― Advertisement ―

शुक्रबार, अप्रिल १० (खेल #७६८) को लागि NYT Strands संकेत र जवाफहरू

भिन्न दिन खोज्दै हुनुहुन्छ?एक नयाँ NYT जोन भनेको दिनको मध्यमा देखा पर्ने समय हो जुन रातको puzzs को लागी देखिन्छ। कोही मान्छे सधैं 'आजको...
HomeLatest newsकोशीमा लागुऔषध कारोबार भयावह, युवाको संलग्नता बढी

कोशीमा लागुऔषध कारोबार भयावह, युवाको संलग्नता बढी



२२ माघ, सुनसरी । कोशी प्रदेशमा लागुऔषध ओसारपसार र बिक्री–वितरण भयावह बन्दै गएको छ । जेनजी विद्रोहपछि प्रहरी प्रशासनको मनोबल घटेको ठानेर लागुऔषध कारोबारीका गिरोह थप सक्रिय भएका छन् ।

चुनावी चहलपहलको मौका छोपेर लागुपदार्थ कारोबारी गिरोह र दुर्व्यसनी सल्बलाएका छन् । प्रहरीले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित १६ माघमा ७ जनालाई पक्राउ गरेको छ ।

झापाको लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–३ केर्खा बस्ने राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । सोही दिन इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङवरक–६ बस्ने अनिश राई र सुनसरीको धरान उपमहानगरपालिका–१७ बस्ने लिला तामाङको साथबाट ३ ग्राम ७०० मिलिग्राम र झापाको बिर्तामोड–४ बस्ने फणिन्द्र विश्‍वकर्माको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

यस्तै मोरङको इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१६ बाट लेटाङ–५ बस्ने मनोज परियारको साथबाट ५ ग्राम ९० मिलिग्राम र मोरङको बेलबारीस्थित डागाँबजार प्रहरी चौकीका टोलीले बेलबारी–७ बस्ने मनिष मग्रातीको साथबाट प्रतिबन्धित औषधि ६३० ट्याब्लेट बरामद गरेको छ ।

सोही दिन सुनसरीको धरान–१९ चौकिबारीबाट सोही स्थानका सुजन लिम्बुको साथबाट १ ग्राम ४०  मिलिग्राम ब्राउन सुगर बरमद गरेको छ ।

माघ १५ गते झापा, मोरङ र धनकुटाका विभिन्न स्थानबाट ब्राउन सुगर र गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । माघ १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविरका २८ वर्षीय अरुष दासको साथबाट १ ग्राम २७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

सोही दिन मोरङको इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर–१५ को एक नम्बर ढाटबाट भारतबाट नेपालतर्फ आउँदै गरेका दमक–४ बस्ने एलिस कार्कीको साथबाट ९ ग्राम ३५० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारेका थिए ।

उता, धनकुटाको प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी–५ मा को२२प १०३९ नम्बरको मोटरसाइकललाई शंका लागी चेकजाँच गर्दा बोरामा १२ किलोग्राम गाँजा पोको पारेको अवस्थामा बरामद भएको थियो । तर मोटरसाइकल धनी भने फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सोही दिन भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ८२६ किलो ६६० ग्राम गाँजा बोकेको ट्याक्टरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

हतुवागढी गाँउपालिका–९ मचुवादेखि धनकुटाको आखुवाटारतर्फ लैजादै गरेको ना७त ३५० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा ४३ वटा बोरामा राखेको अवस्थामा ती गाँजाका बोरा बरामद भएको थियो । प्रहरीले आमचोक–९ बस्ने रुद्रबहादुर श्रेष्ठ, निशान मगर, नीरबहादुर श्रेष्ठ, धनकुटाको शहीभूमि–२ बस्ने सुदीप पुर्कुटी, निलकुमार मगर, किशोर बिसुन्खे, बिर्खबहादुर बिसुन्खे, दीपकुमार बिसुन्खे र ताप्लेजुङको मिरिङ्डेन–६ बस्ने लाक्पा शेर्पालाई पक्राउ गरेको थियो ।

प्रहरीले सोही दिन मोरङकाा विभिन्न स्थानबाट ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा १ ग्राम ६४ मिलिग्राम ब्राउन सुगरसहित धरान–१५ बाझगरा बस्ने सुजन धमला, २२८ चक्की प्रतिबन्धित औषधि र २ मिलिग्राम ब्राउन सुगरसहित सुन्दरहरैचा–६ बस्ने अनिष मगर, विजय राई, पवन तामाङ र नवीन राईलाई पक्राउ गरेको थियो ।

प्रहरीले झापा र सुनसरीबाट माघ १३ गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको थियो । झापाको बिर्तामोड नगरपालिका–२ बाट बाह्रदर्शी गाउँपालिका–६ मा डेरा बस्ने दीपक कार्कीको साथबाट १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थिो भने बेचबिखनमा संलग्न मनकुमार राजबंशीलाई मे.१ह.५५६२ नम्बरको अटोसहित नियन्त्रणमा लिएको थियो ।

सोही दिन सुनसरीको धरान–८ बाट इटहरी उपमहानगरपालिका–५ बस्ने सोनिका तामाङको साथबाट ३७० मिलिग्राम ब्राउन सुगर फेला पारेसँगै कारोबारमा संलग्न इटहरी–९ बस्ने इशा पौडेललाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले सोही दिन झापा, मोरङ र सुनसरीबाट थप १० जनालाई ब्राउन सुगर, प्रतिबन्धित लागुऔषध र गाँजासहित पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा लिएको थियो । माघ १० र ११ गते पनि प्रहरीले सुनसरी, झापा र उदयपुरबाट ब्राउनसुगर, गाँजा र प्रतिबन्धित औषधिसहित ७ जना पक्राउ गरेको थियो ।

माघ १० देखि १७ गतेसम्म एक साताको अवधिमा प्रहरीले लागुऔषध कारोबार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर र धनकुटाबाट मात्र ४९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पछिल्लो समयमा ब्राउन सुगर, गाजा र चिकित्सकको प्रेस्किप्सन विना सेवन गर्न नहुने ट्याब्लेट, क्याप्सुल (ट्रामाडोल, स्पाज्मोप्रोक्सिभन, नाइट्रोजेपाम, डाइजेपाम, डाइजेल्याप, एभिल, फेनारगन, ल्युपिजेसिक, नाइट्रोसन) बरामद गरिरहेको छ ।

अरू लागुऔषधभन्दा कैयौं गुणा महँगो पर्ने ब्राउन सुगर नेपालमा उत्पादन र प्रशोधन हुँदैन । बजारमा ९ मिलिग्राम ब्राउन सुगरको एक डोजलाई गिरोहले कम्तीमा १५ सय रुपैयाँ र बढीमा २५ सयमा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

यो लागुऔषध भारतीय सीमानाकाबाट भित्रिन्छ । गाँजा नेपालमै उत्पादन भएर भारतीय बजारमा तस्करी हुन्छ । चिकित्सकको अनुमतिमा मात्र सेवन गर्न सकिने मनोदीपक र दुखाइ कम गराउने खालका ट्याब्लेट र क्याप्सुल कतिपय नेपालमै र कतिपय भारतीय औषधि कम्पनीले उत्पादन गर्दै आएको देखिन्छ ।

चार वर्षमा १६ किलो ब्राउन सुगर बरामद

कोशी प्रदेश प्रहरी कार्यालयले अनलाइनखबरलाई दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको पुस–माघसम्ममा करिब ५ किलोग्राम ब्राउन सुगर बरामद भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशका विभिन्न स्थानबाट प्रहरीले ५ किलो ४८९ ग्राम ८९८ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । यस्तै आर्थिक वर्ष २०८०/८१ मा कूल ३ किलो ८८९ ग्राम ३४९ मिलिग्राम ब्राउन सुगर बरामद भएको कोशी प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा २ किलो ७९ ग्राम ८४९ मिलिग्राम बरामद गरेको तथ्याङ्क छ । अर्थात् चार वर्षको अवधिमा कोशी प्रहरीले करिब १६ किलो ब्राउन सुगर बरामद गरेको देखिन्छ ।

९ महिनामा गाँजा १५ हजार किलो, ट्याब्लेट सवा ४ लाख बट्टा बरामद

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार यो चालु आर्थिक वर्षको पुससम्ममा गाँजा १५ हजार ६०० किलो ८५८ मिलिग्राम बरामद भएको छ । यस्तै विभिन्न मनोदीपक चक्की, क्याप्सुल–ट्याब्लेट ४ लाख ३३ हजार ३४६ वट्टा बरामद भएको छ । मनोदीपक सुई ३ हजार ९११ एम्पुल बरामद भएको डीआईजी घिमिरेले बताए ।

कोशी प्रहरीले बरामद गरेको लागुऔषधको तथ्याङ्क विश्लेषण गर्दा कारोबार, ओसारपसार र प्रयोगकर्ताको संख्या वर्षेनी दोब्बर वृद्धि भइरहेको देखिन्छ । चार वर्षअघि गाँजा ५ हजार ८१५ किलो ४९२ ग्राम ७०० मिलिग्राम मात्र बरामद भएको थियो तर त्यसको एक वर्षपछि १० हजार ४२० किलो बरामद भयो । गत आर्थिक वर्षमा त २६ हजार ७०५ किलो गाँजा बरामद भएको थियो । चरेश र अफिम भने दुर्व्यसनीको रोजाइमा नपरेको वा बजारमा उपलब्ध नभएको हुनसक्ने भएकाले अत्यन्त कम मात्रामा बरामद भएको प्रहरीले जनाएको छ ।

यो चालु आर्थिक वर्षको पुस–माघसम्ममा लागुऔषध कारोबार र ओसारपसार गर्नेमध्ये ८४५ जना पक्राउ परेका छन् । गत आर्थिक वर्षमा २ हजार २७६ जना पक्राउ परेका थिए भने अघिल्लो आर्थिक वर्षमा १ हजार ५९८ जना र आर्थिक वर्ष २०७९/८० मा १ हजार १५७ जना पक्राउ परेका थिए ।

ओसारपसार र सेवनकर्तामा युवा बढी

लागुऔषध ओसारपसार र सेवनकर्तामा युवा पुस्ता (१९ वर्र्षदेखि २८ वर्ष उमेर समूह) बढी सक्रिय रहेको पाइएको छ । त्यसपछि २९ वर्षदेखि ४५ वर्ष उमेर समूहका छन् । ब्राउन सुगर, गाँजा, मनोदीपकजन्य लागुऔषध ओसारपसार गराउने गिरोहले १८ वर्ष मुनिका बालबालिकासमेत प्रयोग गरेको पाइएको छ । गत वर्ष पक्राउ पर्नेमा ११ जना त बालबालिका नै थिए ।

लागुऔषध ओसारपसार र सेवनमा संलग्न हुनुका कारणमा साथी–संगतीको प्रभावलाई मुख्य मानिएको छ । साथै व्यक्तिगत कौतुहलता र उत्सुकताले पनि बढी काम गरेको छ । संगत र कौतुहलताले गर्दा ‘एक पटक एक डोज लिइहालौं, कस्तो फिलिङ्स हुन्छ’ भनेर सेवन गर्नेहरू नै सबैभन्दा बढी ब्राउन सुगर, गाँजा र अन्य लागुऔषधको चपेटामा फसेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक रोग विभागका साइकियाट्रिस्ट एसोसिएट डा. सञ्जीव मिश्र एकदुई पटक चाख्दाचाख्दै ब्राउन सुगरको लत बस्ने तर छुटाउन गाह्रो बताउँछन् । उनका अनुसार सुईमार्फत सेवन गर्नेहरुलाई एचआईभी–एड्स, हेपाटाइटिस जस्ता सरुवा रोग पनि सर्न सक्ने भएकाले सचेत हुन जरुरी छ ।

कतिपयले मानसिक तनाव भएर लागुपदार्थ सेवन गर्ने गरे पनि लागुपदार्थ प्रयोगकै कारण डिप्रेसन, एन्जाइटी जस्ता मानसिक रोग उत्पन्न हुने चिकित्सकहरूले बताउँदै आएका छन् ।

किशोर उमेरदेखि बयस्कतिर जाँदा ‘ट्रान्जेक्सन’ समयमा हुने खुल्दुली, जिज्ञासाले लागुऔषधको कुलतमा फस्ने सम्भावना बढी हुने गरेको मनोचिकित्सक डा मिश्र बताउँछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More