राष्ट्रिय
समाचार.
- नेकपा एमालेको ११ औं महाधिवेशनमा १९ पदाधिकारीमध्ये एक जना महिला पद्मा अर्याल मात्रै निर्वाचित भएकी छन्।
- महिला सहभागिता सुनिश्चित गर्न विधान महाधिवेशनमा कम्तीमा एक तिहाइ पदाधिकारी र ५० प्रतिशत केन्द्रीय समिति महिला हुनुपर्ने माग उठेको थियो।
- विद्या भट्टराईले महिला सहभागिताको आवाज दबाइएको र नेतृत्वले नचाहेकै कारण रोकिएको आरोप लगाएकी छन्।
३ पुस, पोखरा । नेकपा एमालेको ११ औं महाधिवेशनमा १९ जनाको पदाधिकारीमा जम्मा एक जना महिला निर्वाचित भएकी छन् । उनी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार थिइन् । स्याङ्जाकी अर्याल १० औँ महाधिवेशनमा पनि सचिव नै निर्वाचित भएकी थिइन् । यसपटक अर्यालसहित सचिव पदमा सबै ओली प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् ।
पार्टीभित्र समावेशी सहभागिता सुनिश्चित हुनुपर्ने आवाजलाई दबाउँदै विधान महाधिवेशनबाटै महिलाहरू आउने ढोका साँघुरो बनाइएको थियो । गत भदौ २० गतेदेखि काठमाडौंको गोदावरीमा भएको विधान महाधिवेशनमा पदाधिकारीमा कम्तीमा एक तिहाइ र केन्द्रीय समितिमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नुपर्ने आवाज भने उठेको थियो ।
अधिवेशनले महिला सहभागिताको सुनिश्चतताको आवाजलाई सम्बोधनसम्म नगरी दबाइदिएको निवर्तमान सांसद तथा केन्द्रीय सदस्य विद्या भट्टराईको गुनासो छ । त्योबेला भट्टराईसँगै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य विन्दा पाण्डे, अखिल नेपाल महिला संघकी महासचिव पेम्बा लामालगायत महिला नेतासँगै केही पुरुष नेताहरूले पनि विधानमै महिला सहभागिताको ग्यारेन्टी गर्न माग गरेका थिए ।
नेतृत्वदेखि पदाधिकारी र केन्द्रीय समितिमा महिला सहभागिता र अधिकारको आवाजभन्दा विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नै नगर्ने र दुई कार्यकालको व्यवस्था हटाउँदै फेरि पनि ओलीलाई नै नेतृत्व ल्याउनेहरूको आवाज र संख्या ठूलो थियो । जसका कारण महिला सहभागिताको माग प्राथमिकतामै परेन ।
विधानअनुसार बाध्यकारी व्यवस्था नहुँदा अहिले पदाधिकारीमा १८ जना पुरुष नेताका बीचमा पद्मा एक्ली महिला बन्न पुगेकी छन् । ‘सिंगो पदाधिकारी टिममा एक जनामात्र महिला आउनुभएको छ । त्यो पनि मुद्दा र एजेण्डा उठाउने, राख्ने गरी आउनुभएको हो भन्ने देखिँदैन,’ भट्टराईको आरोप छ, ‘आउन चाहनेहरू पनि प्यानलका कारण रोकिए, नेतृत्वले नचाहेकै कारण रोकिए ।’
उपाध्यक्ष अष्टलक्ष्मीले नयाँ पुस्तालाई छोड्ने भनेर उम्मेदवारी दिनबाटै पछाडि हटेकी थिइन् भने उपाध्यक्षमा उम्मेदवारी दिएकी विन्दा पाण्डे पराजित भइन् । सचिवमा उम्मेदवारी दिएका पेम्बा लामा र रचना खड्का ईश्वर पोखरेलको प्यानलबाट उम्मेदवार बने पनि निर्वाचित भएनन् । एमालेको १९ पदाधिकारीका लागि उम्मेदवारी दिने ४२ मध्ये महिला जम्मा चार जना थिए । विन्दासहित अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानलबाट थिए । तर, पोखरेल प्यानल कमजोर र ओली प्यानल बलियो बन्दा महिला सहभागिता हुनै पाएन ।
ओली र पोखरेलले प्यानल बनाउँदादेखि नै महिला सहभागिताका सन्दर्भमा एमालेबाहिरबाट पनि प्रश्नहरू उठेका थिए । लेखक सीमा आभासले त सामाजिक सञ्जालमा तिखो व्यंग्य गर्दै महिलाहरूलाई नै खबरदारी गरेकी थिइन् । ‘राजनीतिमा लाग्छु भनेका ‘आइमाइ’जनहरू अझै पनि झण्डा समातेर नाच्ने, ‘काम्रेड’ र ‘दाइ’हरूसँग सेल्फी खिच्ने वितण्डामा मात्र अल्झिरहेका छौ !,’ उनले भनेकी थिइन्, ‘खै उम्मेदवारी ? लिस्ट हेर त ! चुनाव लड्ने तयारी गर के ! राजनीतिक सभा, समारोहमा फुरूकफुरूक नाच्न बन्द गर ! नाच्ने नै हो भनेँ नाच्ने ठाउँ अन्तै छन् । नाचेर सम्मान पाइने ठाउँमा जाऊ !’
राजनीतिमा सिद्धान्त, चिन्तन, विचारका कुरा गर्न, संविधानले दिएको ३३ प्रतिशतलाई कायम गर भनेर आवाज उठाउन उनले आह्वान नै गरेकी थिइन् । एमालेका धेरै महिलाहरुले प्यानलबाहिरबाट उम्मेदवारी दिने हिम्मतसमेत गरेनन् ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको रजगज भएको क्षेत्र स्याङ्जा–२ बाट चुनाव जितेपछि पद्मा अर्याल एकाएक चर्चित बनिन् । नेकपा (एमाले) र नेकपा (माओवादी) गठबन्धन भएको २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पाएकी उनले कांग्रेसका ‘हेभिवेट’ श्रेष्ठलाई हराएर संसद् पुगेयता एमालेभित्र पनि एकपछि अर्को सफलता पारिन् ।
२०५४ सालमा एमाले फुट्दा वामदेव गौतमको मालेतिर लागेकी अर्यालले ओलीको जबर्जस्त समर्थक बनेपछि गण्डकी प्रदेशमा राजनीतिक हस्तक्षेप गर्ने हैसियत बनाइन् । उनी गण्डकीमा पृथ्वीसुब्बा गुरुङपछिको नेता बन्न पुगिन् तर अलग्गै गुट भने चलाएकी थिइनन् ।
अर्याल २०३६ सालबाट कम्युनिस्ट राजनीतिमा आएकी हुन् । उनी २०६४ सालमा समानुपातिकबाट संविधानसभामा पुगेकी थिइन् । २०७० मा एमालेको स्याङ्जा जिल्ला अध्यक्ष बनेकी उनी केन्द्रमा सचिव बनेर पार्टीभित्र पकड बढाउन थालिन् ।
१० औं महाधिवेशनमा पद्मा केन्द्रीय सचिव हुँदै गण्डकीका धेरै सिनियर किरण गुरुङ, खगराज अधिकारीलगायत नेताहरू पनि उनको प्रगति हेर्दै बस्ने परिस्थितिमा थिए ।
हेर्दाहेर्दै उनी स्वास्थ्य राज्यमन्त्रीबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्न सफल भइन् । अर्याल ०७९ मंसिरमा भएको निर्वाचनमा भने उनी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग पराजित् भएकी थिइन् ।

