― Advertisement ―

‘हाम्रो डाटा वा प्रणालीसँग सम्झौता भएको छ भन्ने विश्वास गर्ने कुनै कारण छैन’: अमेरिकी सांसदहरूले २५ लाख VRChat प्रयोगकर्ताहरू ह्याकबाट जोखिममा रहेको बताएका छन्,...

सरकारी उल्लङ्घन सूचनाले VRChat डाटा एक्सपोजरले लाखौंलाई असर गरेको दाबी गरेको छ, तर कम्पनीले प्रणालीमा कुनै पनि सम्झौता वा सम्झौतालाई कडा रूपमा अस्वीकार गर्छ। ...
HomeLatest newsदल खोलेर आए योगेन्द्र, कांग्रेस-एमालेबाट नयाँ उम्मेदवार – KhabarHost

दल खोलेर आए योगेन्द्र, कांग्रेस-एमालेबाट नयाँ उम्मेदवार – KhabarHost



१० माघ, विराटनगर । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनअघि मोरङ-५ मा दलकै दबदबा थियो । तर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डल विजयी भए । दलका उम्मेदवारलाई पराजित गरेर राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान बनाए ।

संसद्‌मा किसानको मुद्दा पुर्‍याएका मण्डल २१ फागुनमा हुँदै गरेको संसदीय निर्वाचनमा पुन: उम्मेदवार बनेका छन् । स्वतन्त्र जितेका उनले यो पटक आफ्नै नेतृत्वमा गठन भएको राष्ट्रिय ऊर्जाशील पार्टीबाट उम्मेदवारी दिएका हुन् । उनको पार्टीले मोरङका तीन क्षेत्रमा उम्मेदवार उठाएको छ ।

यसपटकको निर्वाचनमा उनीसहित ठूला चार दलका उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेसले फूलकुमार लालवानीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट मनोज अग्रवाल, नेपाली कम्युनिस्ट पार्टीबाट शिवकुमार मण्डल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशा झा उम्मेदवार छिन् । स्वतन्त्रसहित २१ जना मैदानमा छन् ।

मोरङ-५ मधेश आन्दोलनपछि उदाएका नेता उपेन्द्र यादवको प्रभाव क्षेत्र हो । पहिलो संविधानसभामा जितेका यादव दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएपछि यो क्षेत्रबाट सप्तरी-२ लागे ।

मोरङ-५ मा जसपा मोरङ अध्यक्ष राजकुमार यादव उम्मेदवार छन् । यादव २०७४ र २०७९ सालको निर्वाचनमा तेस्रो भएका थिए । २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी शिवकुमारसँगै पराजित भए ।

योगेन्द्रको फड्को

तीन वर्षअघि स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका मण्डल जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक हुन् । जीवन विकास समाजमार्फत शिक्षा, स्वास्थ्य, लघुवित्त, कृषि तथा वातावरणको क्षेत्रमा काम गरिरहेका उनले २ हजार हाराहारीलाई रोजगारी सिर्जना गरेका छन् ।

तीन वर्षअघि चापाकल चुनाव चिह्न लिएर स्वतन्त्र रूपमा संसद् छिरेका योगेन्द्रले जेनजी आन्दोलनपछि आफ्नै नेतृत्वमा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ गठन गरे ।

अघिल्लो निर्वाचनमा उनले पाएको चापाकल चिह्नलाई नै अहिले आफ्नो दलको निर्वाचन चिह्न बनाएका छन् । मण्डलले यो क्षेत्रमा आफ्नो व्यक्तिगत र दलगत प्रभावलाई आफ्नो आधार मानेका छन् । अघिल्लो पटक स्वतन्त्र निर्वाचन जितेका उनी यो पटक दल खोलेर घरदैलो गरिरहेका छन् ।

कांग्रेस र एमालेको ‘कमब्याक’

२०७९ को निर्वाचनमा मोरङ–५ मा नेपाली कांग्रेस र नेकपा एमाले दुवैका आफ्नै उम्मेदवार थिएनन् । त्यतिबेला एमालेले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समर्थन गरेको थियो भने कांग्रेसले नेकपा मओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेको थियो ।

दोस्रो संविधानसभाको निर्वाचनपछि अहिले क्षेत्र नम्बर ५ मा प्रमुख सबै दलका उम्मेदवार चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेसले मारवाडी समुदायका फूलकुमार लालवानीलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेले पनि व्यापारिक पृष्ठभूमि भएका मारवाडी समुदायका मनोज अग्रवाललाई अघि सारेको छ ।

एमालेले दुई वटा निर्वाचनपछि मोरङ-५ मा आफ्नै उम्मेदवार अघि सारेको हो । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । २०७९ सालमा एमालेले जसपा उम्मेदवार यादवलाई सहयोग गरेको थियो ।

छैटौं प्रतिस्पर्धामा शिवकुमार

नेकपाका शिवकुमार मण्डल यस क्षेत्रका सबैभन्दा पुराना राजनीतिक खेलाडी हुन् । २०६४ सालको अन्तरिम संसद्‌देखि सुरु भएको उनको संसदीय यात्रामा अहिले छैटौं पटक चुनावी मैदानमा छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ८ मतको झिनो अन्तरले जितेका मण्डलले २०७४ मा वाम गठबन्धनको बलमा जित हासिल गरेका थिए ।

पटक–पटक चुनाव लडेका र मन्त्रीसमेत भइसकेका मण्डलका लागि यसपटकको निर्वाचन अस्तित्वको लडाइँ बनेको छ । किनकि, उनी तत्कालीन नेकपा माओवादी केन्द्रमा हुँदा जनार्दन शर्माको समूहमा थिए । अध्यक्ष प्रमण्डले वाम दलबीच एकता गर्दा जनार्दनले पार्टी छाडे । लामो समय निष्क्रिय रहेका उनी पछि नेकपामै जोडिए । उनी नेकपामै फर्किंदा तत्कालीन माओवादीको एउटा समूह उनीसँग असन्तुष्ट छ ।

२०६४ सालको अन्तरिम संसद्‌का मनोनित सांसद मण्डलले त्यसयता निरन्तर चुनाव लडिरहेका छन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी उपेन्द्र यादवसँग पराजित भए । दुई क्षेत्रबाट चुनाव जितेका यादवले मोरङ-५ छाडेपछि २०६५ को उपनिर्वाचनमा मण्डल जसपा नेता जयराम यादवसँग पनि पराजित भए ।

२०७० सालमा तत्कालीन ४ (हाल ५)बाट माओवादी उम्मेदवार मण्डलले ९ हजार ३६० मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार गयानन्द मण्डलले ९ हजार ३५२ मत पाएका थिए ।

२०७४ सालमा अमृत अर्याललाई ३ हजार ७९२ मतले पराजित गरेका गर्दै मण्डल निर्वाचित भएका थिए । उनले २२ हजार ९४५ मत प्राप्त गर्दा अर्यालले १९ हजार १५३ मत पाएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई यो क्षेत्रमा अमृत अर्यालले पराजित गरेका थिए ।

मोरङ-५ दक्षिणी सीमा भारतसँग जोडिएको छ । यो क्षेत्रमा सडक पूर्वाधार, कृषि, नागरिकता र सीमापार चोरी निकासी पैठारीको समस्या छ । दलका उम्मेदवारले सडक पूर्वाधार, कृषि रोजगारी र नागरिकताको समस्या सामधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै चुनावी अभियानमा होमिएका छन् ।





Read More