― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsचुनावअघि सुनुवाइ थाल्नसमेत असम्भव – KhabarHost

चुनावअघि सुनुवाइ थाल्नसमेत असम्भव – KhabarHost


राष्ट्रिय

समाचार.

  • केही दिनदेखि एमाले र नेपाली कांग्रेस देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा छिटो सुनुवाइ हुनुपर्ने माग गरेका छन्।
  • सर्वोच्च अदालतले २० माघमा मुद्दाको नियमित तारेख तोकेको छ र त्यसपछि मात्रै पेशीको मिति तोकिने अभ्यास छ।
  • सर्वोच्च अदालतका न्यायाधीशहरूले मुलुक निर्वाचततर्फ अघि बढेको अवस्थामा न्यायिक सक्रियता नतिजामुखी नहुने निष्कर्ष निकालेका छन्।

१७ माघ, काठमाडौं । केही दिनदेखि एमाले र नेपाली कांग्रेसको देउवा पक्षका नेताहरूले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा छिटो सुनुवाइ हुनुपर्ने भनी वकालत गरिरहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेको र उम्मेद्वारहरू घरदैलोमा जाने तयारी गरिरहेका बेला ती नेताहरूले भने प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ तत्काल अघि बढाउनुपर्ने माग गरेका थिए । निर्वाचनमा भन्दा पनि उनीहरूको अभिव्यक्ति अदालतमा विचाराधीन मुद्दा टुंग्याउनेतर्फ केन्द्रित थियो ।

दुई दिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइ गर्न ढिलाई गर्न नहुने अभिव्यक्ति दिएका थिए ।

त्यसको केही दिनअघि एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पनि अदालतले मुद्दाको सुनुवाइ गर्न ढिलाई गर्न नहुने बताएका थिए ।

कांग्रेस देउवा पक्षका नेताहरू त गतसाता मुद्दाको पेशी व्यवस्थापनमा दबाब दिन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई भेट्ने प्रयास नै गरेका थिए । कांग्रेस निवर्तमान सांसद श्याम घिमिरे नेतृत्वको टोलीले प्रधानन्यायाधीशलाई भेट्न खोजेको थियो, तर प्रधानन्यायाधीश राउतको सचिवालयले समय मिलाउन इन्कार गरेपछि त्यो रोकिएको थियो ।

सर्वोच्च अदालतले आगामी मंगलबार (२० माघ)मा मुद्दाको नियमित तारेख तोकेको छ । मुद्दाको सबै प्रक्रिया पुगेको भए त्यो दिन पेशीको मिति तोकिन्छ, होइन भने अर्को तारेख तोकेर मात्रै सबै काम सम्पन्न भएपछि पेशीको मिति तय गर्ने अभ्यास हुन्छ ।

सर्वोच्च अदालतले हरेक साता बुधबार र शुक्रबार संवैधानिक इजलास राख्ने अभ्यास छ । दुईमध्ये एक दिन नयाँ निवेदनहरूको पालो पर्छ भने अर्को दिन पुराना मुद्दाहरूको नियमित सुनुवाइ गरिन्छ । नयाँ मुद्दाको सुनुवाइ गर्ने दिन विचाराधीन मुद्दाहरूको पालो पर्दैन ।

सर्वोच्च अदालतले गतवर्षदेखि स्वचालित रूपमा पेशी व्यवस्थापन प्रणाली अबलम्बन गरिरहेको छ । पछिल्ला अभ्यासहरू हेर्दा सर्वोच्चमा नियमित रूपमा संवैधानिक इजलास बस्न पनि सकेको छैन ।

हप्ताको एक दिनमात्रै सुनुवाइ हुने मुद्दाको नियमित सुनुवाइ हुन नसक्दा अंग पुगेको(सबै प्रक्रिया पुगेको) मुद्दाको सुनुवाइको पालो आउन ढिला हुन्छ ।

संवैधानिक इजलास बस्ने संख्या, चाप अनुसार प्रक्रिया पुगेका मुद्दाहरूले पालो पाउने अवस्था रहन्छ । सर्वोच्च अदालतले पछिल्ला महिनाहरूमा सामान्यतया: दुई–तीन हप्तादेखि एक महिनाको फरकमा मुद्दाको पेशी तारेख दिने गरेको छ ।

२० फागुनमा प्रतिनिधिसभा विघटनको मुद्दाको नियमित तारेख भएकाले त्यसपछि साह्रै छिटो पेशी तोकिएमा दुईदेखि तीन साताको समय लाग्ने देखिन्छ । २८ माघ(बुधबार)मा पेशीको समय दिन सम्भव नहुने भएकाले त्यसपछिका बुधबारमा पालो व्यवस्थापन गर्नुपर्ने हुन्छ । र, त्यसमा पनि मुद्दाको कुनै पक्षले निवेदन दिएमा सुनुवाइ स्थगित हुन्छ । अर्को पालो आउन केही साता लाग्छ ।

६ फागुन(बुधबार)मा ग्याल्पो ल्होसार परेकाले सार्वजनिक विदा छ, त्यसपछि १३ फागुनमा मात्रै संवैधानिक इजलास बस्नसक्ने सम्भावना छ । सर्वोच्च अदालतले १३ फागुनमा सुनुवाइ शुरु गरेपछि प्रतिनिधिसभा निर्वाचनको मितिभन्दा अघि त्यसलाई टुंग्याउनसक्ने देखिँदैन ।

यसअघि २०७७ र ७८ सालमा भएका प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइको अभ्यास हेर्दा करिब एक महिनासम्म नियमित रूपमा सुनुवाइ भएर मात्रै फैसला भएको थियो । २२ पुस, २०७७ मा शुरु भएको सुनुवाइ ११ फागुनमा टुंगिएर मात्रै संक्षिप्त आदेश जारी भएको थियो ।

पहिलो विघटनको तुलनामा २०७८ सालमा भएको दोस्रो विघटनको सुनुवाइ संक्षिप्त र छरितो थियो । त्यतिबेला पनि सर्वोच्च अदालतले अन्तिम सुनुवाइ टुंग्याउन तीन साता लगाएको थियो । ९ असार, २०८२ बाट शुरु भएको सुनुवाइ २८ असारमा टुंगिएको थियो ।

त्यतिबेला सर्वोच्च अदालतले अरु सार्वजनिक सरोकारका मुद्दा सुनुवाइ नगरी शेरबहादुर देउवाले विघटन विरुद्धको मुद्दा मात्रै अघि बढाएको थियो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सामान्यतया: सर्वोच्च अदालतले अदालतका सहयोगी (एमिकस क्यूरी) मगाउने अभ्यास छ । यसअघिका दुवै मुद्दामा सर्वोच्चले नेपाल बार र सर्वोच्च अदालत बारबाट एमिकस क्यूरी मगाएको थियो । यदि सर्वोच्च अदालतले अहिलेपनि एमिकस क्यूरी मगाएमा अन्तिम सुनुवाइको मिति अझै लम्बिने निश्चित छ ।

सर्वोच्च अदालतका केही न्यायाधीशसम्वद्ध स्रोतका अनुसार, विघटनको मुद्दा छिटो सुनुवाइ गरिदिन आग्रह सहित एमाले र कांग्रेस देउवा पक्षका केही नेताहरूले सर्वोच्च अदालतको वरिष्ठताक्रममा माथि रहेका न्यायाधीशहरूलाई दबाबयुक्त आग्रह गरेका थिए ।

त्यसपछि ‘स्थायी समिति’ र अन्य न्यायाधीशहरूको छलफलले ‘मुलुक निर्वाचततर्फ अघि बढेको अवस्थामा त्यसलाई प्रभावित हुनेगरीको न्यायिक सक्रियता नतिजामुखी नहुने’ निष्कर्ष निकालेका थिए । स्थायी समितिमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश सहित अरु तीन वरिष्ठ न्यायाधीश संलग्न रहन्छन् ।

‘त्यसपछि सम्पर्कमा आउने राजनीतिक पात्रहरूलाई अनौपचारिक र स्पष्ट रूपमा त्यो सन्देश गएको छ’ सर्वोच्च अदालतसम्वद्ध स्रोतले भन्यो, ‘अहिले फेरि मुद्दाको सुनुवाइको दबाब अघि बढाउनुमा उहाँहरूको राजनीतिक उद्देश्य होला । तर अदालतको मुद्दा भने नियमित प्रक्रियाबाट नै अघि बढ्छ ।’

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव रमणकुमार शर्मा निर्वाचनमा होमिएका दलहरूसँग सम्बन्धित विवाद त अदालतमा पालो नआएको अवस्थामा विघटनको मुद्दा तत्काल सुनुवाइ हुने सम्भावना कम देख्छन् ।

अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेपाली कांग्रेसको आन्तरिक विवाद र त्यसमा निर्वाचन आयोगले गरेको निर्णय विरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ ।

‘अहिले देशभर निर्वाचन लागिसकेको छ । दिनप्रतिदिन त्यसकै माहौल र सरगर्मी बढ्दो छ’ सचिव कर्ण भन्छन्, ‘निर्वाचन हुन नसकेको सन्दर्भ भए विघटनको मुद्दा तत्काल टुंग्याउनुपर्ने माग प्राथमिकतामा पर्न सक्थ्यो, अहिले त सबैको ध्यान निर्वाचनतिर छ, हैन र ?’





Read More