― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsएमाले पदाधिकारी उम्मेदवारमा ६० कटेकाहरूकै वर्चस्व

एमाले पदाधिकारी उम्मेदवारमा ६० कटेकाहरूकै वर्चस्व



१ पुस, काठमाडौं । नेकपा एमालेको पदाधिकारी संख्या १९ छ । ११औं महाधिवेशनमा पदाधिकारीका १९ पदमा ४१ जना उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन् । महाधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्षमा पाँच जना, महासचिव एक, उपमहासचिवमा तीन र सचिवमा ९ जना चुनिनेछन् ।

एमाले निर्वाचन आयोगका अनुसार १९ जना पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको थियो । तर, उपमहासचिवमा उम्मेदवारी दिएका राजेन्द्रकुमार गौत्तमले निर्वाचनको दौड छाडे । यो सँगै पदाधिकारीमा लड्ने उम्मेदवारको संख्या ४१ भएको हो ।

पदाधिकारीका प्रतिस्पर्धी ४१ जना मध्ये एक जना मात्र ५० वर्ष मुनिका छन् । ४१ वर्षकी उनी हुन्- रचना खड्का । खड्का सचिव पदमा उम्मेदवार छिन् । १०औं महाधिवेशनमा उनी केन्द्रीय सदस्य थिइन् । यसपटक पदाधिकारीमा प्रतिस्प्रर्धा गर्दैछिन् ।

बाँकी उम्मेदवारहरूमा ५० देखि ५९ वर्षमा १२ जना छन् । ६० देखि ७० वर्षका २६ र ७१ वर्ष माथिका दुई जना रहेका छन् ।

जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ ले ६० वर्ष उमेर पुरा गरेको नागरिकलाई जेष्ठ नागरिक भनेको छ । जेष्ठ नागरिकको परिभाषा भित्र पर्ने उम्मेदवारहरूको संख्या २८ छ । यो कूल उम्मेदवारको ६८.२९२ प्रतिशत हो ।

अध्यक्षका प्रत्यासी दुवै केपी शर्मा ओली र ईश्वर पोखरल ७० वर्ष माथिका छन् । अध्यक्षमा तेहेरिन खोजेका ओली ७४ वर्षका भए ।

२००८ साल फागुन ११ गने जन्मिएका ओली २०५१ सालमै गृहमन्त्री भएका थिए । त्यसयता निरन्तर नेपालको राजनीतिमा रहेका उनी २०६३ मा उपप्रधान एवं परराष्ट्रमन्त्री भएका थिए । ९ औं र १०औं महाधिवेशनबाट अध्यक्ष भएका ओली २०७२, २०७४, २०८१ सालमा गरेर तीनपटक नेपालको प्रधानमन्त्री भइसकेका छन् ।

११औं महाधिवेशनमा अध्यक्षका अर्का उम्मेदवार पोखरेल ७२ वर्षका भए । २०१० साल माघ २० गते जन्मिएका पोखरेल २०२४ सालदेखि राजनीतिमा छन् ।

२०४७ मा स्थापना भएको नेकपा एमालेको केन्द्रीय सदस्य रहेका उनी २०५४ मा पोलिटब्युरो तथा स्थायी समिति सदस्य हुँदै २०६५ र २०७० मा दुई पटक एमाले महासचिव भए । १०औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष भएका पोखरेलले यसपटक अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार रहेका पोखरेल २०७४ मा उपप्रधानमन्त्री एवं रक्षा मन्त्री भएका थिए । पहिलो संविधानसभामा छोटो समयका लागि उपप्रधानसहित मन्त्री भए । २०६० सालमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री थिए ।

एमालेमा अध्यक्षपछिको कार्यकारी पद महासचिव हो । यसमा दुई जना उम्मेदवार छन् । १०औं महाधिवेशनबाट महासचिव भएका शंकर पोखरेल दोहोरिन खोजेका छन् भने सुरेन्द्र पाण्डेले पोखरेललाई टक्कर दिँदैछन् ।

पोखरेल ६३ वर्षका भए भने पाण्डे ६७ वर्ष पुगे ।

२०३५ सालबाट विद्यार्थी राजनीति सुरु गरेका पोखरेल २०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भएका थिए । विद्यार्थी राजनीतिकै क्रममा पटकपटक जेल परेका उनले भारतमा अध्ययन गर्दा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन गठन गरी प्रवासी विद्यार्थीहरूको हकहितको पक्षमा संघर्ष गरेका थिए । मदन भण्डारीको सम्पर्कमा आएपछि उनी २०४२ सालमा नेपाल फर्किएर विद्यार्थी राजनीतिमा संगठित र क्रियाशील भएका उनी निरन्तर नेपालको राजनीतिमा छन् ।

२०५१ सालमै एमालेको प्रचार विभाग प्रमुख भएका उनी २०५४ मा नेपालगन्जमा सम्पन्न छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए । २०५९ मा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य भए । २०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सचिव भए ।

२०७१ मा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित भए । त्यतिबेला स्थायी कमिटी सदस्य भएर काम गरे । २०७८ मंसिरमा चितवनमा सम्पन्न दसौं महाधिवेशनबाट सर्वसम्मत महासचिव भए । ११औंबाट फेरि दोहोरिन खोजेका छन् ।

महासचिवका प्रत्यासी सुरेन्द्रप्रसाद पाण्डे २०३१ सालदेखि राजनीतिमा सक्रिय छन् । पञ्चायतकालमा भूमिगत भएर विद्यार्थी युवा र मजदूर संगठनमा आवद्ध भएका उनी २०४६ सालको जनआन्दोलनमा पार्टीको कोशी अञ्चल कमिटी इञ्चार्जका रुपमा सक्रिय थिए ।

एमालेमा २०४९ देखि २०७५ सम्म लगातार केन्द्रीय सदस्य रहेका उनी स्थायी कमिटी सदस्य हुँदै अगाडि बढ्दै आएका नेता हुन् । १०औं महाधिवेशनबाट उपाध्यक्ष भएका थिए । ११औं मा उनी कार्यकारी जिम्मेवारी लिनेगरी महासचिव पदको उम्मेदवार भएका छन् ।

५ उपाध्यक्षमा ११ प्रतिस्पर्धी

पाँच उपाध्यक्षका लागि ११ जना प्रतिस्प्रर्धा गर्दैंछन् । ११ जनामा ६० वर्ष मुनिका एक जना छन्– डा.विन्दा पाण्डे । उनी ५९ वर्षकी भइन् । १०औं महाधिवेशनबाट उनी स्थायी समिति सदस्य चुनिएकी थिइन् ।

२०३७ सालमा अनेरास्ववियुमा आवद्ध भएर राजनीतिक जीवन सुरु गरेकी पाण्डे विद्यार्थी राजनीतिक हुँदै अगाडि बढेकी नेता हुन् ।

२०४७ मा पार्टी सदस्य भएकी उनी २०६१ मा ने कपा एमाले केन्द्रीय महिला विभाग सचिव हुँदै २०६५ मा एमाले केन्द्रीय सदस्य बनेकी थिइन् । २०७१ मा एमाले पोलिटब्यूरो सदस्य थिइन् ।

२०७८ मा स्थायी समिति सदस्य भइन् र यसपटक उपाध्यक्षमा चुनाव लड्दैछिन् । डा. पाण्डे उपाध्यक्षमा एक मात्रै महिला उम्मेदवार पनि हुन् ।

बाँकी १० जना उम्मेदवार सबै ६० वर्ष वा ६० वर्षभन्दा माथिका छन् । उपाध्यक्षका उम्मेदवार अरुण नेपाल ६५ वर्षका भए । २०१७ सालमा जन्मिएका उनी यसअघि केन्द्रीय सदस्य थिए ।

उपाध्यक्षका उम्मेदवारहरू गुरूप्रसाद बराल, रघुजी पन्त परशुराम मेघी गुरूङ र पृथ्वी सुब्बा गुरुङ ६८/६८ वर्ष रहेका छन् । गोकर्ण राज विष्ट ६० वर्षका भए । टंक कार्की र रामबहादुर थापा (बादल) ७० वर्ष पुगे । भीम प्रसाद आचार्य र विष्णुप्रसाद पौडेल ६६/६६ वर्षका छन् ।

सचिवमा दोब्बर बढी उम्मेदवार

निर्वाचनबाट उपमहासचिवमा तीन र सचिवमा ९ जना चुनिनेछन् । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल नै बनाएर चुनाव लडेकाले दोब्बर उम्मेदवारी पर्नु स्वभाविक हो । तर, सचिव पदमा दोब्बर बढी उम्मेदवार छन् ।

उपमहासचिको तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । ९ जना सचिवका लागि २० जनाको उम्मेदवारी परेको छ ।

उपमहासचिवका उम्मेदवारहरूमा ६० वर्ष मुनिका एक जना छन्– योगेश भट्टराई । उनी ५९ वर्षका भए । उनी १०औं महाधिवेशनबाट सचिव भएका थिए । यसपटक उपमहासचिवमा उम्मेदवार छन् ।

बाँकी ५ जना उम्मेदवार ६० वर्ष माथिका छन् । उपमहासचिवका उम्मेदवार वैजनाथ चौधरी ६० वर्ष, आनन्द प्रसाद पोखरेल ६६ वर्षका भए । उपमहासचिवका उम्मेदवार रघुवीर महासेठ ६४ वर्ष, लेखराज भट्ट ६६ वर्ष र विष्णुप्रसाद रिमाल ६३ वर्ष छन् ।

९ सचिव पदमा २० जनाको उम्मेदवारी छ । जसमा ९ जना ६० वर्ष मुनिका छन् ।

सचिवका उम्मेदवार रचना खड्का ४१ वर्षकी भइन् । महेश बस्नेत ५१ वर्षका भए । गोकुल प्रसाद बास्कोटा र शेरधन राई ५५ वर्ष पुगे । अर्का उम्मेदवार पेम्बा लामा र इन्द्रलाल सापकोटा ५६/५६ वर्षका छन् । पद्मा कुमारी अर्याल, ठाकुर प्रसाद गैरे, राजन भट्टराई र कर्ण बहादुर थापा ५७/५७ वर्षका छन् ।

विनोद प्रसाद ढकाल ५८ वर्ष पुगे । पुरूषोत्तम पौडेल र हिक्मत कुमार कार्की ६१/६१ वर्षका भए । छविलाल विश्वकर्मा ६३ वर्ष पुगे । ६४ वर्षका तीन जना छन्– भानुभक्त ढकाल, यामलाल कंडेल र खगराज अधिकारी । अर्का उम्मेदवार अग्नि प्रसाद खरेल ६५ वर्षका भए । सचिवका उम्मेदवारद्धय कृष्ण गोपाल श्रेष्ठ र लालबाबु पण्डित ६७/६७ वर्षका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More