― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsकोप-३० मा कृषिमन्त्री परियारले भने– जलवायु वित्त अनुदानमा आधारित हुनुपर्छ

कोप-३० मा कृषिमन्त्री परियारले भने– जलवायु वित्त अनुदानमा आधारित हुनुपर्छ



२ मंसिर, काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–३० को मन्त्रीस्तरीय सत्रमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले नेपालले झेलिरहेको जलवायु संकट र वैश्विक दायित्वबीचको असमानताबारे कडा सन्देश दिएका छन् ।

ब्राजिलको अमेजनमा सोमबार आयोजित बैठकलाई सम्बोधन गर्दै उनले हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसको प्रभाव बढी रहेको उल्लेख गरे ।

परियारका अनुसार जलवायु परिवर्तनको असरका कारण हिमनदी तीव्ररुपमा पग्लिरहेका छन् र त्यसको कारण तलतिर बसोबास गर्ने अर्बौँ मानिसको पानी, खाद्य र स्वास्थ्य सुरक्षा गम्भीर जोखिममा परेको छ । ‘यस वर्ष मात्र नेपालले खडेरी, अनियमित वर्षा, बाढी–पहिरोको श्रृंखला सहनुपर्‍यो, जसले ३०० भन्दा बढीको ज्यान लियो,’ उनले बैठकमा सुनाए ।

नेपालको कृषि क्षेत्र गम्भीर संकटमा परेको उल्लेख गर्दै मन्त्री परियारले नेपालले चुनौतीबीच पनि महत्वाकांक्षी कदम चालिरहेको जानकारी दिए । नेपालले हालै सन् २०४५ भित्र नेट–जिरो उत्सर्जन गर्ने लक्ष्य लिएको जानकारी उनले गराए । नेपालमा वन क्षेत्र ४६ प्रतिशत नाघेको तथ्य पनि उनले बैठकमा प्रस्तुत गरे ।

तर, जलवायु वित्त ‘अझै नगण्य’ रहेको उल्लेख गर्दै मन्त्री परियारले विकसित देशहरूले विगतका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए । संवेदनशील राष्ट्रका लागि जलवायु वित्त अनुदानमा आधारित हुनुपर्ने माग उनले दोहोर्याए ।

मन्त्री परियारले जलवायु न्यायबारे अन्तर्राष्ट्रिय न्यायालयको सुझाव पालना गर्न सबै राष्ट्रलाई आग्रह गरे । ‘इतिहासले हाम्रा शब्द होइन, हाम्रा काम हेर्छ,’ उनले विकसित देशहरुलाई चेतावनीको शैलीमा भने ।

यससँगै, उनले  हिमालका मुद्दा समावेश गर्नुपर्ने र काठमाडौंमा आयोजित सगरमाथा सम्वादको घोषणापत्र अनुसार पहाड–हिमाल संरक्षणका लागि समर्पित कोष स्थापना गर्नुपर्ने माग दोहोर्याए ।

बहुपक्षीयता र समावेशितामा नेपालको प्रतिबद्धता व्यक्त गर्दै मन्त्री परियारले युवा, महिला, सीमान्तकृत समुदाय, आदिवासी जनजाति, नागरिक समाज र निजी क्षेत्रका आवाज सुनिश्चित गर्नुपर्ने बताए ।

अन्त्यमा उनले मानवताको दिगो भविष्यका लागि नेपाल आफ्नो भूमिकामा दृढ रहेको जानकारी गराए ।





Read More