― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsठेकेदार, विज्ञ र केही नयाँ अनुहार – KhabarHost

ठेकेदार, विज्ञ र केही नयाँ अनुहार – KhabarHost



६ माघ, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णालीका सबै निर्वाचन क्षेत्रमा आफ्ना उमेदवार टुङ्गो लगाएको छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार टुङ्गो लगाएको नेकपाले ठेकेदार संसद्, विज्ञदेखि केही नयाँ अनुहारलाई टिकट दिएको छ । टिकट पाउनेहरूमा ठेकेदार सांसदका रूपमा चिनिले धनबहादुर बुढा पुन: डोल्पाबाट उम्मेदवार बनेका छन् । पूर्वशहरी विकास मन्त्रीसमेत रहेका बुढा साबिक नेकपा एकीकृत समाजवादीका नेता हुन् ।

त्यस्तै, २०७० देखि चुनाव लडेर जित्दै आएका पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही पुन: उम्मेदवार बनेका छन् । बस्नेत जाजरकोटबाट र शाही कालिकोटबाट चुनाव लड्दै आएका छन् । पटकपटक सत्ता र शक्तिमा पुगेका यी दुई नेता सदाबहार उम्मेदवार हुन् ।

दैलेख–२ मा उम्मेदवार बनेका योगेन्द्रबहादुर शाही र हुम्लाबाट टिकट पाएका डा. दीपेन्द्र रोकाय कर्णालीमा विज्ञ व्यक्तिका रूपमा चिनिन्छन् । पहिलो पटक प्रतिनिधिसभामा चुनाव लड्न लागेका यी दुई नेता यसअघि कर्णाली प्रदेश नीति तथा योजना आयोगको सदस्य र उपाध्यक्ष थिए ।

दुई पूर्वमन्त्री आकांक्षी रहेको सल्यानमा युवा नेता रमेश मल्ललाई टिकट दिइएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका मल्ल पहिलो पटक चुनाव लड्न लागेका छन् । जिल्लाबाट पूर्वमन्त्रीद्वारा प्रकाश ज्वाला र टेकबहादुर बस्नेत बलिया दाबेदार थिए ।

सुर्खेत–१ मा जीतबहादुर राना र सुर्खेत–२ मा झकबहादुर मल्ल ‘सुदीप’ पनि नयाँ अनुहार हुन् । उनीहरू दुवै जना पहिलो पटक प्रतिनिधिसभामा चुनाव लड्दै छन् । यसअघि जनार्दन शर्माले निरन्तर चुनाव लड्दै आएको रुकुम पश्चिममा गोपाल शर्माले टिकट पाएका छन् । जनार्दनले पार्टी छोडेपछि नेकपाले गोपाललाई टिकट दिएको छ ।

नेकपाले जुम्लामा नरेश भण्डारीलाई टिकट दिएको छ । जुम्ला विकासका आर्किटेक्चरका रूपमा चिनिने भण्डारी नेकपा कर्णालीका बौद्धिक नेताको रूपमा चिनिन्छन् । २०७४ पछि कर्णालीमा माओवादीले गठबन्धनविना चुनाव लडेको छैन । अहिले समाजवादी र माओवादीसहित मिलेर बनेको नेकपाले प्रदेशका १२ सिटमा तत्कालीन माओवादीबाट ८ जना र एकीकृत समाजवादीका ४ जनालाई टिकट दिएको छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कर्णालीका चार जिल्लामा साबिक माओवादीले जितेको थियो भने तीन जिल्लामा साबिकको एकीकृत समाजवादीले जितेको थियो । माओवादी र समाजवादीले ७ सिट जित्दा कांग्रेसले ४ सिट जितेको थियो । कर्णालीमा एमालेले भने कुनै सिट जित्न सकेको थिएन ।

डोल्पामा ठेकेदार सांसदकै निरन्तरता 

नेकपाले डोल्पामा पुन: ठेकेदार सांसद धनबहादुर बुढालाई नै उम्मेदवार बनाएको छ । साबिकको नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका उनी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा शहरी विकास मन्त्री थिए । ‘क’ वर्गको निर्माण कम्पनी बुद्ध हिमाली निर्माण सेवाका सञ्चालकसमेत रहेका बुढा डोल्पाबाट प्रत्यक्ष निर्वाचन जित्दै आएका छन् ।

नेपालका मुख्य ठेकेदारको सूचीमा रहेका उनको निर्माण कम्पनी देशभरका विभिन्न निर्माण परियोजनाको दाबेदार रहने गरेको छ । बुद्ध हिमालीले भवन निर्माण, सडक, पुल, विमानस्थल, पार्क, हाइड्रोपावर, सिंचाइ, खानेपानी पूर्वाधार र ढल निकाससहित विभिन्न शहरी तथा ग्रामीण पूर्वाधार निर्माणको काम गर्दै आएको छ ।

एमालेबाट २०७० को संविधानसभा सदस्य र २०७४ को प्रतिनिधिसभा निर्वाचन जितेका उनी गत २०७९ मा भएको निर्वाचनमा तेस्रो पटक डोल्पाबाटै सांसद बनेका थिए । उनी चौथो पटक प्रतिनिधिसभामा चुनाव लड्दै छन् ।

फागुन २०७४ देखि मंसिर २०७६ गतेसम्म संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्री भएका बुढा नेकपा एमालेबाट अलग्गिएर २०७८ मा बनेको एकीकृत समाजवादीतर्फ लागेका थिए । धनबहादुर २०५५ सालपछि मात्रै राजनीतिमा आएका हुन् ।

उनी २०६० र २०६२ मा दुई कार्यकाल जिल्ला विकास समिति डोल्पाको सभापति बनेपछि उनको निर्माण व्यवसायले उचाइ पाएको थियो । स्थानीय ठेक्कापट्टामा ‘कार्टेलिङ’ गर्ने गरेको आरोप खेपेका उनी पछिल्ला समयमा ठूला ठेक्काहरूमै विवादमा मुछिएका पात्र हुन् ।

शक्तिको हस्तक्षेपले प्रत्यासीले छाडे पार्टी  

नेकपाले जाजरकोटमा पुन: शक्ति बस्नेतलाई नै उम्मेदवार बनाएपछि पार्टी भित्र विवाद चुलिएको छ । पार्टी नेतृत्वले निरन्तर दुई दशक बढी एउटै व्यक्तिलाई टिकट दिएको भन्दै पार्टीका अर्का नेता गणेशप्रसाद सिंहले पार्टी सदस्यबाटै राजीनामा दिएका छन् ।

नेकपाको केन्द्रीय सदस्यसमेत रहेका सिंह कर्णाली सरकारका पूर्वमन्त्री हुन् । जाजरकोटबाट शक्तिसहित सिंह र अर्का नेता रामदीप आचार्य सहितका नेताहरूको नाम उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएको थियो । शक्तिले यो पटक आफू उम्मेदवार नबन्ने बरु नेताहरूलाई सघाउने आश्वासन दिएका थिए ।

‘यो पटक म चुनाव लड्दिन पार्टी चलाएर बस्छु भन्नुभयो,’ सिंहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तर पार्टीले शक्ति बस्नेतलाई नै उम्मेदवार बनाउने निर्णय गर्‍यो । यो हाम्रो लागि मान्य छैन ।’

शक्ति बस्नेतलाई निर्वाचनमा उठ्न टीका लगाएर आदेश दिनु, एउटै व्यक्तिले अध्यक्ष स्तरबाट निरन्तर दबाब सिर्जना गर्नु, जबरजस्ती निर्णय लादिनु विधानविपरीत कार्य भएको सिंहको भनाइ छ ।

‘यी सबै कार्य गम्भीर रूपमा आपत्तिजनक छन् । यस्तो स्वेच्छाचारी, मालिक, मुखिया प्रवृत्तिका निर्णयहरूले कार्यकर्ताहरूलाई रैती र दाससरह बनाउने प्रयास गरिएको छ, जुन पार्टीको विधान, सिद्धान्त र सामूहिक नेतृत्वको मर्मविपरीत छ,’ उनले विज्ञप्तिमा लेखेका छन्  ।

शक्तिको उम्मेदवारीप्रति अर्का नेता रामदीप आचार्यले पनि १० बुँदे असन्तुष्टि जनाएका छन् । उम्मेदवारका आकांक्षी रहेका आचार्यले आफूले कुनै भिख नमागेको तर सगौरव टिकट माग गरेको बताएका छन् । ‘अरूले दाबी गर्दा समाजवाद र मैले दाबी गर्दा अवसरवाद त हुँदैन होला,’ शक्ति बस्नेततर्फ लक्षित गर्दै उनले भनेका छन्, ‘म कमरेडद्वेषी र मत्स्य न्यायको विपक्षमा छु ।’

बस्नेत जाजरकोटबाट चौथो पटक चुनाव लड्दै छन् । उनले २०७० को दोस्रो संविधानसभा चुनाव, २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए । तत्कालीन माओवादी केन्द्र शान्ति प्रक्रियामा आएसँगै २०६४ को पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद भएका बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री भएका थिए । २०७२ सालमा गृह मन्त्री, २०७४ मा वन तथा वातावरण मन्त्री र २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री थिए ।

पटकपटक मन्त्री बन्नुमा कुनै खास योजना र प्रसिद्धि कमाएको विगत छैन । माओवादी अध्यक्ष प्रचण्डको विश्वासपात्र भएकै कारण पटकपटक सत्तामा शक्ति पुग्ने गरेको शक्ति यो पटक पुन: उम्मेदवार बनेका छन् । जसको विरोधमा पार्टीकै नेताहरू उत्रिएका छन् ।

महेन्द्रबहादुर कालीकोटका सदाबहार उम्मेदवार 

नेकपा कालिकोटले यसअघि उम्मेदवार सिफारिस गर्दा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम एकल सिफारिस गरेको थियो । यसपालि धेरैलाई लागेको थियो, प्रचण्ड कालिकोटबाट चुनाव लड्ने छन् । तर उनले रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरे ।

कालीकोटबाट प्रचण्ड नलड्ने भएपछि जिल्लाका ११ जना नेता आकांक्षी थिए । अन्तत: पार्टीले पुन: महेन्द्रबहादुर शाहीलाई नै टिकट दियो । शाही प्रतिनिधिसभामा चोथो पटक कालीकोटबाट चुनाव लड्दै छन् ।

शान्ति प्रक्रिया सुरु भएपछि २०६४ साल यता कालिकोटमा निरन्तर साबिकको माओवादीले चुनाव जित्दै आएको छ ।

२०६४ मा माओवादीका खड्गबहादुर विश्वकर्माले यो क्षेत्रबाट चुनाव जितेका थिए । त्यसयता शाहीले नै चुनाव जित्दै आएका छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा शाही विजयी भए । उनले २०७४ को निर्वाचनमा मुख्यमन्त्री बन्ने ध्येयका साथ प्रदेशमा चुनाव लडेर जितेका थिए ।

करिब तीन वर्ष कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीसमेत भएका शाही २०७९ को निर्वाचनमा भने प्रतिनिधिसभामा विजयी भए ।

जुम्लामा बौद्धिक नेता भण्डारीलाई टिकट 

नेकपाले जुम्लामा बौद्धिक नेता नरेश भण्डारीलाई टिकट दिएको छ । कर्णाली प्रदेश सरकारका पूर्वकानुन मन्त्रीसमेत रहेका भण्डारी दोस्रो पटक प्रतिनिधिसभामा चुनाव लड्दै छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भण्डारीले २१ हजार बढी मतसहित चुनाव जितेका थिए । उनी २०७४ मा जुम्ला १ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

भण्डारी माओवादी कर्णालीको बौद्धिक नेता र जुम्ला विकासका आर्किटेक्चरका रूपमा चिनिन्छन् । उनकै नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको स्थापना भएको थियो । २०६८ सालमा प्रतिनिधिसभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता गरे ।

विधेयक सांसदबाट पारित भयो । र, भण्डारीले जुम्लामा प्रतिष्ठानको स्थापना गरेका थिए । जसले गर्दा, हिजो डाक्टर नपाउने कर्णाली आज डाक्टर उत्पादन गर्दै आएको छ । छोटो समय कर्णालीको कानुन मन्त्री बनेका भण्डारीले केही प्रभावकारी कामको सुरुवात गरेका थिए । उनको कर्णाली चाँदीको घेरा नामक पुस्तक प्रकाशित छ ।

दुई पूर्वलडाकु बने सुर्खेतका उम्मेदवार 

नेकपाले कर्णाली प्रदेश राजधानीको जिल्ला सुर्खेतमा दुई जना पूर्वजनमुक्ति सेनाका लडाकुलाई टिकट दिएको छ । सुर्खेत–१ मा जीतबहादुर राना र २ मा झकबहादुर मल्ल ‘सुदीप’ चुनाव लड्ने छन् ।

पहिलो पटक संसदीय चुनाव लड्न लागेका यी दुवै नयाँ अनुहार हुन् । माओवादी पृष्ठभूमिका यी नेताहरू बौद्धिक, सालिन र विवादमा नमुछिएका नेतामा पर्छन् । राना तत्कालीन माओवादी सुर्खेतका जिल्ला संयोजक थिए भने मल्ल इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । यी दुवै नेताहरू १० वर्षे सशस्त्र युद्धका बेला जनमुक्ति सेनाका लडाकु थिए ।

झकबहादुर मल्ल सशस्त्र युद्धका बेला सुर्खेत जेल ब्रेकका कमान्डर पनि हुन् । युद्धकालको सुर्खेत जेलब्रेक घटना निकै चर्चित छ । सानै उमेरमा पूर्णकालीन माओवादी भएर थुप्रै युद्ध लडेका मल्लले युद्धकै क्रममा आफ्नो जीवनसाथी गुमाएका थिए । उनी युवाहरू माझ बौद्धिक नेताका रूपमा चिनिन्छन् ।

जीतबहादुर द्वन्द्वकालमा अवलचिङको जनसरकार प्रमुख भए । त्यसपछि सैन्य ब्युरो सदस्य हुँदै जनमुक्ति सेनाको कम्पनी कमिसारसम्म भएर लडेका थिए ।

सल्यानमा २ पूर्वमन्त्रीलाई रोकेर युवालाई टिकट

नेकपाले सल्यानमा दुई पूर्वमन्त्रीलाई छोडेर युवा नेता रमेश मल्ललाई टिकट दिएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल पहिलो पटक चुनाव लड्न लागेका हुन् ।

यसअघि सोही क्षेत्रबाट चुनाव जितेका प्रकाश ज्वालाले दाबी छोडेपछि मल्लले टिकट पाएका हुन् । यो क्षेत्रमा विगत लामो समयदेखि तत्कालीन एकीकृत समाजवादीका प्रभावशाली नेता ज्वालाले चुनाव लड्दै आएका थिए ।

२०७९ को निर्वाचन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । गठबन्धनबाट ज्वालाले जितेका थिए । उनी अहिले नेकपाकै नेता छन् । जिल्लाबाट मल्लसहित ज्वाला र पूर्वमन्त्री टेकबहादुर बस्नेत सिफारिस भएका थिए । तर टिकट भने यसअघि प्रचण्डको स्वकीय सचिवसमेत रहेका मल्लले पाएका छन् ।

हुम्ला र दैलेखमा विज्ञ उम्मेदवार 

नेकपाले हुम्लामा डा. दीपेन्द्र रोकाय र दैलेख–२ मा योगेन्द्र शाहीलाई उम्मेदवार बनाएको छ । पहिलो पटक प्रतिनिधिसभामा चुनाव लड्न लागेका यी दुई नेता कर्णालीमा विज्ञ नेताको रूपमा चिनिन्छन् ।

हुम्लाबाट झन्डै एक दर्जन नेताको नाम सिफारिस भए पनि यो पटक रोकायाले टिकट पाएका छन् । रोकाया २०७९ मै संसदीय निर्वाचन लड्न चाहन्थे तर माओवादीले कार्चेन लामालाई टिकट दिएको थियो ।

कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्यसमेत रहेका रोकाया माओवादी केन्द्र भित्र बौद्धिक नेताको रूपमा स्थापित छन् । पूर्वपत्रकारसमेत रहेका रोकायले कर्णाली प्रदेशको पञ्चवर्षीय गुरुयोजना तयार गर्न महत्त्वपूर्ण योगदान गरेका थिए । कर्णाली प्रदेशका कार्यक्रम तथा परियोजनाहरूको डिजाइन, कार्यान्वयन र अनुगमनमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको थियो ।

उनले २०६६ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) तथा २०६८ सालमा पाटन क्याम्पसबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । २०७३ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा पीएचडी गरेका छन् ।

दैलेख–२ बाट उम्मेदवार बनेका शाही कर्णाली प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । राजनीतिक तथा बौद्धिक व्यक्तित्वको रूपमा परिचित शाही युथ भिजन–२०२५ निर्माण कार्यदलको संयोजकसमेत रहेका काम गरेका व्यक्ति हुन् ।

उनी सन् २००७ देखि २०११ सम्म विश्व प्रजातान्त्रिक युवा संघको उपाध्यक्ष भई विश्वका ६० भन्दा बढी देशमा प्रतिनिधि तथा वक्ताका रूपमा सहभागी भएका थिए । पूर्वप्रधानमन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकारसमेत भएका शाही नेकपा (एमाले) त्यागेर माओवादी राजनीतिमा लागेका हुन् ।

शाहीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वाम राजनीति, विकास भूमि तथा प्राकृतिक स्रोत व्यवस्थापनबारे खोजमूलक लेख तथा पुस्तक प्रकाशन छन् । उनले जवाहरलाल नेहरू विश्वविद्यालय, नयाँदिल्ली, भारतबाट क्षेत्रीय विकासमा एमफिल, त्रिभुवन विश्वविद्यालयबाट भूगोल, अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी हाल विद्यावारिधि (पीएचडी) गरिरहेका छन् ।

कर्णाली प्रदेशको पञ्चवर्षीय योजना र विषयगत गुरुयोजनाअनुरूप विकास निर्माणका योजनालाई कार्यान्वयन गर्ने शाही गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट दैलेख–२ (ख) बाट प्रदेश सभामा उम्मेदवार बनेका थिए ।

अरू को कस्ता ? 

रुकुम पश्चिममा तत्कालीन माओवादीका प्रभावशाली नेता जनार्दन शर्माले पार्टी छोडेपछि पहिलो पटक सो क्षेत्रमा नेकपाले गोपाल शर्मालाई उम्मेदवार बनाएको छ । २०६४ यता निरन्तर चुनाव लड्दै आएका जनार्दन यो पटक आफ्नै सहयोद्धासँग चुनावमा भिड्दै छन् ।

२०७४ मा प्रदेशसभा सदस्य जितेका गोपाल शर्मा कर्णाली प्रदेश सरकारको अर्थमन्त्रीसमेत बनेका थिए । रुकुम पश्चिममा एकछत्र राज गरेका जनार्दन अहिले नयाँ राजनीतिक दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेर सोही पार्टीबाट चुनावी मैदानमा छन् ।

दैलेख–१ मा अम्मरबहादुर थापा पुन: उम्मेदवार बनेका छन् । २०७९ को प्रतिनिधिसभा चुनावमा थापा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । लामो समय एमालेको जिल्ला कमिटीको नेतृत्वमा रहेका उनी एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेका थिए ।

२०७४ मा एमालेबाट प्रदेशसभा चुनाव जितेका उनी नेकपा उत्कर्षको बेला एमालेको निर्णयविरुद्ध ‘फ्लोर क्रस’ गरेर चर्चामा आएका थिए । पछि उनी कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । थापा यो भन्दा अगाडि प्रतिनिधिसभा शिक्षा समितिको सभापतिसमेत बनेका थिए ।

नेकपाले मुगुमा चन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । एमाले राजनीतिक पृष्ठभूमिका शाही पछि एकीकृत समाजवादीमा लागेका थिए । २०७४ मा प्रदेशसभा सदस्य रहेका उनी कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्री बनेका थिए ।





Read More