― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeमनोरन्जन‘परानभित्र ‘पूर्णबहादुरको सारंगी’मा छुटेका बाउका कथा छन्’

‘परानभित्र ‘पूर्णबहादुरको सारंगी’मा छुटेका बाउका कथा छन्’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • दीपकप्रसाद आचार्य निर्देशित कथानक फिल्म ‘परान’ १४ कात्तिकदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ।
  • फिल्म ‘परान’ले सन्तान र अभिभावकबीचको सम्बन्ध र नेपाली समाजको मानवीय संवेदनालाई प्रस्तुत गर्छ।
  • निर्देशक आचार्यले फिल्मलाई आफ्ना व्यक्तिगत अनुभव र समग्र नेपाली परिवेशसँग जोडेर तयार पारेका छन्।

काठमाडौं । दीपकप्रसाद आचार्यलाई धेरैले वास्तविक नामले कम, ‘काकु’ नामले ज्यादा चिन्छन् । मेरी बास्सै, भद्रगोल, सक्किगो निजस्ता हिट टिभी श्रृंखलामा उनले ‘काकु’ पात्रको रुपमा प्रसिद्धी कमाए । उनको डेब्यू निर्देशकीय कथानक फिल्म ‘परान’ १४ कात्तिकदेखि प्रदर्शन तयारीमा छ ।

सन्तान र अभिभावकको सम्बन्धको कथा पेश गर्ने यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । वर्षौं लामो टिभी श्रृंखला र म्युजिक भिडियोको अनुभवलाई आफूले फिल्ममा मिसाएको काकुले बताएका छन् । अनलाइनखबरकर्मी विष्णु शर्मासँग काकुले ‘परान’ र आफ्नो करिअरबारे संक्षिप्त संवाद गरेका छन् ।

‘परान’ फिल्मको अवधारणाबारे भन्नूस न ।

मेरो घरबाट सुरु भएको कथा हो । जुन आममान्छेको कथा पनि हो । समग्र नेपालको परिवेशसँग मिल्दोजुल्दो छ । विशेष गरि मेरो बुवा बालकृष्ण आचार्यको कथा यसमा यसमा छ । परिवारभित्र मैले जस्तो भोगेँ, त्यसको कथा यसमा छ । बुवा बितेपछि धेरै सोचविचार गर्दा, कथाको रुपमा फिल्म बनाउने आइडिया आयो । किनकी त्यो आममान्छेको कथा हो ।

बुवाको देहान्त कसरी भयो ?

बुवाको देहान्त अनपेक्षित ढंगले भयो । हामीले बुवालाई सुख दिने जमर्को गर्‍र्यौं । तर, खुसी बुझेनछौं भन्ने कुरा बुवा बितिसकेपछि थाहा भयो । सुख दिने बहानामा हामीले बाआमाको खुसी बुझ्न जरुरी रहेछ भन्ने कुरा महसुस भयो । बुवाले खुलेर हामीसँग कुरा गर्नुभएन । किन गर्नुभएन भन्दा, मैले मेरा इच्छा चाहना छोराहरूलाई यदि भनेँ भने उनीहरूलाई दुःख हुने हो कि, अथवा प्रगतिमा बाधा पर्ने हो कि भनेर मनको कुरा मनमै राख्नुभएछ । एउटा समयमा हामीले महसुस गर्‍यौं । ट्रेलरमा पनि आइसक्या छ- सन्तान भनेको ढुकढुकी बन्ने होइन, ढुकढुकी गन्ने हुनुपर्छ । कतिपय कुरा बाआमाले भन्दैनन् तर छोराहरूले बुझ्नुपर्छ भन्ने कुरा ।

टेलिभिजन र म्युजिक भिडियोमा ब्यस्त कलाकार किन फिल्म निर्देशनमा आउने निर्णय गर्नुभयो ?

मान्छे प्रगतिशिल हुनुपर्छ । काम गर्ने सिलसिलामा फड्को मार्नुपर्छ भन्ने कुरा पहिल्यैदेखि लागिरहेको थियो । उचित समय मिलेको थिएन । टिमको आफ्नो फिल्म बनाउने कुरामा म आफू सहभागी हुने कुरादेखि लिएर सबै कुरा । ‘परान’मा आइपुग्दा सबैकुरा मिलेपछि गर्‍या हो ।

मैले सन् २०१४ मै ‘श्री ५ अम्बरे’ भन्ने फिचर फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरिसक्या थिएँ । त्यसपछि दुईटा फिल्ममा पटकथा लेखकको रुपमा काम गरिसक्या थिएँ । मलाई भन्न मन लागेको कथा भन्न म निर्देशकको रुपमा तयार भएँ भन्ने हिसाबले ‘परान’ गरेको हुँ ।

बीचमा तपाईंको टिम (सक्किगो नि)ले फिल्म गर्ने तयारीको समयमा तपाईं पनि हुनुहुन्थ्यो । किन छाड्नुभयो ?

यसको (परानको) कथा ‘लाज शरणम’को भन्दा अघिको हो । हाम्रो टीममा पनि ‘लाज शरणम’पछि ‘परान’ गर्ने समझदारी पनि थियो । हाम्रो ठूलो टिम छ । ‘लाज शरणम’लाई अरु साथीहरूले अघि बढाउने र ‘परान’को कथालाई म अघि बढाउँछु भन्ने हिसाबले आएको हुँ ।

सानो पर्दामा नाम कमाएको मान्छे ठूलो पर्दामा आउनु पछाडि केही उद्देश्य छन् ?

हामीले टेलिभिजनको पर्दामार्फत एउटा दर्शकीय वर्गलाई कथा भनिरहेका थियौं । एउटा दर्शकीय समूह यस्तो पनि छ, जो टिभीको पर्दाभन्दा हलमै गएर फिल्म हेर्न रुचाउँछ । कथा भन्नेहरूको अन्तिम गन्तव्य भनेको, ठूलो पर्दाको फिल्ममा काम गर्ने नै हुन्छ । त्यसकारण, प्रगतिशिल हुँदै जाँदा टेलिभिजनको अनुभव पनि बटुलियो । टिभीका श्रृंखला भन्दा पनि हलमै गएर हेर्न रुचाउने दर्शकलाई पनि कथा भन्नुपर्छ भनेर फिल्ममा अघि बढेका हौं ।

शीर्षक ‘परान’ नै किन राख्नुभयो ?

चलचित्र हेरेपछि दर्शकले शीर्षकलाई सान्दर्भिक मान्नुहुनेछ । रिलिज भैसकेपछि दर्शकले यसको कथा यो भन्दा अन्य उचित हुँदैन भन्नुहुनेछ । स्क्रिप्ट राईटर याम थापाले शीर्षक दिनुभएको हो । बाआमाको परान छोराछोरी होला, श्रीमानको परान श्रीमती होला । कतिपय जन्मघरसँगका सम्बन्धहरू केले अडिएको हुन्छ ? सासले होइन, साथले चल्ने सम्बन्धहरू । साथ भयो भने, परान चलिराखेको हुन्छ भन्ने हुन्छ । यसकारण ‘परान’ शतप्रतिशत यसको उचित शीर्षक हुन्छ ।

विगतमा आमाको संवेदनामाथि धेरै फिल्म बने । पछिल्लो समयमा बाको इमोसनमाथि धेरै फिल्म बनेका छन् । के सन्तान र अभिभावकबीचको यो समस्या र संवेदना अहिले देशभर छ वा तपाईंको मात्र नीजि अनुभव हो ?

यसको बलियो पक्ष भनेको आमदर्शकको कथा हो । ९० प्रतिशतभन्दा धेरै दर्शकले यो फिल्मभित्र आफूलाई पाउनुहुनेछ । त्यो लेभलको कथा बुनेका छौं । यो कुनै पनि दर्शकले आफूलाई पाउन बञ्चित हुँदैन । चाहे विदेश बसिरहेको दर्शक होस् या गाउँमा बुुवाआमालाई छाडेर सहर बसिराखेको दर्शक होस् । चाहे बुवाआमाकै सेवा गरिराखेको सन्तान होस् । यी तीनवटै वर्ग चलचित्रभित्र छन् । उनीहरूको आ–आफ्नो दृष्टिकोणबाट कथा भनिएको छ ।

आमदर्शक र समग्र नेपाली परिवेशको कथा हो । गाउँमा विकासको लहर चलेको छ । पिच बाटा छन् तर गाडीमा चढ्ने मान्छे छैनन् । घर छन्, बटुवा बास माग्न आउँदैन । गाउँमा विकास छ, इन्टरनेट प्रविधि पुगिसक्यो, तर, त्यहाँ बस्न मान्छेको मन छैन । त्यो मनलाई कसरी लैजाने, मुख्य चुनौती त्यहाँ छ ।

एउटा बाउले नै फिल्मलाई काँधमा बोकेको छ । नीर शाह जसलाई ‘लिभिङ लिजेन्ड’ भन्न रुचाउँछु, उहाँले टेलिभिजन, चलचित्र, कलाकारितामा जुन योगदान दिनुभएको छ, एक हिसाबले चलचित्र हेरिसक्दा नीर शाहप्रति यो फिल्म समर्पित भन्दा पनि हुन्छ । किनकी सुरुदेखि अन्त्यसम्म उहाँले यसरी कथा भन्दै जानुहुन्छ, दर्शकलाई होल्डमा राख्नुहुन्छ, त्यो बाउको ‘पर्सपेक्टिभ’को कथा हो यो ।

बाउको कथामा बनेका ‘महापुरुष’ र ‘पूर्णबहादुरको सारंगी’मा छुटेका कथा यसमा छन् । ठ्याक्कै तिनै कथा होइन, ती फिल्ममा दर्शकले जुन कथा हेर्न पाउनुभएको थिएन, डिटेल र डेप्थमा ती कुरा ‘परान’ले पुरा गर्छ ‘महापुरुष’ र ‘पूर्णबहादुरको सारंगी’मा छुटेका बाउका कथाहरू ।

सुरुमा त मैले कथा लेखेर परिवारलाई देखाएँ । बसेर छलफल गरिसकेपछि वृहत्तररुपमा देशको लागि बनाउनुपर्छ भनेर बनाएँ । कथा रिलेट नहुने कोही पनि भेटिन । मलाई पनि यस्तै भएको थियो भन्नेहरू भेटेँ । परिवारभित्र मात्र होइन, समग्र नेपाली समाज बोलेको छ ।

टेलिभिजन र ठूलो पर्दाको फिल्मलाई निर्देशन गर्दाका अनुभव र भिन्नता कस्तो पाउनुभयो ?

दर्शकले घरभित्र बसेर टिभीमा हेर्नुहुन्छ, त्यसको छुट्टै आनन्द छ । धेरै कुरा संवेदनशिल पनि छन् । चलचित्रमा ठूलो क्यानभासमा अलिकति वृहत्तर तयारी हुन्छ । सिरियल हेर्दा हप्तैपिच्छे एउटा एपिसोड निकाल्नुपथ्र्यो । तर, चलचित्र चाहिँ झण्डै १ वर्षभन्दा धेरैदेखि कथा र मेकिङमा वृहत्तर तयारी गरेर गर्नुपर्ने हुन्छ । यसले गर्दा यो ठूलो क्यानभासमा गरिने हुन्छ ।

कथावाचकको रुपमा मजा कुनमा आउने रहेछ ?

टेलिभिजनको कथा भन्न चाहिँ अलिकति हतार हुन्छ हामीलाई । हप्तैपिच्छे कथा भन्नुपर्ने । काम गराइको हिसाबले चलचित्रमा नै मजा हुन्छ । चुनौती हुन्छ फिल्ममा । च्यालेन्जमै हुन्छ मजा ।

निकट भविष्यमा फिल्ममा मात्र लाग्ने कि टिभीमा पनि फर्किने तयारी छ ?

ठूलो पर्दालाई निरन्तरता दिएर हामीले टेलिभिजनका दर्शकलाई पनि निराश नबनाउने हिसाबले हाम्रो टिमले टिभीको लागि सिरियल आउँछ ।

तपाईंको टिम भन्नुको अर्थ ?

‘सक्किगो नि’ लगायतका टिम । अहिले निश्चित समय विश्राम लिए पनि निकट भविष्यमा एकसाथ देखिने सम्भावना बिल्कुल छ । त्यही दर्शक जसले हामीमाथि भरोसा गर्नुभएको थियो, जसले हरेक हप्ता कन्टेन्ट हेर्न खोजिरहनुभएको छ भने उहाँहरूलाई हामीले निराश बनाउने कुरा आउँदैन । केही न केही त हामीले लिएर आइहाल्छौं ।

‘परान’ किन हेर्ने ? ५ कारण भन्नूस न ।

मैले लामो समय कलाकारिता, निर्देशन, लेखनको अनुभवपछि पहिलोपटक चलचित्रको कथा भन्दैछु । सबैभन्दा बलियो कारण चाहिँ– ‘परान’ तपाईंको कथा हो । तपाईंले आफूलाई त्यसभित्र पाउनुहुन्छ ।

नेपाली चलचित्र क्षेत्रका जिउँदो इतिहास नीर शाहले यो लेभलमा अभिनय गरेको सायदै उहाँको जीवनमा चलचित्र बनेका छन् । उहाँको लागि पनि हेर्नुपर्छ । अरु कास्टिङ पनि नयाँ र पुरानो पुस्ताको फ्युजन छ । दुई पुस्ताले गरेको काम हेर्न पाउनुहुनेछ ।

साथै, चलचित्रले यस्तो मानवीय संवेदना बोकेको छ जहाँ ती संवेगहरू जबर्जस्ती कुनै दृश्य क्रिएट गरिएका छैनन् । यति प्राकृतिक छन् कि तपाईंलाई फिल्म हेरिरहेको जस्तो महसुस हुँदैन । सत्य घटनामा आफूभित्र बगिरहेको महसुस गराउँछ ।

तपाईंको अर्थ, ‘परान’ ले नेपाली समाजको मानवीय प्रवृत्तिलाई पनि प्रश्न गर्छ । होइन ?

एकदमै ठूलो प्रश्न गर्छ र महसुस पनि गराउँछ । हामीले अभिभावकलाई सुख दिन चाहिरहेका हुन्छौं तर खुसी बुझिरहेका छौं कि छैनौं भन्ने प्रश्न गर्छ । गाउँमा सबै कुरा छ तर हाम्रो मन छैन । किन छैन भन्ने प्रश्न सोध्छ । अमेरिकाजस्ता विकसित देशमा के हुन्छ रे भन्दा– सबै कुरा सम्पन्न भैसकेपछि मानिस न्यूयोर्कबाट अलिकति गाउँतिर जान गएर बस्न रुचाउँछ । एकदमै शान्त खोज्छ । त्यो शान्ति हाम्रो गाउँमा छ । उहाँहरूले छाडेका आँगनमा हरिणहरू आउन थालिसके । आँगनमा उत्तिस उम्रिसके । तुलसीको मठलाई बनमाराले ढाकिसके । त्यहीँ छ नि त शान्ति ।

‘परान’ डायस्पोरालाई पनि उत्तिकै सान्दर्भिक छ भन्न खोज्नुभएको ?

उहाँहरूले पनि अपनत्व महसुस गर्नुहुनेछ । चलचित्रको मूल कथा त्यता नभएपनि सायद केही कथाले उहाँहरूलाई अपनत्व महसुस गराउनेछ । मैले त्यो आशा राखेको छु ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More