― Advertisement ―

आइतबार, अप्रिल १२ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #770)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ टाइमजोन जुन रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsन्याम्सको फेलोसिपमा चिकित्सकको श्रम शोषण, बिथोलियो भर्ना प्रक्रिया

न्याम्सको फेलोसिपमा चिकित्सकको श्रम शोषण, बिथोलियो भर्ना प्रक्रिया



२ पुस, काठमाडौं । निजी मेडिकल कलेजले गरेको श्रम शोषणविरुद्ध महिनौंको सडक आन्दोलनपछि स्नताकोत्तर तह (पीजी)का आवासीय चिकित्सकको निर्वाह भत्ता सुनिश्चित भयो ।

तर, सरकारी प्रतिष्ठानले नै फेलोसिप गर्दा चर्को शुल्क लिएको र निर्वाह भत्ता नदिएको भन्दै चिकित्सकहरूले विरोध जनाएका छन् ।

अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा सञ्चालित फेलोसिप कार्यक्रममा चर्को शुल्क लिएको र निर्वाह भत्ता सुनिश्चित नभएको भन्दै विरोध भएको हो ।

जसका कारण न्याम्सको फेलोसिप भर्नाको कार्यतालिका नै बिथोलिएको छ । यसअघि १ पुसदेखि भर्ना प्रक्रिया अगाडि बढाउने तयारी गरेको न्याम्सले शुल्क विवादका कारण भर्ना १५ दिन पछाडि सारेको छ ।

न्याम्सले जारी गरेको सूचना :

न्याम्सले सञ्चालन गर्दै आएको एक वर्षे फेलोसिप कार्यक्रममा अधिकतम ८ लाख ४० हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ । विदेशी चिकित्सकहरूका लागि १८ हजार अमेरिकी डलर तोकेको छ ।

नेपाल मेडिसिटी र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल जस्ता निजी अस्पतालहरूले भने फेलोसिप कार्यक्रम निःशुल्क सञ्चालन गर्दै आएका छन् र फेलोसिप गर्ने चिकित्सकलाई भत्तासमेत प्रदान गरिरहेका छन् ।

न्याम्सको फेलोसिपमा नाम निकालेका चिकित्सकले कार्यक्रम पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने माग राखेका छन् ।

माग पूरा नभए नेपाल मेडिकल काउन्सिल र न्याम्समा आन्दोलन गर्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।

सरकारी प्रतिष्ठानबाटै यस्तो व्यावसायिक मोडेल अपनाइनु दुर्भाग्यपूर्ण भएको न्याम्समा बालरोगमा फेलोसिप गर्न लागेका डा. बाबुराम पाण्डेको भनाइ छ ।

डा. बाबुराम पाण्डे ।

डा. पाण्डेका अनुसार एक वर्षको फेलोसिपका लागि ८ लाख ४० हजार तिर्नुपर्ने र निर्वाह भत्ता पनि नदिने निर्णयले चिकित्सकमाथि ठूलो आर्थिक बोझ पर्नेछ ।

यस्तो फेलोसिप गर्ने चिकित्सक स्नातकोत्तर तह (एमडी) सकेपछि एक वर्ष काम गरिसकेका हुन्छन् । उनीहरू विशेषज्ञ चिकित्सक हुन् ।

‘फेलोसिप गरिरहँदा त्यही संस्थाबाट विशेषज्ञ सेवा दिइरहेका हुन्छौं । तर जीवन निर्वाह भत्ताको व्यवस्थापन गर्नुपर्छ,’ डा. पाण्डे भन्छन्, ‘फेलोसिपमा निर्वाह भत्ताको प्रावधान नराख्नु अन्यायपूर्ण छ ।’

न्याम्सले यस वर्ष २२ विधामा फेलोसिपका लागि ४१ सिट निर्धारण गरेको छ ।

ग्रान्डीले फेलोसिप निःशुल्क गर्दै मासिक १ लाख रुपैयाँसम्म भत्ता दिन्छ भने बीएन्डबी अस्पतालले पनि ६० हजार जति निर्वाह भत्ता प्रदान गर्ने गरेको उनी बताउँछन् ।

डा. पाण्डे प्रश्न गर्छन्, ‘निजी क्षेत्रले यति सुविधा दिन सक्छ भने सरकारी संस्थान न्याम्सले किन सक्दैन ?’

चिकित्सकले फेलोसिपको शुल्क संरचनाको पुनरावलोकन, निर्वाह भत्ता ९ तहको सरकारी स्तर अनिवार्य, परीक्षा सूचना तथा प्रवेश प्रक्रियामा शुल्क र सुविधाको स्पष्ट सार्वजनिकता तथा फेलोसिपलाई व्यवसायीकरण गर्ने सबै प्रवृत्तिमाथि कडाइ गर्नुपर्ने बताएका छन् ।

नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले शुल्क र भत्ताको विषयमा स्पष्ट गाइडलाइन नबनाउँदा मनपरी भएको डा. पाण्डे बताउँछन् ।

‘न्याम्स शुल्क र भत्ता निर्धारणको विषय काउन्सिलअन्तर्गत पर्ने बताउँछ । तर काउन्सिल बैठक नै बस्दैन र चासो देखाउँदैन । जसका कारण मनपरी शुल्क निर्धारण भएको छ,’ डा. पाण्डे भन्छन् ।

चिकित्सकहरूले निर्वाह भत्ता माग गर्दै गरेको प्रदर्शन/फाइल तस्वीर

काउन्सिलले स्पष्ट गाइडलाइन नतोक्दा समस्या

गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न नेपाल मेडिकल काउन्सिलले विभिन्न विधाका फेलोसिप कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

नेपाल मेडिकल काउन्सिलको गाइडलाइनको बुँदा नम्बर १२ मा रोजगार विवरण, पद र तलबसम्बन्धी व्यवस्था छ, जसमा कार्यक्रम सुरु हुनुअघि फेलोको कर्तव्य, जिम्मेवारी र तलबसम्बन्धी विवरण स्पष्ट उल्लेख गर्नुपर्ने उल्लेख छ ।

सोही गाइडलाइनको बुँदा नम्बर १३ मा क्लिनिकल रोटेसन र बिदाका विषयमा प्रावधान छन्, जसमा कोर स्पेसियालिटीमा कम्तीमा ८ महिना रोटेसन अनिवार्य, इलेक्टिभ पोस्टिङ एक महिनाभन्दा बढी नहुने, वार्षिक बिदा १५ दिनभन्दा बढी नहुने लगायतका व्यवस्था छन् ।

तर, गाइडलाइनमा तलब र फेलोसिप शुल्कबारे स्पष्ट प्रावधान नहुँदा फेलोसिप गर्ने चिकित्सकहरू मर्कामा परेका छन् ।

न्याम्सका रजिस्टार डा. लोचन कार्कीले फेलोसिप कार्यक्रममा शुल्क र स्टाइपेन्डको स्पष्ट मापदण्ड नहुँदा संस्थाहरूबीच असमानता र विवाद उत्पन्न भएको बताए ।

काउन्सिलले चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने एमबीबीएस, एमडी/एमएस लगायतका कार्यक्रम जस्तै अधिकतम शुल्क र न्यूनतम स्टाइपेन्ड तोक्नुपर्ने डा. कार्कीको भनाइ छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस, एमडी/एमएस लगायतका कार्यक्रममा अधिकतम शुल्क र न्यूनतम स्टाइपेन्ड तोकेर सबै कलेजमा एकरूपता ल्याएको छ ।

डा. कार्की भन्छन्, ‘फेलोसिपमा मेडिकल काउन्सिलको गाइडलाइन्सले संस्थाको नीतिअनुसार शुल्क र स्टाइपेन्ड निर्धारण हुने तथा भर्नाअघि विद्यार्थीलाई जानकारी गराउनुपर्ने मात्र व्यवस्था गरेको छ । यसले विभिन्न संस्थामा फरक–फरक शुल्क तोकिने र समस्या बढाएको छ ।’

न्याम्समा अधिकांश सरकारी चिकित्सकले सरकारी तलब र अध्ययन बिदा पाउने भएकाले ठूलो समस्या नभए पनि सम्बन्धन प्राप्त संस्थामा शुल्क र निर्वाह भत्ताको विवाद रहेको उनको भनाइ छ ।

काउन्सिल भन्छ– चुनावपछि छलफल गर्छौं

काउन्सिलका रजिस्टार डा. सतिश देवले काउन्सिलको गाइडलाइनअनुसार फेलोसिप कार्यक्रम चल्ने भएकाले शुल्कसम्बन्धी अधिकार सञ्चालन गर्ने संस्थालाई दिइएको बताए ।

‘फेलोसिपका कार्यक्रम गाइडलाइनअनुसार नै चल्छन् । शुल्कबारे सम्पूर्ण अधिकार संस्थालाई नै हुन्छ । यस विषयमा सवाल उठेकाले छलफल गर्ने योजना बनाएका छौं,’ डा. देवले भने ।

मेडिकल काउन्सिलमा चुनावी कारणले त्यसपछि मात्रै छलफल गर्न सकिने डा. देव बताउँछन् ।

काउन्सिलको मार्गनिर्देशन (गाइडलाइन) अनुसार विषय स्पष्ट रहे पनि कार्यान्वयनमा समस्या देखिएकाले नयाँ कार्यकारी समिति गठन भएपछि कमिटी बनाएर विस्तृत छलफल र वर्कसप गर्ने योजना रहेको उनको भनाइ छ ।

काउन्सिल निर्वाचनको तयारीका कारण तत्काल निर्णय लिन सक्ने अवस्था छैन ।

‘चुनाव सकिएपछि नयाँ समिति आएलगत्तै यस विषयलाई प्राथमिकतामा राखेर छलफल गरिन्छ,’ डा. देवले भने, ‘यसअघि सम्बन्धित संस्थालाई नै जिम्मा दिइएको थियो, तर त्यसबाट समस्या देखिएकाले अब परिमार्जन आवश्यक देखिएको छ ।’

यद्यपि, न्याम्सको फेलोसिप भर्ना प्रक्रिया नयाँ कार्यकारी समिति आउनुअघि नै सम्पन्न गर्नुपर्ने अवस्था रहेकाले तत्काल समाधान सम्भव नरहेको उनले स्वीकार गरे ।

‘नयाँ समिति आउन कम्तीमा २० दिन लाग्छ, अहिले चुनावी समय भएकाले निर्णय गर्न सकिने अवस्था छैन,’ डा. देव भन्छन् ।

नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा सदस्यको उम्मेदवार रहेका युवा चिकित्सक डा. अरुण उप्रेती काउन्सिलको गाइडलाइनमा तत्काल परिमार्जन गर्नुपर्ने बताउँछन् ।

डा. उप्रेती एमडी/एमएस पूरा गरेका चिकित्सकहरूलाई फेलोसिप कार्यक्रममा बिना निर्वाह भत्ता काम गराउनु शोषण भएको बताउँछन् ।

‘देशव्यापी आन्दोलनले आवासीय चिकित्सकलाई भत्ता दिने निर्णय भयो । तर फेलोसिप गर्नेहरू चिकित्सकको समस्या ज्यूँका त्यूँ छ । त्यसैले गाइडलाइन तत्काल सुधार गर्नुपर्छ,’ डा. उप्रेतीले भने ।

न्याम्सले फेलोसिपमा लिँदै आएको शुल्क फिर्ता गरी नवौं तहको निर्वाह भत्ता प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

यही कारणले पछिल्ला वर्षमा फेलोसिप सुरु गरेका धेरै चिकित्सकहरूले १–२ महिनामै कार्यक्रम छोड्नुपरेको उनी बताउँछन् ।

यसअघि निर्वाह भत्ताको विषयमा आफूहरूले लडाइँ गरेको स्मरण गर्दै डा. फेलोसिपमा पनि परिवर्तन आवश्यक रहेको उनले बताए । सबै सरकारी संस्थाहरूले समान रूपमा जिम्मेवारी लिनुपर्ने धारणा उनको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More