― Advertisement ―

ह्याकरहरूले QEMU प्रयोग गरेर भर्चुअल मेशिनहरू भित्र ransomware उपकरणहरू लुकाउँछन्, आक्रमणहरू धेरै हदसम्म अदृश्य रहन अनुमति दिन्छ।

मिसिनद्वारा लुकेको एन्डपोइन्ट आक्रमण गर्न अनुमति दिन्छ पत्ता नलागेकोआक्रमणकारीहरूले विश्वसनीय भर्चुअलाइजेशन उपकरणहरू र दुर्भावनापूर्ण गतिविधि लुकाउन निर्मित सफ्टवेयर प्रयोग गरेSophos ले QEMU प्रयोग गरेर...
HomeLatest newsप्राइम मेरिडियनको शहर बन्यो नेपालीको ‘भाइब्रेन्ट सिटी’

प्राइम मेरिडियनको शहर बन्यो नेपालीको ‘भाइब्रेन्ट सिटी’



१२ कात्तिक, लन्डन । ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको र बेलायती राजदरबारसँगको विशेष सम्बन्धका कारण रोयल बरो घोषित भएको लन्डनको ग्रीनवीच बरो अहिले बीसौं हजार नेपालीको समेत घर बनेको छ।

लन्डनका जम्मा तीन रोयल बरोमध्ये एक हो- रोयल बरो अफ ग्रीनवीच । यो सन् २०१२ मा रोयल बरो घोषित भएको थियो ।

प्राइम मेरिडियन (प्रधान मध्याह्न रेखा), ग्रीनवीच मिन टाइम (जीएमटी) र विश्व सम्पदा सूचीकृत पर्यटकीय गन्तव्यहरूको धनी यो बरोमा पछिल्लो दुई दशकमा नेपालीको जनघनत्व उल्लेख्य रूपमा बढेको छ।

सन् २००१ को जनगणनामा जम्मा १६० रहेको नेपाली जनसंख्या सन् २०११ मा ४ हजार ८५० पुगेको थियो। हालको अनुमानअनुसार यो संख्या बढेर झण्डै २० हजारको हाराहारीमा पुगेको छ।

नेपाली जनसंख्याको उल्लेख्य वृद्धिसँगै साउथ इष्ट लन्डनस्थित रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड शहरमा अंग्रेजीपछि दोस्रो धेरै बोलिने भाषा नेपाली बनेको छ।

नेपाली मूलकै मेयर निर्वाचित

नेपाली जनघनत्वको यो वृद्धिले राजनीतिक क्षेत्रमा समेत स्पष्ट प्रभाव देखाएको छ। यस बरोमा नेपाली मूलका जीत रानाभाट पहिलोपटक मेयर निर्वाचित भए।

सन् २०२२ मा लेबर पार्टीबाट ग्रीनवीच बरोमा काउन्सिलर निर्वाचित रानाभाटले एक वर्ष उपमेयरको जिम्मेवारी सम्हालेपछि मेयर समेत बनेका थिए।

हाल काउन्सिलर रहेका रानाभाटका भनाइमा भूतपूर्व ब्रिटिश गोर्खा परिवार, विद्यार्थी, चिकित्सक, नर्स, इन्जिनियरदेखि वर्क परमिट लिएर काम गरिरहेका नेपालीको रोजाइमा यो बरो परेको छ।
‘गोर्खा कनेक्सनका कारण पनि यस बरो नेपालीको भाइब्रेन्ट सिटी बनेको हो,’ रानाभाट भन्छन्।

उद्यमशीलताको केन्द्र र ‘टिपिकल नेपाली स्वाद

बसोबास मात्र होइन, नेपाली समुदायले यहाँको अर्थतन्त्रमा समेत आफ्नो प्रभाव जमाएका छन्। व्यापार व्यवसाय गर्ने नेपालीको संख्या उत्तिकै बढेको छ।

पूर्व मेयर रानाभाट भन्छन्, ‘यही क्षेत्र (विशेष गरि प्लमस्टिड, वुल्लीच) मा नेपालीका दर्जन हाराहारी ग्रोसरी सप चलेका छन्। रेष्टुरेन्ट संख्या २० जति होलान्।’

आफैंले घर किनेर बस्नेदेखि प्रपर्टी व्यवसाय गर्ने नेपालीहरूको पनि यहाँ ठूलो उपस्थिति छ।

क्यान्सर जस्तो प्राणघातक रोगलाई जितेर हाल प्लमस्टिडमा दुई वटा व्यवसाय सञ्चालन गरिरहेकी संगीता मगर यही बरोकी सफल उद्यमी हुन्। सन् २०२३, जुन १ मा शुरु भएको उनको ‘टपरी मःम’रेष्टुरेन्ट अहिले निकै व्यस्त छ।

रेल स्टेशनसँग जोडिएकाले हतारमा कफी चमेना लिएर हिंड्ने यात्रु अत्यधिक हुने गर्छन् ।

संगीता भन्छिन्, ‘अर्गानिक टपरी प्लेटमा खान पाइने, मिठो र नेपालीलाई टपरी नामले पनि आकर्षित गरेको छ।’

यस रेष्टुरेन्टमा कोदो फापरको ढिंडो, खोटाङबाट ल्याइने राँगाको सुकुटी, सुकुटी चटपटे, मःमः चाउमिन जस्ता परिकारमा टिपिकल नेपाली स्वाद पाइन्छ।

यसको छेउमै उनले रेल स्टेशनसँग जोडिएको कफी सप पनि चलाएकी छन्, जुन बिहान ५ बजेदेखि खुल्छ।

बन्दै गोर्खा चौतारा

ग्रीनवीचको नेपाली समुदाय आफ्नो कला, संस्कृति र पहिचान जगेर्ना गर्न पनि जागरुक छ। नेपाली समुदायले ग्रीनवीच कपसहित विभिन्न सामाजिक तथा धार्मिक गतिविधि गर्दै आएका छन् र नेपालका हरेक चाडपर्व मनाउँछन्।

नेपालीहरूको वीरताको प्रतीकका रूपमा रहेका गोर्खालाई सम्मान गर्न यही बरोमा गोर्खा चौतारा निर्माण गर्ने ऐतिहासिक परियोजना अगाडि बढाइएको छ।

‘कमनवेल्थ एण्ड गोर्खा गार्डेन’ नाम दिइएको यो प्रोजेक्ट लन्डन वुल्लीचस्थित ग्यारिसन चर्च हातामा ब्रिटिश र नेपाली समुदायको सहकार्यमा भइरहेको छ।

साउथ इष्ट लन्डनस्थित समाजसेवी श्रीचन्द्र गुरुङले भने, ‘झन्डै २० हजार नेपालीको बसोबास रहेको साउथ इष्ट लन्डनमा नेपाली चौतारा बन्नु सबैका लागि गौरव र प्रतिष्ठाको विषय हो।’

नेपाली शैलीको मौलिक चौतारा (बस्ने र भारी बिसाउने दुई तहसहितको) निर्माण गर्ने जिम्मा गोर्खा पल्टनको ‘क्वीन गोर्खा इन्जिनियर्स’ले लिएको छ।

पूर्व मेयर रानाभाटले आफू मेयर छँदा अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा आयोजित ‘लन्डन न्यू इयर डे परेड’ मा रोयल बरो अफ ग्रीनवीचको प्रतिनिधित्व गर्दै नेपाली समुदाय सहभागी भई तेस्रो पुरस्कार जितेको स्मरण गर्छन् ।

‘परेडमा सहभागी ७५ समूहमध्ये लन्डन बरोहरूको प्रतिस्पर्धामा ग्रीनवीच बरो तेस्रो भएको थियो,’ उनले भने । यसले नेपाली कला र संस्कृतिको मौलिकतालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरेको उनको निष्कर्ष छ ।





Read More