― Advertisement ―

HomeLatest newsदोस्रो संस्करणको घर निर्माण फेस्ट हुँदै, २ सय करोडको कारोबार हुने अनुमान

दोस्रो संस्करणको घर निर्माण फेस्ट हुँदै, २ सय करोडको कारोबार हुने अनुमान


राष्ट्रिय

समाचार.

  • घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ आयोजना गर्न लागेको छ।
  • फेस्टमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा, उल्टो घर र डोम हाउस जस्ता आकर्षण समावेश गरिने आयोजकले बताएको छ।
  • फेस्टमा ४० हजारभन्दा धेरै दर्शकले नयाँ प्रविधि, सामग्री र डिजाइन अवलोकन गर्ने र व्यवसायीले प्रत्यक्ष परामर्श पाउने व्यवस्था गरिएको छ।

१२ मंसिर, काठमाडौं । दोस्रो संस्करणको घर निर्माण फेस्ट २०८२ को घोषणा गरिएको छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयोजना गर्न लागेको हो ।

निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रूपमा स्थापित हुँदै आएको फेस्टबारे फाउण्डेसनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो ।

फाउण्डेसनका अनुसार नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि विस्तार भइरहेको भएपनि धेरै ब्राण्डहरूले उत्पादनको प्रभावकारी प्रस्तुति, ग्राहकसँग सम्बन्ध विस्तार र बजारमा प्रतिस्पर्धी ब्राण्डिङ गर्न चुनौती भोगिरहेको आयोजकले जनाएको छ। ती चुनौती समाधान गर्दै फेस्टले ती कमी–कमजोरीलाई सम्बोधन गर्ने आयोजकको भनाइ छ ।

प्रदर्शनीमा प्रत्यक्ष अन्तरक्रिया, विशेषज्ञ मार्गदर्शन र ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले लक्षित ग्राहकसम्म आफूलाई प्रभावकारी रूपमा पुर्‍याउन सक्ने अपेक्षा राखिएको छ ।

चार दिनसम्म चल्ने फेस्टबाट झन्डै २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

यस्तै निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र डिजाइनबारे ४० हजारभन्दा धेरै दर्शकले प्रत्यक्ष अवलोकन गर्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ। आयोजकका अनुसार यो फेस्ट साधारण मेला मात्र नभई नवप्रवर्तन, गुणस्तरीय निर्माण, ब्रान्डिङ र व्यवसायिक वृद्धिको साझा मञ्च हो ।

आयोजकले फेस्टलाई रोचक बनाउने उद्देश्यले विभिन्न अनौठा तथा आधुनिक आकर्षणहरू समावेश गरेको छ ।

पहिलो आकर्षणको रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा, फाउण्डेसनले तयार पारेको विशाल इट्टालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गराउने तयारी छ ।

हालसम्म विश्वकै सबैभन्दा ठूलो इट्टा सन् २००७ मा अमेरिकाको टेक्सासमा निर्माण भएको थियो, जसको लम्बाइ २।९४ मिटर तथा चौडाइ र उचाइ ०।९९ मिटर थियो ।

दोस्रो आकर्षणको रूपमा ‘उल्टो घर’ रहेको छ। घरको सम्पूर्ण संरचना र डिजाइन उल्टो रूपमा प्रदर्शन गरिनेछ, जसले अवलोकनकर्तालाई नयाँ दृश्य अनुभव दिने आयोजकले जनाएको छ।

तेस्रो आकर्षणको रूपमा ‘डोम हाउस’ अवधारणा रहेको छ। नेपालमा धेरै प्रयोगमा नआएको यो प्रविधिबाट एक दिनमै घर, होटल वा रिसोर्ट पनि तयार गर्न सकिने आयोजकले जनाएको छ।

फेस्टमा अवलोकन गर्न आउनेहरूका लागि निर्माणसम्बन्धी जिज्ञासामा विशेषज्ञहरूसँग प्रत्यक्ष र निःशुल्क परामर्श लिन सक्ने व्यवस्था गरिएको छ।

इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री विशेषज्ञ तथा उद्योगमा अनुभवी व्यक्तिहरूसँग डिजाइन, लागत, गुणस्तर र आधुनिक प्रविधिबारे जानकारी लिन सकिनेछ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More