसँगै हुर्किए । मार्क जुकरबर्गले फेसबुकलाई आधिकारिक प्रयोगमा ल्याइरहँदा पहिलो छिमलका जेनजी ७–८ वर्षका कलकलाउँदा बालक थिए । रेडियोमा गीत फर्माइस गरेर सुन्ने, श्यामश्वेत टिभीमा अधैर्यसाथ झुम्मिने, आँगनमा भेला भएर डन्डिबियो खेल्ने युगको पटाक्षेप हुँदै थियो ।

घरबाहिर खेल्ने र घरभित्र खेल्ने पुस्ताबीचको सीमारेखा यही बिन्दुबाट कोरिएको थियो । जेनजीहरू घरभित्रै खेल्दै हुर्कंने पहिलो पुस्ता थिए । किनभने उनीहरूसँग स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जाल जो थियो ।

खासगरी जेनजी पुस्ता हुर्कंदै गर्दा फेसबुकको प्रयोग उत्कर्षमा पुग्दै थियो । बुबाआमा र अंकलहरूले जानी–नजानी फेसबुक खाता खोल्दै गर्दा जेनजी पुस्ताले भने यसको नालीबेली केलाउन भ्याइसकेका थिए ।

यसरी गर्भनाल जोडिएजसरी एउटै युग साझेदार गर्दै हुर्किएका फेसबुक र जेनजी भने आपसमा सम्बन्ध विच्छेद गरेजस्तै अवस्थामा छन् । खासगरी पछिल्लो छिमलका जेनजीले फेसबुक चलाउँदै चलाउँदैनन् । चलाए पनि सही नाम राख्दैनन् । वास्तविक नाम राखे पनि अरूको स्टाटसमा कमेन्ट, रियाक्ट गर्दैनन् । कमेन्ट–रियाक्ट गरे पनि आफ्नो फोटो–भिडियो सेयर गर्दैनन् । किन त ?
यसको एकमात्र जवाफ छैन । तर, जवाफ जे छ त्यो निकै रोचक छ ।

भनिहालौं, यो हाम्रा जेनजीको मात्र कुरा होइन । विश्वभर यही विषयमा अध्ययन भएको छ र ती सबैको एकमुष्ठ नतिजाले भन्छ- अधिकांश जेनजी फेसबुकमा सक्रिय छैनन् ।’

यिनीहरू फेसबुक एकाउन्ट बनाउँदैनन्, बनाएपनि आफ्नो सग्लो फोटो र नाम राख्दैनन्, राखेपनि अनलाइन देखिदैनन्, देखिएपनि कमेन्ट–रियाक्ट गर्दैनन् ।

जेनजी फेसबुकबाट टाढा हुनु कुनै संयोग होइन । यो प्रविधि, गोपनीयता, सामाजिक आवश्यकता र प्लेटफर्मको विकाससँग जोडिएको छ । जेनजीले फेसबुकलाई ‘पब्लिक’ ठान्छ, जसमा बाबुआमा, अङ्कल वा हजुरबुबा–हजुरआमासँग जोडिनुपर्छ । उनीहरूले आफ्नो कथा र भावनाहरू सेयर गर्न चाहन्छन्, तर परिवारको नजरबाट टाढा रहेर ।

सुरु सुरुमा मानिसहरूले सामाजिक सञ्जालमा आफ्नो जीवनका हरेक पाटा सेयर गर्थे– जन्मदिन, फोटो, भावना, घटना आदि । तर अहिले, यसरी सेयर गर्ने दर घटेको छ ।

साइपाल एकेडेमीमा कक्षा १२ मा अध्ययनरत सुबास्ना भट्टराई गोपनीयता र अरूले के भन्ला कि जस्तो लागेर फेसबुकमा खासै पोस्ट नगर्ने बताउँछिन् । ‘पोस्ट हेरेर अर्काले के भन्छ भन्ने चिन्ता हुन्छ’ भट्टराई भन्छिन्, ‘फोटो मिसयूज हुने डरले प्राइभेसी कायम राख्छौँ। फोटो राख्दैनौ, रियाक्ट गर्दैनौ वा अफलाइन बस्छौ ।’

स्न्यापच्याट र इन्स्टाग्राम जस्ता प्लेटफर्महरू बढी आकर्षक रहेको र यसले आफ्नो उमेर समूहसँग जोड्ने र बिना हिचकिचाहट कुरा राख्न सकिने उनीहरूको भनाइ छ ।

फेसबुकको आम्दानीको ९८ प्रतिशतभन्दा बढी विज्ञापनबाट आउँछ, जसले एल्गोरिदमलाई प्रायोजित सामग्रीतर्फ धकेल्छ ।साथीहरूका सान्दर्भिक पोस्टहरूको सट्टा विज्ञापनहरू बढी देखिन्छन्, जसले युवाहरूलाई झिंजो लाग्न सक्ने साइबर सुरक्षा अनुसन्धानकर्ता विजय लिम्बू बताउँछन् ।

पछिल्लो समय फेसबुकको विकल्पमा धेरै नयाँ ‘सोसल मिडिया प्लेटफर्म’हरू छन्, जस्तो डिस्कर्ड वा रेडिट । यसमा आफ्नो सम्पूर्ण विवरण पनि खुलाइराख्नु पर्दैन र आफ्नो सर्कलमा मात्र सीमित रहन्छन् । त्यसैले जेनजी माझ फेसबुक कम लोकप्रिय भएको हुन सक्ने लिम्बूको बुझाइ छ ।

‘फेसबुकलाई उनीहरूले लोकप्रिय ठान्दैनन्’ लिम्बू भन्छन्, ‘बरु, फेसन, ट्राभल र खानासँग जोडिएका इन्फ्लुएन्सरहरू इन्स्टाग्राम वा टिकटकमा खोज्छन् ।’

नेपालको सन्दर्भमा पनि प्राय २२ वर्षभन्दा कम उमेरका जेनजीहरूले फेसबुकलाई ‘एक्टिभ’ गर्दैनन् । अकाउन्ट बनाए पनि फोटो राख्दैनन्, स्ट्याटस सेयर गर्दैनन् । उनीहरूको सर्कल सानो हुन्छ । यो पुस्ता फेसबुकसँग हुर्केको भए पनि, फेसबुकलाई पुरानो पुस्ताको ठान्छन् । गोपनीयता, रचनात्मकता र स्वतन्त्रताको खोजीले उनीहरूलाई टिकटक वा इन्स्टाग्रामतर्फ डोर्‍याएको छ ।

जेनजीहरूका अनुभव

सागर शर्मा बानेश्वरमा बस्छन् र कक्षा ११ मा विज्ञान विषय लिएर पढ्दै छन् । उनी फेसबुक चलाउँदैनन् । त्यसमा धेरै हानिकारक कुराहरू, म्यासेज र ठग्ने विज्ञापन आउने बुझाइ उनको छ । साथै उनका साथीहरू पनि फेसबुकमा सक्रिय छैनन् । गोपनीयताको पनि समस्या हुने सागतर बताउँछन् । उनले मोबाइलमा फेसबुक एप इन्स्टल नै गरेका छैनन् । बरु इन्स्टाग्राममा रिल्स र युट्युबमा सर्ट्स र भिडियोहरू हेर्छन् । आफ्नो अध्ययनका लागि आवश्यक भिडियोहरू पनि यिनै माध्यममा हेर्छन् ।

बाराका विकेश यादव ललितपुर टिकाथलीमा बस्छन् । कक्षा ११ मा कम्प्युटर साइन्स पढ्दै छन् । उनी फेसबुक प्रयोग गर्दैनन् किनकि त्यसमा अरूले राख्ने कुराहरूले आफूलाई असुरक्षित महसुस गराउने उनी बताउँछन् । उनी दिनमा २–३ घण्टा टिकटक मात्र चलाउँछन् ।

आस्ना थापा बानेश्वरको नोबल कलेजमा १२ कक्षामा पढ्छिन् । उनी पनि खासै फेसबुक चलाउँदिनन् । फेसबुकमा सबै चिनेजानेका आफन्तहरू पनि जोडिएका हुन्छन् । केही कुरा पोस्ट गर्‍यो भने ‘यस्तो किन हालेको’ भनेर कुरा गर्छन् । अन्य सोसल मिडिया स्वतन्त्र रूपले चलाउन पाइने उनी सुनाउँछिन् । त्यसैले इन्स्टाग्राम र टिकटक बढी चलाउने आस्ना बताउँछिन् ।

केएमसी कलेज बागबजारमा कक्षा ११ मा पढ्ने किस्मा गुरुङ पनि फेसबुक चलाउँदिनन् । आफूहरूको पुस्ता अन्तरमुखी र समाजमा धेरै घुलमिल नभएकोले पनि फेसबुकमा रुचि नभएको होला भन्ने उनलाई लाग्छ । ‘हाम्रो पुस्ता अन्तरमुखी भएका कारण पनि फेसबुक चलाउँदैन’ किस्मा भन्छिन्, ‘हामी परिवार, समाजसँग धेरै घुलमिल भएका हुँदैनौँ । त्यसैले आफ्नो व्यक्तिगत कुरा फेसबुकमा राख्न मन नलागेको हुन सक्छ ।’

पुरानो पुस्ताको माध्यम

जेनजीले टिकटक, इन्स्टाग्राम र स्न्यापच्याट जस्ता नयाँ प्लेटफर्महरूलाई धेरै रुचाउने गरेको मिडिया अनुसन्धानकर्ता उज्ज्वल आचार्य बताउँछन् । आचार्यका अनुसरा छोटो भिडियो र तुरुन्तै कुनै कुरा सेयर गर्नका ला यी माध्यम उपयुक्त छन् ।

यो पुस्तालाई फेसबुक पुरानो र लामा पोस्टहरू गर्ने, फोटोहरू धेरै सेयर गर्ने माध्यमका रूपमा केन्द्रित भएको बुझाइ यो पुस्ताको रहेको आचार्य बताउँछन् । ‘फेसबुकलाई उनीहरूका अभिभावक वा ठूलो पुस्ताले प्रयोग गर्ने प्लेटफर्म मानिन्छ’ आचार्य भन्छन्, ‘यसले गोपनीयता र ‘कूल’ नहुने भावना दिन्छ, जसले युवाहरूलाई टाढा राख्छ ।’

फेसबुकको फिड ब्रान्ड विज्ञापन र प्रभावशाली व्यक्तिहरूको सामग्रीले भरिएको छ । यसले सामान्य व्यक्तिका विषयवस्तुलाई ओझेलमा पार्छ, जसले जेनजीलाई यो ‘कम सामाजिक’ लाग्ने आचार्यको बुझाइ छ । आचार्यका अनुसार जेनजीले अनलाइन गोपनीयताको महत्त्व बुझेका छन् ।

फेसबुकका डाटा लिक र सार्वजनिक शेयरिङले उनीहरूमा डर पैदा गरेको हुन्छ । उनीहरू निजी च्याट जस्तो व्हाट्सएपलाई प्राथमिकता दिन्छन् । फेसबुकले तुलना, साइबरबुलिङ पनि बढाउँछ । फेसबुकमा पोस्ट गरेका समग्रीमा आउने रियाक्ट, प्रतिक्रिया आदिम हुने तुलनाले तनाव र चिन्ता बढाउने कुरा अध्ययनहरूले पनि देखाएको छ । यो कुराले पनि युवाहरू यसप्रति त्यति आकर्षित नभएको हुनसक्ने आचार्य बताउँछन् ।

फेसबुकमा पुरानो सामग्री वा फेक न्युज बढी हुन्छ । जेनजीले तुरुन्तै र रचनात्मक सामग्री जस्तै टिकटकका ट्रेन्ड खोज्छन्, जुन फेसबुकमा कम छ । ‘युवाहरूको दैनिक जीवन व्यस्त छ– स्कूल, काम, अन्य एपहरू’ आचार्य भन्छन्, ‘फेसबुकको प्रयोगले समय खेर जाने बुझाइ उनीहरूमा हुन सक्छ ।’

के छ तथ्यांक ?

पिउ रिसर्च सेन्टरको सन् २०१४ मा गरेको सर्वेक्षणमा १३ देखि १७ वर्षका अमेरिकी किशोरहरूमध्ये ७१ प्रतिशतले फेसबुक प्रयोग गर्थे । तर, सन् २०२२ को फलो–अप सर्वेक्षणमा यो सङ्ख्या घटेर ३२ प्रतिशतमा झरेको देखियो । आठ वर्षमा ३९ प्रतिशतको कमी देखियो । सन् २०२१–२०२३ को तथ्याङ्कअनुसार, अमेरिकी किशोरहरू मध्ये ३८ प्रतिशतले टिकटकलाई मनपर्ने प्लेटफर्म ठान्छन् । जबकि फेसबुकलाई मात्र २–३ प्रतिशतले आफ्नो मनपर्ने प्लेटफर्म मानेका छन् । फेसबुक जेनजीका लागि चौथो लोकप्रिय प्लेटफर्म मात्रै रहेको अध्ययनले देखायो ।

जेनजीले फेसबुकलाई सोसल भन्दा कमर्शियलाइज्ड प्लेटफर्म ठान्ने कुरा यी अध्ययनले देखाउँछन् । उनीहरूलाई आफ्नो जीवनशैलीको आकांक्षा बढी छ, न कि साथीहरू र परिवारसँगको वास्तविक सम्बन्ध । जिडब्लुआइको २०२३ को तथ्याङ्कले पनि जेनजीको ३३ प्रतिशतले दैनिक फेसबुक प्रयोग गर्ने तर टिकटकमा यो ५० प्रतिशत रहेको देखाएको छ ।

यसरी मासिक प्रयोगमा पनि फेसबुक पछाडि छ । इमारकेटर २०२३ अनुसार जेनजीमा फेसबुक चौथो लोकप्रिय प्लेटफर्म हो, इन्स्टाग्राम, स्न्यापच्याट र टिकटक पछि ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More