७ पुस, सौराहा । गत बुधबार रुद्रकली र खगेन्द्र नामका दुई हात्तीलाई कतार पठाउँदै गर्दा उनीहरूको आँखाबाट आँसु झरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । आफ्नो बासस्थान छाडेर जानुको पीडा भन्दै कतिपयले टिकाटिप्पणी गरिरहेका छन् ।
बासस्थान छाड्नुको साँच्चै त्यो पीडा हो वा अन्य कारण, अनलाइनखबरले यो विषयमा बुझ्ने प्रयास गर्दा चितवन सौराहस्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसर (जहाँ रुद्रकली र खगेन्द्र हुर्किएका थिए) का शाखा अधिकृत मनपुरन चौधरीसँग भेट भयो । हात्तीकै स्याहारसुसारमा करिब ३१ वर्ष व्यतित गरिसकेका उनी थातथलो छाड्दा दु:खी हुनु स्वाभाविक भएको बताउँछन् ।
हात्तीले आँसु झारेको प्रसँग जोड्दै उनले भने, ‘हामीलाई पनि आफ्नो जन्मथलो छाडेर जानुपर्दा नमज्जा लाग्छ, हात्तीमा पनि त्यो भावना हुनु स्वाभाविक हो ।’ पीडाको समयमा हात्ती झस्किने, आवाज निकाल्ने र कतिपय अवस्थामा आँसु झार्ने गरेको उनको अनुभव छ ।
उनी भन्छन्, ‘अन्यत्र लैजान लोड गर्ने क्रममा कतिपय हात्ती चढ्न मान्दैनन् । कहिलेकाहीँ कुटपिट गरेर मनाउनुपर्ने बाध्यता हुन्छ । सोही अवस्थामा हात्तीले आँसु झार्न सक्छ । कतार पठाउँदा भैरहवा विमानस्थलमा हवाईजहाज चढाउने बेला हात्तीले आँसु झार्नुको कारण पनि त्यही हुन सक्छ ।’
अहिले ती हात्ती कतारमा रमाइरहेको पाएको उनी बताउँछन् । ‘कतार यहाँभन्दा गर्मी ठाउँ हो, मौसम र हावापानी फरक छ,’ मनपुरन चौधरी भन्छन्, ‘मैले त्यहाँ गएका हाम्रा मान्छेहरूसँग दैनिक कुरा गरिरहेको छु, भिडियोकलमा हात्तीको गतिविधि हेरिरहेको छु, उनीहरू अहिलेसम्म रमाइरहेका देखिन्छन् ।’
अहिले जाडोको समयमा त्यहाँ मौसम ठिकै भए पनि गर्मीको बेला कस्तो हुन्छ भनेर हेर्न भने बाँकी रहेको उनले बताए । यद्यपि हात्तीलाई धेरै गर्मी नहोस् भनेर एसी, पोखरी लगायतका संरचना निर्माण गरेको पाइएको उनले बताए ।

इखालु हुन्छन् हात्ती
मनपुरनका अनुसार हात्तीको मनोभाव सजिलै बुझ्न सकिन्छ । हात्तीहरू इखालु स्वभावका हुन्छन् । बोल्न नसके पनि उनीहरूका गतिविधिबाट रिसाएका छन् कि खुसी छन् भन्ने बुझन् सकिन्छ । हात्तीले आफूलाई जस्तो व्यवहार गर्यो त्यस्तै व्यवहार व्यक्त गर्छ ।
‘उसलाई कुट्ने पिट्ने गर्यो भने इख लिएर बस्छ र मातेको बेला त्यो सम्झेर आक्रमण गर्न सक्छ, माउतेलाई मारेको रेकर्ड पनि छ,’ उनले भने, ‘हात्ती चञ्चले स्वभावको हुन्छ । कान हल्लाइरहने, चलिरहने, दौडिने जस्ता गतिविधिले ऊ खुशी छ भन्ने बुझ्न सकिन्छ । एक ठाउँमा बिना हलचल चुप बसिरहेमा केही समस्या छ भनेर बुझ्नुपर्छ ।’
उनका अनुसार १५ देखि २० वर्ष उमेर समूहका हात्ती वर्षमा एक पटक मात्तिने गर्छन् ।
मनपुरनले रुद्रकली र खगेन्द्र जस्ता धेरै छावा हुर्काइसकेका छन् । बुबाका कारण बाल्यकालदेखि नै उनले हात्तीसँग घुलमिल हुने अवसर पाए । ‘बुबा पनि यहीँ काम गर्नुहुन्थ्यो,’ उनले भने, ‘त्यसैले सानैदेखि हात्तीसँग खेल्दै हुर्किने मौका पाएँ ।’
नेपालको एक मात्र हात्ती प्रजनन तथा तालिम केन्द्र सौराहाको खोरसर हो । जहाँ पोथी हात्ती राखिन्छ र जंगली हात्तीबाट सम्भोग गराएर छावाहरू उत्पादन गरेर हुर्काइन्छ ।
खगेन्द्रप्रसाद र रुद्रकली पनि त्यसैगरी खोरसोरमा जन्मिएका हुन् । तर उनीहरू सानैमा टुहुरा भए । उनका अनुसार खगेन्द्रप्रसाद (भाले हात्ती) र रुद्रकली (पोथी हात्ती) अहिले क्रमश: ६ र ७ वर्षका भए ।
कसरी स्थापना भयो हात्ती प्रजनन केन्द्र ?
२०४२ सालमा नेपाल सरकारले भारतलाई चार वटा गैँडा उपहार दिएको थियो । त्यसबापत २०४४ सालमा भारत सरकारले नेपाललाई १६ वटा हात्ती उपहार दियो । थाइल्यान्ड र बर्माबाट थप २/२ वटा हात्ती ल्याएर कुल २० वटा हात्तीको दरबन्दी कायम गरी २०४४ सालमा त्यहाँ हात्ती प्रजनन तथा तालिम केन्द्र स्थापना गरिएको हो ।
देशका निकुञ्जमा आवश्यक पर्ने हात्ती सोही केन्द्रबाट पठाउने गरिन्छ । ती हात्ती गस्तीका लागि प्रयोग हुन्छन् । यसअघि जंगल सफारीका लागि पनि प्रयोग गरिँदै आएकोमा अहिले नेपाल सरकारले बन्द गरेको छ ।
चौधरीको अनुसार पहिले नेपालमा हात्ती किन्नुपर्ने अवस्था थियो । तर अहिले नेपाल अन्य देशलाई हात्ती उपहार दिन सक्ने भइसकेको छ । उक्त केन्द्रमा हाल ११ वटा माउ र ८ वटा बच्चा गरी कुल १९ वटा हात्ती छन् ।
रोनाल्डो, ध्रुबे र गोविन्दे नाम दिइएका जंगली हात्तीबाट सहबास भएर प्रजनन् केन्द्रमा छावाहरू जन्माइन्छ अनि तालिमसहित हुर्काइन्छ । दुईदेखि तीन वर्षका हात्तीलाई तालिम दिइने चौधरी बताउँछन् ।
‘एक महिनाको तालिम हुन्छ, त्यो बेला उठबस गर्न, दायाँ–बायाँ गर्न, मान्छे चढाउन, सलाम गर्न र समुदायसँग घुलमिल हुन सिकाउँछौ,’ उनले भने ।
हात्तीहरूलाई बिहान १० बजेदेखि ४ बजेसम्म जंगलमा चरनका लागि छाडिन्छ र अरू बेला केन्द्रमै राखिन्छ । हात्तीको रेखदेख र पालनपोषणका लागि उक्त केन्द्रमा हाल ४३ जना कर्मचारी कार्यरत छन् ।
११ र १२ वैशाख २०८१ सालमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरेअनुसार रुद्रकली र खगेन्द्रलाई कतार पठाइएको हो ।
हात्तीसँगै चितवनका एक जना पशु प्राविधिक, रुद्रकली माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रका माउते पाचुखा थारू पनि कतार गएका छन् । केही समय हात्तीहरूको रेखदेख गर्ने र त्यहाँका कर्मचारीलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरू फर्कने बताइएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


