― Advertisement ―

लोवेको वसन्त बिक्री मेमोरियल डे पूर्वावलोकन जस्तै हो — आँगनका फर्निचर, ग्रिल, उपकरण र थपमा ४०% छुट

Lowe's ले एक विशाल 'SpringFest' बिक्री सुरु गरेको छ र बचतहरू धेरै प्रभावशाली छन्, यति धेरै कि यसले मलाई यसको मेमोरियल डे बिक्री। गर्मीको...
HomeLatest newsनेपाली नोटमा चुच्चे नक्सा छापिएपछि भारतीय मिडियाको टिप्पणीप्रति चिनियाँ मिडियाको काउन्टर

नेपाली नोटमा चुच्चे नक्सा छापिएपछि भारतीय मिडियाको टिप्पणीप्रति चिनियाँ मिडियाको काउन्टर


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकले नयाँ १०० रुपैयाँ नोटमा संशोधित नक्सा राखेपछि भारतीय सञ्चारमाध्यमले सीमा विवाद चर्काएकोमा चिनियाँ ग्लोबल टाइम्सले खण्डन गरेको छ।
  • ग्लोबल टाइम्सले चिनियाँ कम्पनीले नेपाली नोट छपाइको ठेक्का पाएको विषयलाई भूराजनीतिक नजरले नहेर्न आग्रह गरेको छ।
  • नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई ५०, ५०० र १००० दरका नयाँ नोट छाप्न ठेक्का दिएको र यसअघि पनि सोही कम्पनीलाई ठेक्का दिएको छ।

१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा भएको १०० रुपैयाँ दरका नयाँ नोट जारी गरेपछि भारतीय सञ्चारमाध्यमले गरेको टिप्पणीप्रति चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले खण्डन गरेको छ ।

चीनले भारत–नेपालबीचको सीमा विवाद चर्काउन नेपालको नयाँ नोटमा विवादित भूमिसहितको नक्सा राखेको आरोप भारतीय सञ्चारमाध्यमले लगाएको प्रति ग्लोबल टाइम्सले खण्डन गरेको हो ।

चिनियाँ मुद्रण कम्पनीले नेपाली नोट छपाइको ठेक्का पाएकाले नयाँ नोटमा विवादित नक्सा राखेको आरोप लगाउँदा त्यसले क्षेत्रीय स्थिरता र विकासमा क्षति पुग्ने विज्ञको हवाला दिँदै ग्लोबल टाइम्सले लेखेको छ ।

चीन सरकारको मुखपत्र मानिने सञ्चारमाध्यम ग्लोबल टाइम्सले लेखेको छ, ‘नेपालले नयाँ नोट छपाइको ठेक्का चिनियाँ कम्पनीलाई दिएको खबरपछि केही भारतीय सञ्चारमाध्यमहरूले नेपाल-भारत सीमा विवादलाई पुन: चर्काएका छन् र चीनले आफ्नो प्रभाव विस्तार गरिरहेको दाबीलाई जोडतोडले प्रचार गरेका छन् । तर, एक चिनियाँ विशेषज्ञले नेपाल र चीनबीचको रिपोर्ट गरिएको सामान्य आर्थिक तथा व्यापारिक सहयोगलाई साँघुरो भूराजनीतिक नजरले व्याख्या गर्दा क्षेत्रीय स्थिरता र विकासमा क्षति पुग्ने चेतावनी दिएका छन् ।’

इन्डिया टूडेले चिनियाँ कम्पनीले नेपाली नोट छपाइको ठेक्का पाउनु भारतका लागि ठूलो चिन्ताको विषय भन्दै ‘काठमाडौं चीनको अँगालोमा बेरिँदै गएको’ टिप्पणी गरेको थियो ।

त्यस्तै फर्स्टपोस्टले पनि चीनसँग मुद्रा छपाइका लागि सबैभन्दा धेरै सुविधा र कर्मचारी रहेको भन्दै यी संशाधनले विश्वमा चीनलाई आफ्नो प्रभुत्व विस्तार गर्न बाटो दिएको उल्लेख गर्दै ‘भारतले नजिकबाट नियाल्नु पर्ने’ भनेको थियो ।

तर, चिनियाँ विज्ञ भने भारतीय मिडियाले नोट छपाइको ठेक्का चिनियाँ कम्पनीले पाएको सन्दर्भ उछालेर भूराजनीतिक विषयमा टिप्पणी गर्नु वाञ्छनीय नहुने भन्दै खण्डन गर्छन् ।

सिङ्घुआ विश्वविद्यालयको राष्ट्रिय रणनीति संस्थानका एक अनुसन्धकर्ता कियान फेंगले ग्लोबल टाइम्ससँग भनेका छन्, ‘नोट छपाइको ठेक्कालाई लिएर केही भारतीय मिडिया आउटलेटहरूमा देखिएको भाष्यले भारतका केही शक्तिहरूको नेपालमाथि आर्थिक नियन्त्रण कायम राख्ने र नेपाललाई भारतको अनुयायीका रूपमा अधीनस्थ स्थितिमा राख्ने निरन्तर चाहनालाई प्रतिबिम्बित गर्छ ।’

अनुसन्धानकर्ता कियानले चीन र भारत दुवै एशियाको प्रमुख शक्ति भएको बताउँदै छिमेकी राष्ट्रलाई कुनै एकको पक्षमा लाग्न बाध्य पार्न नहुने बताए ।

चीन र नेपालले आर्थिक तथा व्यापारिक सहयोगलाई स्थिर रूपमा अगाडि बढाउँदै आएको बताउँदै उनले सामान्य र वैध प्रक्रियाप्रति हस्तक्षेप नगर्न आग्रह गरेका छन् । साथै त्यसलाई नेपालसहितका क्षेत्रीय राष्ट्रहरूले समेत स्वागत गरेको र यसले नेपालसहितका देशलाई नै फाइदा पुगेको दाबी प्रस्तुत गरेका छन् ।

‘चीन–नेपाल सहयोगमा हस्तक्षेप गर्ने कुनै आधार केही व्यक्तिहरूसँग छैन,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड कर्पोरेसनलाई ५०, ५०० र १००० दरका नयाँ नोट छाप्न ठेक्का दिएको छ । यसअघि सन् २०१६ मा पनि १०० दरका नोट छाप्न राष्ट्र बैंकले सोही कम्पनीलाई ठेक्का दिएको थियो ।

विगतदेखि नै खुला प्रतिस्पर्धा र प्रक्रिया पुर्‍याएर ठेक्का पाएको विषयलाई भारतीय मिडियाले भूराजनीतिसँग जोडेको भन्दै चाइना मिडिया ग्रुपले विगतका विभिन्न मुद्रण परियोजनाको ठेक्का पाउँदै आएको स्मरण गराएको छ ।

बिहीबार राष्ट्र बैंकले जारी गरेको नयाँ नोटमा नेपालको संशोधित नक्सा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा अंकित छ । हाल नेपालको अधीनमा नरहेको यी भूभागमा भारतले आफ्नो दाबी गरेको गर्दै आएको छ ।

नेपाली पक्षले सन् १८१६ सुगौली सन्धि अनुसार दार्चुला जिल्लामा पर्ने उक्त भूभाग आफ्नो भएको दोहोर्‍याउँदै आएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More