― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest news‘कुलमानले कार्यकारी सभापतिको आकांक्षा राखेपछि कुरा बिग्रियो’

‘कुलमानले कार्यकारी सभापतिको आकांक्षा राखेपछि कुरा बिग्रियो’


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सहमति भएको छ र पार्टी नेतृत्वमा रवि लामिछाने तथा सरकार नेतृत्वमा बालेन शाह रहने निर्णय भएको छ।
  • रास्वपाले वैकल्पिक र सुसंस्कृत राजनीतिको लागि विवेकशील साझा र नवयुवाहरूसँग एकता गरेको छ र कुलमान घिसिङलाई पनि समावेश गर्ने प्रयास जारी छ।
  • पार्टीले संविधानको मूल मर्मलाई सम्मान गर्दै सङ्घीयता सुधार गर्ने र समानुपातिक प्रणालीका उम्मेदवारहरू विधिवत् चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सहमति र यसको सम्भावित परिणामबारे रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसँग अनलाइखबरका बसन्त बस्नेतले गरेको कुराकानी :

बालेन शाह र विवेकशील साझा लगायतका समूहलाई रास्वपासँग एकता गर्ने कामको नेतृत्व तपाईंले पाउनुभएको थियो। यो एकता प्रक्रिया कसरी सुरु भयो र कसरी सफल भयो?

जेनजी आन्दोलनपछि हामीले नवयुवाहरूसँगै वैकल्पिक र सुसंस्कृत राजनीतिको पैरवी गर्ने सबै अभियन्ताहरूलाई समेटेर एउटा विश्वसनीय विकल्प दिनुपर्छ भन्ने छलफलपछि पार्टीमा उच्च संवाद समिति बनाइएको थियो। त्यो मेरै संयोजकत्वमा बनेको थियो। त्यसको उपसंयोजकमा पूर्वमन्त्री तथा काठमाडौं-६ का निवर्तमान सांसद शिशिर खनाल हुनुहुन्थ्यो।

हामीले धेरै पात्रहरूसँग संवाद गर्‍यौं तर यो प्रक्रियामा हाम्रा धेरै शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो। आ-आफ्नो प्रारम्भिक अगुवाइमा एक-दुई चरण वार्ता गरेपछि उहाँहरूले हामीलाई ‘ब्रिफिङ’ सहित सिफारिस गर्नुहुन्थ्यो र हामीले त्यसलाई अगाडि बढाउने गरेका थियौँ। वास्तवमा धेरै पात्रहरू भित्रिसकेका छन्, जसको चर्चा भएको छैन।

तर, यहाँले इङ्गित गरेजस्तै, विगत एक महिनामा हामीले दुईवटा असाध्यै ठूला सफलता हासिल गर्‍यौँ जस्तो लाग्छ। एउटा विवेकशील, जो मतको आधारमा अलि शिथिल भए पनि वैकल्पिक राजनीतिको बीउ रोप्ने र उज्ज्वल थापाको बिरासतलाई यहाँसम्म निरन्तरता दिइरहेको शक्ति हो। सुसंस्कृत राजनीतिको पैरवी गर्ने धेरै युवा राजनीतिज्ञहरूलाई हामीले सर्लक्कै लगभग निःसर्त नै रास्वपामा लिएर आयौँ र त्यो बिरासतलाई निरन्तरता दिने प्रतिबद्धतासहित अगाडि बढ्यौँ। त्यसले राम्रो सन्देश दियो।

त्यसैको सेरोफेरोमा अब काठमाडौँका मेयर बालने शाहप्रति युवा र नवयुवाहरूको ठूलो आशा रहेको हामीलाई थाहा नै छ। उहाँको सामाजिक सञ्जालको उपस्थिति र काठमाडौँ महानगरमा गर्नुभएको कामले गर्दा हामी जहाँ गए पनि, प्रवासमा पनि ‘तपाईँहरू मिल्नुपर्छ’ भन्ने घचघच्याइ एकदमै उत्कट थियो। त्यसैबेला रवि लामिछाने पनि कारागारमा हुनुहुन्थ्यो। अहिले उहाँ बाहिर आउनुभएको छ र यो सबै वातावरण हामीले बनायौँ।

तपाईँहरूले कुलमान घिसिङलाई पनि सँगै ल्याउने कुरा थियोउहाँ चाहिँ किन छुट्नुभयो

कुलमान घिसिङजीसँग पनि लामो छलफलमा म आफैँ पनि बसेको थिएँ। तपाईँहरूले यो जेनजी आन्दोलनभन्दा धेरै अगाडि, उहाँ सायद नेपाल विद्युत् प्राधिकरणमा हुँदा पनि मैले भनेको थिएँ- ‘कुलमानजी, अब तपाईँ राजनीतिमा आउनुस्, रास्वपामै आउनुस्। हामी मिलेर काम गरौँ, देश बनाऔँ। पद ठूलो कुरा रहेन, म आफ्नै उपसभापति पद पनि तपाईँका लागि छोड्न तयार छु’ भन्नेसम्म मैले सार्वजनिक रूपमै भनेको कुरा यहाँलाई थाहा छँदै छ।

तर, उहाँको चाहना बढी कार्यकारी भूमिकातिर थियो। उहाँ प्रधानमन्त्रीकै पनि आकांक्षी हुनुहुन्थ्यो। त्यो पनि सम्भव छ भनेर हामीले भनेका थियौँ, तर पहिला निर्वाचनमा जानुपर्‍यो, जित्नुपर्‍यो र उल्लेख्य मत ल्याउनुपर्‍यो भन्ने थियो। त्यहाँ अलिकति ‘सिक्वेन्सिङ’ नमिलेको हो कि जस्तो मलाई लागेको छ।

कुलमान फेरि जोडिनुहुन्छ तपाईँहरूसँग?

हामीले त्यो ठाउँ राखेका छौँ। हिजोको बुँदा नम्बर ७ मा हामीले आह्वान नै गरेका छौँ। अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने भनेका छौँ। लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अगाडि बढाउन सबै सुसंस्कृत र परिवर्तनकामी वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्छ भन्ने हाम्रो आह्वान छ।

उहाँहरू अलि बढी ‘टेक्निकलिटी’ (प्राविधिक पक्ष) मा नाम के हुने, मैले के पाउँछु, चुनाव चिह्न के हुने जस्ता कुरामा नअल्झिन पनि म आग्रह गर्न चाहन्छु ।

 रास्वपाको नामब्यानरझण्डा र चुनाव चिह्नमा आउन बालेनलाई अप्ठ्यारो परेन । कुलमान चाहिँ किन यो नाम र चिह्नमा तयार हुनुभएन?

कुलमानजीले पार्टी नै खोल्नुभएको थिएन जब हामी संवादमा थियौँ। पछि उहाँले राख्नुभएका केही अडानहरू, मुख्यतया कार्यकारी सभापतिकै आकांक्षा उहाँले राखेपछि कुरा बिग्रियो। हामीले दुई-तीनवटा कुरालाई ‘बटम लाइन’ बनाएका थियौँ।

बडो जोखिम मोलेर, आँट गरेर रवि लामिछानेले यो पार्टी सुरु गर्नुभयो। त्यसमा हामी सबैजना जोडियौँ। उहाँको त्यो संस्थापक अभिभावकत्व र भूमिकालाई हामीले कहिल्यै पनि ‘अन्डरमाइन’ (कम आकलन) गर्नुहुन्न भन्नेमा पार्टी पङ्क्तिमा एउटा दरिलो चेत छ। यद्यपि, उहाँ अहिले कानुनी उल्झनमा हुनुहुन्छ, यसको ठूलो अंश प्रतिशोधसँगै गाँसिएको छ। उहाँले त्यो आँट गरेर रास्वपालाई यो उचाइमा पुर्‍याएकै कारण दुःख पाउनुभएको हो भन्ने हाम्रो पार्टीको आधिकारिक मत छ। त्यसैले उहाँले दुःख पाइरहेको बेला उहाँलाई चलाउन हुन्न, मानमर्दन गर्नुहुन्न भन्नेमा पार्टी पङ्क्ति एकमत थियो, पहिलो ।

कुलमानजीलाई हामीले के भनेका थियौँ भने- ‘हुन्छ, ‘उज्यालो’ पनि तपाईँको ब्रान्ड हो भने ‘उज्यालो अभियान’को रूपमा यसलाई लैजान सकिन्छ नि त।’ त्यो घोषणापत्रको ‘थिम’ हुन सक्थ्यो।

नम्बर दुई, ‘ब्रान्डिङ’को हिसाबले पनि राष्ट्रिय स्वतन्त्र पार्टी र ‘घण्टी’ चुनाव चिह्न असाध्यै छोटो समयमा नेपाली समाजमा स्थापित भइसकेको तथ्यांकीय आधार हामीले पायौँ। त्यसैले यसलाई चलाउनुहुन्न भन्ने हाम्रो आधारभूत अडान थियो। तर कुलमानजीलाई हामीले के भनेका थियौँ भने- ‘हुन्छ, ‘उज्यालो’ पनि तपाईँको ब्रान्ड हो भने ‘उज्यालो अभियान’को रूपमा यसलाई लैजान सकिन्छ नि त।’ त्यो घोषणापत्रको ‘थिम’ हुन सक्थ्यो।

पछि सत्तामा पुगियो भने त्यो शासकीय पद्धति पनि ‘अँध्यारोबाट उज्यालोतिर’ भन्ने खालको बनाउन हामी एकदमै ‘ओपन’ थियौँ।

रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवसर त्याग्न कसरी तयार हुनुभयो?

उहाँको उदारतालाई नै हामीले श्रेय दिनुपर्छ। हामीले पनि कुरा गर्‍यौँ- अब हामी व्यक्तिभन्दा माथि सोचौँ। एउटा निर्णायक धक्का दिने बेला आएको छ, पुराना दलहरू साँच्चिकै रक्षात्मक अवस्थामा छन्। हामीले ठूलो छाती गरेर, पर्‍यो भने एक कदम पछाडि हट्दा नेपाली जनतामा आशाको सञ्चार गराउन सक्छौँ र यो अवस्थालाई नै फेर्न सक्छौँ भने त्यो गरौँ भनेपछि उहाँले त्यसलाई ग्रहण गर्नुभएको हो।

यो एकता हिजो केपी ओली र प्रचण्डले २०७४ सालमा गरेको एकता जस्तै महत्त्वाकांक्षा र सत्तास्वार्थले जोडिएको गठबन्धन होयसका पछाडि कुनै सैद्धान्तिक आधार छैन भन्ने टिप्पणीलाई के जवाफ दिनुहुन्छ?

त्यो एकपाने (सहमति पत्र) पढे मात्र पनि थाहा हुन्छ। हाम्रो यसको सैद्धान्तिक जग के हो? हामी गाली गर्ने होइन। यो अलिकति सबैलाई सत्रु देख्ने खालको जुन पुरानो राजनीति छ, त्योभन्दा भिन्न हामीले रचनात्मक ढंगले कस्तो खालको राजनीतिक सिस्टम भित्र कस्तो आर्थिक र सामाजिक उन्नयनको सपना देखेका छौँ भन्ने कुरा त्यो एक पानामा स्पष्ट छ। बुँदा नम्बर दुई र सुरुको प्रस्तावना पढ्नुहोला।

त्यसैले एकदमै दह्रो, व्यावहारिक र उन्नत सैद्धान्तिक धरातलमा टेकेर युवा वर्गको ‘एस्पिरेसनल सोसाइटी’ (आकांक्षी समाज) का लागि हामी ‘पोलिटिक्स अफ एस्पिरेसन’ गर्न चाहन्छौँ। यो इर्ष्या, द्वेष र तिक्तताको राजनीति (पोलिटिक्स अफ इन्भी) लाई पछाडि राख्न चाहन्छौँ। मान्छेहरूले सपना देख्न सकुन्। अहिले जुन निराशा छ कि नेपालमा केही गर्नै सकिन्न, केही गर्ने हो भने बाहिरै जानुपर्छ भन्ने कुरालाई चिर्नका लागि केही गर्न खोजेका र केही गरिसकेका पात्रहरू एक ठाउँमा आएर सुसंस्कृत राजनीतिको जगमा अगाडि बढ्नुपर्छ भन्ने हो ।

यो पुराना दलहरूका लागि ठूलो चुनौती नै हो र हामीलाई पनि चुनौती छ- यसलाई कसरी सम्हाल्ने भनेर। तर हामी ओली, प्रचण्ड इत्यादिसँग दाँजिन चाहँदैनौँ। हामी नयाँ अभ्यासमा जाँदै छौँ। पुरानाहरूले गरेको गल्तीबाट सिकेर पनि हामी अगाडि बढेका छौँ। छलफलका क्रममा पनि केपी ओली र प्रचण्डका कुरा पनि आए, २०५६ सालमा किसुनजी र गिरिजाबाबुले गरेको प्रयोगका कुरा आए, २०४८ सालका कुरा आए र सात सालदेखिका मातृका–बीपीका कुरा पनि आएका छन्। त्यसैले हामी इतिहासबाट सिकेर ती गल्तीहरू नदोहोर्‍याउने कुरामा एकदमै सचेतनासहित यहाँ छौँ।

एउटै जेटमा दुइटा पाइलट हुन्छौँ भन्ने केपी ओली र प्रचण्ड छुटेको पनि देखियोएकअर्कालाई सत्तोसराप गरेको पनि सुनिन्छ। अहिले एउटै गाडीमा रवि लामिछाने र बालेन चढेको देखिरहेका छौँ। हिजोको इतिहास पुनरावृत्ति हुँदैन भन्ने गतिलो आधार के छ?

अहिले दुईजना सँगै आउँदा नेपाली राजनीतिमा यत्रो तरङ्ग आएको छ। यसका केही ‘साइड इफेक्ट’हरू के हुन सक्छन् भनेर हामीले  पूर्वानुमान गरेका छौँ। अहिलेलाई सरकारको नेतृत्व बालेन शाहले गर्ने र पार्टीको नेतृत्व रवि लामिछानेले गर्ने भन्ने स्पष्ट कार्यविभाजनमा हामी गएका छौँ। पुराना गल्तीहरूबाट सिकेर अगाडि बढ्ने कुरामा हामी दृढ छौँ।

बालेनलाई रविपछिको बरियता दिने कुरा थियोतर अहिले यो कतै सुनिएको छैन। बालेनलाई तपाईँले रास्वपाको साधारण सदस्य मात्र बनाउन खोज्नुभएको हो कि क्या हो?

यस्तो छ, अघि जसरी रवि लामिछानेले पद कसरी छोड्नुभयो भन्ने कुरा आयो नि, त्यस्तै बालेन शाहले पनि एउटा उदारता देखाउनुभयो। उहाँले के भन्नुभयो भने, ‘मलाई यो उपाध्यक्ष, सह-अध्यक्ष वा वरिष्ठ उपाध्यक्ष कतै केही राख्न पर्दैन, मलाई एउटा साधारण केन्द्रीय सदस्यमा मात्र सीमित गर्दा हुन्छ।’

पार्टीको बागडोर रवि लामिछानेले सम्हाल्ने र सरकारमा पुगेको खण्डमा त्यसको नेतृत्व बालेन शाहले गर्ने भनेपछि उहाँहरू लगभग एक र दुईको बरियतामा हुनुहुन्छ।

तर, पार्टीले उहाँलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भनेर प्रस्तुत गरिसकेपछि त्यसलाई न्याय हुने खालको बरियता उहाँलाई दिनुपर्छ। त्यस मानेमा रवि लामिछाने पछिको दोस्रो बरियतामा एउटा वरिष्ठ नेताको ओहोदामा उहाँ रहनु हुनेछ।

तपाईँडीपी अर्याल लगायतका नेताहरूलाई कुनै समस्या छैन निको कुन-कुन बरियतामा बस्ने भन्ने कुराहरूमा?

हाम्रै प्रस्तावमा त्यो भएको हो। अहिले हामी दुईजना उपसभापति बराबर, समान बरियतामा छौँ। हामीले अन्य कोही उपसभापति आउनुभयो भने पनि त्यही ‘र्याङ्क’मा राख्न सक्छौँ भन्ने फराकिलो मनका साथ यो निर्णय गरेका हौँ।

के अब बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बन्नुहुन्छ?

अहिलेलाई उहाँलाई प्रधानमन्त्रीको उम्मेदवारकै रूपमा प्रस्तुत गरिसकेको हुनाले, पार्टीमा उहाँको हैसियत साधारण सदस्य वा एउटा औसत केन्द्रीय सदस्य मात्रभन्दा त्यो सुहाउँदो कुरा भएन। त्यसैले पार्टीको बागडोर रवि लामिछानेले सम्हाल्ने र सरकारमा पुगेको खण्डमा त्यसको नेतृत्व बालेन शाहले गर्ने भनेपछि उहाँहरू लगभग एक र दुईको बरियतामा हुनुहुन्छ।

अब दस्तावेज लेखिएलान् । तपाईँहरूको सैद्धान्तिक आधारशीला तयार होला। यो बीचमा सङ्घीयता र गणतन्त्रका बारेमा तपाईँहरूको प्रतिबद्धता के हुन्छहिजो रास्वपाले सङ्घीयताबारे लिएका अडान र बालेनको गणतन्त्रप्रतिको बुझाइबारे आम रूपमा प्रश्नहरू छन्यसमा कसरी स्पष्ट पार्नुहुन्छ?

यसमा रास्वपाकै जुन मूल प्रस्तावना छ, जलेश्वरमा हामीले २०८० मंसिरमा पारित गरेको ब्रोड खाका छन् । त्यसैमा हामी स्पष्ट छौँ। संविधानका मूल मर्महरूलाई नचलाई त्यसैमा अडिएर जाने भन्नेमा मोटामोटी सहमति भएको छ। यसमा धेरै पेचिलो चुनौती हुन्छ जस्तो मलाई लाग्दैन।

सङ्घीयताभन्दा पनि प्रदेशसभाको हकमा सात वटा प्रदेश रहन्छन्, तर प्रदेशसभाको जुन भूमिका छ, त्यसलाई ‘रिफर्म’ (सुधार) गर्नुपर्छ भनेर रास्वपाले २०७९ सालको चुनावी वाचापत्रदेखि नै उठाउँदै आएको छ। ती विधिहरूमा कसरी सुधार गर्ने भन्नेमा उहाँहरूको पनि केही ‘इनपुट’ आउला। यसमा केही समस्या छैन। अहिलेको गणतान्त्रिक व्यवस्था अन्तर्गतकै संविधानलाई मानेर जाने कुरामा बालेनलाई पनि कुनै समस्या छैन।

पपुलिजम‘ (लोकप्रियतावाद) हाबी भयोयसले जेलेन्स्की‘ जन्माउँछ भन्ने कुरा विभिन्न राजनीतिक दलका मान्छेहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन्। के तपाईँहरू पपुलिस्ट होतपाईँहरूले जेलेन्स्की जन्माउन लाग्नुभएको हो?

नेपाली जनताको प्रचण्ड बहुमत, उनीहरूको आशा, विश्वास र जनअनुमोदनबाट हामी सत्तामा आउने हो। दुनियाँले चिनेको लोकतान्त्रिक विधि त्यही नै हो। यो ‘जेलेन्स्की’ जस्ता हाउगुजीहरू एकदमै पाखण्डी समाजका उपज हुन्। आफैँ गएर लम्पसार परेका र विगत ३५ वर्षमा के-के गरे भन्ने कुरा जनतासामु स्पष्टै छ। नयाँ पात्रहरूलाई नैतिकता, क्षमता, विश्व–अनुभव वा लोकप्रियता कतै पनि चुनौती दिन नसकेपछि यस्तो हाउगुजी खडा गर्ने गरिएको पाइन्छ।

यस्ता कुरालाई जनताले पत्याउँदैनन्। नेपाली जनता अहिलेका औसत पुराना नेताहरूभन्दा धेरै अगाडि बढिसकेका छन्। अहिलेको नेपालीपन वा ‘नेपालीनेस’ प्रवासमा रहेका ६०-७० लाख नेपालीसँग पनि गाँसिएको छ। उहाँहरू पनि आफ्नो मातृभूमि बनोस् भन्ने चाहनुहुन्छ र उहाँहरूको आशा हामीमाथि छ। त्यसैले कुनै देशको अप्रासंगिक उदाहरण ल्याएर, हाउगुजी चलाएर सोझा जनता तर्साउन खोज्नुको अब अर्थ छैन।

समानुपातिक प्रणालीको प्राइमरीका लागि तपाईँहरूले आन्तरिक प्रक्रिया अगाडि बढाइसक्नुभएको थियो। अब यो एकताले त्यसलाई असर गर्छ?

यो एउटा विशेष राजनीतिक घटना भएको हुनाले हामीले यसलाई त्यसरी नै लिएका छौँ। रास्वपाका तर्फबाट छानिने उम्मेदवारहरू विधिबाटै आउँछन्। अब समायोजन हुने क्रममा मेयर बालेन शाह एउटा व्यक्ति मात्र नभएर धेरै समूहहरू (जेनजी लगायत) लाई बोकेर आउँदै हुनुहुन्छ। उहाँहरूको तर्फबाट प्रस्तावित हुने नामहरूलाई पनि ‘मेरिट’का आधारमा केस-बाई-केस अध्ययन गरेर रास्वपाकै ११० जनाको सूचीमा पर्ने गरी आज र भोलि गृहकार्य हुन्छ।

तपाईँ वाचापत्र लेखन समितिको संयोजक पनि हुनुहुन्छ। बालेन आइसकेपछि उहाँको विचारले पनि त्यहाँ प्रवेश पाउला?

हामीले काम सुरु गरिसकेका छौँ। ५-६ जना साथीहरूले ‘ब्याकग्राउन्ड नोट’हरू लेखिरहनुभएको छ। चितवनमा भएको केन्द्रीय समितिको विस्तारित बैठकबाट एउटा खाका पारित पनि भइसकेको छ। अब नयाँ साथीहरूलाई पनि टोलीमा राखेर उहाँहरूको इनपुटसहित अगाडि बढ्न कुनै समस्या हुँदैन।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More