राष्ट्रिय
समाचार.
- नेपाल तेक्वान्दो संघले फागुन १ देखि ६ गतेसम्म काठमाडौंमा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
- प्रतियोगितामा नेपालसहित २० भन्दा बढी देशका १५ सयभन्दा बढी महिला र पुरुष खेलाडी सहभागी हुनेछन्।
- प्रतियोगितामा क्याडेटदेखि सिनियरसम्मका उमेर समूहमा ७४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ र करिब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
११ माघ, काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२६ (डब्लु टी जी-१) तथा दोस्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता–२०२६ (डब्लु टी जी-१) आगामी फागुन पहिलो साता हुने भएको छ ।
फागुन १ देखि ६ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा नेपालसहित करिब २० भन्दा बढी देशका १५ सयभन्दा बढी महिला तथा पुरुष खेलाडी सहभागी हुने बताइएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिता आयोजना गरी नेपाली खेलाडीलाई अवसर प्रदान गर्ने, खेलकुदमार्फत अन्तर्राष्ट्रिय मित्रता विकास गर्ने र पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको नेपाल तेक्वान्दो संघले जनाएको छ।
यसअघि सन् २०११ र २०१३ मा काठमाडौँमा तथा सन् २०२२ मा पोखरामा यस प्रतियोगिताका अघिल्ला संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। विश्व तेक्वान्दो महासंघबाट वरियताको मान्यता प्राप्त (डब्लु टी जी-१) प्रतियोगिता भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार र व्यवस्थापन गरिएको आयोजकको भनाइ छ।
प्रतियोगिताका लागि संघको सल्लाहकार परिषद्का अध्यक्ष तथा पूर्व अध्यक्ष प्रकाश शम्शेर राणा को अध्यक्षतामा सात सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने १३ वटा विभिन्न उपसमितिहरू रहेका छन्।
प्रतियोगिता सञ्चालनका लागि करिब ४० जना नेपाली तथा विदेशी अन्तर्राष्ट्रिय निर्णायक परिचालन गरिनेछ। साथै अन्तर्राष्ट्रिय पर्यवेक्षक र दक्षिण एशियाली तथा अन्य सहभागी राष्ट्रका तेक्वान्दो पदाधिकारीहरूको समेत उपस्थिति रहने आयोजकले जनाएको छ।
हालसम्म नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, हङकङ, चिली, सिंगापुर, मोरक्को, केन्या, जापान, थाइल्याण्ड, पोर्चुगल, अष्ट्रेलिया, इजिप्ट लगायत देशका खेलाडीहरूको नाम दर्ता भइसकेको छ भने अन्य राष्ट्रबाट पनि दर्ता हुने क्रम जारी रहेको छ। खेलाडी दर्ताको अन्तिम मिति माघ १८ गते (फेब्रुअरी १, २०२६) तोकिएको छ।
ग्यरोगी (फाइट) र पुम्से (फर्म) दुवै विधामा क्याडेट (१२–१४ वर्ष) देखि सिनियर (१८ वर्ष माथि) सम्मका उमेर तथा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा कुल ७४ स्वर्ण पदक का लागि खेल हुनेछ। साथै ‘मिसन २६’ अन्तर्गत आगामी एसियाली खेलको तयारीमा रहेका नेपाली राष्ट्रिय खेलाडीहरू पनि सहभागी हुनेछन्, जसले उनीहरूको अनुभव र आत्मविश्वास बढाउने विश्वास लिइएको छ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। साथै दक्षिण एशियामा यस स्तरको डब्लु टी जी-१ वरियता प्रतियोगिता आयोजना गर्ने अवसर नेपालले मात्र पाएको आयोजकको दाबी छ, जसलाई नेपाली खेलकुद क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

