― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsको हुन् मुख्य योजनाकर्ता ? – KhabarHost

को हुन् मुख्य योजनाकर्ता ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • मलेसियाले नेपालसहित पाँच देशका म्यानपावर कम्पनीका लागि जारी गरेको १० बुँदे मापदण्डले वैदेशिक रोजगार क्षेत्रमा विवाद निम्त्याएको छ।
  • नेपालका अधिकांश व्यवसायीले मापदण्डलाई ‘सिन्डिकेटको खेल’ भनेका छन् भने श्रम मन्त्रालयले मापदण्ड अस्वीकार्य भनी मलेसियालाई चिठ्ठी पठाएको छ।
  • मापदण्डले नयाँ वा साना म्यानपावर कम्पनीलाई बजारबाट बाहिर धकेल्ने खतरा रहेको र सरकारले तत्कालका लागि मापदण्ड नमान्ने निर्णय गरेको छ।

२० कात्तिक, काठमाडौं । मलेसियाले हालै नेपालसहित पाँच देशका म्यानपावर कम्पनीका लागि जारी गरेको १० बुँदे मापदण्डले वैदेशिक रोजगार क्षेत्रमा ठूलै हलचल ल्याएको छ ।

परराष्ट्र मन्त्रालयमार्फत मलेसियाले ती मापदण्डभित्र पर्ने व्यवसायीहरूको सूची नोभेम्बर १५ भित्र पठाउन आग्रह गरेपछि यस विषयले ‘सिन्डिकेट’ को आरोपसहित विवाद निम्त्याएको छ ।

नेपालका अधिकांश व्यवसायीले मलेसियाले तोकेको मापदण्ड ‘सिन्डिकेटको खेल’ भएको आरोप लगाएका छन् भने श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले उक्त मापदण्ड ‘स्वीकार्य नहुने’ भनी कूटनीतिक रूपमा मलेसियालाई चिठ्ठी पठाएको छ ।

गत जुलाइको प्रस्तावित मापदण्ड 

मलेसियाबाट जुन १० वटा मापदण्ड आएका छन्, ती यसअघि गत जुलाइमा समेत प्रस्ताव भएको थियो । त्यो बेलाको प्रस्तावित मापदण्डलाई नै संशोधन गरेर हाल नयाँ मापदण्ड आएको हो ।

तत्कालीन समयमा मलेसियास्थित नेपाली राजदूतावासमा समेत उक्त प्रस्ताव गएको थियो । सिन्डिकेटधारी सदस्यहरू पटक पटक दूतावासमा आउने गरेका थिए । उनीहरूले जसरी भएपनि यो मापदण्डसहितको चिठ्ठी नेपाल पठाउनुपर्ने दबाब दिने गरेका थिए ।

दूतावासका एक अधिकारीका अनुसार दूतावासमै आएर दबाब दिनेहरू नै यतिबेला सिन्डिकेटको विरुद्धमा बोल्दै हिँडिरहेका छन् ।

‘मापदण्ड लागु गर्नुपर्छ भनेर दबाब दिनेहरू अहिले भाषण गर्दै हिडेको देख्दा अचम्म लाग्छ,’ ति अधिकारीले भने ।

गत जुलाइमा नेपालबाटै गरिएको प्रस्ताव यतिबेला मलेसियामार्फत आएको देखिन्छ । यो सिन्डिकेट लागु भए केही ठूला कम्पनीहरू मात्र लाभान्वित हुनेछन् भने ८० प्रतिशत भन्दा बढी म्यानपावर व्यवसायी प्रभावित हुनेछन् ।

यसले रोजगारी खोज्ने कामदारहरूलाई पनि अतिरिक्त खर्च र सीमित पहुँचको समस्या ल्याउने अनुमान गरिएको छ । तोकिएको मापदण्ड पूरा गर्ने करिब ५० वटा म्यानपावर देखिन्छन् । उनीहरूमध्ये पनि हाल १५ देखि २० वटा कम्पनीबाट पैसा उठाइसकिएको व्यवसायीको दाबी छ ।

यो लागु गराउनुका पछाडि केही म्यानपावर व्यवसायी तथा अन्य क्षेत्रका व्यक्तिको समेत संलग्नता रहेको व्यवसायी बताउँछन् । म्यानपावर व्यवसायीहरूले यो लागू गराउन भूमिका खेल्नेमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का, ट्रष्ट नेपालका रविन गुरूङ लगायतको नाम सार्वजनिक रूपमा लिने गरेका छन् । तर, उनीहरूको भूमिकाबारे कुनै प्रमाण छैन ।

सिन्डिकेटधारीको आरोप लाग्दै आएका इन्टरनेसनल म्यानपावरका सञ्चालक वाईबी राईले आफ्नो कुनै संलग्ता नरहेको बताए । यो विषयमा आफूले संघलाई नै आधिकारिक रूपमा पत्र पठाएर कुनै भूमिका नरहेको प्रष्ट्याएको उनले बताए । हाल आफूले शून्य लागतमै मलेसिया पठाउँदै आएको उनले बताए ।

‘सिन्डिकेटमा संलग्न हुन पैसा बाँड्नुपर्ने कुरा आयो, मैले जानेसँग पैसा नै लिन्न भने कसरी बाँड्छु ? यदि सिन्डिकेट लागु भयो भने मलाई ठूलो असर पर्छ, फाइदा होइन । शून्य लागतमा वर्षमा ५ देखि १० हजार कामदार पठाउँछु,’ उनले भने, ‘सिन्डिकेट भयो भने मैले पठाउने सीमा घट्छ । त्यसमा पनि वैधानिकता हुँदैन, ममाथि नचाहिने आरोप लागिरहेको छ ।’

अर्का आरोप लाग्दै आएका प्रमुख आरोपकर्ता कैलाश खड्काले समेत आफू म्यानपावर व्यवसायी नभएको तर, आफुलाई अनावश्यक आरोप लागेको बताए । आफ्नो चरित्र हत्या गर्ने काम स्वयम व्यवसायीहरूबाट नै भइरहेकाले कानुनी उपचारमा जाने बताए ।

‘म स्वास्थ्य उपचारसम्बन्धी व्यवसायी हो । मलेसिया सरकारले तोकेको मापदण्ड मैले कसरी पूरा गर्छु ? जबकि मेरो त म्यानपावर कम्पनी नै छैन्,’ खड्काले भने, ‘त्यतिकै मेरो नाम लिएर अनावश्यक आरोप लगाउने काम भइरहेको छ । कानूनी उपचारको प्रक्रिया अगाडि बढाएको छु ।’

‘पर्दा पछाडिको खेल’

यो मापदण्डको तयारी एक वर्षअघि नै भएको थियो । अघिल्लो सरकारको पालामा श्रम मन्त्रालयले दुई पटकसम्म नै मापदण्ड तोकिँदा सिन्डिकेट लागू नहुने भन्दै विज्ञप्ति नै जारी गरेको थियो ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष कुमुद खनालले गत वर्षदेखि नै यो खेल अघि बढेको र त्यसले कमजोर सरकार भएको बेला सार्थकता पाएको बताए ।

‘जुलाइमै मन्त्रालयमा छलफल भएर यो मापदण्ड स्वीकृत गर्ने तयारी भएको थियो,’ उनी भन्छन्, ‘जेनजी आन्दोलन नभएको भए यो दशैंको मुखमै लागू गरिन्थ्यो ।’

मन्त्रालयमा देखिएको ‘तरलता’ र ‘सत्ता परिवर्तन’को अवस्थाको फाइदा उठाउँदै केही नेपाली व्यवसायीहरूले मापदण्डको नाममा सिन्डिकेट अगाडि बढाएको देखिन्छ ।

म्यानपावर व्यवसायीहरूले श्रम सचिवको हालकै मलेसिया भ्रमणलाई समेत शंकास्पद भनेका छन् । मलेसिया भ्रणम गरेर फर्केलगत्तै मापदण्ड आएको खनालको दाबी छ ।

केही महिना अगाडिदेखि नै हरेक म्यानपावर व्यवसायीलाई सिन्डिकेटको गिरोहले फोन तथा भेट गरेर योजनाबारे जानकारी गराएको थियो । त्यस्तो कार्य निरन्तर अघि बढेपछि व्यवसायीहरू नै त्रसित बनेका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ लगायतका अन्य संघ संस्थाहरूले समेत विज्ञप्ति जारी गरेका थिए ।

‘यो खेल केवल नीति निर्माणको होइन, करोडौंको लगानीसँग पनि जोडिएको छ । एक म्यानपावरबाट १० करोडसम्मको अफर आएको थियो । करिब १५ देखि २१ जना व्यवसायीले लगानी गरिसकेका छन् भन्ने हल्ला छ,’ खनालले भने ।

खनाललाई समेत मलेसियाबाटै एक एजेन्टले प्रस्ताव गरेका थिए । सबै कुरा आफूले मिलाउने र त्यसका लागि १० करोड बुझाउनुपर्ने भन्दै प्रस्ताव गरिएको खनालको भनाइ छ । तर, आफूले ठाडै अस्वीकार गरेको र नेपालमा कुनै पनि हालतमा लागु हुनु हुँदैन भन्दै आवाज उठाइरहेको बताए ।

खनालका अनुसार, दश वटा ठूला म्यानपावर कम्पनीहरूलाई केन्द्रिकृत गर्न खोजिएको हो । ‘१० हजार स्क्वायर फिट अफिस र पाँच वर्षमा तीन हजार कामदार पठाएको हुनुपर्ने जस्ता शर्तहरू राखेर अरूलाई प्रतिस्पर्धाबाट बाहिर राख्ने प्रयास भएको छ,’ उनले भने । खनालले यो सिन्डिकेटको पछाडि रहेका व्यवसायीहरूमाथि संघभित्रै पनि शंका उत्पन्न भएको जनाए ।

सिन्डिकेटमा समावेश हुने विषयमा प्रस्ताव आएका एक म्यानपावर व्यवसायीका अनुसार आजभन्दा ६/७ महिना अगाडि एक होटलमा भेट्नका लागि बोलाइएको थियो । उनी त्यहाँ पुग्दा ८/९ जना होटलको भित्री कोठामा बसिरहेका थिए । बाहिर रिसेप्सनबाटै उनलाई केहीले भित्री कोठामा लगे ।

त्यहाँ पुगेपछि उनलाई १० करोड दिनुपर्ने र त्यसपछि सीमित व्यवसायीले मात्रै मलेसिया कामदार पठाउन पाउने जानकारी उनलाई गराइयो ।

‘धेरै कामदार विदेश पठाउने ठूल्ठूला म्यानपावर व्यवसायीले चिया खान भनेर बोलाउनुभयो, त्यहाँ पुग्दा भित्र बसिरहेकाहरूले टिममा आउनुपर्‍यो । त्यसका लागि १० करोड दिनुपर्छ भनेका थिए,’ ती व्यवसायीले अनलाइनखबरसँगको कुराकानीमा भने ।

‘सिन्डिकेट’ केवल बाहिरी खेल होइन, भित्री कमजोरीको परिणाम पनि

श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालका अनुसार, यो विवाद केवल मलेसियाको एकतर्फी निर्णय होइन । नेपालकै नियमन कमजोरी र अनियमितता अभ्यासको नतिजा हो ।

‘हाम्रो प्रणालीमा मिसम्यानेजमेन्ट धेरै छ । अधिकारीहरू छोटो अवधिमै सरुवा हुन्छन्, सुधारका प्रयास स्थायी हुँदैनन् । यस्तो हुँदा मलेसियाले अवसर देखेको हो,’ नेपालले भने ।

नेपालका म्यानपावरहरूमा नै नैतिक अभ्यास कमजोर रहेको र त्यसकै कारण विदेशी पक्षले कडा मापदण्ड तोक्न थालेको उनको बुझाइ छ ।

‘मलेसियाले कामदारको गुणस्तरबारे शर्त राख्न सक्छ, तर कुन देशका कुन म्यानपावरबाट मात्र लिनु भन्ने अधिकार उसको होइन । त्यो त हाम्रो सार्वभौम अधिकारभित्र पर्छ । मलेसियाले त हाम्रो सिस्टम भित्रै पस्न खोज्यो ।’

यस्तो निर्णयले नयाँ वा साना म्यानपावर कम्पनीहरूलाई पूर्ण रूपमा बजारबाट बाहिर धकेल्ने खतरा रहेको उनको भनाइ छ । ‘तीन हजार कामदार पठाएको र पाँच वर्षदेखि सञ्चालनमा रहेको मात्र कम्पनीलाई अवसर दिने भनेपछि नयाँ व्यवसायीहरू आउन पाउँदैनन्’ नेपालले भने ।

सरकारले हाल तत्कालका लागि मलेसियाको मापदण्ड नमान्ने निर्णय गरे पनि, विज्ञहरू यो विषय ‘लेबर डिप्लोमेसी’ (कूटनीतिक वार्ताको) माध्यमबाट समाधान गर्नुपर्ने सुझाव दिन्छन् ।

‘यो शर्त केवल अस्वीकार गर्ने विषय होइन, नेपालले स्पष्ट नीति र पारदर्शी प्रणाली बनाएर मलेसियासँग बराबर हैसियतका आधारमा संवाद गर्नुपर्छ,’ नेपालले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More