― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeअन्तर्राष्ट्रियदिल्लीमा कृत्रिम वर्षाको प्रयास, विपक्षीले भन्यो- इन्द्रदेवताकै श्रेय लिन खोजे

दिल्लीमा कृत्रिम वर्षाको प्रयास, विपक्षीले भन्यो- इन्द्रदेवताकै श्रेय लिन खोजे


News Summary

Generated by OK AI. Editorially reviewed.

  • दिल्ली सरकारले वायु प्रदूषण नियन्त्रणका लागि क्लाउड सिडिङ अर्थात् कृत्रिम वर्षा गराउने प्रक्रिया सुरु गरेको छ।
  • दिल्लीका वातावरणमन्त्री मनजिन्दर सिंह सिरसाले क्लाउड सिडिङको दोस्रो परीक्षण सम्पन्न भएको जानकारी दिए।
  • विपक्षी आम आदमी पार्टीले दिल्ली सरकारमाथि इन्द्रदेवताकै श्रेय लिन खोजेको आरोप लगाएको छ।

११ कात्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीमा राज्य सरकारले वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले मंगलबार ‘क्लाउड सिडिङ’ अर्थात् कृत्रिम वर्षा गराउने प्रक्रिया सुरु गरेको छ ।

तर, यस सरकारी प्रयासमाथि विपक्षी दल आम आदमी पार्टी (आप) ले भने व्यंग्य गर्दै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) माथि ‘इन्द्रदेवताकै श्रेय लिन खोजेको’ आरोप लगाएको छ ।

दिल्ली सरकारका वातावरणमन्त्री मनजिन्दर सिंह सिरसाले मंगलबार पत्रकार सम्मेलनमार्फत् क्लाउड सिडिङको दोस्रो परीक्षण सम्पन्न भएको जानकारी दिएका छन् ।

उनका अनुसार यो प्रक्रिया दिल्लीका बाहिरी क्षेत्र बुराडीबाट सुरु भई मयूर विहारसम्म सञ्चालन गरिएको हो ।

‘यो क्लाउड सिडिङ सेस्ना विमानमार्फत् आइआइटी कानपुरले गरेको हो। विमान मेरठतर्फबाट दिल्ली प्रवेश गरी खेकडा, बुराडी, नर्थ करोल बाग, मयूर विहार, सादकपुर र भोजपुर क्षेत्रमा सीडिङ गरिएको हो,’ वातावरणमन्त्री सिरसाले भने ।

क्लाउड सिडिङका लागि आठ वटा फ्लेयर प्रयोग गरिएको थियो । जसले दुईदेखि अढाइ मिनेटसम्म काम गर्छन् । प्रत्येक फ्लेयर करिब दुईदेखि अढाइ किलोसम्म तौलको हुन्छ र यसबाट सिल्वर आयोडाइड, सोडियम क्लोराइड र पोटासियम क्लोराइड जस्ता रसायन विशेष विमानमार्फत् बादलमा छरिएका थिए ।

आईआईटी कानपुरको अनुमानमा त्यहाँ १५ देखि २० प्रतिशत आर्द्रता (ह्युमिडिटी) थियो । जसका कारण ठूलो वर्षा हुने सम्भावना छैन तर सानो स्तरको वर्षा पर्न सक्छ ।

मन्त्री सिरसाले भने, ‘यदि यो परीक्षण सफल भयो भने फेब्रुअरीसम्मको अवधिका लागि दिल्लीमा नियमित रूपमा क्लाउड सिडिङको योजना बनाइनेछ ।’

कृत्रिम वर्षा गराए दिल्लीको वायुमण्डल सफा गर्ने योजना अनुसार राज्य सरकारले क्लाउड सिडिङको अवधारणा अघि बढाएको हो ।

पछिल्लो पटक दिपावली –तिहार) का बेला पड्काइएको पटाका र आतिशबाजीका कारण पनि दिल्लीमा प्रदूषण बढेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । साथै दिल्ली आसपासका क्षेत्रमा पराल र छ्वाली डढाउने गतिविधिले पनि वायुमण्डल प्रदूषित भएको बताइन्छ ।

तर विपक्षी आम आदमी पार्टीले यो प्रयासमाथि प्रश्न उठाउँदै दिल्ली सरकारमाथि व्यंग्य गरेको छ ।

आपका नेता सौरभ भारद्वाजले भाजपा सरकार र पार्टी मन्त्रीहरू इन्द्रदेवताले गराएको वर्षाको पनि क्रेडिट लिन लागेको आरोप लगाए ।

उनले भने, ‘भगवान इन्द्र वर्षा गराउनेछन् तर मन्त्रीजी प्रेस कन्फरेन्स गरेर भन्छन्— मैले वर्षा गराएँ ।’

छठ पर्वको बेला हिजो नै हल्का वर्षा भएको बताउँदै आप नेता भारद्वाजले भने, ‘ठेकेदारलाई वर्षाको भुक्तानी पनि गर्नुपर्ने भएकाले सरकारले इन्द्रदेवताकै काम आफ्नो ठानिरहेको छ ।’

के हो क्लाउड सिडिङ ?

रसायनहरूको प्रयोग गरेर कृत्रिम वर्षा गराउने प्रक्रियालाई क्लाउड सिडिङ भनिन्छ । यसमा सिल्वर आयोडाइड, सोडियम क्लोराइड, पोटासियम क्लोराइड जस्ता रासायनिक पदार्थ विमान वा ड्रोनमार्फत् बादलमा छरिन्छन् ।

यी पदार्थले बादलभित्रको स–साना पानीका कण आपसमा जोड्ने र बरफका टुक्रा बन्ने प्रक्रिया तीव्र पार्छन्, जसले गर्दा अन्तत: वर्षा हुन्छ ।

यो प्रविधिको विकास सन् १९४० तिर अमेरिकी वैज्ञानिक भिन्सेन्ट जे. शेफरले गरेका थिए । हाल अमेरिकादेखि चीन र संयुक्त अरब इमिरेट्स लगायत विभिन्न देशले प्रदूषण नियन्त्रण र पानी अभाव समाधानका लागि यसको प्रयोग गर्दै आएका छन् ।

दिल्लीमा पनि यही प्रविधिबाट प्रदूषण घटाउने प्रयास गरिएको हो, तर यो प्रयास सफल हुने वा नहुने प्रतिक्षाको विषय बनेको छ ।





Read More